२.३० खर्ब डलरको सम्पत्ति फ्रिज गरेको भन्दै इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा
काठमाडौं । युक्रेनमाथिको आक्रमणपछि युरोपेली सङ्घ (इयु) ले फ्रिज गरेको करिब २ खर्ब ३० अर्ब डलर बराबरको रुसी सम्पत्तिका विषयमा रुसको केन्द्रीय बैंकले युरोपेली अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनिश्चितकालका लागि सम्पत्ति रोकेको निर्णय गैरकानुनी भएको दाबी गर्दै मस्कोले लक्जमबर्गस्थित युरोपेली सङ्घको जनरल कोर्टमा मुद्दा दायर गरेको हो । इयुका सदस्य राष्ट्रहरूले सन् २०२२ मा युद्ध सुरु भएपछि पहिलोपटक रुसी सम्पत्ति फ्रिज गरेका थिए । गत वर्ष ब्लकले करिब दुई खर्ब युरो बराबरको कोषमाथि आफ्नो नियन्त्रणको कानूनी आधार थप कडा बनाएको थियो । उक्त रकमलाई युक्रेनलाई उपलब्ध गराइने ठूलो ऋण कार्यक्रमसँग जोड्ने प्रयास गरिएको थियो । नयाँ व्यवस्थाअनुसार रुसले आक्रमण रोक्दै युक्रेनलाई क्षतिपूर्ति नदिएसम्म ती सम्पत्ति फ्रिज नै रहनेछन् । यसअघि प्रत्येक ६ महिनामा इयुका २७ सदस्य राष्ट्रको सर्वसम्मत निर्णयबाट मात्रै फ्रिज अवधि थप गर्नुपर्ने व्यवस्था थियो । हङ्गेरी र स्लोभाकियाजस्ता मस्कोप्रति तुलनात्मक रूपमा सहानुभूतिशील देशहरूले यस प्रक्रियालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने सम्भावना रहेको भन्दै कानूनी संरचना परिवर्तन गरिएको थियो । रुसको केन्द्रीय बैंकले नयाँ नियमले आधारभूत अधिकारहरूको उल्लङ्घन गरेको दाबी गरेको छ । ‘इयु नियमनले न्यायमा पहुँचको आधारभूत र अपरिहार्य अधिकार, सम्पत्तिको अलङ्घनीयता तथा राज्य र तिनका केन्द्रीय बैंकहरूको सार्वभौम प्रतिरक्षाको सिद्धान्तको उल्लङ्घन गरेको छ,’ बैंकले विज्ञप्तिमार्फत जनाएको छ । इयु अदालतका अनुसार मुद्दा फेब्रुअरी २७ मा दर्ता गरिएको हो । यसैबीच, मस्कोले बेल्जियमस्थित युरोक्लियर डिपोजिटरीविरुद्ध पनि रुसी अदालतमा छुट्टै मुद्दा दायर गरेको छ । युरोक्लियर डिपोजिटरले फ्रिज गरिएका सम्पत्तिको ठूलो हिस्सा व्यवस्थापन गर्दै आएको छ । इयुका प्रवक्ता बालाज्स उज्वारीले उक्त कदमलाई युक्रेनका लागि इयुको समर्थनसम्बन्धी रूसी कानूनी चुनौतीहरूको बढ्दो शृङ्खलाको एक हिस्सा भएको बताए । ‘हामी यस नियमनको वैधानिकता र इयु कानूनसँग यसको अनुकूलताबारे पूर्ण रूपमा विश्वस्त छौँ,’ उनले स्पष्ट पारे ।
मध्यपूर्व युद्ध चर्कियो, अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी
काठमाडौं । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ । मङ्गलबार तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले जनाएका छन्, यद्यपि के लक्ष्य थियो भन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताए । यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिए । इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरू नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताए । खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा विस्फोट सुनिएको छ । ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्याङ्कीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ । तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ । यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५.१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ । इरान रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गरे । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ । चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरूमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ ।
तेल पूर्वाधारमा ताकेर खाडी क्षेत्रमा इरानी प्रहार
काठमाडौं । अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ । मङ्गलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत उकालो लागेको छ । कतारको राज्य सञ्चालित कतार एनर्जीले इरानी आक्रमणका कारण आफ्ना २ ग्यास प्रशोधन प्लान्ट प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार ड्रोन हमलापछि युरिया, पोलिमर, मेथनोल र एल्युमिनियमजस्ता पदार्थहरूको केही डाउनस्ट्रीम उत्पादन रोकिएको छ । यस घोषणासँगै लन्डन मेटल एक्सचेन्जमा आल्युमिनियमको मूल्य तत्काल करिब २ प्रतिशतले बढेको छ । विश्वकै प्रमुख तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकमध्ये एक मानिने कतारले सोमबार नै आफ्ना २ साइटमा ड्रोन प्रहार भएपछि एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको थियो । उत्पादन रोकिएपछि युरोपेली बजारमा मूल्य तीव्र रूपमा बढेको जनाइएको छ । यसैबीच ओमानमा पनि ऊर्जा संरचनामाथि आक्रमण भएको छ । आधिकारिक समाचार एजेन्सीका अनुसार मङ्गलबार धेरै ड्रोनले देशको पूर्वी तटमा रहेको डुकम बन्दरगाहलाई निशाना बनाएका थिए । सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा मानवीय क्षति