गुल्मीमा साढे १२ बजेसम्म २२ प्रतिशत मतदान
काठमाडौं । गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३० बजेसम्म जिल्लाभर कुल ५२ हजार ७४० मत खसेको छ। यो कुल मतदाताको करिब २२.९७ प्रतिशत हो । जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । तीमध्ये १ लाख १५ हजार २ सय १० महिला, १ लाख १४ हजार ३ सय ३७ पुरुष तथा २ जना अन्य मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार अहिलेसम्म मतदान शान्तिपूर्ण तरिकाले चलिरहेको छ । सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको पौडेलले जानकारी दिए। गुल्मी क्षेत्र नम्बर–१ मा कुल १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ हजार २ सय ७२ महिला र ५९ हजार ९ सय १४ पुरुष मतदाता छन् । मतदानका लागि ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएका छन् । यस क्षेत्रमा पनि बिहानदेखि मतदाताको सक्रिय सहभागिता देखिएको छ । त्यसैगरी, गुल्मी क्षेत्र नम्बर–२ मा कुल १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन् । तीमध्ये ५२ हजार ९ सय ३८ महिला, ५४ हजार ४ सय २३ पुरुष र २ जना अन्य मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्रबाट मतदान भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेका अनुसार मतदानलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई समेत परिचालन गरिएको छ । संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान प्रक्रियालाई व्यवस्थित बनाउन मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरू बिहानैदेखि खटिएका छन् । कतिपय स्थानमा वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा पहिलो पटक मतदान गर्न आएका युवाहरूको पनि उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगले मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। मौसम सामान्य रहेकाले मतदानमा कुनै अवरोध नआएको स्थानीय प्रशासनले जनाएको छ । मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । त्यसपछि मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी तोकिएको स्थानमा मतगणना गर्ने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो
ढोरपाटन । अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन् । कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ । बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।
केपी शर्मा ओलीले गरे मतदान
काठमाडौं । केपी शर्मा ओलीले बिहीबार मतदान गरेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले भक्तपुर-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् । ओली झापा जिल्ला-५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाता मतदान केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । केही स्थानमा सामान्य भीड देखिए पनि मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ ।
विप्लवले गरे मतदान
काठमाडौं । विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनीकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन्। मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।
ओखलढुङ्गामा गोली चलेको खबर ‘भ्रामक’, अफवाह फैलाउनेमाथि कारबाही हुने
ओखलढुङ्गा । निर्वाचनका क्रममा ओखलढुङ्गा जिल्लामा मतदान बिथोल्ने प्रयास भएको र गोली लागेर एक जना घाइते भएको भनी सामाजिक सञ्जालमा फैलिएको खबर पूर्ण रूपमा झुटो र भ्रामक भएको प्रहरीले स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘सुशासन सञ्चार’ नामक फेसबुक पेजबाट सम्प्रेषण भएको उक्त सूचनाको खण्डन गरेको हो । प्रहरीका अनुसार जिल्लामा हालसम्म मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा भइरहेको छ । गलत अफवाह फैलाएर जनतामा त्रास पैदा गर्ने व्यक्तिको पहिचान भइरहेको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख (प्रहरी नायव उपरीक्षक) मदन केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गलत अफवाह फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास गरी कानुन बमोजिम आवश्यक कारबाही गरिने छ ।’ प्रहरीले सामाजिक सञ्जालमा आउने अपुष्ट र भ्रामक सूचनाको विश्वास नगर्न र आधिकारिक निकायबाट आउने जानकारीलाई मात्र आधार मान्न आम नागरिकलाई आग्रह गरेको छ ।
