काठमाडौं-२ मा रास्वपाका केसीको अग्रता, काँग्रेसका कविर शर्मा पछ्याउँदै
काठमाडौं । निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार सुनिल केसीले १ हजार ६४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीता न्यौपानेले बताइन् । यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन् ।
मोरङका दुई क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ जिल्लाका दुई क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन् । हाल मोरङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ । मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपानेले ९६७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन ले ६४३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ४३७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का घनश्याम खतिवडा ले २७३ मत पाएका छन् । त्यस्तै, मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी अग्रस्थानमा रहेका छन् । उनले ३ हजार ८५८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गुरुराज घिमिरेले ६९५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अमनलाल मोदीले ६७२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का जीवन घिमिरेको ४१३ मत रहेको छ ।
दाङ-१ को सुरुवाती मतगणनामा रास्वपाको फराकिलो अग्रता
काठमाडौं । दाङ-१ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अन्तरसहित अग्रता बनाएको छ । २ हजार २२६ मतगणना हुँदा रास्वपाका देवराज पाठकले १ हजार ५१५, कांग्रेसका योगेन्द्र चौधरीले २९२ र एमालेका रेवतीरमण शर्माले २२० मत प्राप्त गरेका छन् । यस्तै, नेकपाका मेटमणि चौधरीले ८८, राजमोका गणेश आचार्यले ४८ र स्वतन्त्र उम्मेदवार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १३ मत प्राप्त गरेका छन् । दाङ-१ मा ८० हजार ९ सय २० मत खसेको थियो ।
काठमाडौ-१० मा ६ हजार ४२० मत गणना, रास्वपाका विष्टले पाए ४ हजार २३४ मत
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् । हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिए । अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।
झापा क्षेत्र नम्बर ५ मा सुरुवातमै बालेनको अग्रता
काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल १ हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।
आज अधिकांश स्थानमा मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ । मधेस प्रदेशको तराई भू-भागमा आज दिनभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहे पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया सफा रहने तर एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो प्रदेशका तराईमा भने मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ ।
प्रधानमन्त्रीले भनिन् : अब कार्की आयोगसहित अन्य प्रतिवेदन पनि सार्वजनिक गर्छौं
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले अब गौरी बहादुर कार्की नेतृत्वको भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन बुझेर सार्वजनिक गर्ने बताएकी छन् । बिहीबार मतदान सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जाने बताइन् । ‘मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन । अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौं । ताकि जनताले थाहा पाऊन्,’ उनले भनिन् । उनले थुप्रै चुनौती भए पनि आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गएर सफल भएको पनि बताइन् । ‘हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौं । निस्वास्र्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौं,’ उनले भनिन् ।
हृदय रोग सम्बन्धी रोकथाममा सिंगापुरको नयाँ प्रविधि
काठमाडौं । सिङ्गापुरले सन् २०२७ को सुरुमा हृदय रोग सम्बन्धीको उच्च जोखिममा रहेका व्यक्तिहरू पहिचान गर्न नयाँ उपकरण लागू गर्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार यो योजना सार्वजनिक गर्दै यो कदम रोकथाममुखी स्वास्थ्य सेवामा महत्वपूर्ण परिवर्तन ल्याउने भनेको छ । स्वास्थ्य प्रविधि एजेन्सीले विकास गरेको सहायक दीर्घकालीन रोग उपकरणले व्यक्तिको उमेर, स्वास्थ्य इतिहास, जीवनशैली, खानपान र अन्य व्यक्तिगत तथ्याङ्कको विश्लेषण गरी मधुमेह र उच्च रक्तकोष्ठ लाग्ने सम्भावना निर्धारण गर्छ । यसले हरेक व्यक्तिको जोखिम स्तर पहिचान गरेर स्वास्थ्य केन्द्रहरूमा लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउँछ । यो उपकरण लागू भएपछि, उच्च जोखिममा रहेका व्यक्तिहरूलाई हरेक वर्ष हृदय–सम्बन्धी रोगको जाँच गरिनेछ, जुन पहिले हरेक तीन वर्षमा गरिन्थ्यो । यसरी जाँचको आवृत्ति बढाएपछि प्रारम्भिक चरणमै रोगको पहिचान गर्न र समयमै रोकथामका कदम चाल्न सजिलो हुनेछ । जाँचका लागि आवश्यक पर्ने खर्च सरकारले व्यहोर्नेछ, जसले सबै नागरिकले सहज रूपमा यो सेवा पाउने सुनिश्चित गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार, उपकरणले उच्च जोखिममा रहेका व्यक्तिहरूलाई चिन्हित गरेमा ती व्यक्तिहरूमा आगामी तीन वर्षभित्र मधुमेह, उच्च रक्तकोष्ठ, वा दुवै रोग लाग्ने सम्भावना ७५ प्रतिशतभन्दा बढी हुन्छ । यसको अर्थ, समयमै जाँच र उपचार सुरु गर्न सके स्वास्थ्य जोखिम कम गर्न सकिन्छ । मन्त्रालयले यो पहललाई प्रविधिमा आधारित रोकथाममुखी स्वास्थ्य सेवातर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ । यसले व्यक्तिगत जोखिमअनुसार लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ र दीर्घकालीन रूपमा स्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास गरिएको छ । रासस