सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताएका छन् । कोषको ३६औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बताए । दोहोरो कर हटाउन आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको छ । दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान नभए पनि अबको सरकारले यसतर्फ काम गर्ने विश्वास छ ।’ १५–२० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको बताउँदै उनले त्यस्ता ऋणपत्रले पनि अधिक तरलता न्यूनीकरणमा सहयोग गर्ने बताए । सार्वजनिक निजी साझेदारीबाट पनि नयाँ परियोजना, कृषि परियोजनाको लागि भूमिको हदबन्दी हटाउने जस्ता कार्य गरेर अघि बढ्न सकिनेमा उनको जोड छ । २०४७ सालमा अन्तरिम सरकारको समयमा खुलेको कोष अहिलेको जेनजी आन्दोलनपछि ३६औं वर्षमा प्रवेश गरेको स्मरण गराउँदै उनले ७२ औ वर्षसम्मको शुभकामना दिए । कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले सात वटा योजना सञ्चालन गरिरहेको बताउँदै कोषमा उपलब्ध फन्डलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न आवश्यक कार्य गरिरहेको बताए । यसका लागि ऐन, नियम र कानुन संशोधन प्रक्रियामा अघि बढाइएको समेत उनको भनाइ छ । कोषले यान्त्रिकीकरण र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित भएको उनको भनाइ छ । उपदान कोष भुक्तानीमा करसम्बन्धी अन्योलता रहेकोले त्यसमा समानता ल्याउनु पर्ने बताउँदै उनले भने, ‘सरकारले दिने सामाजिक भत्ताको कार्य कोषले सञ्चालनमा ल्याएको नागरिक पेन्सन योजनाले दिन सक्छ । तर, त्यसको लागि सरकारले करका दर रेटमा समायोजन गर्नुपर्छ ।’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले लगानीका नयाँ उपकरण र नयाँ परियोजनामा लगानी गर्नुपर्ने बताए । उनले बैंकले प्रवाह गर्ने कर्जा असुलीमा समस्या आएको धारणा राखे । कोषका पूर्व अध्यक्ष डा.महाश्रम शर्माले आर्थिक, सामाजिक रुपान्तरणमा कोष अघि बढिरहेको बताए । सो अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेलले कर्मचारीको वृत्ति विकास र सेवा सुविधामा वृद्धि गर्नुपर्ने धारणा राखे । नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापाले अब आउने बजेटमा कर सहुलियतको व्यवस्था गर्नुपर्ने, करार कर्मचारीलाई सीमित प्रतियोगिताको अवसर दिनुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट कर्मचारी र जेनजी आन्दोलनमा कोषमा कार्यरत सुरक्षाकर्मीहरूलाई सम्मान गरिएको थियो ।
लुम्बिनीमा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैंक सञ्चालनको प्रक्रिया थालेको हो । उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए । बैठकले हालै विभिन्न तहमा बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको मन्त्री सारुले बताए । उनका अनुसार बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम र सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिवाकर भण्डारीलाई दिने निर्णय गरिएको छ । त्यस्तै प्रदेश स्वास्थ्य सेवातर्फ रोशनलाल चौधरीलाई प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ । डा. राजेन्द्रकुमार गिरीलाई प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रुपन्देहीमा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ । त्यस्तै डा. मोहम्मद नुरुल होदालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, डा पदमराज अधिकारीलाई गुल्मी जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ । डा. शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रूपमा जिम्मेवारी दिइएको मन्त्री सारुले जानकारी दिए । बैठकले डा. अनुप थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजिस्ट, डा भुवन पौडेललाई सोही अस्पतालको प्रमुख कन्सल्टेन्ट सर्जन तथा डा. सुरेन्द्र