११ शाखामार्फत सम्पदा लघुवित्तको सिपमूलक तालिम, ३५६ सदस्य लाभान्वित
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ११ वटा शाखा कार्यालयमार्फत कुल ३५६ जना सदस्यलाई विभिन्न व्यावसायिक तथा आयआर्जनमुखी तालिम प्रदान गरेको जनाएको छ । तालिम कार्यक्रम बाँकेको मदनचौक, सप्तरीको चन्ही, धादिङको चैनपुर, रुपन्देहीको लुम्बिनी सांस्कृतिक तथा भैरहवा, इलाम, मकवानपुरको शिखरकटेरी, नुवाकोटको देउराली, लमजुङको सातबिसे, कास्कीको खोलाकोछेऊ र कैलालीको दुर्गौली शाखाबाट सञ्चालन गरिएको थियो । मदनचौक शाखामा व्यवसायिक बाख्रापालन तालिममा ३० जना सहभागी भएका थिए भने चन्ही शाखामा लहरे तरकारी खेती तालिममा २९ जना सहभागी भए । चैनपुर धादिङमा उन्नत जातको बाख्रापालन तालिममा ३४ जना, लुम्बिनी सांस्कृतिक रुपन्देहीमा लहरे तरकारी खेती तालिममा ३३ जना तथा इलाम शाखामा आचार बनाउने तालिममा २९ जनाको सहभागिता रहेको थियो । त्यसैगरी शिखरकटेरी मकवानपुरमा व्यवसायिक बाख्रापालन तालिममा ३७ जना, देउराली नुवाकोटमा टमाटर खेती तालिममा ३२ जना, सातबिसे लमजुङमा मौरीपालन तालिममा २९ जना, खोलाकोछेऊ कास्कीमा क्रिस्टलका चुरा बनाउने तालिममा २३ जना सहभागी भएका थिए । दुर्गौली कैलालीमा उन्नत जातको बाख्रापालन तालिममा ५० जना तथा भैरहवा रुपन्देहीमा उन्नत जातको भैंसीपालन तालिममा ३० जना सहभागी भएका थिए । सम्बन्धित स्थानीय तहका कृषि अधिकृत तथा विषयगत विज्ञ प्रशिक्षकहरूले तालिम प्रदान गरेका थिए । तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलका अनुसार आगामी दिनमा पनि अन्य शाखामार्फत सिप विकास गरी उद्यमशील बन्न इच्छुक सदस्यहरूका लागि यस्ता तालिम कार्यक्रम सञ्चालन गरिनेछ । हाल सम्पदा लघुवित्तले ४५ जिल्लामा रहेका १५५ शाखा कार्यालयमार्फत एक लाख ८१ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको कुल लगानीमा रहेको कर्जा रकम करिब १० अर्ब ४० करोड रुपैयाँ रहेको जनाएको छ ।
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं । मंगलबारको तुलनामा स्थानीय बजारमा बुधबार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ भने चाँदीको मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बालेन चैत पहिलो साताभित्र बन्नेछन् प्रधानमन्त्री, अर्थमन्त्रीमा स्वर्णिमको चर्चा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगभग दुई तिहाई पाउने निश्चित भएसँगै अब नया सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । रास्वपाले बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि बढाएर चुनावमा गएको थियो । जनताले सोही किसिमले रास्वपालाई अपेक्षागरेभन्दा बढी जनमत दिएर देशको बहुमतसहितको सरकार बनाउने म्यान्डेट दिएको छ । रास्वपाले अब बालेनलाई नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउनेछ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ भने समानुपातिकतर्फको मतगणना पनि लगभग अन्तिम चरणमा छ । रास्वपाको सरकार बन्ने भएसँगै रास्वपाका शीर्ष नेताहरु सरकार गठनको तयारीमा जुटेका हुन् । उनीहरुले बालेनलाई प्रधानमन्त्री र विभिन्न क्षेत्रमा विज्ञता भएका विज्ञ सांसदहरुलाई मन्त्री बनाउने तयारी गरिरहेको हो । रास्वपाका एक नेताका अनुसार अहिले सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच छलफल भइरहेको छ । उनीहरुले क–कसलाई मन्त्रिपरिषदमा पठाउने भन्ने छलफल गरिरहेका छन् । नवनिर्वाचित सांसदहरु पनि मन्त्री बन्नका लागि दौडधूप गरिरहेको बुझिएको छ । दुई दिन अगाडिमात्रै रास्वपाका नेता असिम शाहले कसैले पनि मन्त्री बन्नका लागि दौडधूप नगर्न र फोर्स नलगाउन आग्रह गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका थिए, ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ,’ रवि र बालेनको मिलनका सूत्रधार शाहले भनेका छन्, ‘जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैँ छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ ।’ अहिलेको अन्तरिम सरकारले पनि नयाँ सरकारलाई स्वागत गर्ने तयारी गरिरहेको बुझिएको छ । अहिलेको सरकारले दीर्घकालिन प्रभाव पर्ने कुनै नीतिगत निर्णय र नियुक्तिका विषय पनि गर्न छाडेको बुझिएको छ । रास्वपाका नेताहरुले पनि दीघकालीन प्रभाव पार्ने काम नगर्न आग्रह गरेपछि वर्तमान सरकारले पनि सो विषयलाई गम्भीरताका साथ लिएको हो । मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सरकारले उपलब्ध गराएको रातो पासपोर्ट पनि परराष्ट्र मन्त्रालयलाई नै फिर्ता गरेका थिए । प्रधानमन्त्री र राष्ट्रपतिले पनि चैत पहिलो साताभित्र नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढाउने गरी काम गरिरहेको बताइएको छ । रास्वपाले पनि चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने तयारी गरिरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ (१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ व्यवस्था छ । रास्वपाले बालेनलाई संसदीय दलका नेता चुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । समानुपातिकतर्फको मतगणना अन्तिम अवस्थामा पुग्दा हालसम्मको परिस्थिति हेर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले चार–चार सिट पाउने देखिन्छ । समानुपातिक मतगणना सकिएपछि निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा सिट संख्या निर्धारण गर्छ । प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट, कांग्रेसले १८, एमालेले ९, नेकपाले ७, श्रम संस्कृतिले ३, राप्रपाले १ सिट जितेका छन् । स्वतन्त्रबाट महाविर पुन निर्वाचित भएका छन् । रास्वपाले विषयविज्ञलाई मन्त्री बनाउने चर्चा भइरहेको छ । उसो त अर्थविद् डा. स्वर्णिम वाग्लेलाई सभापति लामिछानेले चुनाव प्रचारप्रसारको क्रममा आगामी आर्थिक वर्षको बजेट लेख्न सुरु गर्न आग्रह गरेका थिए । अहिले अर्थमन्त्रीका रुपमा डा. वाग्लेको चर्चा भइरहेको छ ।
कुकुर लगाएर बाँदर मार्न लगाउने व्यक्ति पक्राउ
काठमाडौं । बाँदरमाथि कुकुर लगाई आक्रमण गरी मार्न लगाउने एक व्यक्ति पक्राउ परेका छन् । ताप्लेजुंगा पाथिभरा याङवरक गाउँपालिका २ का २१ वर्षीय संगम भन्ने छुप्पु हेम्वयालाई प्रहरीले पक्राउ गरेको हो । बाँदरलाई तड्पाउँदै अमानवीय तरिकाले कुकुरले टोकाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले खेतको बालीनाली छेक्न बनाइएको पासोमा परेका बाँदरहरूमाथि कुकुर लगाएर आक्रमण गर्न लगाएका थिए । प्रतिनिधिसभा निर्वाचन अगाडि उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको थियो ।
स्वच्छ हावाका लागि विश्व बैंकको ७ अर्ब ६४ करोड, ४०० उद्योगमा आधुनिक प्रविधि भित्र्याइने
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले उद्योगबाट हुने वायु प्रदूषण घटाउने तथा वायु गुणस्तर व्यवस्थापन सुदृढ गर्ने उद्देश्यसहित ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना’का लागि ५२ मिलियन डलर (७ अर्ब ६४ करोड) बराबरको ऋण सहयोग स्वीकृत गरेको छ । यस परियोजनाले विशेषगरी उद्योग तथा व्यापारिक क्षेत्रका बायलर र भट्टीबाट निस्कने सूक्ष्मकण (पीएम २.५) उत्सर्जन घटाउन मद्दत गर्नेछ । साथै वायु गुणस्तर व्यवस्थापनका लागि राष्ट्रिय प्रणालीलाई पनि सुदृढ बनाइनेछ । परियोजना मुख्यत: काठमाडौं उपत्यका, तराई क्षेत्र तथा आसपासका पहाडी भेगमा केन्द्रित हुनेछ, जहाँ वायु प्रदूषणले गम्भीर जोखिम सिर्जना गरिरहेको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिसलेनका अनुसार वायु प्रदूषण केवल सार्वजनिक स्वास्थ्य संकट मात्र नभई नेपालका लागि ठूलो आर्थिक बोझ पनि हो । ‘स्वास्थ्य खर्च र श्रम उत्पादकत्वमा आएको कमीका कारण नेपालले हरेक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी बराबरको आर्थिक क्षति बेहोर्नुपरेको छ,’ उनले भने । ‘यस परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ तथा दक्ष प्रविधि अपनाउन सहयोग गरेर लाखौं नागरिकलाई हानिकारक प्रदूषणबाट