विकासन्युज

मतदानपछि सुरेन्द्रले भने– निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छ

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताएका छन् ।  पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गरेका हुन् । पाण्डेले यो निर्वाचनलाई भदौ २३–२४ पछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गरे ।  निर्वाचनको नतिजाबारे विश्लेषण गर्दै पाण्डेले नेपालको वर्तमान निर्वाचन प्रणालीले एकल बहुमतलाई निषेध गरेको तर्क गरे ।  ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहेको व्यवस्थामा कुनैपनि दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह रहेको उनको भनाइ छ ।  पाण्डेले छिमेकी मुलुक बङ्गलादेशको उदाहरण दिँदै नेपालमा संविधानका मुख्य एजेण्डालाई थाँती राखेर चुनाव गरिएकोमा असन्तुष्टि जनाए । बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूपबारे निर्णय लिइएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा भने दलहरू सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेको आरोप लगाए । अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाका बीच सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा पाण्डेले धन्यवादसमेत दिए ।  

इरान-इजरायल युद्ध फैलिँदै: कुर्दिश समूहमाथि आक्रमण, टर्कीले सोध्यो स्पष्टीकरण

काठमाडौं । अमेरिका र इजरायलसँग सुरु भएको युद्ध तीव्र बन्दै जाँदा इरानले बिहीबार इराकमा रहेका कुर्दिश समूहहरूमाथि आक्रमण गरेको जनाएको छ । तेहरानले ती समूहहरूलाई ‘पृथकतावादी गतिविधि’ नगर्न कडा चेतावनीसमेत दिएको छ । युद्ध विस्तार हुँदै जाँदा क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव देखिन थालेको छ । इरानका सर्वोच्च नेतामाथि अमेरिका-इजरायलले गरेको आक्रमणपछि गत शनिबार सुरु भएको द्वन्द्व अहिले मध्यपूर्वका धेरै क्षेत्रमा फैलिएको छ । यसले विश्व बजारमा दबाब बढाएको, ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गरेको र अन्तर्राष्ट्रिय यात्रामा समेत अव्यवस्था ल्याएको देखिएको छ । तेहरानले बिहीबार इराकमा आधारित कुर्दिश समूहहरूलाई लक्षित कारबाही गरेको जनाएको छ । इरानका अधिकारीहरूले ती समूहहरूले ‘क्रान्ति विरुद्ध गतिविधि’ गरिरहेको आरोप लगाएका छन् । केही रिपोर्टहरूमा अमेरिकाले कुर्दिश लडाकूहरूलाई इरानमा घुसपैठ गर्न हतियार उपलब्ध गराउन खोजेको दाबी गरिएको छ । निर्वासित इरानी कुर्दिश समूहका एक सदस्यको हत्या भएको आक्रमण पनि यिनै घटनाक्रमसँग सम्बन्धित भएको समूहका प्रतिनिधिले बताएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले पृथकतावादी गतिविधि सहन नसकिने चेतावनी दिए । उनले ‘पृथकतावादी समूहहरूले अहिलेको अवस्थालाई अवसर ठानेर कुनै कदम चाल्ने भूल नगर्न’ आग्रह गरे र सरकारले त्यस्तो गतिविधि कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारे । बढ्दो द्वन्द्वले क्षेत्रीय शक्तिहरूलाई क्रमशः युद्धतर्फ तानिरहेको देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिवाले यो सङ्कटले विश्व अर्थतन्त्रको लचिलोपनलाई ‘फेरि एकपटक परीक्षण’ गर्ने चेतावनी दिए । इरानको एलिट रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्य बन्द गरिएको दाबी गरेको छ । विश्वको कच्चा तेलको झण्डै पाँचौँ भाग यही मार्गबाट पार हुने भएकाले यसको प्रभाव विश्व ऊर्जा बजारमा ठूलो हुनसक्ने विश्लेषण गरिएको छ । बजार विश्लेषक संस्था केप्लरका अनुसार तेल ट्याङ्करहरूको आवागमन करिब ९० प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले युद्ध सुरु गर्ने निर्णय र यसको उद्देश्यबारे फरक-फरक व्याख्या दिएका छन् । कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्न अमेरिकी सिनेटमा प्रस्ताव पेश गरिएको थियो, तर बुधबार उक्त प्रस्ताव अस्वीकार भएको छ । यसबीच तेहरानमा पनि तनाव कायम छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार बिहीबार बिहान राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको छ र सुरक्षालाई सक्रिय बनाइएको छ । विस्फोटका प्रभावबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन । इजरायलले भने तेहरानभरि ‘इरानी आतङ्कवादी शासनको पूर्वाधार विरुद्ध ठूलो आक्रमण अभियान’ सुरु गरिएको दाबी गरेको छ । त्यसअघि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले पनि विस्फोटको आवाज सुनेका थिए, तर तत्काल हताहतको पुष्टि भएको छैन । पछि इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिएको जनाएको छ । लेबनानमा पनि द्वन्द्व चर्किएको छ । राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढमा दुई आक्रमण भएका छन्, जहाँबाट धुवाँ उठिरहेको दृश्य एएफपीटिभीले देखाएको छ । त्रिपोली नजिकको बेद्दावी नामक प्यालेस्टिनी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेन्टमा भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एनएनएले जनाएको छ । दक्षिण लेबनानमा सडकमा गुडिरहेको गाडीमा ड्रोन आक्रमण हुँदा तीन जनाको मृत्यु भएको पनि रिपोर्ट गरिएको छ, यद्यपि आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन । इजरायलले पछिल्ला यी आक्रमणहरूको तुरुन्त जिम्मेवारी लिएको छैन । तर हालैका दिनमा इजरायली कारबाहीमा कम्तीमा ७५ जनाको मृत्यु भएको र दशौँ हजार मानिस विस्थापित भएको बताइएको छ । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गर्न थालेपछि लेबनान पनि द्वन्द्वमा तानिएको हो । अहिले इजरायली सेना सीमावर्ती सहरतर्फ अघि बढेका कारण व्यापक रूपमा बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । इरानले आफ्नो जवाफी आक्रमणमा खाडी क्षेत्रका अमेरिकी हित र ऊर्जा पूर्वाधारलाई लक्षित गरेको जनाएको छ । कतारले राजधानी दोहास्थित अमेरिकी दूतावास नजिक बस्ने बासिन्दाहरूलाई बिहीबार सुरक्षित स्थानतर्फ सार्न थालेको छ । कतारले यसअघि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण प्रयास विफल पारिएको जनाएको थियो । कतार सरकारले नागरिकलाई घरभित्र बस्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी दिएको छ । युद्ध सुरु भएयता खाडी क्षेत्रका विभिन्न देशमा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सर्वसाधारण रहेका छन् । मृतकमध्ये कुवेतकी ११ वर्षीया बालिका पनि रहेको बताइएको छ । संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया र कतारले बुधबार इरानी क्षेप्यास्त्रहरू रोकेको बताएका छन् । तीमध्ये केही ड्रोनले साउदी अरेबियाको विशाल रास तनुरा तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको बताइएको छ । टर्की पनि यस सङ्कटमा तानिएको देखिएको छ । इरानबाट प्रक्षेपण गरिएको एक क्षेप्यास्त्र टर्कीको हवाई क्षेत्रतर्फ अघि बढ्दा नाटोको हवाई रक्षा प्रणालीले त्यसलाई नष्ट गरेको टर्कीले जनाएको छ । एक टर्की अधिकारीका अनुसार उक्त क्षेप्यास्त्र साइप्रसस्थित बेलायती सैन्य आधारतर्फ लक्षित गरिएको देखिएको थियो । टर्कीले यस घटनाबारे स्पष्टीकरण माग्न इरानी राजदूतलाई बोलाएको छ । टर्कीका विदेशमन्त्रीले आफ्नो इरानी समकक्षीसँग कुरा गर्दै द्वन्द्वलाई अझ फैलाउने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरे । यसबीच युद्ध समुद्री क्षेत्रमा पनि फैलिएको सङ्केत देखिएको छ । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको तट नजिक इरानी युद्धपोतलाई टारपीडो प्रहार गरेर डुबाएको बताइएको छ । श्रीलङ्काली अधिकारीहरूका अनुसार उक्त घटनापछि समुद्रबाट ८७ वटा शव बरामद गरिएको छ, जसमा ६० भन्दा बढी आइआरआइएस देना फ्रिगेटमा रहेको अनुमान गरिएको छ । श्रीलङ्काली सेनाले ३२ जना नाविकलाई जीवित उद्धार गरेको जनाएको छ । इरानको सरकारी इरना समाचार एजेन्सीले युद्ध सुरु भएदेखि एक हजार ४५ जना सैनिक र सर्वसाधारण मारिएको दाबी गरेको छ, तर एएफपीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । इरानका अनुसार दक्षिणी सहर मिनामा शनिबार विद्यालयमा भएको आक्रमणमा धेरै बालबालिकासहित १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । एएफपीका पत्रकारहरू सुरक्षा कारणले उक्त स्थानमा स्वतन्त्र रूपमा पुग्न सकेका छैनन् । अमेरिकी अधिकारीहरूले भने उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।  अमेरिकी अधिकारीहरूले पनि युद्धमा आफ्ना छ जना सैनिक मारिएको बताएका छन् । युद्धको प्रभाव विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ । वासिङ्टनमा अमेरिकी सिनेटले बुधबार अमेरिकी सैन्य कारबाही सीमित गर्ने प्रस्ताव अस्वीकार गरेको छ । रिपब्लिकनहरूले राष्ट्रपति ट्रम्पलाई समर्थन गरेपछि प्रस्ताव असफल भएको हो । उक्त प्रस्ताव पारित भए पनि ट्रम्पले भिटो गर्न सक्ने अवस्था थियो । आइएमएफ प्रमुख जर्जिवाले यो सङ्कट दीर्घकालीन आर्थिक असर ल्याउन सक्ने चेतावनी दिए । ‘हामी सम्भवतः लामो समयसम्म असर पार्ने अवस्थातर्फ जाँदैछौँ,’ उनले भने ।  द्वन्द्वका कारण समुद्री सुरक्षा पनि प्रभावित भएको छ । कुवेतको समुद्री क्षेत्रमा रहेको एउटा तेल ट्याङ्करमा ठूलो विस्फोट भएपछि तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले जनाएको छ । ऊर्जा आपूर्ति सङ्कटको आशङ्काबीच दक्षिण कोरियाले ६८ अर्ब डलरको बजार स्थिरीकरण कोष सक्रिय गरेको जनाएको छ । चीनले भने आफ्ना तेल प्रशोधन कम्पनीहरूलाई डिजेल र पेट्रोल निर्यात रोक्न निर्देशन दिएको छ । चीनले मध्यपूर्व सङ्कट समाधानका लागि विशेष दूत पठाउने घोषणा पनि गरेको छ, तर त्यसबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

