चैते दशैँको नवरात्र सुरु, आज घटस्थापना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजा आराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए। आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजा आराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो । नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।
यी ६ प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने, यस्तो छ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू-भागमा आंशिक बादल रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही तथा बागमती र कोशी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौंमा अस्ट्रियन फिल्म ‘मेहरुनिसा’ को विशेष प्रदर्शन
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको विशेष अवसर पारेर काठमाडौंस्थित क्यूएफएक्स छाया सेन्टरमा अस्ट्रियन फिल्म ‘मेहरुन्निसा’ को विशेष प्रदर्शन आयोजना गरिएको छ। दिल्लीस्थित अस्ट्रियन दूतावास र नेपालका लागि अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा महिला उद्यमी महासंघ नेपाल (एफडब्ल्यूईएएन) सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका करिब १५० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यो प्रदर्शन युरोपेली तथा अन्तर्राष्ट्रिय मामिलाका लागि अष्ट्रियाको संघीय मन्त्रालयको महिला अधिकार, समानता र सशक्तिकरणप्रतिको विश्वव्यापी प्रतिबद्धताको एक हिस्साको रूपमा आयोजना गरिएको हो । अस्ट्रियन सांस्कृतिक फोरमले यसै अवसरमा भारत, बंगलादेश, भुटान र श्रीलंकामा रहेका आफ्ना मानार्थ वाणिज्य दूतावासहरूसँग मिलेर दक्षिण एशियाका विभिन्न स्थानमा यो फिल्म प्रदर्शन गरिरहेको छ । सन्दीप कुमारद्वारा निर्देशित ९० मिनेट लामो यो ‘ड्रामा’ फिल्मले लखनउकी एक ८० वर्षीया विधवाको मार्मिक र साहसिक कथा प्रस्तुत गरेको छ । आफ्ना दिवंगत श्रीमानको सामाजिक प्रभावबाट मुक्त भई आफ्नै स्वतन्त्र पहिचान स्थापित गर्ने उनको निर्णयले पितृसत्तात्मक मान्यताहरूलाई कडा चुनौती दिएको छ । फिल्ममा भारतकी चर्चित चरित्र अभिनेत्री फारुख जाफरले ८८ वर्षको उमेरमा पहिलो पटक मुख्य भूमिकामा सशक्त अभिनय गरेकी छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा ‘स्वदेश’, ‘सुल्तान’ र ‘सेक्रेट सुपरस्टार’ जस्ता फिल्महरूमा स्मरणीय भूमिका निर्वाह गरेकी जाफरले ‘मेहरुन्निसा’ मार्फत साहस र आत्मसम्मानको उदाहरण प्रस्तुत गरेकी छन् । भियनामा आधारित निर्देशक सन्दीप कुमारका सिर्जनाहरूले पहिचान, आप्रवासन र समानता जस्ता गम्भीर विषयहरूलाई उजागर गर्दै आएका छन् । भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोवा) मा प्रिमियर भएको ‘मेहरुन्निसा’ ले भ्यानकुभर, प्रिस्टिना र स्टटगार्ट जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन भई प्रशंसा बटुलिसकेको छ । विशेष गरी स्टुटगार्ट फिल्म फेस्टिभलमा यसले उत्कृष्ट अभिनेत्रीको पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेको थियो । यस विशेष प्रदर्शनमार्फत महिला सशक्तीकरण र सामाजिक चेतनाको सन्देश प्रवाह हुनुका साथै अष्ट्रिया र दक्षिण एशियाली देशहरूबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने आयोजकहरूले विश्वास व्यक्त गरेका छन् ।
चैत १२ देखि देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभलको आयोजना हुँदै
काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ । आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टीजस्ता सुविधा प्राप्त गर्नेछन् । काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिने जनाइएको छ । उपत्यका बाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित शोरुमहरूमा आयोजना हुनेछ । कार्यक्रममा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरूजस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने जनाइएको छ ।
नेपाल–जर्मनी सहकार्यमा ४५ किमि लामो प्रसारण लाइन बन्ने, १ हजार मेगावाट विद्युत् प्रवाह गर्ने लक्ष्य
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ । बुधबार (आज) तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो । जर्मनी सरकारको केएफडब्लु विकास बैंकमार्फत सह–वित्तपोषित यस परियोजनाअन्तर्गत करिब ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ । करिब एक हजार मेगावाट प्रसारण क्षमता भएको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई सुदृढ बनाउने र तनहुँ जलविद्युत् आयोजनालगायतका जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत्को प्रभावकारी प्रसारण सुनिश्चित गर्नेछ । साथै ग्रिडको भरपर्दोपन बढाउँदै नवीकरणीय ऊर्जाको समावेशलाई प्रोत्साहन गर्दै नेपालको दिगो आर्थिक विकास र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पु‍र्याउनेछ । जर्मन राजदूत भोल्जले भने, ‘नेपालको बढ्दो ऊर्जा आवश्यकतालाई पूरा गर्न विश्वसनीय प्रसारण पूर्वाधारको विस्तार अत्यन्त आवश्यक छ । नेपालसँग सहकार्य गर्दै यसको विद्युत् सञ्जाल सुदृढ गर्न र यसको विशाल नवीकरणीय ऊर्जा सम्भावनालाई उपयोग गर्न पाउँदा जर्मनी सरकार गर्व गर्छ । यस्ता परियोजनाले स्वच्छ ऊर्जा घरपरिवार, व्यवसाय र उद्योगसम्म पु‍र्याउँँदै दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउन सहयोग विश्वास लिएको छु।’ उक्त परियोजनाले नेपाल–जर्मनीबीचको उन्नत ऊर्जा सहकार्यलाई पनि प्रतिविम्बित गर्दछ । जर्मन वित्तीय सहकार्यले दशकौंदेखि नेपालको ऊर्जा क्षेत्रमा योगदान गर्दै आएको छ, जसको सुरुवात तल्लो र मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनाबाट भएको थियो । नेपालको विद्युत् प्रणाली विस्तारसँगै सहकार्य प्रसारण पूर्वाधार सुदृढीकरणतर्फ केन्द्रित हुँदै चिलिमे–त्रिशूली प्रसारण लाइन तथा राष्ट्रिय भार प्रशारण केन्द्रमा सहयोग प्रदान गरिएको छ । साथै, घरेलु सौर्यप्रणाली, सौर्य सिँचाइदेखि ग्रिडमा जडित सौर्य परियोजनासम्म सहयोग गर्दै नेपालमा करिब ५५ मेगावाट सौर्य ऊर्जा उत्पादन क्षमतामा योगदान पुर्‍याइएको छ । आगामी दिनमा जर्मन वित्तीय सहकार्यले विद्युत् वितरण प्रणाली सुदृढीकरणमा अझ ध्यान केन्द्रित गर्नेछ, जसले उपभोक्ता र व्यवसायलाई भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । यी भौतिक पूर्वाधार लगानीसँगै ‘जिआइजेड’मार्फत सञ्चालन हुने जर्मन प्राविधिक सहकार्यले नीति, प्रणाली तथा दक्षता विकासमा सहयोग गर्दै विद्युत् पूर्वाधार विस्तारको प्रत्यक्ष लाभ जनतालाई पुग्ने सुनिश्चित गर्दछ । गण्डकी प्रदेशमा यसले पोखरा महानगरपालिकालाई पाँच वर्षीय नगर ऊर्जा योजना निर्माणमा सहयोग पु¥याएको छ, जसले ऊर्जा दक्षता र स्वच्छ ऊर्जाको प्रयोगलाई मार्गदर्शन गर्नेछ । साथै, पोखरा र दमौलीमा दुई वटा विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ स्थापना तथा बागलुङका दुई साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा समाहित गर्न सहयोग गर्नेछ । लेखनाथ–दमौली प्रसारण लाइनजस्ता पूर्वाधारले विद्युतीय सवारी तथा अन्य न्यून–कार्बन प्रविधिहरूको प्रयोग बढाउन आधार तयार पार्दै नेपाललाई आयातित जीवास्म इन्धनमा निर्भरता घटाउने लक्ष्यमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औं स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नसके संस्थागत एकताको आधार हुने बताए । उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे । अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनु पर्नेमा जोड दिए । ‘यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको छ । तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसंगै परिमाण पनि बढाउन आवश्यक छ,’ उनले भने । अध्यक्ष ढकालले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । साथै उनले स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय गरी उत्पादनदेखि बजारसम्मको श्रृंखलालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । साथै उनले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासका लागि ललितपुर उद्योग संघले निर्वाह गरेको भूमिकाको प्रशंसनीय रहको बताए । अध्यक्ष ढकालले देशमा औद्योगिक वातावरण निर्माणका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट कम गर्नु आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिन्दै त्यका लागि निजी क्षेत्रको एउटै आवाज हुनु पर्ने धारणा राखे । अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिँदै उनले यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गरे । संशोधित विधानले जिल्ला नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने बताए ।
सामाजिक सञ्जालमा फेक आइडी बनाएर गालीगलौज गर्ने भारतीय नागरिक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा फेक आइडी बनाएर गालीगलौज गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार भारत मोतियारीका २४ वर्षीय राजकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय, पर्सासँग समन्वयमा नियन्त्रणमा लिएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा नक्कली आइडी बनाएर अश्लील फोटो र भिडियो पोष्ट गर्ने गरेका थिए । ह्वाटसएपमासमेत गालीगलौजसमेत गर्ने गरेको उजुरीका आधारमा प्रकाउ गरिएको मोरङ प्रहरीले बताएको छ । पर्साको वीरगञ्ज महानगरपालिका १५ स्थित बसपार्क एरियाबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । विद्युतीय अपराध मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरी कर्मचारीले मीठो बोली वचनसहित काम गर्नूः महानिरीक्षक कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले अनुशासित, निष्ठावान एवं इमानदार भइ बोली बचनलाई आत्मसात गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनमा महत्त्वपूर्ण योगदान पुगेको बताए । धर्म र कर्म नै प्रहरी कार्य भएको उल्लेख गर्दै उनले आ-आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिए । महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने पनि बताए । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामद लगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशनसमेत दिए ।