विकासन्युज

जेसीबी थीडीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

काठमाडौं । निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी थीडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ । ग्राहकको विश्वास थप सुदृढ बनाउने तथा उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत नयाँ जेसीबी थीडीएक्स सुपर खरिद गर्ने ग्राहकहरूले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको चार वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार तोकिएका सञ्चालन तथा नियमित मर्मतसम्भारका शर्त पूरा भएमा प्रयोगपछि पनि मेसिनको मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ उपलब्ध हुनेछ । यसले ग्राहकलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै भविष्यको पुनःबिक्री मूल्यबारे स्पष्टता दिने अपेक्षा गरिएको छ । कम्पनीले यो पहल जेसीबी थीडीएक्स सुपरको टिकाउपन, विश्वसनीयता तथा बजारमा रहेको निरन्तर मागप्रतिको विश्वासको प्रतीक भएको जनाएको छ । नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा बढी प्रयोग हुने भरपर्दा ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ । एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिका अनुसार निर्माण क्षेत्रमा गरिने लगानीबाट ग्राहकले भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गर्ने भएकाले ‘बाइ ब्याक ग्यारेन्टी’ योजनाले खरिद निर्णयलाई अझ विश्वस्त बनाउनेछ । उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका कारण परिचित जेसीबी थीडीएक्स सुपर नेपालभर सडक निर्माण, जलविद्युत् आयोजना, सहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न परियोजनामा व्यापक रूपमा प्रयोग हुँदै आएको छ ।  

रास्वपालाई दुई तिहाई पुग्न २ सिट कम, ६ दल बने राष्ट्रिय पार्टी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना लगभग सम्पन्न भएको छ । निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको सबै मतगणना सकिएको हो । अब दलहरूले प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँटको प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ । सहप्रवक्ता जिसीका अनुसार गोरखा र इलामका दुई निर्वाचन क्षेत्रको मतगणना सकिए पनि केन्द्रीय प्रणालीमा प्रविष्ट भएको छैन । हालसम्म प्राप्त विवरणअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि उल्लेख्य मत पाएको छ ।  रास्वपाले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ, जसका आधारमा उसले समानुपातिकबाट करिब ५७ सिट पाउने निश्चित देखिएको छ । रास्वपालाई दुई तिहाई पुग्न २ सिट कम हुने देखिएको छ ।  त्यसैगरी, प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ । यस मतका आधारमा कांग्रेसले समानुपातिकबाट करिब २० सिट थप्ने अनुमान गरिएको छ । प्रत्यक्षतर्फ ९ सिट जितेर तेस्रो भएको नेकपा एमालेले समानुपातिकमा १४ लाख ५१ हजार ७५९ मत पाएर समग्रमा पनि तेस्रो शक्ति बन्न सफल भएको छ । प्राप्त मतका आधारमा एमालेले समानुपातिकबाट थप १६ सिट पाउने निश्चितजस्तै देखिएको छ । त्यस्तै, प्रत्यक्षतर्फ ७ सिट जितेको नेपार्ली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकमा ८ लाख ९ हजार ७१ मत प्राप्त गरेको छ । यस आधारमा उक्त पार्टीले समानुपातिकबाट करिब ९ सिट पाउने सम्भावना रहेको छ । चार महिनाअघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले पनि उल्लेख्य मत ल्याएको छ । प्रत्यक्षतर्फ ३ सिट जितेको यस दलले समानुपातिकमा ३ लाख ५ हजार ६२ मत प्राप्त गरेको छ । जसका आधारमा उसले थप ४ सिट पाउने देखिएको छ । यस्तै, प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत पाएको छ । यस मतका आधारमा राप्रपाले पनि करिब ४ सिट समानुपातिकबाट प्राप्त गर्ने सम्भावना छ । सहप्रवक्ता जिसीका अनुसार प्रत्यक्षतर्फ १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो । समानुपातिकतर्फ भने १ करोड १० लाख मत खसेको अनुमान गरिए पनि सबै मतगणना केन्द्रीय प्रणालीमा प्रविष्ट भएको छैन । अहिलेसम्म १ करोड ७ लाख ८१ हजार ७१४ मत प्रणालीमा प्रविष्ट भएको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंकको फेवाताल किनारमा पदयात्रा

काठमाडौं । महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ प्रवर्द्धन तथा वातावरण संरक्षणप्रति प्रतिबद्धता जनाउँदै पोखराको फेवाताल किनारमा दुईदिने कार्यशाला तथा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो । बैंकले वार्षिक कार्यक्रमअन्तर्गत फागुन २४ र २५ गते आयोजना गरेको उक्त कार्यक्रममा वातावरण, संस्कृति तथा सम्पदा संरक्षणसँगै दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो । दुईदिने कार्यशालामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको बैंकको समग्र वित्तीय अवस्था समीक्षा गर्नुका साथै हालै सम्पन्न निर्वाचनपछिको सकारात्मक आर्थिक वातावरण र अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सम्भावित आर्थिक चुनौतीबारे समेत विश्लेषण गरिएको बैंकले जनाएको छ । दिगो वित्तीय अभ्यासको सन्देश आम नागरिकसम्म पुर्याउने उद्देश्यले ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण फेवाताल क्षेत्र वरिपरि सामूहिक पदयात्रा आयोजना गरिएको थियो । कार्यक्रममा हरित बैंकिङ तथा दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो । 'सबल बैंक, सफल सहकार्य' भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।  

