विकासन्युज

आज लोकतन्त्रले जितेको छ : वरिष्ठ नेता शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् ।      प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन्, 'हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।'  

देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, मत पेटिका सिल गरेर गणनास्थलतर्फ ल्याइँदै

काठमाडौं । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गरे ।  दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यवाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै  र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला,  रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरबाट सङ्कलन गरिनेछ । आयोगले मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिएको छ । कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताले मत नदिएको हुनसक्ने भएकाले ती मतदाताले संविधान, प्रणाली र आयोगप्रति भने असन्तुष्टि नभएको बताए । 

देशभर ६० प्रतिशत मत खस्यो: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ ।  आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले आयोजित पत्रकार सम्मेलनमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न मतदानको प्रारम्भिक विवरण सार्वजनिक गर्दै देशभर करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार केही मतदान केन्द्रमा अझै मत खसाल्ने प्रक्रिया जारी रहेकाले अन्तिम विवरण आउन बाँकी रहेको छ । निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले भने सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रतिवेदन दिएका छन् । भण्डारीका अनुसार मतपेटिका मतगणनास्थलमा पुगेपछि मतगणना सुरु गरिनेछ। हिमाली क्षेत्रका १५ जिल्लाबाट मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गर्ने योजना रहेको उनले बताए । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे । 

ऊर्जा क्षेत्रमा परिवर्तनको अपेक्षा गर्दै ऊर्जा व्यवसायीले दिए भोट

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ललितपुर महानगरपालिका-४ जाउलाखेल मतदान केन्द्रबाट भोट दिएका छन् । प्रतिनिधिसभा निर्वाचनबाट आउने सरकारले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानको लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले यसपटकको निर्वाचनमा खासै उत्साह नदेखिएको बताए । यसैगरी, वरिष्ठ उपाध्यक्ष मोहन डांगीले आफ्नो गृहजिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय ह्वाकु मतदान केन्द्रबाट मतदान गरे । उनले देशलाई ऊर्जामा पूर्ण आत्मनिर्भर बनाउन अब जलाशययुक्त जलविद्युत आयोजनामा केन्द्रित हुनुपर्ने बताएका छन् । डांगीले नेपालमा हालसम्म धेरैजसो आयोजनाहरू रन अफ रिभर प्रकृतिका भएकाले हिउँदको माग धान्न कठिन भइरहेको उल्लेख गरे ।  उनले भने, ‘हामी अहिले पनि ऊर्जामा पूर्ण आत्मनिर्भर हुन सकेका छैनौं । अबको आवश्यकता जलाशययुक्त आयोजना नै हो । सरकारले नाफा-घाटा नहेरी बनाउने बुढीगण्डकीजस्ता आयोजनाभन्दा तेह्रथुममा सम्भाव्यता रहेका आयोजनाहरू आर्थिक रूपमा अझ बढी लाभदायक छन् ।’ आफू तेह्रथुमको विकास र विशेषगरी जलविद्युत क्षेत्रको समृद्धिसँग जोडिएकाले आफ्नो मतदान पनि सोही एजेन्डामा केन्द्रित रहेको उनले स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष डांगीले आठराई क्षेत्रको ऐतिहासिक र शैक्षिक महत्त्वको चर्चा गर्दै यस क्षेत्रलाई शिक्षितहरूको थलोका रूपमा चिनाए । श्री ३ मोहन शमशेरको पालामा स्थापित त्रि–मोहन विद्यालय र विसं. २०१७ सालदेखि नै क्याम्पस सञ्चालनमा आएको सन्दर्भ जोड्दै उनले आठराईको पहिचान जोगाउनु पर्नेमा जोड दिए । ‘आठराई एउटा ब्रान्ड हो, जहाँको शैक्षिक इतिहास निकै पुरानो छ,’ उनले भने ।  विगतका राजनीतिक आन्दोलनहरूमा सक्रिय सहभागी हुँदै आएको बताउँदै उनले यसपटकको निर्वाचन निकै सौहार्दपूर्ण र शान्तिपूर्ण भएकोमा खुसी व्यक्त गरे । निर्वाचनअघि केही डर र संशय रहे पनि जनताले उत्साहपूर्वक र शान्तिपूर्ण वातावरणमा मतदान गरेको उनले बताए ।  उनले ७६२ मेगावाटको तमोर जलाशययुक्त जलविधुत् आयोजना नेपाल सरकारले अनुमति पत्र दिएमा सरकारसँग १ पैसा नमागी ऐन/कानुनले तोकेको राजश्व तिरेर आगामी १० वर्षमा निर्माण गर्ने अठोट गरिरहेको बताए। अब आउने सरकारले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उपाध्यक्ष उत्तम भ्लोन लामाले मकवानपुरको मार्खुको बनदेवी मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै, महासचिव बलराम खतिवाडले काठमाडौं ५ बाट मतदान गरेका छन् । उनले टोखा नगरपालिका ६ हात्तीचोक मतदान केन्द्रबाट भोट दिएका छन् । 