सर्लाहीमा मतदान जारी

काठमाडौं । सर्लाहीमा मतदान जारी रहेको छ । सर्लाहीको सबै क्षेत्रमा निर्वाचन जारी रहेको सर्लाही जिल्ला प्रशासन कार्यालयका प्रमुख रामु राज कडरियाले जानकारी दिए । ‘अहिले म सर्लाहीको ४ नम्बर क्षेत्रमा छु । यहाँ शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

दोलखमा अझै सुरु भएन मतदान

काठमाडौं । दोलखामा अझै मतदान सुरु हुन सकेको छैन । तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको थियो । सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले अझै मतदान सुरु हुन नसकेको तर केही क्षणमा मतदान सुरु हुने जानकारी दिए । उनका अनुसार अहिले मतदानस्थलमा सबै पक्षबीच वार्ता भइरहेको छ । केही क्षणमा मतदान सुरु हुने आलेले विकासन्युजलाई बताए । उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए ।

गुल्मीको हिमालय मावि केन्द्रमा खस्यो १ हजार मत

काठमाडौं । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वस्तुस्थित श्री हिमालय मावि केन्द्रमा १ हजार ७ मत खसेको छ ।  बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया अत्यन्तै शालिनतापूर्वक चलिरहेको मतदान अधिकृत विवेक खनालले जानकारी दिए ।  स्थानीय अर्जुन भण्डारीले बिहान एकछिन मतदाता लाइनमा लाग्नु परेपनि अहिले लाइनमा बस्नु नपरेको बताए ।