जोगाउने लक्ष्य राखेको छ । यसले सञ्चालन खर्च घटाउने, प्रतिस्पर्धात्मक क्षमता बढाउने र दिगो औद्योगिक विकासलाई समेत सहयोग गर्नेछ,’ उनले थपे । नेपालमा औद्योगिकीकरण बढ्दै जाँदा आगामी वर्षहरूमा औद्योगिक उत्सर्जन वायु प्रदूषणको सबैभन्दा ठूलो स्रोत बन्ने अनुमान गरिएको छ। त्यसैले स्वच्छ उत्पादन प्रविधि अपनाउने आवश्यकता झनै बढेको छ। परियोजनाअन्तर्गत स्वच्छ प्रविधिमा लगानी, प्रोत्साहन तथा प्राविधिक सहयोगको संयोजनमार्फत करिब ४०० उद्योग तथा व्यावसायिक संस्थालाई विद्युतीय बायलर/भट्टी, आधुनिक बायोमास बायलर/भट्टी वा उन्नत उत्सर्जन नियन्त्रण प्रविधि अपनाउन सहयोग गरिनेछ । यसबाट वायु गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । दक्षिण एसिया क्षेत्रका विश्व बैंकका वरिष्ठ वातावरणीय अर्थशास्त्री मार्टिन हेगरका अनुसार नेपालमा स्वच्छ प्रविधि अपनाउने दर कम हुनुका मुख्य कारणहरूमा प्रारम्भिक लगानी लागत उच्च हुनु, दीर्घकालीन वित्तीय पहुँच सीमित हुनु तथा उद्योगहरूको प्राविधिक क्षमता कम हुनु रहेका छन् । ‘यो परियोजनाले दीर्घकालीन वित्तीय सुविधा, लक्षित पूँजी प्रोत्साहन र प्रत्यक्ष प्राविधिक सहयोगमार्फत उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ रूपान्तरण गर्न मद्दत गर्नेछ,’ उनले भने । यो परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले कार्यान्वयन गर्नेछन् । यो वित्तीय सुविधा अन्तर्गत हुने रकमको व्यवस्थापन, वितरण र सम्बन्धित वित्तीय कारोबारको मुख्य जिम्मा राष्ट्रिय वाणिज्य बैंकले लिनेछ । यस परियोजनामा विश्व बैंकको ऋण सहयोगका साथै ५ मिलियन डलर बराबरको अनुदान पनि उपलब्ध गराइनेछ, जुन विश्व बैंकको ‘रेजिलियन्ट एसिया प्रोग्राम’ मार्फत प्रदान गरिनेछ । यो कार्यक्रम संयुक्त अधिराज्य (यूके) को ‘फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस’ र स्विजरल्याण्डको ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन’ को सहयोगमा सञ्चालन हुँदै आएको छ । यो परियोजना इन्डो–गंगेटिक मैदान र हिमालयको फेद क्षेत्रमा सञ्चालन भइरहेको विश्व बैंकको क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमअन्तर्गतको पहल हो, जुन विश्वकै सबैभन्दा प्रदूषित क्षेत्रमध्ये एक मानिन्छ ।
रवि लामिछानेको चुनाव खर्च पौने १० लाख, कुन शीर्षकमा कति ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा पौने १० लाख रुपैयाँ खर्च गरेका छन् । लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाएको खर्च विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च गरेका हुन् । उनले मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१ रूपैयाँ, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको खर्च विवरणमा उल्लेख छ । उनले खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्ठी भेला गर्दा १ लाख ८० हजार खर्च भएको उल्लेख गरेका छन् ।
कामना सेवा विकास बैंकद्वारा २०८३ सालको डिजिटल क्यालेन्डर सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आधुनिक प्रविधिलाई मध्यनजर गर्दै बैंकले यस वर्ष क्यालेन्डरलाई डिजिटल माध्यममार्फत उपलब्ध गराएको जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि, पर्व तथा शुभ मुहूर्तहरू समावेश गरिएको छ । यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्न बैंकले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । उक्त क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ सालको क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्नेछन् । बैंकका अनुसार क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसबाट डिजिटल माध्यममा क्यालेन्डर प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
१२ किलो २३० ग्राम गाँजासहित ३ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् । यसैगरी, भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।