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन् ।      अमेरिका-इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै हवाई उडान बन्द गरिएको थियो । सोही कारण नेपालबाट जाने केही अन्तरराष्ट्रिय उडान रद्द हुँदै आएका छन् । युद्धको प्रभावले गर्दा वायु सेवा प्रदायक कम्पनीहरू युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गर्ने निर्णय गरेका थिए ।      प्रवक्ता बस्नेतले पश्चिम एसियाको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएका जानकारी दिए । 'उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ, त्यसका आधारमा केही उडान आंशिक रूपमा सुचारु भएका छन्', उनले भने, 'आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन् ।'      त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईमा चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ । एयरलाइन्सले जनाएअनुसार दैनिक १०० जनाको हाराहारीमा यात्रुको उपस्थिति हुने गरेको छ ।    

निजामती कर्मचारीलाई दाङमै स्वास्थ्य सेवा उपलब्ध हुने

देउखुरी । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ । बुधबार निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।      दुवै पक्षले गरेको सम्झौता अनुसार अब निजामती कर्मचारीले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा र सुविधाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त गर्ने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा रमेश कँडेलले जानकारी दिए । उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।      निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ । बहालवाला अधिकृतस्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेवा निवृत्त कर्मचारीले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ ।      सेवा प्राप्त गर्न कर्मचारीले विशेष सफ्टवेयर प्रणालीमा आवद्ध हुनुपर्ने निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले बताए । 'कर्मचारीले आफ्नो र परिवारका सदस्यको नामसहितको फारम भर्नुपर्ने हुन्छ । उक्त विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत ‘निजामती किताबखाना’को डाटाबेससँग जोड्नेछ । अस्पतालमा उपचारका लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट भएपछि किताबखानाले रुजु गरेपछि कर्मचारी सरहको सुविधा प्राप्त हुनेछ', उनले भने ।      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालका अनुसार देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीको सेवाका लागि यस्तो पहल गर्ने दाङ पहिलो भएको छ ।      निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले राज्यको दायित्व पूरा गर्न सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुरूप राप्तीसँग सम्झौता गरिएको बताए । विगत दुई वर्षदेखि एमबिबिएस र एमडीरएमएसजस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यो सम्झौताले विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । रासस   

३५० जनाले एक भोट पनि पाएनन्, २,८९० उम्मेदवारको जमानत जफत

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ । उनले भने, ‘यो जमानत राखिएका उमेदवारहरुमध्ये जसले सदर मतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुहुन्छ उहाँहरुको जमानत फिर्ता हुन्छ पछि । तर १० प्रतिशत सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत भन्ने हुन्छ । त्यो जमानत फिर्ता गर्न पर्दैन, फिर्ता हुँदैन ।’ कस्तो अवस्थामा हुन्छ जमानत जफत ? निर्वाचन सम्बन्धी कानूनअनुसार कुनैपनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र उसको जमानत रकम फिर्ता हुन्छ । यदि सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा उक्त धरौटी रकम राज्यको ढुकुटीमा जफत हुने कानुनी प्रावधान छ ।  ३ सय ५० उम्मेदवारको मत शुन्य सूचना अधिकारी घिमिरेकाअनुसार जमानत जफत भएका २ हजार ८ सय ९० जना उम्मेदवारमध्ये ३ सय ५० जना उम्मेदवारल एक भोट पनि प्राप्त गर्न सकेनन् । उनीहरुको मत परिणाम शुन्य देखिएको छ । यसले कतिपय उम्मेदवारहरुले आफूले आफैँलाई वा आफ्नो परिवारको मत समेत हाल्न नसकेको वा नहालेको पुष्टि गर्छ । प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेकामध्ये जम्मा ५ सय १६ जना उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर आफ्नो जमानत जोगाउन सफल भएका छन् ।  कसरी फिर्ता हुन्छ रकम ? जमानत जोगाउन सफल (१० प्रतिशतभन्दा बढी मत ल्याउने) ५ सय १६ जना उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउनका लागि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । ऋतपूर्वक निवेदन दिएपछि उनीहरुले कानून बमोजिम आफ्नो रकम फिर्ता पाउने आयोगले जनाएको छ ।     

रवि लामिछानेविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र संशोधनमार्फत फिर्ता गर्ने निर्णय रोक्न मागसहित दायर रिट पूर्ण इजलासमा पठाउन आदेश भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो ।  अब यो रिटमा सर्वोच्चका तीन वा तीनभन्दा बढी इजलासमा सुनुवाइ हुने भएको छ । पूर्ण इजलासमा आगामी आइतबारका लागि सुनुवाइका लागि पेस गर्न पनि आदेश भएको छ ।    

भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

नारायणगढ । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर संकलन बन्द गर्ने निर्णय गरिएको छ ।      बुधबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको हो ।      सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूले आफ्नो सवारीसाधन पार्किङ गरी नियमानुसार राजस्व बुझाउन निर्देशन दिएको छ ।       बैठकले भरतपुर महानगरक्षेत्रभित्र रहेका विभिन्न यातायात व्यवसायी संस्थाका टिकट काउण्टर ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्क बाहेक अन्यत्रबाट टिकट काट्न नपाइने स्पष्ट पारेको शर्माले बताए । नारायणगढ बजार क्षेत्रभित्र मुख्य सडकमा अव्यवस्थित पार्किङ तुरुन्त बन्द गर्नुपर्ने र पुल्चोकलगायतका बजार क्षेत्रभित्रका पेट्रोलपम्पमा पेट्रोल हाल्ने नाममा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्न भनिएको उनले जानकारी दिए ।      यसअघि बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थित गर्न लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउण्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले ती निर्णयहरू कडाइका साथ कार्यान्वयन गराउन सबै सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी दिए ।