कुँवरलाई प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, डा पुष्पराज जोशीलाई प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन, डा. कृष्णहरि सुवेदीलाई प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन तथा डा. प्रभात पोख्रेल प्रमुख कन्सल्टेन्ट डर्माटोलिष्टिका रूपमा पदस्थापन गरिएको छ । त्यस्तै डा. गोपालप्रसाद ज्ञवालीलाई प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा जिम्मेवारी दिइएको छ । प्रदेश इञ्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इञ्जिनियरका रूपमा पदस्थापन गरिएको छ । प्रदेश वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । आम निर्वाचन २०८२ को परिणामपछि बस्न थालेको बैठक चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहने जानकारी दिए । बैठकमा चुनावको समीक्षासहितका एजेण्डामा छलफल हुने उनको भनाइ छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरलाई सर्वोत्तम र जगदम्बा सिमेन्टले गरे विभिन्न सामग्री हस्तान्तरण
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा भर्खरै निर्माण भएको नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई विभिन्न अत्यावश्यक कार्यालय सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेका छन् । कम्पनीका निर्देशकद्वय टीकाराम न्यौपाने तथा दिवस न्यौपानेले संयुक्त रूपमा प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलाई ती सामग्रीहरू हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीहरूमा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका उपकरणहरू रहेका छन् । समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न र दैनिक प्रशासनिक कार्यलाई थप सहज बनाउन यी सामग्रीहरू प्रदान गरिएको कम्पनीले जनाएको छ । यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास दुवै कम्पनीले लिएका छन् । सर्वोत्तम र जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन् र आगामी दिनहरूमा पनि यस्ता सकारात्मक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राविधिक रूपमा सबल सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो, जसले ४३ र ५३ ग्रेडका ओपिसी र पिपिसी सिमेन्टहरू नेपालभर बिक्री गर्नुका साथै भारतमा समेत निर्यात गर्दै आएको छ । त्यस्तै, सन् २००१ मा स्थापित जगदम्बा सिमेन्टले पनि विश्वस्तरीय प्रविधि र उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरी ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै नेपालको सिमेन्ट बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।
ग्लोबल मनी विकअन्तर्गत ५७ जना व्यवसायीहरूका प्रभु बैंकको ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम
काठमाडौं । प्रभु बैंक लिमिटेडले स्मार्ट मनी टक्स भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत सोमबारदेखि देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ । बैंकले सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई र एसएमई) व्यवसाय गर्ने ४७ जना व्यवसायीहरूलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रकृया तथा कागजात सम्बन्धी विषयको जानकारीका साथै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा समेत जानकारी गराई व्यवसायीहरुलाई वित्तीय सहजता हुने अपेक्षा गरी होटल अनुत्तरा, बौद्धमा एक दिने अकाउन्टिङ फर ग्रोथ कार्यक्रम सञ्चालन गरिएको छ । यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।
आर्थिक सुधारका लागि निजी क्षेत्रको रोडम्याप : स्थिर नीति र सुशासनको माग
