विकासन्युज

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् । सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरुमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन गुडेको देख्न सकिन्छ ।  दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । नयाँ बसपार्क, कोटेश्वर, कलंकी, र बल्खु लगायतका नाकाहरुबाट विगत केही दिनयता दैनिक हजारौंको संख्यामा यात्रुहरु बाहिरिएका छन् । निर्वाचन आयोगले मतदानको लागि सार्वजनिक बिदा दिएको र धेरैजसो विद्यालय, कलेज तथा कार्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र कर्मचारीहरु गाउँ फर्किएका हुन् ।  सार्वजनिक यातायात कम चल्दा उपत्यकामै रहेका र अत्यावश्यक काममा निस्कनुपर्ने नागरिकलाई भने आवतजावतमा केही सास्ती भएको छ । मतदान सम्पन्न भएर सार्वजनिक बिदा सकिएपछि मात्रै उपत्यकामा पुनः चहलपहल बढ्ने र जनजीवन सामान्य अवस्थामा फर्किने अनुमान छ ।   

पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु फेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार गाडीबाट केही शंकास्पद वस्तु समेत फेला परेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरी आवश्यक सुरक्षा सतर्कता बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पर्सा प्रहरीले पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।  

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले जानकारी बताए । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।     

म्याग्दीमा खानेपानी, सिंचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२\८३ मा खानेपानी, सिंचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, ४ वटा नदी नियन्त्रण, २९ वटा सिंचाइ, विपद्का ४ र ऊर्जातर्फ २ वटा योजना कार्यान्वयनमा ल्याएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । ‘प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ’, उनले भने, ‘गत वर्ष सुरु भएका दुईवटा योजना निर्माण सकिएका छन् ।’ रत्नेचौर लिफ्ट खानेपानी र मंगला गाउँपालिका–४ को बुकेनी सिंचाइयोजना निर्माण सकिएको हो । सबै योजनाहरूका लागि पुँजीगततर्फ ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ ।  खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार ७ र सर्वेक्षणसम्बन्धी ४ योजना छन् । नदी नियन्त्रणतर्फ कुल १ करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुंगा पहिरो रोकथाम योजना छन् । सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र ५ वटा मर्मतसम्भारसम्बन्धी योजना छन् । 

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १७ पैसा र बिक्रीदर २१ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४७९ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८० रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सुजल फुड्सको आम्दानी १.५५ अर्ब नाघ्यो, ५० प्रतिशत बजार हिस्सा ओगटेको दाबी

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत सञ्चालित सुजल फुड्स प्रालिले सन् २०२५ मा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २.४९ प्रतिशत अर्थात् ३ करोड ८० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ५२ करोड १० लाख रुपैयाँ थियो। कम्पनीका अनुसार कन्फेक्सनरी क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, आयातित ब्रान्डहरूको उपस्थिति तथा कच्चा पदार्थको मूल्यमा हुने उतार–चढावले आम्दानीमा प्रभाव पार्दै आएको छ । मागमा आएको सुस्तता तथा कच्चा पदार्थको बढ्दो मूल्य समायोजन गर्न गरिएको पुनर्मूल्य निर्धारणका कारण सन् २०२४ मा आम्दानी करिब २५ प्रतिशतले घटेको थियो । त्यसपछि सन् २०२५ मा आंशिक सुधार देखिएको कम्पनीले जनाएको छ । विविधीकृत उत्पादन पोर्टफोलियो र देशभर फैलिएको वितरण सञ्जालले पुनरुत्थानमा सहयोग पु¥याएको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ८० करोड ५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ४० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कम्पनीले करिब ६६ करोड १० लाख रुपैयाँ बराबरको बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६२ करोड ९० लाख रुपैयाँ थियो । यसले आम्दानी क्रमशः सुधारोन्मुख रहेको संकेत गर्दछ । सन् १९९५ मा स्थापना भएको कम्पनीले वेफर, ललिपप, क्यान्डी, टफी लगायतका उत्पादन गर्दै आएको छ । कम्पनीको प्रमुख ब्रान्ड चोकोफन सन् १९९९ मा बजारमा आएको थियो र हालसम्म उपभोक्तामाझ लोकप्रिय रहँदै आएको छ । साथै ‘रासिलो’ र ‘फ्रेसो’ कडा क्यान्डी पनि आम्दानीका प्रमुख स्रोतका रूपमा रहेका छन् । कुल आम्दानीको आधाभन्दा बढी हिस्सा चकलेट समूह (क्यान्डी र ललिपपसहित) बाट आउने गरेको छ भने बाँकी वेफर, गम लगायतका उत्पादनबाट प्राप्त हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीको केन्द्रीय कार्यालय तथा दुई उत्पादन इकाइ पोखरामा अवस्थित छन् । देशभर २३० भन्दा बढी विक्रेतामार्फत कम्पनीले आफ्ना उत्पादन बिक्रीवितरण गर्दै आएको छ । कम्पनीका प्रमुख सेयरधनीहरूमा गणेश बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन् । प्रत्येकको करिब १७ प्रतिशत स्वामित्व हिस्सा रहेको छ । लक्ष्मी समूहको अटोमोबाइल, स्टिल तथा द्रुत उपभोग्य वस्तु लगायत विभिन्न क्षेत्रमा व्यवसायिक उपस्थिति रहेको छ । नाफामा आएको दबाबका कारण ऋण भुक्तानी क्षमतामा चुनौती देखिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २७ करोड ३० लाख रुपैयाँ दीर्घकालीन र ६३ करोड रुपैयाँ अल्पकालीन गरी कुल ९० करोड ३० लाख रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीको बैंक ऋण १ अर्ब १० लाख रुपैयाँ रहेको थियो ।  करिब तीन दशक लामो अनुभवसहित सुजल फुड्सले आगामी दिनमा नयाँ उत्पादन सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ । कम्पनीले आफ्नो समग्र उत्पादन पोर्टफोलियोबाट ५० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको दाबी गरेको छ । देशभर आफ्ना उत्पादनप्रतिको लोकप्रियता र उपभोक्ताको विश्वासका कारण कम्पनीले सन् २००६ देखि भारत र चीनमा निर्यात सुरु गरेको छ । हाल कम्पनीले उत्तर अमेरिका, युरोप, अष्ट्रेलिया, अफ्रिका तथा खाडी मुलुकहरूमा समेत निर्यात विस्तार गरेको जनाएको छ ।

