विकासन्युज

हृदय रोग सम्बन्धी रोकथाममा सिंगापुरको नयाँ प्रविधि

काठमाडौं । सिङ्गापुरले सन् २०२७ को सुरुमा हृदय रोग सम्बन्धीको उच्च जोखिममा रहेका व्यक्तिहरू पहिचान गर्न नयाँ उपकरण लागू गर्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार यो योजना सार्वजनिक गर्दै यो कदम रोकथाममुखी स्वास्थ्य सेवामा महत्वपूर्ण परिवर्तन ल्याउने भनेको छ । स्वास्थ्य प्रविधि एजेन्सीले विकास गरेको सहायक दीर्घकालीन रोग उपकरणले व्यक्तिको उमेर, स्वास्थ्य इतिहास, जीवनशैली, खानपान र अन्य व्यक्तिगत तथ्याङ्कको विश्लेषण गरी मधुमेह र उच्च रक्तकोष्ठ लाग्ने सम्भावना निर्धारण गर्छ । यसले हरेक व्यक्तिको जोखिम स्तर पहिचान गरेर स्वास्थ्य केन्द्रहरूमा लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउँछ । यो उपकरण लागू भएपछि, उच्च जोखिममा रहेका व्यक्तिहरूलाई हरेक वर्ष हृदय–सम्बन्धी रोगको जाँच गरिनेछ, जुन पहिले हरेक तीन वर्षमा गरिन्थ्यो । यसरी जाँचको आवृत्ति बढाएपछि प्रारम्भिक चरणमै रोगको पहिचान गर्न र समयमै रोकथामका कदम चाल्न सजिलो हुनेछ । जाँचका लागि आवश्यक पर्ने खर्च सरकारले व्यहोर्नेछ, जसले सबै नागरिकले सहज रूपमा यो सेवा पाउने सुनिश्चित गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार, उपकरणले उच्च जोखिममा रहेका व्यक्तिहरूलाई चिन्हित गरेमा ती व्यक्तिहरूमा आगामी तीन वर्षभित्र मधुमेह, उच्च रक्तकोष्ठ, वा दुवै रोग लाग्ने सम्भावना ७५ प्रतिशतभन्दा बढी हुन्छ । यसको अर्थ, समयमै जाँच र उपचार सुरु गर्न सके स्वास्थ्य जोखिम कम गर्न सकिन्छ ।  मन्त्रालयले यो पहललाई प्रविधिमा आधारित रोकथाममुखी स्वास्थ्य सेवातर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ । यसले व्यक्तिगत जोखिमअनुसार लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ र दीर्घकालीन रूपमा स्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास गरिएको छ । रासस

निर्वाचनमा जेनजीहरूको उत्साहपूर्ण सहभागिता रह्यो : निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा जेनजी पुस्ताको उत्साहपूर्ण सहभागिता देखिएको छ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त राम प्रसाद भण्डारीले यसपटक युवाहरूको सहभागिता निकै उत्साहजनक रहेको बताएका छन् ।  उनका अनुसार निर्वाचनमा जेनजी पुस्ताले उम्मेदवार र मतदाता दुवै भूमिकामा सक्रिय रूपमा सहभागिता जनाएका छन् । युवाहरूमा देखिएको इच्छाशक्ति र लोकतान्त्रिक प्रक्रियाप्रतिको रुचिले आगामी दिनमा देशको राजनीतिक संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।  भण्डारीले युवाहरूको बढ्दो चासोले निर्वाचनप्रति जनविश्वास बढाउन सहयोग पुग्ने पनि उल्लेख गरे। उनका अनुसार नयाँ पुस्ताको सक्रिय सहभागिताले लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

दुर्गम जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिँदै

काठमाडौं । दुर्गमका १५ जिल्लामा मतपत्र हेलिकप्टरबाट ढुवानी गरिने भएको छ ।  निर्वाचन सम्पन्न भएपछि बिहीबार निर्वाचन आयोगमा पत्रकार सम्मेलनमा कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार बिहानसम्म मतपत्र मतगणनासम्म पुगिसक्ने बताए । उनका अनुसार दुर्गम जिल्लामा मतपत्र बिहानसम्ममा पुग्नेछ ।

ललितपुरमा खस्यो १ लाख ८३ हजार मत, कुन क्षेत्रमा कतिले गरे मतदान ?

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाका तीन निर्वाचन क्षेत्रमा उल्लेख्य मतदान भएको छ । ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा करिब १ लाख ८३ हजार ९९८ मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।  निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको प्रारम्भिक विवरणअनुसार क्षेत्र नम्बर-१ मा कुल ५२ हजार ६३२ मत खसेको छ । जसमध्ये २५ हजार ७४१ महिला र २६ हजार ८९१ पुरुष मतदाता सहभागी भएका छन् । यस्तै, क्षेत्र नम्बर-२ मा कुल ६१ हजार ९७५ मत खसेको छ । जसमध्ये ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषले मतदान गरेका छन् । यसैगरी क्षेत्र नम्बर-३ मा सबैभन्दा बढी ६९ हजार ३९१ मत खसेको छ । यस क्षेत्रमा ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । 

प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।  उनले मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा सफलतापूर्वक सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनेलाई धन्यवाद प्रकट गरेका छन् ।  ‘सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु, उनले भनेका छन् ।

सरकारले विकास नगर्दा मतदाता निर्वाचनमा सहभागी भएननन् : भण्डारी

काठमाडौं । संघीय सरकारले विकास नगर्दा जनताले निर्वाचन बहिष्कार गरेको निर्वाचन आयोगले जनाएको छ ।  बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले संघीय सरकारले विकास नगर्दा मतदाता रुष्ट भएको बताए । ‘मतदाताहरू निर्वाचनदेखि रुष्ट भएका होइनन्,’ उनले भने । स्वेच्छिक अधिकारलाई आयोगले जबरजस्ती गर्न नमिल्ने उनले बताए । सन्तुष्ट भएपछि मतदाताहरू निर्वाचनमा सहभागी हुने उनको भनाइ छ ।

आज लोकतन्त्रले जितेको छ : वरिष्ठ नेता शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् ।      प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन्, 'हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।'  

देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, मत पेटिका सिल गरेर गणनास्थलतर्फ ल्याइँदै

काठमाडौं । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गरे ।  दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यवाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै  र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला,  रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरबाट सङ्कलन गरिनेछ । आयोगले मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिएको छ । कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताले मत नदिएको हुनसक्ने भएकाले ती मतदाताले संविधान, प्रणाली र आयोगप्रति भने असन्तुष्टि नभएको बताए ।