नभएको र भएको क्षति नियन्त्रणमा लिइएको उल्लेख छ । युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ओमानका लागि यो तीन दिन यताको दोस्रो आक्रमण हो । आइतबार पनि सोही बन्दरगाहमा २ ड्रोन प्रहार हुँदा एक कामदार घाइते भएका थिए । एउटा ड्रोन कामदार आवासमा खसेको र अर्कोको भग्नावशेष इन्धन ट्याङ्की नजिकै परेको जनाइएको छ । मङ्गलबार ओमानले थप २ ड्रोन खसालेको र अर्को सलालाह बन्दरगाह नजिकै दुर्घटनाग्रस्त भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संयुक्त अरब इमिरेट्समा भने रोकिने क्रममा खसालिएको ड्रोनको भग्नावशेष फुजैराहस्थित तेल भण्डारण तथा व्यापारिक क्षेत्रमा खसेर आगलागी भएको अधिकारीहरूले जनाएका छन् । फुजैराह मिडिया कार्यालयले कुनै मानवीय क्षति नभएको, आगो नियन्त्रणमा लिइएको र सामान्य सञ्चालन पुनः सुरु भएको जानकारी दिएको छ । युएईले युद्ध सुरु भएयता आफूलाई ८०० भन्दा बढी ड्रोन र करिब २०० मिसाइलले लक्षित गरेको दाबी गरेको छ । इरानले सोमबारदेखि साउदी अरेबिया, युएई र कतारजस्ता अमेरिकी सहयोगी देशहरूका पूर्वाधारलाई पनि लक्ष्य बनाउने सङ्केत दिएको थियो । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले मङ्गलबार इरानी क्षेप्यास्त्रले दोहा विमानस्थललाई निशाना बनाएको तर त्यसलाई सेनाले खसालेको बताए । अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले ऊर्जा आपूर्तिमा देखिएको अवरोधले धातु तथा ऊर्जा मूल्यमा थप दबाब सिर्जना गर्ने बताएका छन् । आइएनजी बैंकका विश्लेषकहरूले आल्युमिनियम उत्पादन निलम्बनले बजारमा जोखिम बढाउने उल्लेख गर्दै खाडी क्षेत्रमा विश्व उत्पादनको करिब आठ प्रतिशत हिस्सा केन्द्रित रहेको र आपूर्ति हर्मुज जलडमरूमध्य हुँदै समुद्री मार्गमा निर्भर रहेको बताएका छन् । यसै सन्दर्भमा इरानको रिभोल्युसनरी गाड्र्सका एक जनरलले सोमबार हर्मुज जलडमरूमध्य हुँदै आवागमन गर्न खोज्ने कुनै पनि जहाज जलाइदिने चेतावनी दिएका छन् । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यो मार्गमा अस्थिरता बढेमा अन्तर्राष्ट्रिय बजारमा थप उथलपुथल आउने आकलन गरिएको छ ।
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई
काठमाडौं । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई प्रदान गरिएको छ । पुनः निर्माणपछि उक्त ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ । केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको छलफलपछि धरहराको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्णय गरेको हो । छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन् । ‘वि.सं २०५५ मा साबिक स्थानीय निकाय हुँदा हस्तान्तरण भइसकेको संरचना स्थानीय सरकारलाई प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध थियो । त्यसमध्ये पनि तत्काल गर्नुपर्ने काममध्ये सुरक्षित र व्यवस्थित सेवा हो,’ उनले भनिन्, ‘सडकमा पार्किङको विकल्पमा सुन्धारा एउटा विकल्प हो । यस ठाउँलाई सुरक्षित र व्यवस्थित बनाउँदै महानगर प्रहरी बल परिचालन गरेर निःशुल्क सेवा उपलब्ध गराउने छौँ ।’ वि.सं २०७२ को भूकम्पले ढलेको धरहरा पुनः निर्माणका लागि वि.सं २०७५ पुस १२ मा पुनः निर्माणका लागि भूमि पूजन र शिलान्यास भएको थियो । ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँ लागतमा यसको पुनः निर्माण गरिएको हो । धरहरा ७९.२ मिटर अग्लो छ । बाहिरबाट ११ तला देखिने धरहराको भित्र २२ तला रहेका छन् ।
तराईमा हुस्सु, पहाडमा बादल लाग्ने, यस्तो छ आज रातिको मौसम
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको र ती भू-भागलगायत बाँकी भू-भागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराई भू-भागका केही स्थानमा तुवाँलो रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिका बमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित हुँदै आएको ।
निर्वाचनलाई सहज बनाउन बैंकका शाखा नियमित सञ्चालन
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागु पूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य तथा सेवामा असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोध अनुरूप महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको उल्लेख गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ । सो कार्यका निम्ति उक्त कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ । भुक्तानीसम्बन्धी तथा आवश्यक प्रणालीको निर्वाध सञ्चालनको प्रबन्ध मिलाइएको आयोगले जानकारी दिएको छ । मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन भएकाले सो दिन वित्तीय एवं बैंकिङ सेवा सञ्चालन नहुने र सोको भोलिपल्ट फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
खाडीमा रहेका नेपालीको सूचना सङ्कलन गर्दै सरकार, विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।