विकासन्युज

निर्वाचन पर्यवेक्षणका लागि विदेशी पाहुना र कुटनीतिज्ञ नेपालमा, ४२ संस्थालाई अनुमति

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञहरू नेपाल आइपुगेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १० वटा देशका निर्वाचन आयोगका प्रमुख तथा प्रतिनिधिहरूलाई पर्यवेक्षणका लागि आमन्त्रण गरिएको छ । यसका साथै दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरूको मञ्च (फेम्बोसा) का सदस्य राष्ट्रहरूका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू पनि पर्यवेक्षणमा सहभागी हुँदैछन् । नेपालले विगतमा अन्य देशको निर्वाचनमा गरेको अवलोकनको आधारमा (रेसिप्रोसिटी) उनीहरूलाई आमन्त्रण गरेको हो । नेपालमा रहेका विभिन्न कुटनैतिक नियोगका प्रतिनिधिहरु र नेपाललाई हेर्नेगरी छिमेकी मुलुकमा रहेका राजदुतहरुलाई पनि पर्यवेक्षणका लागि बोलाइएको छ । उनीहरू नेपाल आइसकेको र पर्यवेक्षणको तयारी गरिरहेको आयोगले जनाएको छ। संस्थागततर्फ आयोगले तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ३९ वटा राष्ट्रिय संस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । सुरुमा चारवटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिइएको भएपनि एउटा संस्थाले आन्तरिक कारणले आउन नसक्ने जानकारी गराएको छ । आयोगले विदेशी पाहुनाहरूको आगमन, बसोबास र व्यवस्थापनमा आवश्यक सहजीकरण गरिरहेको छ ।

खाडी उडान ठप्प, वैकल्पिक रुटले टिकट भाडा दोब्बर

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वको कारण खाडी मुलुकको विमानस्थल अस्थायी रूपमा बन्द हुँदा उडान प्रभावित भएका छन् । नियमित रूपमा हुने उडान बन्दै भएपछि वायुसेवा कम्पनीहरूले नेपाल–खाडी मुलुकमा गर्दै आइरहेको नियमित उडानको साटो वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका छन् ।  एयर अरेबिया, कुवेत एयरवेज, कतार एयरवेज, जजिरा एयरवेज, फ्लाई दुबईको नियमित उठान ठप्पै भएका छन् । नेपाल एयरलाइन्सले पनि काठमाडौं–दोहा उडान स्थगित गरेको बुलेटिन जारी गरिसकेको छ । धेरै एयरलाइन्सका उडान बन्द हुनु र सीमित सिट मात्र उपलब्ध हुनुका कारण टिकट मूल्य अस्वाभाविक रूपमा बढेको ट्राभल व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार पहिलेको तुलनामा अहिलेको मूल्यमा ठूलो अन्तर देखिएको छ । टिकट मूल्य दोब्बरले वृद्धि भएको छ । संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया र बहराइन जाने–आउने उडानहरू प्रभावित नेपाली श्रमिकदेखि विदेशी पर्यटकहरू टिकट अभाव र चर्को मूल्यवृद्धिको मारमा परेका हुन् । आविस्कार ट्राभलका सञ्चालक जनक पाण्डेका अनुसार खाडी मुलुकहरूमा नियमित हुने उडान बन्द भएपछि विकल्पको रुटमा चीन, भारत, बंगलादेश, थाइल्याण्ड, टर्की र मलेसिया रहेका छन् । उनले सबैभन्दा बढी प्रभावित हुनेहरूमा युरोप र अमेरिका जाने यात्रुहरू रहेको बताए । उनका अनुसार कम प्रभावित हुने यात्रुहरूमा भने अस्ट्रेलिया र जापानका रहेका छन् । ट्राभल व्यवसायीहरूका अनुसार सामान्य रूपमा चाइना एयरलाइन्स, एयर इन्डिया, थाइ एयरवेज र बंगलादेश र टर्कीस एयरसलाइन्सले वन वेमा टिकटको मूल्य ९० देखि १ लाख रुपैयाँसम्म लिने गरेका छन् । तर अहिले वैकल्पिक रुटको प्रयोग गर्नुपर्दा यात्रुहरूले टिकटको मूल्य १ लाख ७० हजार देखि ३ लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । दैनिक रूपमा कतार एयरवेजका ३, इमिरेटस ४, एयर अरेबियाको ३ उडान हुँदै आएका थिए।  प्रभावित यात्रुलाई राहत दिन एयरलाइन्सहरूले मिति परिवर्तनलगायतका सुविधा निःशुल्क उपलब्ध गराउने प्रयास गरिरहेको छ । तर अनिश्चित अवस्था लम्बिएमा हवाई भाडा अझै महँगो हुने र वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विदेशमा अध्ययनरत विद्यार्थी थप मारमा पर्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ ।

धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमानाका सिल गरियो

काठमाडौं । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका भारतीय सीमानाकाहरू सिल गरिएको छ ।  प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमानाका बन्द गरिएको जानकारी दिए । गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउनेछ ।  प्रहरी नायव उपरीक्षक बमले सीमा नाकाहरुबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सवारी साधनलगायतका चेकजाँचमा पनि कठाइ गरिएको बताए ।  उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाको भारतीय सीमा क्षेत्रसँग जोडिएको सीमाहरु पूर्ण रूपमा १८ गते हिजो राति १२ बजेदेखि २१ गते रातिसम्म नाका सिल गरिएको अवस्था छ । अहिले नाकाहरूमा चेकजाँचका साथै कुनैपनि सवारीसाधन र मानिसहरूलाई आवातजावत गर्न दिइएको छैन ।’ नेपाल–भारतबीचको सीमा नाकामा दुवै देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनमा केन्द्रित सुरक्षा योजना बनाएको र सोहीअनुसार सो नाका बन्द गर्ने काम गरिएको हो ।  त्यसैगरी, एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरू निर्वाचनका लागि परिचालन गरिएको प्रहरी नायव उपरीक्षक बमले बताए ।