२.३० खर्ब डलरको सम्पत्ति फ्रिज गरेको भन्दै इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा

काठमाडौं । युक्रेनमाथिको आक्रमणपछि युरोपेली सङ्घ (इयु) ले फ्रिज गरेको करिब २ खर्ब ३० अर्ब डलर बराबरको रुसी सम्पत्तिका विषयमा रुसको केन्द्रीय बैंकले युरोपेली अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनिश्चितकालका लागि सम्पत्ति रोकेको निर्णय गैरकानुनी भएको दाबी गर्दै मस्कोले लक्जमबर्गस्थित युरोपेली सङ्घको जनरल कोर्टमा मुद्दा दायर गरेको हो । इयुका सदस्य राष्ट्रहरूले सन् २०२२ मा युद्ध सुरु भएपछि पहिलोपटक रुसी सम्पत्ति फ्रिज गरेका थिए । गत वर्ष ब्लकले करिब दुई खर्ब युरो बराबरको कोषमाथि आफ्नो नियन्त्रणको कानूनी आधार थप कडा बनाएको थियो । उक्त रकमलाई युक्रेनलाई उपलब्ध गराइने ठूलो ऋण कार्यक्रमसँग जोड्ने प्रयास गरिएको थियो । नयाँ व्यवस्थाअनुसार रुसले आक्रमण रोक्दै युक्रेनलाई क्षतिपूर्ति नदिएसम्म ती सम्पत्ति फ्रिज नै रहनेछन् । यसअघि प्रत्येक ६ महिनामा इयुका २७ सदस्य राष्ट्रको सर्वसम्मत निर्णयबाट मात्रै फ्रिज अवधि थप गर्नुपर्ने व्यवस्था थियो । हङ्गेरी र स्लोभाकियाजस्ता मस्कोप्रति तुलनात्मक रूपमा सहानुभूतिशील देशहरूले यस प्रक्रियालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने सम्भावना रहेको भन्दै कानूनी संरचना परिवर्तन गरिएको थियो । रुसको केन्द्रीय बैंकले नयाँ नियमले आधारभूत अधिकारहरूको उल्लङ्घन गरेको दाबी गरेको छ । ‘इयु नियमनले न्यायमा पहुँचको आधारभूत र अपरिहार्य अधिकार, सम्पत्तिको अलङ्घनीयता तथा राज्य र तिनका केन्द्रीय बैंकहरूको सार्वभौम प्रतिरक्षाको सिद्धान्तको उल्लङ्घन गरेको छ,’ बैंकले विज्ञप्तिमार्फत जनाएको छ । इयु अदालतका अनुसार मुद्दा फेब्रुअरी २७ मा दर्ता गरिएको हो । यसैबीच, मस्कोले बेल्जियमस्थित युरोक्लियर डिपोजिटरीविरुद्ध पनि रुसी अदालतमा छुट्टै मुद्दा दायर गरेको छ । युरोक्लियर डिपोजिटरले फ्रिज गरिएका सम्पत्तिको ठूलो हिस्सा व्यवस्थापन गर्दै आएको छ । इयुका प्रवक्ता बालाज्स उज्वारीले उक्त कदमलाई युक्रेनका लागि इयुको समर्थनसम्बन्धी रूसी कानूनी चुनौतीहरूको बढ्दो शृङ्खलाको एक हिस्सा भएको बताए । ‘हामी यस नियमनको वैधानिकता र इयु कानूनसँग यसको अनुकूलताबारे पूर्ण रूपमा विश्वस्त छौँ,’ उनले स्पष्ट पारे । 

मध्यपूर्व युद्ध चर्कियो, अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी

काठमाडौं । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ । मङ्गलबार तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले जनाएका छन्, यद्यपि के लक्ष्य थियो भन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताए ।  यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिए ।  इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरू नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताए । खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा विस्फोट सुनिएको छ । ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्याङ्कीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ । तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ । यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५.१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ । इरान रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गरे । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ । चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरूमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ ।