विकासन्युज

मानवअधिकार संगठनको दाबी– इरानमा हजारभन्दा बढी नागरिकको मृत्यु

काठमाडौं । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) ले २८ फेब्रुअरीदेखि हालसम्म इरानमा १ हजार ९७ जना नागरिकको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको जनाएको छ । संस्थाका अनुसार मृत्यु हुनेमध्ये १० वर्षभन्दा कम उमेरका १८१ जना बालबालिका पनि समावेश छन् । त्यस्तै, घाइतेको संख्या बढेर ५ हजार ४०२ पुगेको छ, जसमा १०० जना बालबालिका रहेको बताइएको छ । एचआरएएनएले पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा १०४ वटा आक्रमण दर्ता भएको जनाएको छ । ती आक्रमणहरूमा सैन्य अड्डासँगै अस्पताल तथा आवासीय क्षेत्रहरूलाई पनि निशाना बनाइएको उल्लेख गरिएको छ । संस्थाले सयौं अन्य मृत्युका घटनाबारे प्राप्त सूचनाहरूको अझै अनुसन्धान भइरहेको पनि जनाएको छ ।

आशिका तामाङको उम्मेदवारी खारेजबारे आयोग– भ्रम छर्नेपछि नलाग्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ-१ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको चर्चा सामाजिक सञ्चालनमा भइरहेको छ ।  तामाङसँग जर्मनीको पीआर रहेको प्रणाण फेला परेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो विषयामा हामीले आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईसँग बुझ्दा उनले यस्तो कुनै निर्णय नभएको र चर्चा भइरहेको विषय सत्य नभएको बताए । उनले तामाङको उम्मेदवारीस् कायम नै रहेकोले भ्रममा नपर्न पनि आग्रह गरेको छ । उनले यो मिडिया ट्रायल हुन सक्ने बताउँदै मतदातालाई त्यस्तो भ्रमपूर्ण कुराको पछि नलाग्न पनि आग्रह गरे । 

निर्वाचन सुरक्षामा सेनाको हाई अलर्ट : पाँच ठाउँमा हेलिकोप्टर र तीन वटा जहाज

काठमाडौं । नेपाली सेनाले निर्वाचनलाई लक्षित गरेर सुरक्षा दिन पाँच ठाउँमा हेलिकोप्टर राखेको छ । धनगढी, सुर्खेत, पोखरा, काठमाडौं र इटहरीमा हेलिकोप्टर राखेको हो । निर्वाचन सुरक्षालाई ध्यान दिँदै तयारी रहेर हाई अलर्टसहित नेपाली सेना विभिन्न ठाउँमा जहाजसहित आवश्यक तयारी सहित बसेको सूचना अधिकारी राजाराम बस्नेतले बताए । हेलिकोप्टर सबै प्रदेशलाई लक्षित गरेर राखिएको उनको भनाइ छ । त्यसैगरी, सेनाको जहाज विराटनगर, सुर्खेत र काठमाडौंमा राखिएको उनले जानकारी दिए । देशभर निर्वाचन सुरक्षा गस्तीका लागि भनेर ७९ हजार ७ सय नेपाली सेना परिचालन गरिएको बस्नेतले जानकारी दिए । ‘जिल्ला निर्वाचन सुरक्षा समितिले आवश्यकता अनुसार सैनिक परिचालन गर्नेछन्,' उनले भने, 'मतदानस्थल र मतदानको केन्द्रको अवस्था हेरेर कति सेनाको संख्या निर्धारण गरेर परिचालन हुनेछन् ।'

निर्वाचनको पूर्वसन्ध्यामा ८ लाखले छोडे काठमाडौं, राति १२ बजेदेखि सवारी साधन चल्न नपाउने

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गरी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सुनिल जङ्गका अनुसार निर्वाचनमा मतदान गर्न र घर फर्कनका लागि हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् । निर्वाचनको सुरक्षा र व्यवस्थापनलाई दृष्टिगत गर्दै आज राति १२ बजेदेखि नै उपत्यकाका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।  प्रवक्ता जङ्गले दिएको जानकारी अनुसार निर्वाचन आयोगले जारी गरेको मापदण्ड बमोजिमका अत्यावश्यक सेवाका सवारी साधनहरू मात्र चल्न पाउनेछन् भने अन्य निजी तथा सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा बन्द रहनेछन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न र सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीहरू सडकमा बाक्लो रूपमा परिचालन गरिएको छ । प्रवक्ता जङ्ग भन्छन्, ‘अहिले उपत्यकाका हरेक चोकमा ट्राफिक लाइट र प्रहरीको उपस्थिति छ । जाम र दुर्घटना हुन नदिन हाम्रा टोलीहरू चौबीसै घण्टा सक्रिय छन् ।’ हालसम्म उपत्यकाको चुनावी माहोल शान्तिपूर्ण रहेको र सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । निर्वाचनको शान्ति सुरक्षाको विस्तृत पाटो जिल्ला प्रशासन र सुरक्षा निकायको समन्वयमा भइरहेको र ट्राफिकको अवस्था पूर्ण रूपमा दुरुस्त रहेको प्रहरीको भनाइ छ । चुनाव आउन एकदिन बाँकी रहँदा उपत्यका छोड्नेको भिड देखिन्छ भने काठमाडौंको सडक सुनसान भएको छ । उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको संख्या पातलो छ । अहिले घर जानेहरुको नयाँ बसपार्क, कोटेश्वर, जडीबुटी,नयाँ बानेश्वर, कलंकीलगायतका ठाउँमा भिड छ । सवारी साधनको आवतजावतमा आज रातिदेखि रोक लगाइने भएकाले सर्वसाधारणलाई निर्वाचन आयोगको नियम पालना गर्न र आवश्यक परेमा मात्र अनुमति प्राप्त सवारी साधन प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम

काठमाडौं । मध्यपूर्वमा फैलिँदै गएको द्वन्द्वले विश्वका केन्द्रीय बैंकहरूका लागि नयाँ चुनौती खडा गरेको छ । तेल आपूर्तिमा झट्का लाग्ने र फेरि मुद्रास्फीति बढ्ने डरले आर्थिक वृद्धिलाई टेवा दिन बनाइने नीतिगत निर्णयहरू झन् जटिल बनेका छन् । सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि हमला गर्दा इरानी सर्वोच्च नेता अलि खामेनेई मारिएपछि सोमबार कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लाग्यो । त्यसको जवाफमा तेहरानले खाडी क्षेत्रका विभिन्न देशहरूलाई लक्षित गरी मिसाइल आक्रमण गर्यो । विश्वको सबैभन्दा संवेदनशील तेल ढुवानी मार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’ हुँदै जाने ट्यांकर आवागमन प्रभावकारी रूपमा ठप्प जस्तै भएको छ, किनकि इरानबाट आक्रमण हुन सक्ने त्रासका कारण जहाजहरू उक्त मार्ग प्रयोग गर्न हिच्किचाइरहेका छन् । ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार १.६ प्रतिशत बढेर प्रति ब्यारेल ८२.७६ डलर पुगेको छ, जुन जनवरी २०२५ यताकै उच्च स्तर नजिक हो । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूआईटी) कच्चा तेल पनि तेस्रो दिन लगातार बढेर ७५.४८ डलर पुगेको छ । ऊर्जा मूल्यमा आएको तीव्र वृद्धिको प्रत्यक्ष असर अन्ततः उपभोक्ता मूल्य र उत्पादक लागतमा देखिने निश्चित छ, विशेषगरी मध्यपूर्वबाट ठूलो परिमाणमा तेल आयात गर्ने अर्थतन्त्रहरूमा यसको प्रभाव अझ गहिरो पर्नेछ । तेल महँगिँदा ढुवानीदेखि उत्पादनसम्मको खर्च बढ्ने भएकाले समग्र मुद्रास्फीति चुलिने जोखिम बढ्छ । यही दबाबका कारण केन्द्रीय बैंकहरू फेरि एकपटक कठिन मोडमा उभिएका छन् । मूल्यवृद्धि नियन्त्रण र आर्थिक वृद्धि जोगाउने दोहोरो चुनौतीबीच उनीहरूलाई ब्याजदर नीतिको पुनरावलोकन गर्न बाध्य बनाएको छ— जसको असर वित्तीय बजारदेखि सर्वसाधारण उपभोक्तासम्म फैलिन सक्ने देखिन्छ । नोमुरा बैंकका अर्थशास्त्रीहरूले आइतबार जारी गरेको टिप्पणीमा भनेका छन्, ‘इरानसँग जारी द्वन्द्वले धेरै केन्द्रीय बैंकहरूलाई हालका लागि ब्याजदर स्थिर राख्नुपर्ने आधार बलियो बनाएको छ ।’ केन्द्रीय बैंकहरू सतर्क तनावका कारण आर्थिक गतिविधिमा असर पर्दै जाँदा नीति निर्माता महँगाइ जोखिम र सुस्त आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने कठिन अवस्थामा छन् । युरोपेली केन्द्रीय बैंक (ईसीबी) तथाकथित ‘वास्तविक दुविधा’मा परेको आईएनजीका अर्थशास्त्रीहरूले बताएका छन् । तेल झट्काले मुद्रास्फीति झन् माथि धकेल्न सक्छ, जबकि अमेरिकाले लगाएको उच्च भन्सारदरका कारण आर्थिक वृद्धि कमजोर बन्दै गएको छ ।  उनीहरूले भनेका छन्, ‘ब्याजदर बढाउन युरोजोन अर्थतन्त्रले स्पष्ट रूपमा लचकता देखाउनुपर्ने हुन्छ ।’ युरोपले लगभग सम्पूर्ण तेल र ठूलो हिस्सा तरलीकृत प्राकृतिक ग्यास आयात गर्ने भएकाले ऊर्जा र व्यापार दुवै क्षेत्रमा दोहोरो झट्का लाग्ने जोखिम बढेको छ । ईसीबी परिषद्का सदस्य पियरे वुंशले ऊर्जा मूल्यको उतारचढावमा हतारो प्रतिक्रिया नजनाउने बताएका छन् । ‘यदि ऊर्जा मूल्य लामो समयसम्म उच्च रह्यो भने हामीले मोडेल चलाएर प्रभाव मूल्यांकन गर्नुपर्छ,’ उनले भने । अमेरिकी पूर्वअर्थमन्त्री जानेट येलनले यो द्वन्द्वले अमेरिकी आर्थिक वृद्धि कमजोर पार्न र महँगाइ दबाब बढाउन सक्ने बताएकी छन्, जसले अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर घटाउनबाट रोक्न सक्छ । उनका अनुसार हालको अवस्था पछि फेड झन् ‘पर्ख र हेर’ को स्थितिमा पुगेको छ । जनवरीमा अमेरिकाको मुद्रास्फीति दर २.४ प्रतिशत थियो, जुन फेडको २ प्रतिशत लक्ष्यभन्दा माथि हो । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका भन्सार नीतिहरूले वार्षिक मुद्रास्फीति कम्तीमा ३ प्रतिशतसम्म पुर्याउन सक्ने चेतावनी दिएकी छन् । विश्व ऊर्जा बजारमा खराब सम्भावना यस वर्ष ब्रेन्ट कच्चा तेलको मूल्य ३६ प्रतिशत र डब्ल्यूआईटी फ्युचर्स ३२ प्रतिशत बढिसकेको छ । बैंक अफ अमेरिकाका अनुसार यदि होर्मुज जलडमरूदीमा लामो समय अवरोध रह्यो भने ब्रेन्ट मूल्य १०० डलर नाघ्न सक्छ र युरोपेली प्राकृतिक ग्यास मूल्य प्रति मेगावाट घण्टा ६० युरोभन्दा माथि जान सक्छ । एसियामा बढी असर यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनका अनुसार होर्मुज हुँदै जाने अधिकांश कच्चा तेल चीन, भारत, जापान र दक्षिण कोरियातर्फ जान्छ । गोल्डम्यान स्याच्सले अनुमान गरेअनुसार यदि उक्त मार्ग छ हप्ता बन्द भयो र तेल मूल्य ७० बाट ८५ डलर पुग्यो भने एशियाली क्षेत्रीय मुद्रास्फीति करिब ०.७ प्रतिशत बिन्दुले बढ्न सक्छ । फिलिपिन्स र थाइल्याण्ड सबैभन्दा जोखिममा पर्ने देखिएको छ, जबकि चीनमा प्रभाव अपेक्षाकृत कम हुन सक्छ । फिच सोलुसन्सअन्तर्गतको बीएमआईले एसियाभर उपभोक्ता मुद्रास्फीतिमा ७ देखि २७ आधार बिन्दुसम्म वृद्धि हुन सक्ने जनाएको छ । तेल मूल्य १० प्रतिशत बढ्दा प्रभाव सीमित हुन सक्छ, तर प्रति ब्यारेल २०–३० डलर बढेमा प्रभाव दोब्बर–तेब्बर हुनसक्ने विश्लेषण गरिएको छ । नोमुराका अनुसार ऊर्जा निर्यातकर्ता मलेसिया तुलनात्मक रूपमा लाभान्वित हुन सक्छ र मलेसिया, अष्ट्रेलिया तथा सिंगापुरले ब्याजदर कडा बनाउन सक्ने सम्भावना छ । फिलिपिन्स केन्द्रीय बैंकले भने अपेक्षित दर कटौती रोक्न सक्छ । इन्डोनेसिया र सिंगापुरले वित्तीय बजार नजिकबाट अनुगमन गरिरहेको बताएका छन् । इन्डोनेसियाको केन्द्रीय बैंकले रुपियालाई आर्थिक आधारसँग मिलाएर राख्न कदम चाल्ने जनाएको छ भने सिंगापुरको मौद्रिक प्राधिकरणले आन्तरिक अर्थतन्त्र र वित्तीय प्रणालीमा पर्ने प्रभाव मूल्यांकन गरिरहेको छ । नोमुराका अर्थशास्त्रीहरूका अनुसार एसियाली देशहरूले उपभोक्तालाई जोगाउन वित्तीय नीतिलाई पहिलो रक्षा रेखाका रूपमा प्रयोग गर्न सक्छन् । सम्भावित उपायहरूमा मूल्य नियन्त्रण, अनुदान वृद्धि, इन्धन कर कटौती तथा आयात भन्सार घटाउनेजस्ता कदम पर्न सक्छन् । तर यस्ता अनुदानहरूले पहिले नै दबाबमा रहेका सरकारी बजेट घाटामा थप भार पार्न सक्छन् । नोमुराका रोब सुब्बारामनका शब्दमा ‘सरकारहरूले कुन ‘नकारात्मक’ रोज्ने उच्च मुद्रास्फीति कि झन् बिग्रिएको वित्तीय अवस्था ? यी नीतिगत छनोटहरू अब सरकारकै हातमा छन् ।’ इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली  

तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २७५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा, सबै जिल्लाका सीडीओसँग गृह मन्त्रालयको छलफल

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार (आज) बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ । गृह मन्त्रालयमा करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यले जानकारी दिए । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पुरा भएको र सुरक्षा अवस्था सामान्य रहेको छ । बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ । गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी दिएका छन् ।

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैन : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (फागुन २१ गते) देशभरको मौसम सफा रहने बताएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् ।  उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताए । उनले लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको बताए । उनकाअनुसार मतदानको दिन बिहीवार वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।  वरिष्ठ मौसमविद् पौडेलले भने, ‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौँ । हामीले हेर्दाखेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन ।’ आउँदो शनिबारसम्मको सौसम सफा नै रहने पौडेलको भनाइ छ ।