५० यात्रु बोकेको श्री एयरको जहाजको टायर कसरी पड्कियो ?
काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९ एन-एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । अहिले जहाज ग्राउन्डेड गरिएको छ । सुर्खेत–काठमाडौं उडान रद्द भएको छ । टायर किन र कसरी पड्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
मतदानको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् ।
दुबई विमानस्थलमा रोकिएका यात्रु लिएर फ्लाइ दुबई काठमाडौं आउँदै
काठमाडौं । आज राति दुबईको विमानस्थलमा रोकिएका यात्रु लिएर फ्लाइ दुबई नेपाल आउने भएको छ । बुधबार राति दुबई विमानस्थलमा रोकिएका नेपालीहरूलाई लिएर फ्लाइ दुबईको जहाज नेपाल आउने भएको हो। केही दिनदेखि मध्यपूर्वमा चर्किएको द्वन्द्वको कारण उडान रद्द भएको थियो । फ्लाइ दुबईका अनुसार दुबई विमानस्थलमा रहेका १७० जना यात्रु लिएर नेपाल आउने भएको हो । सोही जहाजबाट नेपालमा रोकिएका यात्रुहरू दुबईतर्फ जाने भएका हुन् । फ्लाइ दुबईले दुबईसम्म पुग्ने यात्रुहरूलाई मात्र लिएर जाने भएको हो । उक्त जहाज काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ । मार्च ५ मा काठमाडौंबाट दुबईतर्फ राति १२ बजेर ३० मिनेटमा प्रस्थान गर्नेछ । फ्लाइ दुबईले १५० भन्दा बढी यात्रुलाई लिएर दुबईतर्फ जान लागेको हो ।
फ्लाई दुबईले दुई उडान गर्दै
काठमाडौं । फ्लाई दुबईले दुई उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–काठमाडौं उडान गर्ने भएको हो । मध्यपूर्व द्वन्द्वको कारण क्यान्सिल भएको उडान पुनः सुचारु हुन लागेको नागरिक उड्डयन प्राधिकरण (क्यान) जनाएको छ । क्यानका अनुसार हालका लागि यी उडानहरूमा सिधा गन्तव्य (प्वाइन्ट–टु–प्वाइन्ट) मात्रै उडान हुनेछ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका यताबाट जाने यात्रुको संख्या १७० जना हुने र दुवैसम्मको मात्रै फ्लाइट रहेको उनले बताए । एफजेड ५७३ नम्बरको उडान आज दुबई–काठमाडौं उडान हुनेछ । एफजेड ५७३ नम्बरको उडान काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ । त्यसैगरी, एफजेड ५७४ नम्बरको उडान मार्च ५ मा काठमाडौंबाट दुबईतर्फ राति १२ बजेर ३० मिनेटमा प्रस्थान गर्नेछ । उक्त उडान काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ ।
गुल्मीमा मतदान सम्पन्न भएपछि सवारीसाधन चल्न पाउने
काठमाडौं । गुल्मी जिल्लामा बुधबार राति १२ बजेबाट सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको नियन्त्रण बिहीबार बेलुका पाँच बजेपछि खुल्ने भएको छ । जिल्लामा राति बाह्र बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको हल्ला व्याप्त भएपछि जिल्ला प्रशासन कार्यालय, गुल्मीले मतदान सम्पन्न भएसँगै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन खुला गरिने जनाएको छ । जिल्लामा बुधबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हल्ला फैलिएको भए पनि मतदानपछि यातायात सञ्चालनमा कुनै दीर्घकालीन प्रतिबन्ध नरहने स्पष्ट गरिएको हो । यस विषयमा जानकारी लिन विकासन्युजले जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरेको थियो । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मतदान प्रक्रिया सकिएलगत्तै सवारीसाधन सञ्चालन गर्न दिइने जानकारी दिए । उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा लगाइएको नियन्त्रण मतदान सम्पन्न भएपछि स्वतः हट्ने बताए । गैरेले भने, ‘तत्काल सुरक्षामा कुनै खतरा नदेखिएसम्म मतदान सकिएपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा कुनै अवरोध हुँदैन ।’ उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मात्र केही समयका लागि सवारी आवागमनमा निगरानी बढाइएको हो । जिल्ला प्रशासनले मतदानको समयमा अनावश्यक भीडभाड र सम्भावित अप्रिय घटनालाई नियन्त्रण गर्न सुरक्षा सतर्कता अपनाएको जनाएको छ । मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रशासनले सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ । मतदान सकिएपछि बेलुका पाँच बजेदेखि यातायातका साधन नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ ।
निर्वाचन शान्तिपूर्ण र भयरहित हुने जियोकको निष्कर्ष