भू-राजनीतिक जोखिमबीच चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५ देखि ५ प्रतिशतमा झार्यो
काठमाडौं । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू-राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड दिने सङ्केत पनि दिएको छ । प्रधानमन्त्री ली किआङले बिहीबार राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकको उद्घाटन सत्रमा प्रस्तुत गरेको सरकारी प्रतिवेदनमार्फत उक्त लक्ष्य सार्वजनिक गरे । उनले प्रस्तुत गरेको ३५ पृष्ठको प्रतिवेदन एक घण्टाभन्दा बढी समय लगाएर पढेका थिए । नयाँ लक्ष्य गत वर्षको वास्तविक ५ प्रतिशत आर्थिक वृद्धिदर तथा अघिल्ला तीन वर्षमा राखिएको करिब ५ प्रतिशतको लक्ष्यभन्दा केही कम हो । सन् १९९१ पछिको यो सबैभन्दा न्यून वृद्धि लक्ष्य मानिएको छ । प्रतिवेदनमा उपलब्धि स्वीकार्दै चीनले सामना गरिरहेका कठिनाइ र चुनौतीहरूबारे सरकार स्पष्ट रहेको उल्लेख गरिएको छ । चीनका नीतिनिर्माताहरूले अहिले घरेलु खर्च बढाएर सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्ने र राष्ट्रपति सी जिनपिङले अघि बढाउनुभएको कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स लगायत उन्नत प्रविधिमा विश्व नेतृत्व कायम गर्ने रणनीतिबीच सन्तुलन मिलाउने प्रयास गरिरहेका छन् । वार्षिक प्रतिवेदनले घरेलु मागलाई सहयोग गर्ने नीति निरन्तर रहने सङ्केत दिएको छ, तर छोटो अवधिमा अर्थतन्त्रलाई तीव्र गति दिन कुनै ठूलो नयाँ प्रोत्साहन कार्यक्रम ल्याइने सम्भावना नरहेको पनि जनाइएको छ । सरकारले सन् २०२६ का लागि प्रस्तुत गरेको मस्यौदा बजेटमा रक्षा खर्चको वार्षिक वृद्धि दर ७ प्रतिशतमा सीमित गरिएको छ । यो पछिल्ला वर्षहरूमा करिब ७.२ प्रतिशत थियो । कम्युनिस्ट पार्टीले तय गरेका नीतिलाई समर्थन गर्ने करिब तीन हजार सदस्यीय राष्ट्रिय जन काङ्ग्रेसले आगामी साताको समापन सत्रमा वार्षिक प्रतिवेदन र बजेट अनुमोदन गर्ने अपेक्षा गरिएको छ । साथै सन् २०३० सम्मका प्राथमिकता निर्धारण गर्ने पाँच वर्षे योजनामा पनि निर्णय हुनेछ । चीन अहिले व्यापारिक तनाव र वास्तविक युद्धका प्रभावबीच रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । एसियाका धेरै देशझैँ चीन पनि मध्यपूर्वबाट आउने तेल र प्राकृतिक ग्यासमा निर्भर रहेको र त्यहाँको युद्धले ऊर्जा मूल्य बढाउने तथा आपूर्ति जोखिममा पार्ने सम्भावना बढाएको बताइएको छ । प्रतिवेदनले बढ्दो भू-राजनीतिक तनावका कारण स्वतन्त्र व्यापार गम्भीर दबाबमा परेको उल्लेख गर्दै देशभित्र उत्पादन आपूर्ति बलियो रहँदा माग कमजोर हुनु र विकासका नयाँ चालकतर्फ सङ्क्रमण कठिन हुनु जस्ता असन्तुलनलाई पनि औंल्याएको छ । धेरै वर्षयता यति जटिल परिस्थिति बिरलै देखिएको सरकारको निष्कर्ष छ, जहाँ बाह्य आघात र घरेलु समस्या एकसाथ देखिएका छन् । घरेलु अर्थतन्त्र सुस्त रहे पनि चीनले निर्यातका माध्यमबाट वृद्धि कायम राखेको छ । गत वर्ष चीनको व्यापार अधिशेष झन्डै १२ खर्ब डलरको रेकर्ड स्तरमा पुगेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात शुल्क तीव्र रूपमा बढाएपछि अमेरिकातर्फको निर्यात घटेको छ । यद्यपि अन्य देशतर्फको निर्यात बढे पनि त्यहाँका उद्योग र रोजगारीमा असर पर्ने चिन्ताका कारण केही सरकारहरूले विरोध जनाएका छन् । प्रधानमन्त्री लीले नागरिकको जीवनस्तर सुधार गर्ने र उपभोक्ता खर्च बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । घरजग्गा बजारको मन्दीका कारण घरको मूल्य घट्दा धेरै चिनियाँ नागरिकले खर्च घटाएको र यसले लाखौँ रोजगारी प्रभावित भएको सरकारको आकलन छ । सरकारले नयाँ कार, उपकरण तथा अन्य वस्तु खरिद गर्दा पुराना सामान साट्ने उपभोक्तालाई छुट दिन २ खर्ब ५० अर्ब युआन (करिब ३६ अर्ब डलर) बराबरको बन्ड जारी गर्ने योजना अघि सारेको छ । साथै नयाँ आवास आपूर्ति नियन्त्रण गर्न र बिक्री नभएका घरको सङ्ख्या घटाउन सहरअनुसार फरक नीति अपनाइने बताइएको छ । दक्षिणी चीनका एक घरजग्गा एजेन्ट हे मेरुका अनुसार बजारको सुस्तताले आम्दानीमा ठूलो गिरावट आएको छ । उहाँको मासिक