काठमाडौं । ‘परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थल यातायात तथा पारवहन समिति नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्य एव सभापति शिवप्रसाद घिमिरे समूहको आयोजनामा होटल एभरेस्ट, नयाँ बानेश्वरमा सम्पन्न कार्यक्रममा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक सुधारका सम्भावित उपायबारे वृहत छलफल भएको छ । मंगलबार (हिजो) आयोजित कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट प्राप्त परिवर्तित जनादेशको पृष्ठभूमिमा देशको अर्थतन्त्रको भावी दिशा, चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको हो । कार्यक्रममा निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य तथा आर्थिक सुधारका आवश्यक कदमबारे सरोकारवालाबीच विस्तृत विचार–विमर्श भयो । विभिन्न निजी क्षेत्रका व्यवसायीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा नयाँ बन्दै गरेको सरकार र नयाँ सरकार र निजी क्षेत्र बीचको सहकार्यका विषयमा गहन छलफल भएको छ । साथै निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य र आर्थिक सुधारका लागि आवश्यक नीतिगत कदमहरूबारे सरोकारवालाबीच विस्तृत छलफल भएको छ । कार्यक्रममा व्यवसायीलाई स्वागत गदै शिव घिमिरे परिवर्तित जनादेशको परिवेशमा नयाँ अवसर र सम्भावना सँगै मध्यपूर्वमा उत्पन्न युद्धका कारण उत्पन्न भएको आर्थिक चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए। साथै उनले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताएका थिए । तर, नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता, लगानीमैत्री वातावरणको अभाव तथा वित्तीय पहुँचमा कठिनाइ जस्ता समस्याले निजी क्षेत्रलाई अपेक्षित रूपमा अघि बढ्न अवरोध पुर्याइरहेको उनको भनाइ थियो । उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट र स्थिर आर्थिक नीति आवश्यक रहेकोमा जोड दिए । घिमिरेले नयाँ सरकारसँग निजी क्षेत्रले उच्च अपेक्षा राखेको उल्लेख गर्दै लगानी सुरक्षा, कर प्रणालीमा सुधार, उद्योग–व्यवसाय सञ्चालनमा सहजीकरण तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै सहकार्यलाई संस्थागत गर्न सके मात्र आर्थिक पुनरुत्थान सम्भव हुने बताए । त्यसैगरी, उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै उत्पादनमुखी क्षेत्रलाई प्रवर्द्धन, आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अवलम्बन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्नेमा उनले विशेष जोड दिए । कार्यक्रममा अर्थशास्त्री डा. विश्वास गौचनले ‘मध्यपूर्वको युद्ध र दुई तिहाइ बहुमतको सरकारलाई सुझाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको आर्थिक संरचना, ऋण व्यवस्थापन तथा दीर्घकालीन आर्थिक सुधारका आवश्यक कदमहरूबारे विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे प्रकाश पार्दै त्यसअनुसार नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनले प्रस्तुत कार्यपत्रमार्फत निजी क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, उत्पादनशील क्षेत्रको प्रवर्द्धन तथा आर्थिक पुनरुत्थानका लागि आवश्यक स्पष्ट रोडम्यापसमेत प्रस्ताव गरेका थिए । साथै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य चालकका रूपमा स्थापित गर्दै सरकार–निजी क्षेत्र सहकार्यलाई थप प्रभावकारी बनाउने दिशामा ध्यान दिनुपर्नेमा उनले विशेष जोड दिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको प्रमुख विषय राजनीतिक स्थिरता रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले त्यसतर्फ सकारात्मक संकेत दिएको बताए । नेपालमा लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिँदै उनले निजी क्षेत्र निरन्तर त्यसको पक्षमा आवाज उठाउँदै आएको स्पष्ट पारे । ढकालले सरकारद्वारा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अर्थतन्त्रको मेरुदण्डकै रूपमा निजी