मध्यपूर्व युद्ध: तनाव थप चर्कियो

काठमाडौं । मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान र इजरायलबीच नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा हवाई आक्रमण, खाडी क्षेत्रमा समुद्री सुरक्षा सङ्कट र विश्व शक्तिहरूबीच कूटनीतिक टकरावका घटनाले क्षेत्रीय तनाव अझ बढेको सङ्केत दिएका छन् । बिहीबार बिहान इरानको राजधानी तेहरानमा थुप्रै विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ । विस्फोटपछि देशको सुरक्षा संयन्त्र सक्रिय गरिएको इरानले जनाएको छ । यसैबीच इरानले इजरायलतर्फ नयाँ चरणको क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेना र तेहरानको राज्य सञ्चारमाध्यमले बताएका छन् । उक्त आक्रमणपछि तेल अभिवसहित धेरै क्षेत्रमा हवाई हमलाको चेतावनी दिइएको थियो । एएफपीका पत्रकारहरूका अनुसार जेरुसेलममा पनि चेतावनी साइरन बजेसँगै विस्फोटको आवाज सुनिएको थियो । तर इजरायलको आपतकालीन सेवाले तत्काल कुनै हताहत नभएको जनाएको छ । इजरायलले लेबनानमा पनि आक्रमण जारी राखेको छ । बासिन्दालाई चेतावनी दिएपछि बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढ मानिने क्षेत्रमा हवाई आक्रमण गरिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल जाने राजमार्गमा भएका दुई अलग इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ । खाडी क्षेत्रमा पनि तनाव देखिएको छ । कुवेत नजिकको समुद्री क्षेत्रमा भएको ‘ठूलो विस्फोट’ पछि एउटा तेल ट्याङ्करमा क्षति पुगेको र तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले जनाएको छ । एजेन्सीका अनुसार लङ्गरमा रहेको ट्याङ्करका कप्तानले बन्दरगाह नजिक ठूलो विस्फोट देखेको र त्यसपछि एउटा सानो जहाज त्यहाँबाट निस्किएको बताएका छन् । इरानसँगको तनाव बढेपछि कतारले पनि सावधानी अपनाएको छ । कतारको आन्तरिक मन्त्रालयले इरानी आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै अमेरिकी दूतावास नजिक बसोबास गर्ने दोहाका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको जनाएको छ । टर्कीले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेको इरानी ब्यालेस्टिक क्षेप्यास्त्रलाई नाटोको हवाई रक्षा प्रणालीमार्फत नष्ट गरिएको जनाएको छ । उक्त क्षेप्यास्त्र इरानबाट प्रक्षेपण भई इराक र सिरिया हुँदै टर्कीको हवाई क्षेत्रतर्फ गइरहेको बताइएको छ । रक्षा मन्त्रालयले लक्ष्य स्पष्ट नगरे पनि विदेश मन्त्रालयले इरानका राजदूतलाई बोलाएर स्पष्टीकरण मागेको छ । एक टर्की अधिकारीका अनुसार क्षेप्यास्त्र ग्रीक साइप्रसको एउटा सैन्य आधारतर्फ लक्षित गरिएको भए पनि मार्ग परिवर्तन भएको थियो । युद्धको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध मोर्चामा अमेरिकी प्रदर्शनको प्रशंसा गरेको छ । टेक उद्योगका प्रमुखहरूको भेलामा बोल्दै उहाँले अमेरिकी कारबाहीलाई अत्यन्त सफल भन्दै युद्धको मूल्याङ्कन ‘१० को मापनमा १५’ जस्तो रहेको टिप्पणी गरे ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पनि वासिङ्टन र तेल अभिवले संयुक्त रूपमा युद्धमा ‘ऐतिहासिक लाभ’ हासिल गरेको दाबी गरेको छ । अमेरिकी आन्तरिक राजनीतिमा भने यस युद्धलाई लिएर मतभेद देखिएको छ । अमेरिकी सिनेटले इरानमाथिको सैन्य कारबाही रोक्ने उद्देश्यले ल्याइएको द्विदलीय प्रस्ताव अस्वीकार