ह्यातको क्यासिनोमा आगजनी गर्ने २ जना ६ महिनापछि पक्राउ
काठमाडौं । ह्यात होटलमा रहेको क्यासिनो लुटपाट तथा आगजनी गर्ने दुई व्यक्ति परेका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते ह्यात होटलमा रहेको प्राइड क्यासिनो लुटपाट गरको आरोपमा काभ्रेका ३७ वर्षीय कुले भन्ने कुलध्वज लामा र कोरियन भन्ने ३७ वर्षीय राकेश लामा पक्राउ परेका हुन् । शनिबार उनीहरूलाई शनिबार बौद्धबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार कुलध्वज लामा विरुद्ध यस पूर्व समेत विभिन्न मितिमा सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा ५ वटा मुद्दा दर्ता भएको थियो । कोरियन भन्ने राकेश लामा विरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार कसूरमा ७ वटा मुद्दा दर्ता भएको भट्टराईले जानकारी दिए । होटेल सञ्चालकले क्यासिनोको १४ करोड लुटिएको उजुरी प्रहरीमा दिएका थिए । लुटपाटमा संलग्न प्रहरीले बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र काठमाडौं बूढानीलकण्ठका २९ वर्षीय रने भनिने रन्जित खड्गीसहित १० जनालाई पक्राउ गरेको थियो । ती १० जना सबै पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले क्यासिनोको सीसीटीभीका आधारमा आपराधिक समूहमाथि अनुसन्धान थालेको थियो । सोही आधारमा उनीहरू पक्राउ परेका हुन् ।
कांग्रेसले समानुपातिकतर्फ २० जनाको नाम आयोगमा पठायो, १५ जना महिला समेटिए
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीले पाएको २० सिटमध्ये १५ महिलालाई र ५ पुरुषलाई समेटेर नाम पठाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार समावेशी क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६ जना, खस–आर्यबाट ६ जना र थारु, दलित, मधेशी, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट गरी कूल ५ जनाको नाम सिफारिस गरिएको छ । प्रवक्ता चालिसेले बन्दसूची आजै निर्वाचन आयोगमा बुझाइने जानकारी दिँदै केही क्लस्टर मिलानमा समस्या देखिए आयोगसँग समायोजन गर्ने सुविधा रहने बताए । ‘आजै बन्दसूची आयोगमा पठाउँछौं । केही क्लस्टरमा तलमाथि परेमा आयोगले आवश्यक समायोजन गर्न सक्ने व्यवस्था छ,’ उनले भने।
सेयर बजारमा आज १४ अर्ब ३२ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले बढी २८२४.९० विन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज १४ अर्ब ३२ करोडको कारोबार भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रहेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावरको कारोबार भएको छ । ग्रिनलाइफको ८१ करोडभन्दा बढी कारोबार भएको हो । त्यस्तै, रिडी पावर कम्पनीको ६७ करोड, नेशनल हाइड्रोपावर कम्पनीको ६२ करोड, हिमाल दोलखा हाइड्रोको ५५ करोड र राधी विद्युतको ४५ करोडको खरिदबिक्री भएको छ । आज सोलु हाइड्रोको १० प्रतिशत, सालपा विकास बैंक ९.९९ प्रतिशत, होटल फरेस्ट इन ९.९३ प्रतिशत, ग्रिनलाइफ हाइड्रो ९.५३ प्रतिशत र अभियान लघुवित्त ५।३१ प्रतिशतले बढेको छ। दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ नोक्सानी बेहोर्दा खानीखोला हाइड्रो, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, थ्रिस्टार हाइड्रो र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य क्रमशः ५.१५, ३.६६, ३.३५ र ३.३० प्रतिशतले घटेको छ । आज होटल र पर्यटन, लगानी, जीवन बीमा, सामूहिक लगानीका सूचक घटे भने बाँकी बढेका छन् ।
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौं, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका-२ बडहराबाट दुई, कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाट दुई तथा पर्साको वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन् । त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट, गोदावरी नगरपालिका-११ गौडीबजारबाट र कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट एकरएकजना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व
काठमाडौं । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन गरेको हो । गत आवको सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो । समीक्षा अवधिमा भ्याट, अन्तःशुल्क भन्सार महसुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शीर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन । अर्थ मन्त्रालयका अनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन । आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने १ खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो । गत आवको फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो । जबकि चालु आवमा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ । भन्सार महसुल चालु आवको फागुन मसान्तसम्ममा १ खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । आठ महिनामा कति भयो खर्च ? सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब कुल बजेट खर्च गरेको छ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये सरकारले ६ खर्ब ४२ अर्ब खर्च गरेको छ । यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब खर्च गरेको छ । सार्वजनिक ऋणको सावा ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले ३ खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म २ खर्ब ५ अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ ।
श्रम संस्कृति पार्टीले चयन गर्यो समानुपातिक सांसद
काठमाडाैं। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । आइतबार (आज) धरानमा बसेको पार्टी बैठकले समानुपातिक प्रणालीअन्तर्गत चयन गरिने उम्मेदवारहरूको नाम तय गरी निर्वाचन आयोगमा सिफारिस गरेको भोजपुरबाट निर्वाचित सांसद ध्रुव राईले जानकारी दिए । राईका अनुसार समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट उम्मेदवार चयन गरिएको छ । सिफारिस गरिएकामध्ये आदिवासी जनजाति समूहबाट पूर्णप्रसाद लिम्बू, खस आर्य समूहबाट अम्बिकादेवी सङ्ग्रौला, दलित समूहबाट राधिका रम्तेल र मधेसी समूहबाट रुवीकुमारी ठाकुर रहेका छन् ।
कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु,समानुपातिक सांसदको नाम टुंग्याउँदै
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको बैठकमा सभापति गगनकुमार थापासहित पदाधिकारी तथा कार्यसम्पादन समिति सदस्यहरू सहभागी रहेका छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको यो पहिलो औपचारिक बैठक हो । बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, संसदीय रणनीति तथा समानुपातिकतर्फका सांसद चयनबारे छलफल भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
पति दुर्गासँगै प्रधानमन्त्री सुशीला कार्की पुगिन् गुण्डु, दिइन् ओलीलाई समवेदना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छन् । प्रधानमन्त्री कार्कीको साथमा उनका श्रीमान दुर्गा सुवेदी पनि ओली निवास पुगेका छन् । पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गर्न प्रधानमन्त्री कार्की आइतबार गुण्डु पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । प्रधानमन्त्री कार्कीले ओलीसँग भेटेर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।