क्षेत्रलाई सबैले स्वीकार गरिसकेको धारणा व्यक्त गरे । साथै सरकार गठनको तयारीमा रहेको दलले प्रतिबद्धतामा पनि निजी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै यसले आगामी दिनमा थप आशा जगाएको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अगाडि बढ्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेका सुझावहरूलाई नीतिगत सुधारमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता समेत सरकार बनाउने दलबाट आएको उल्लेख गर्दै उनले सबै निजी क्षेत्र एकजुट भएमा विद्यमान समस्या समाधान गर्न सहज हुने बताए । निजी क्षेत्रको एउटै आवाज रहेको सन्देश दिनुपर्नेमा जोड दिँदै उनले कार्यक्रमको आयोजना गरेकोमा शिवप्रसाद घिमिरेप्रति धन्यवादसमेत व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ हुन गइरहेको निर्वाचनको सन्दर्भमा वर्तमान आर्थिक जटिलता बीच भड्किलो खर्च गर्ने प्रवृत्तिबाट बाहिर निस्केर वास्तविक मुद्दामा केन्द्रित बहस हुनु पर्ने बताए । उनले केही पक्षहरू रमझम र अनावश्यक गतिविधिमा अल्मलिएको उल्लेख गर्दै यस्ता प्रवृत्तिले निजी क्षेत्रका मूल एजेण्डालाई ओझेलमा पारिरहेको टिप्पणी गरे । उनले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेको राजनीतिक स्थिरता जनताले स्पष्ट बहुमतमार्फत सुनिश्चित गरेको उल्लेख गर्दै अब आर्थिक एजेण्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा राखे । निर्वाचनलाई अनावश्यक रूपमा खर्चिलो र भड्किलो बनाउने प्रवृत्तिले निजी क्षेत्रको साखमा समेत प्रश्न उठ्ने भएकाले यसतर्फ सबैले आत्मसमिक्षा गर्नुपर्नेमा उनले जोड दिए । उनले नेपालको संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा उल्लेख गरिएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयनबारे स्पष्टता आवश्यक रहेको बताए । अमूर्त अवधारणाभन्दा खुला र प्रतिस्पर्धात्मक अर्थतन्त्रको अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रमैत्री नीतिहरू अवलम्बन गर्न सरकारसँग आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठले कार्यक्रममा प्रस्तुत सबै सुझावप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका थिए । उनले सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरिएको जानकारी दिँदै ती सुझावहरू आगामी नीति निर्माण र सरकारसँगको संवादका लागि महत्वपूर्ण आधार बन्ने बताएका थिए । साथै वर्तमान अवस्थामा रोजगारीका लागि विदेश जानुपर्ने र उपभोगका लागि आयातमा निर्भर रहनुपर्ने यथार्थतर्फ संकेत गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । श्रेष्ठले नयाँ सरकारसँग सुशासन, पारदर्शिता र आर्थिक सुधारको उच्च अपेक्षा रहेको बताउँदै लगानीमैत्री वातावरण निर्माण, करको बोझ न्यूनीकरण तथा व्यवसाय सञ्चालनमा सहजीकरण अत्यावश्यक रहेको धारणा राखेका थिए । ‘लाइन होइन, अनलाइन’ भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ हुनुपर्ने उनको जोड छ । श्रेष्ठले बहुमतसहित गठन हुन लागेको सरकारप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गरिएमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे । आगामी दिनमा निजी क्षेत्रमाथि थप जिम्मेवारी आउने भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै खुला बजार अर्थतन्त्रको सुदृढीकरण र आफ्ना कमजोरीहरूमा सुधार गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा उनको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायत महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, विभिन्न वस्तुगत तथा जिल्ला र नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
मञ्जुश्री फाइनान्सको ग्लोबल मनी विक प्रभात फेरीबाट सुरु