आम्दानी अहिले करिब १० हजार युआनमा सीमित रहेको छ, जुन पाँच वर्षअघिको आम्दानीको एक तिहाइ मात्र हो । दुई महिनामा एउटा मात्र कारोबार भए पनि भाग्यमानी ठान्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले धेरै मानिसका लागि रोजगारी पाउन कठिन भएको छ र आम्दानी घटेकाले खर्च गर्ने क्षमता पनि कमजोर बनेको छ । विश्लेषकहरूले घरजग्गा बजार पुनरुत्थानसँगै सामाजिक सुरक्षा खर्च बढाउने र रोजगारीको स्थायित्व सुधार गर्ने उपाय आवश्यक रहेको बताएका छन् । एएक्सए लगानी प्रबन्धककी इकटेरिना बिगोसका अनुसार दीर्घकालीन दिगो आर्थिक वृद्धिका लागि घरेलु माग पुनर्जीवित गर्नु महत्त्वपूर्ण भए पनि चीनलाई उच्च स्तरको उपभोगमुखी अर्थतन्त्रतर्फ मोड्न समय लाग्नेछ । यसैबीच चीनले सैन्य क्षेत्रमा पनि व्यापक पुनर्संरचना अघि बढाएको छ । रक्षा खर्च वृद्धि १९ खर्ब युआन ९करिब दुई खर्ब ७० अर्ब डलर० पुगेको छ । हालै भ्रष्टाचारको आरोपमा उच्च सैन्य अधिकारीहरूलाई हटाउने अभियान चलाइएको छ, जसलाई विश्लेषकहरूले सेनाको आधुनिकीकरण र पिपुल्स लिबरेसन आर्मीमाथि कम्युनिस्ट पार्टीको नियन्त्रण सुदृढ बनाउने प्रयासका रूपमा हेरेका छन् । यस वर्षको बैठकअघि राष्ट्रिय जन काङ्ग्रेसबाट हटाइएका १९ प्रतिनिधिमध्ये नौ जना सैन्य अधिकारी थिए । प्रतिवेदनले जनमुक्ति सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्ने प्रतिबद्धता दोहोर्याउँदै सेनामा राजनीतिक निष्ठा सुनिश्चित गर्ने नीति अझ कडाइका साथ लागू गरिने जनाएको छ ।
सुरक्षा जोखिम बढेको भन्दै बालेन चढेको हेलिकप्टर बीचबाटै फर्कियो, आज झापा नजाने
काठमाडौं । बालेन शाह चढेको हेलिकप्टर सुरक्षा चुनौतीका कारण बीचमै फर्किएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह काठमाडौंमा मतदान गरिसकेपछि हेलिकप्टरमार्फत झापा जिल्ला जाँदै थिए। तर झापामा सुरक्षा चुनौती रहेको जानकारी सुरक्षा निकायबाट प्राप्त भएपछि हेलिकप्टर फर्काइएको हो । बालेनको सचिवालयका प्रेस सदस्य सुरेन्द्र बजगाईंका अनुसार सुरक्षा निकायले सम्भावित अवरोधको संकेत गर्दै नजान सल्लाह दिएपछि टोली काठमाडौं फर्किएको हो । उनका अनुसार रास्वपाबाहेक अन्य दलका केही कार्यकर्ताबाट सुरक्षा चुनौती बढ्न सक्ने जानकारी आएको थियो । झापा जानुअघि निर्वाचन सम्बन्धी सबै प्रक्रिया तथा अनुमति निर्वाचन आयोग लगायत सम्बन्धित निकायबाट लिइसकिएको पनि उनले बताए । शाहलाई २१ गते काठमाडौं-झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरिएको निर्वाचन आयोगको पत्रमा पनि उल्लेख छ । सो रुटमा हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेका बखत उपलब्ध गराउने गरेर आयोगले अनुमति दिएको थियाे । हेली एभरेस्टको ‘नाइन एन-एओबी’ उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९ः१२ बजे काठमाडौंबाट झापातर्फ प्रस्थान गरेको थियो । तर सुरक्षा अवस्थालाई मध्यनजर गर्दै हेलिकप्टर फर्काइएपछि शाह आज झापा नजाने भएका छन् ।
राष्ट्रपति पौडेलले गरेनन् मतदान, पदको गरिमा जोगाउन त्यागेको दावी
काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले भने यसपटकको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग नगर्ने भएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रको सर्वोच्च पदमा आसिन व्यक्ति संविधानको संरक्षक र सबैको साझा अभिभावक हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै मतदान नगर्ने निर्णय लिएका हुन्। राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले पदको गरिमा कायम राख्न तटस्थ बसेको जानकारी दिए । उनले भने, ‘राष्ट्रपतिज्यूले आफू राष्ट्रको अभिभावक र संविधानको पालक एवं रक्षक भएकाले कुनै पनि पक्ष लिनु उपयुक्त नहुने ठान्नुभएको छ । उहाँले निर्वाचनको प्रक्रियालाई सम्मान गर्दै आफ्नो पदको तटस्थता जोगाउन मत नहाल्ने निर्णय गर्नुभएको हो । राष्ट्रपति पौडेलको मतदाता नामावली गृहजिल्ला तनहुँमा रहेको छ । देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहँदा राष्ट्रपतिको यो निर्णयलाई कतिपयले संवैधानिक नैतिकताको उदाहरणका रूपमा हेरेका छन् भने कतिपयले मतदान अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् ।