गरेको छ । सिनेटमा रिपब्लिकनहरूको ५३-४७ बहुमत रहेको र प्रस्ताव त्यही मतान्तरले असफल भएको हो । उक्त प्रस्तावले कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्ने प्रयास गरेको थियो । युद्धमा अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि फरक-फरक देखिएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले बढ्दो द्वन्द्वमा भूमिका निर्वाह गर्नुपर्ने सम्भावना नकार्न नसकिने बताए । क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटका क्रममा उनले क्यानाडा आफ्ना सहयोगीहरूसँग उभिने बताए ।  यता स्पेनले भने अमेरिकाले आफ्नो सैन्य आधार प्रयोग गरेको भन्ने दाबी अस्वीकार गरेको छ । अमेरिकी व्यापारिक प्रतिशोधको धम्कीपछि ह्वाइट हाउसले स्पेन सहयोग गर्न तयार भएको जनाएको थियो । तर स्पेनका विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले इरानमाथिको बमबारीका लागि आफ्नो देशको नीति परिवर्तन नभएको स्पष्ट गरे ।  चीनले भने कूटनीतिक पहल अघि बढाउने सङ्केत दिएको छ । विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा तनाव कम गर्न विशेष दूत पठाइने बताए । बेइजिङ इरानको घनिष्ठ साझेदार मानिन्छ र उसले इरानको सार्वभौमिकताको समर्थन गर्दै अमेरिका र इजरायललाई सैन्य आक्रमण रोक्न आग्रह गर्दै आएको छ । यसैबीच कतारले पनि इरानप्रति असन्तुष्टि व्यक्त गरेको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानका विदेशमन्त्रीसँग फोनमा कुरा गर्दै तेहरानले आफ्ना छिमेकीहरूलाई युद्धमा तान्ने प्रयास गरेको आरोप लगाए ।  समुद्री व्यापारमा पनि युद्धको प्रभाव देखिन थालेको छ । डेनमार्कको ठूलो शिपिङ कम्पनी मार्सक र जर्मनीको हपाग–लोयडले जोखिम मूल्याङ्कनपछि अर्को सूचना नआउन्जेल खाडी क्षेत्रतर्फका बुकिङ स्थगित गरेका छन् । यसअघि चीनको कोस्कोले पनि यस्तै निर्णय लिएको थियो । इरानले होर्मुज जलडमरूमध्य प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ । होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक मानिन्छ । ओमानको नौसेनाले पनि स्ट्रेट अफ होर्मुज क्षेत्रमा मिसाइल प्रहार भएको कन्टेनर जहाजका २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्याङ्करहरूलाई अमेरिकी नौसेनाले एस्कर्ट गर्न तयार रहेको बताएको एक दिनपछि इरानी सेनाले जलडमरूमध्यमा आफ्नो ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको थियो । युद्धको असर टाढा दक्षिण एसियासम्म पनि पुगेको छ । श्रीलङ्काली नौसेनाका एक अधिकारीका अनुसार श्रीलङ्काको तट नजिक एक अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई टारपीडो प्रहार गरी डुबाएपछि समुद्रबाट ८७ जनाको शव बरामद गरिएको छ । उनका अनुसार उद्धार टोलीले हालसम्म ती शवहरू सङ्कलन गरिसकेको जनाएको छ ।

काठमाडौंका १० वटै क्षेत्रमा १ बजेसम्म ३ लाख १२ हजार मत खस्यो

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा अहिलेसम्म ३ लाख १२ हजार मत खसेको छ । बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा मध्यान्ह १ बजेसम्म ३ लाख १२ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । काठमाडौंका सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको उनले बताए । अहिलेसम्म कुनै अप्रिय घटना नघटेको उनको भनाइ छ । 

कुन नेताले कहाँबाट गरे मतदान ?

काठमाडौं । आज देशभर प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान अहिले जारी छ । देशभर शान्तिपूर्वक वातावरणमा भइरहेको निर्वाचनमा विभिन्न नेताहरूले आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । कतिपय नेताहरूले मतदान गरिसकेका छन् भने कतिपय नेताहरू मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।  कसले कहाँबाट गरे मतदान ? सुशीला कार्की  प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छिन् । कार्कीले काठमाडौं–५ स्थित धापासी फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।  ओमप्रकाश अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । उनले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट मतदान गरेका हुन् । ललितपुर ३ स्थित सानेपाका बासिन्दा गृहमन्त्री अर्यालले सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । गगनकुमार थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं-४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं-४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि थापा सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं-४ छाडेर सर्लाही-४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ । केपी शर्मा ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । ओली झापा क्षेज्ञ नम्बर ५ बाट उम्मेदवार छन् । पुष्पकमल दाहाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । उनले आफैलाई भने मत दिन पाएनन् । प्रचण्ड रुकुम–पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । सोही मतदान केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मतदान गरेका छन् । माधवकुमार नेपाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ बाट मतदान गरेका छन् । उनले गौरमा रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा नेपालले मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवार समेत छन् । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्। ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् । नेता पोखरेलले बिहान ८ बजे टोखा नगरपालिका वडा नम्बर ६ स्थित हात्तीचोक बुथमा मतदान गरेका हुन् । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महांकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् । रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसालिसकेपछि उनले मतपेटिकामा ढोगेका थिए । बालेन्द्र शाह रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिका-९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।  रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ ।  रामवरण यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ स्थित बिपी कोइराला मावि, सपहीमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका हुन् । विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् । झलनाथ खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका– ९ रम्फोकको राष्ट्रिय आविमा मतदान गरेका छन् । यसअघि यही क्षेत्रबाट निर्वाचनमा उठ्दै आएका पूर्वप्रधानमन्त्री खनाल यसपटको निर्वाचनमा भने उम्मेदवार होइनन् । बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । घिसिङ काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् । हर्क राई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले मतदान गरेका छन् । राइले धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुलमा पुगेर उनले मतदान गरेका हुन् । धरान उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका राईले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । जनार्दन शर्मा प्रगतिशिल लोकतान्त्रीक पार्टीका जनार्दन शर्माले रुकुम–पश्चिमबाट मतदान गरेको छन् । उनले यमुनानन्द नमुना माध्यमिक विद्यालय, सेरीगाउँस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी रुकुम–पश्चिममा उम्मेदवार पनि हुन् । वर्षमान पुन नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् । उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका  हुन् । पुन यसअघि पनि रोल्पा क्षेत्र  १ बाट  विजयी भएका थिए । राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरबाट मतदान गरेका छन् । भक्तपुर नगरपालिका–५ स्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट  मतदान गरेका हुन् । शंकर पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि मतदान गरेका छन् । उनले आज बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेका हुन् । विप्लव विगतमा चुनाव बहिस्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए । सुहाङ नेम्वाङ  नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्बाङले मतदान गरेका छन् ।  उनले इलामको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय एमाले नेता कार्यकर्तासहित माला टीका लगाएर नेम्वाङ मतदान केन्द्र पुगेका थिए ।  बुवा सुवास नेम्वाङको निधन भएपछि भएको उपनिर्वाचनमा सुहाङ इलाम–२ बाट निर्वाचित भएका थिए । विष्णु पौडेल काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । बिहीबार बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा उनले गरेका हुन् । उनी रुपन्देही- २ का उम्मेदवारसमेत हुन् । शेरबहादुर देउवा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले भने यो वर्ष मतदान गरेनन् । हरेक निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बन्दै आएका उनी यो वर्ष भने उम्मेदवार छैनन् । देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने भए पनि यसपटक उनी मुलुक बाहिर रहेकाले मतदान गर्नबाट वञ्चित भएका हुन् ।