काठमाडौं । मञ्जुश्री फाइनान्सले ग्लोबल मनी विक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरूमार्फत प्रभात फेरीबाट गरेको छ । विश्वभरि नै मनाइने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरूबाट कार्यक्रमको आयोजना गरेको हो । यस ग्लोबल मनी वि २०२६ को मूल आधार स्मार्ट मनी टक्स भन्ने अभिप्रायलाई लिएर विभिन्न संघसंस्था तथा युवालाई मध्यनजर गर्दै विभिन्न स्कूल तथा कलेजहरूमा कार्यक्रम गरिने मञ्जुश्री फाइनान्सले जनाएको छ । हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०।६ अर्ब कर्जा प्रवाह गरेको यस मञ्जुश्री फाइनान्सले २८ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । फाइनान्सका ग्राहक १ लाख ८ ७ हजारभन्दा अधिक रहेका छन् । यसअघि मञ्जु‍श्री फाइनान्सले आफ्ना ग्राहकहरूमाझ मञ्जुश्री भर्चुअल क्रेडिट कार्डको सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।
सांसदहरूलाई रविका ७ सन्देश
काठमाडौं । आम निर्वाचन अघिसम्म रवि लामिछानेको पहिचान तिखा अभिव्यक्ति र आक्रामक शैलीसँग जोडिएको थियो । उनका भाषणहरूमा पुराना राजनीतिक शक्तिमाथि कडा प्रहार, भावनात्मक आह्वान र प्रत्यक्ष भिडन्तको संकेत स्पष्ट देखिन्थ्यो । तर, निर्वाचनपछि परिस्थिति बदलिएको छ, उही नेता अहिले संयम, जिम्मेवार र संस्थागत भूमिकामा आफूलाई रूपान्तरण गर्दै गएको देखिन्छ । झण्डै दुईतिहाइ नजिकको जनसमर्थन पाएपछि लामिछानेले आफ्नो प्रस्तुति नै परिवर्तन गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद अभिमुखीकरण कार्यक्रममा उनले आक्रोश होइन, अनुशासन र उत्तरदायित्वको भाषा बोले । समर्थक र कार्यकर्तालाई सामाजिक सञ्जालमा उत्तेजित नहुन र विपक्षीप्रति सम्मानजनक व्यवहार गर्न उनले स्पष्ट निर्देशन दिए । उनको सन्देश अब सत्ताको उपयोगभन्दा पनि विश्वासको संरक्षणतर्फ केन्द्रित देखिन्छ । सांसदहरूलाई शासक होइन, सेवक बन्न आग्रह गर्दै उनले जनतासँग नजिक रहनुपर्नेमा जोड दिएका छन् । निजी सुविधा र विशेषाधिकारभन्दा सार्वजनिक सेवाप्रति प्रतिबद्धता देखाउनुपर्ने उनको भनाइ थियो । विगतका दलहरूको योगदानलाई स्वीकार्दै उनले प्रतिस्पर्धालाई द्वेषको रूपमा नभई निरन्तरताको रूपमा हेर्ने संकेत दिए । अब परिणाममार्फत जनताको विश्वास जित्नुपर्ने बताउँदै उनले आफ्ना सांसदहरूलाई हरेक कदममा सावधानी अपनाउन आग्रह गरेका छन् । लामिछानेको यो रूपान्तरण केबल शैलीगत परिवर्तन मात्र होइन, जिम्मेवारीको बोधसँग जोडिएको समेत देखिन्छ । सत्ता सम्हाल्ने अवस्थामा पुगेपछि आक्रामक भाषणभन्दा स्थिर, परिपक्व र समावेशी नेतृत्व आवश्यक पर्ने सन्देश उनले व्यवहारमै दिन खोजिरहेको उनको पछिल्लो अभिव्यक्तिमा देखिन्छ । आफ्ना सांसदहरूलाई सत्ताको मोहबाट टाढा रहन आग्रह गर्दै उनले मन्त्री बन्ने दौडमा नलाग्न सुझाव दिए । बाह्य दबाब र स्वार्थ समूहबाट प्रभावित हुन सक्ने जोखिमप्रति सचेत गराउँदै उनले सत्ता यात्रालाई उत्सव होइन, जिम्मेवारीको रूपमा लिन आग्रह गरे । संसद केवल शक्ति प्रदर्शनको थलो होइन, बलिदानको सम्झना पनि हो भन्ने भावनात्मक सन्देशमार्फत उनले संवेदनशीलता कायम राख्न आग्रह गरे । सरकार गठनसँगै त्यसलाई अस्थिर बनाउने प्रयासहरू सुरु हुने अनुभव सुनाउँदै उनले पार्टीभित्र एकता र सजगता आवश्यक रहेको बताए । साथै, वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता यथावत रहेको स्पष्ट पार्दै कुनै आशंका नराख्न आग्रह गरे । पार्टीका वरिष्ठ नेता बालेन शाह भने उक्त कार्यक्रममा अनुपस्थित रहे । स्वास्थ्य कारण देखाइए पनि सामाजिक सञ्जालमा सक्रिय देखिएका कारण उनको अनुपस्थितिले केही जिज्ञासा जन्माएको छ । औपचारिक बैठकहरूमा उनको न्यून सहभागिताले पार्टीभित्रको भूमिकाबारे थप प्रश्न उठाइरहेको छ । यसरी, चुनावअघि आक्रामक रविका रूपमा चिनिएका नेता अहिले जिम्मेवार रवि बन्ने यात्रामा देखिन्छन् ।