विकासन्युज

२ बजेसम्म सुनसरीमा खस्यो ३० प्रतिशत मत

काठमाडौं । कोशी प्रदेशको सुनसरी जिल्लामा २ बजेसम्म ३० प्रतिशत मतदान भएको छ ।  सुनसरीको चारवटै क्षेत्रमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेले जानकारी दिए । उनका अनुसार ४ वटै निर्वाचन क्षेत्रमा २ बजेसम्म ३० प्रतिशत मत खसेको छ । ‘सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ,’ भट्टराईले भने, ‘कुनै पनि अप्रिय घट्ना घटेको छैन । सबैतिर मतदान जारी रहेको छ । अहिलेसम्म कुनै पनि अप्रिय घटनाको जानकारी आएको छैन ।’ सुनसरीमा ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन् ।

अर्बौं खर्च गरेर मधेसको दलित बस्ती बनाउने गगनको वचन

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् ।  काठमाडौं ४ मा बिहान मतदान गरी सर्लाही पुगेर उनले विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका हुन् ।  उनले सर्लाही जानुअघि काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका थिए ।  त्यस्तै, उनले मधेसमा गएर आफूले राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको उनले बताए ।  साथै सर्लाहीको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरु पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए ।  उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए ।  उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अरबौं पैसा लागोस् । बरु मन्त्रालय काटौं । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । कुनै निर्वाचन क्षेत्रमा ५२ प्रतिशतसम्म मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । उनले मतदानमा उत्साहजनक सहभागिता देखिएको बताए ।  

१ बजेसम्म झापा ५ मा खस्यो ४४ प्रतिशत मत

काठमाडौं । झापामा १ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ । झापाका ५ वटा निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ ।  झापा क्षेत्र नम्बर १ मा ४४.४ प्रतिशत, झापा २ मा ४४.७९ प्रतिशत, ३ मा ३९.३२ प्रतिशत, ४ मा ३१.४७ प्रतिशत र झापा ५ मा ४४.४१ प्रतिशत मत खसेको झापा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले जानकारी दिए । ‘झापाको सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ । यहाँ कुनै पनि अप्रिय घटना घटेको छैन । मतदान जारी छ,’ उनले भने । झापामा ७ लाख १३ हजार ३५७ मतदाता रहेका छन् । पुरुष मतदाता ३ लाख ५८ हजार ३४६ र महिला ३ लाख ५५ हजार १८३ मतदाता रहेका छन् ।

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी आफ्ना नागरिकको उद्धार गर्दै अष्ट्रेलिया

काठमाडौं । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइवटा सैन्य विमान तैनाथ गरी नागरिक उद्धारमा तल्लीन रहेको अधिकारीहरूलाई यदृत गर्दै एएफपीले जनाएको छ । अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयाेतल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किए पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् । अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविधा प्रवाह  गरेको अधिकारीहरूलाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले समेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरेका छन् । उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिए ।  यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउँदै अस्ट्रेलियाले यस क्षेत्रमा १ लाख १५ हजार नागरिक रहेको बताएको छ । न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि  बिहीबार मध्यपूर्वमा दुइवटा सैन्य विमान तैनाथीकोे आदेश दिएको छ ।

देशभरि खस्यो ४४ लाख बढी मत

काठमाडौं ।  देशैभरि ४४ लाख मत खसेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको  छ । त्यसैगरी, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ३ लाख १२ हजार मत खसेको छ ।  प्रतिनिधि सभाको निर्वाचनमा मध्यान्ह १ बजेसम्म ३ लाख १२ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । काठमाडौंका सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको उनले बताए । अहिलेसम्म कुनै अप्रिय घटना नघटेको उनले उल्लेख गरे ।

झापामा खस्यो ४० प्रतिशत मत

काठमाडौं । बिहीबार मध्यान्ह १ बजेसम्म झापामा ४० प्रतिशत मत खसेको छ ।  प्रतिनिधि सभाको निर्वाचनमा झापामा सबै क्षेत्रमा निर्वाचन जारी रहेको र ४० प्रतिशत मत खसिसकेको झापा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले जानकारी दिए । ‘झापाको सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ । यहाँ कुनै पनि अप्रिय घटना घटेको छैन । मतदान जारी छ ,’ उनले भने । झापामा ७ लाख १३ हजार ३५७ मतदाता रहेका छन् । पुरुष मतदाता ३ लाख ५८ हजार ३४६ र महिला ३ लाख ५५ हजार १८३ मतदाता रहेका छन् ।

सुदूरपश्चिममा अहिलेसम्म ५ लाख ९ हजार मत खस्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा दिउँसो १ः३० बजे सम्म झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९.६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हजार ४७८ महिला, दुई लाख ४८ हजार ७२१ पुरूष र एक अन्य गरी पाँच लाख नौ हजार २०० मतदाताले मतदान गरेका छन् । प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेकोमा १७ लाख १६ हजार ६६० मतदाता छन् । सुदुरपश्चिमका ९ वटै शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।