काठमाडौं । ‘जेनजी विद्रोह’पछिको विशेष र संवेदनशील अवस्थामा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने देखिएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले बुधवार साँझसम्म विभिन्न जिल्लामा गरेको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार निर्वाचन आयोग, नेपाल सरकार र सुरक्षा निकायको तयारी विगतका निर्वाचनभन्दा निकै व्यवस्थित र चुस्त पाइएको हो । निर्वाचनको अघिल्लो दिनसम्म केही सामान्य घटनाबाहेक मतदानलाई नै असर पार्ने खालका कुनैपनि अप्रिय घटना भएका छैनन् । जियोकका महासचिव कृष्णमान प्रधानले निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न हुने कुरामा विश्वस्त हुन सकिने अवस्था रहेको जानकारी दिए । यसपटकको निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई निकै कडा र प्रभावकारी बनाइएको छ । सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै चारवटै सुरक्षा निकायबीच उच्च समन्वय कायम गरिएको छ । कुनै पनि मतदान केन्द्रमा समस्या आएको खण्डमा ३० मिनेटभित्रै प्रहरी र सेना पुग्न सक्ने गरी ‘क्विक रेस्पोन्स’को व्यवस्था मिलाइएको उनले बताए । यसका साथै, मोबाइल गस्ती, स्ट्राइकिङ फोर्स, रिजभ्र्ड फोर्स र र्यापिड रेस्क्यु टिमको प्रभावकारी परिचालनले सुरक्षा व्यवस्था मजबुत देखिएको पर्यवेक्षणले जनाएको छ । मतदाता नामावली व्यवस्थापन, मतपत्र छपाइ तथा ढुवानी, मतदान केन्द्रको तयारी र मतदाता शिक्षा जस्ता पक्षमा पनि विगतको तुलनामा उल्लेख्य सुधार आएको छ । समग्र अवस्था शान्तिपूर्ण देखिए पनि मतदाताको मनोविज्ञानमा भने केही त्रास बाँकी नै रहेको प्रतिवेदनमा बताए । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, जेलबाट बाहिरिएका केही कैदीबन्दी, पेशेवर आपराधिक समूहको चलखेल र सामाजिक सञ्जालको दुरुपयोगका कारण मतदातामा आंशिक रूपमा डरको अवस्था देखिएको जियोकले जनाएको छ । विगतका निर्वाचनको तुलनामा यसपटक सडकमा तुल, ब्यानर र दलीय झण्डाहरूको प्रयोगमा निकै कमी आएको छ । यद्यपि उम्मेदवारी दर्ताको दिन शक्ति प्रदर्शन गर्ने होडबाजी र प्रचारप्रसारका क्रममा ठूलो आवाजमा माइक बजाएर दलीय गीत गाउँदा मतदाताहरू असन्तुष्ट बनेको पाइएको छ । त्यस्तै, आँखा छल्दै राति–राति घरघरमा पम्पलेट बाँड्ने काम पनि पूर्ण रूपमा रोकिएको छैन । आचारसंहिता उल्लंघनका उजुरीमाथि कारबाही शुरु भएपनि ठोस नतिजा आउन सकेको छैन । विशेषगरी मौन अवधि शुरु भइसकेपछि धनुषामा एक जना उम्मेदवारको उम्मेदवारी खारेज गरिएको घटनालाई लिएर भने असन्तुष्टि देखिएको छ । उम्मेदवारी खारेज नै गर्नुपर्ने भए दर्ता भएकै समयमा गर्नुपर्ने आम बुझाइ रहेको प्रतिवेदनमा औंल्याइएको छ । प्रतिनिधि सभा निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि जियोकले ३६ जिल्लाका २५० वटा पालिकामा जम्मा ४ सय जना तालिमप्राप्त पर्यवेक्षक परिचालन गरेको छ । संविधान र कानूनले समावेशीताको वकालत गरे पनि यसपटकको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारी निकै न्युन देखिएको भन्दै जियोकले चिन्ता व्यक्त गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगले तोकेका छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।
नयाँ सर्वोच्च नेता छान्ने तयारीमा इरान
काठमाडौं । आयातुल्ला अली खामेनीको अमेरिका र इजरायलको आक्रमणमा मृत्यु भएपछि इरानले नयाँ सर्वोच्च नेता नियुक्त गर्ने प्रक्रिया छिट्टै अघि बढाइरहेको छ । नेतृत्व विशेषज्ञ सभाका सदस्य अहमद खातमीले सरकारी टेलिभिजनलाई भने, ‘हामी सबै प्रयास गरिरहेका छौं । ईश्वरको इच्छा भए, नेतालाई चाँडै नै नियुक्त गरिनेछ । स्थिति युद्धको अवस्था भएकाले विवेक आवश्यक छ ।’ इरानी मिडियाका अनुसार अमेरिका र इजरायली हमलाले मङ्गलबार पवित्र सहर कोमको विधानसभासँग सम्बन्धित भवनलाई लक्षित गरेको थियो । यसअघि तेहरानस्थित निकायको मुख्य मुख्यालयलाई आक्रमण गरिएको थियो । खामेनीको सन् १९८९ देखि इरानको नेतृत्व रहेको थियो र उनको मृत्युको एक दिनपछि आधिकारिक रूपमा नेतृत्व परिवर्तन प्रक्रिया सुरु भएको हो । विशेषज्ञ सभामा ८८ जना सदस्य रहेका छन् । उनीहरू प्रत्येक आठ वर्षमा निर्वाचित हुन्छन् । यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, कट्टरपन्थी न्यायपालिका प्रमुख घोलामहोसेन मोहसेनी एजेई र धर्मगुरु सदस्य अलिरेजा अराफीले अन्तरिम नेताको रूपमा काम गरिरहेका छन् ।