सामाजिक सञ्जालमा सुशीलाको वाहवाही, नेताहरूले पनि गरे प्रशंसा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्चालमा प्रशंसा हुन थालेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले फागुन २१ गते निर्वाचनको तालिका निर्धारण गरेकी थिइन् ।  यो बीचमा धेरैले निर्वाचन हुने/नहुने विषयमा संशय व्यक्त गरिरहेका थिए । कतिपय नेताहरूले पनि वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए । तर, फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ ।  शान्तिपूर्ण रूपमा निर्वाचन गराएको भन्दै सामाजिक प्रयोगकर्ताले उनको प्रशंसा गरेका छन् ।  विभिन्न राजनीतिक दलका नेताहरूले पनि उनको प्रशंसा गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले भनेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ त्यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन् । आज निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’ ‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।  यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि  निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन भएको बताएका छन् ।  उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति धन्यवाद पनि दिएका छन् ।  ‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ चुनाव सम्पन्न भएपछि उनले फेसबुकमा लेखेका छन् । 

काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना हुने

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै रातिबाट मतगणना सुरु हुने भएको छ ।  काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अधिकारी ठाकुरप्रसाद भट्टराईले काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना सुरु गरिने जानकारी दिए । अहिले सबै निर्वाचन क्षेत्रबाट मतपत्रको बाकस संकलन गर्न काम भइरहेको उनले बताए । काठमाडौंमा शान्तिपूर्ण निर्वाचन भएको उनको भनाइ छ । कहाँ-कहाँ मतगणना हुँदैछ ? क्षेत्र नं १ सहकारी विभाग क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका  क्षेत्र नं ३ चामुन्डा माध्यमिक विद्यालय नारायणटार  क्षेत्र नं ४ बुढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय  क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५  क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली  क्षेत्र नं ७ जुडो हल नयाँबजार  क्षेत्र नं ८ जनउद्दार मावि हरिसिद्धी, काठमाडौं  क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु  क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

सुन्धारा कारागारमा १०५ कैदीबन्दीले गरे मतदान

काठमाडौं । सुन्धारा कारागारका २ सय १० कैदीबन्दीले मतदान गरेका छन् ।कारागारका अनुसार २३१ कैदीबन्दीका नामावाली रहेको थियो । ५ जना कर्मचारी र १ सय ५ कैदीबन्दीले मतदान गरेको कारागारले जनाएको छ ।  केही कैदीबन्दी छुटेका, अन्य कारागार सरुवा र केही कर्मचारी सरुवा भएका कारणले २१० जनाले मत खसाएका हुन् । बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन भएको छ । १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४०६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए ।

झापामा मतपत्र बाकस संकलन हुँदै, सम्भव भए आजै रातिबाट मतगणना गरिने

काठमाडौं । झापाका सबै निर्वाचन क्षेत्रमा मतपत्रको बाकस संकलन भएको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्रको बाकस सुरक्षित भण्डार गरिसकेपछि मतगणनाको कार्य अगाडि बढ्ने छ । आजै राति सर्वदलीय बैठक बस्ने मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।  मतगणनास्थलमा बस्नेहरूको परिचय संकलन गरिने पनि आयोगले उल्लेख गरेको छ । ‘सम्भव भएमा आजै रातिबाट सबै क्षेत्रको मतगणना सुरु गरिनेछ,’ आयोगका एक अधिकृतले विकासन्युजलाई भने ।