मौसम विभाग भन्छ– मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर पर्दैन

काठमाडौं । देशभर आगामी शनिबारसम्म मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलवार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।  उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको छ । तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था नरहेको उनले जानकारी दिए । पौडेलले मंगलबारको तुलनामा बुधवारको मौसम केही खुल्ने अनुमान गरिएको समेत बताए ।  बुधवार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागेपनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ । उनले गर्मीयाम सुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भएपनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको जानकारी दिए । पौडेलले मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत स्पष्ट पारे ।

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १९ अर्ब एक करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो ।      वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा आयातमा उल्लेखनीय वृद्धि भएको बताए । 'चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,' उनले भने । गत आवको सात महिनामा  चार खर्ब ६० अर्ब २३ करोड रुपैयाँ मूल्य बराबरका सामान आयात भएको थियो ।  चालु आवको सात महिनामा एक खर्ब छ अर्ब ४३ करोड रुपैयाँ मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात गरिएको छ । त्यसैगरी, ४६ अर्ब १६ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात गरिएको छ । सोही अवधिमा ३५ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात गरिएको छ । ३५ अर्ब ६७ करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको जनाइएको छ । २७ अर्ब ९८ करोड रुपैयाँ मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।   

यस्ता छन् निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।      आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् । आचारसंहितामा निर्वाचनमा संलग्न रहने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तथ्य र निष्पक्ष रही गर्नुपर्ने, निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्व हुने गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचन आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमणमा जान वा पठाउन नहुने भनिएको छ ।      यसैगरी, उम्मेदवार, राजनीतिक दल, राजनीतिक दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थान भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने आयोगले जनाएको छ ।   

दाउरा थकालीमा लागेको आगलागी नियन्त्रण (तस्बिरसहित)

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।  मंगलबार (आज) पुल्चोकको इञ्जिनिरियङ क्याम्पस अगाडि रहेको दाउरा थकालीमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको ललितपुर प्रहरी परिसरका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । ‘आगलागीले थकाली पूर्ण रूपमा क्षति भएको छ । क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन, उनले भने । आठौं तलाको भवनमा रहेको दाउरा थकालीमा विद्युत सर्ट भएर आगलागी भएको मिश्रले जानकारी दिए । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

खाडीको द्वन्द्वले नेपालको अर्थतन्त्रमा असर पुग्ने राष्ट्र बैंकको बुझाइ, 'तत्काल पेट्रोलको अभाव हुँदैन'

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भू-राजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरानको द्वन्द्वले फेरी अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको छ ।’ उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अर्थतन्त्रलाई लयमा आउने बाटोमा थियो । बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएको अवस्थामा नै मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ ।  ‘मध्यपूर्वका १७ वटा देशमध्ये १५ वटा देशबाट नेपालमा रेमिट्यान्स भित्रिने गरेको छ । यसमा पनि ४ वटा देशहरूले जम्मा रेमिट्यान्सको ३५ प्रतिशत हिस्सा  ओगटेको छ,’ खरेलले भने, ‘छोटो समयमा इरानको द्वन्द्व समाधान नभएमा करिब ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने देखिन्छ ।’ उनले समग्र देशमा तत्काल यसको समस्या नदेखिएपनि रेमिट्यान्स पठाउनेहरूको घरमा भने तत्काल समस्या देखिने बताए । ६ महिनाको अवधिमा ६ लाख पर्यटक आउँदा मध्यपूर्वबाट आउने पर्यटक कम भए पनि सोही बाटो हुँदै आउने पर्यटक बढी रहेकाले यसको असर पर्यटन क्षेत्रमा समेत देखिने उनको भनाइ छ ।  मध्यपूर्वको द्वन्द्वको कारणले इन्धनको मूल्य बढ्ने र त्यसको असर उत्पादन मूल्यमा पनि गएर जोडिने उनको तर्क छ । सुनचाँदीको माग बढ्ने र विदेशी विनिमय सञ्चितिमा पनि यस द्वन्द्वले प्रभाव पार्ने उनले बताए । व्यवसायी भन्छन्- तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन  पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । ‘समय समयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ,’ घिमिरेले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’ अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति श्रृंखलामा पनि समस्या पैदा गर्ने भएपनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ । केही दिन अगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ ।  ‘अन्य इन्धनको तुलनामा ग्यास आपूर्ति श्रृंखला भने  फरक किसिमको छ । हाम्रोमा ग्यासको बुलेट भारतको मात्रै प्रयोग हुने गर्दछ भने यसको ढुवानीकर्ता भारत मात्रै हो,’ उनले भने, ‘यही कारण बुलेटको अभाव हुनु र भारतीय आयातकर्ताले पनि सुरक्षित र बढी नाफा खोज्दै भारतमा नै बढी ढुवानी गरिदिने गर्छन् । यसले नेपालमा समस्या पैदा गरेको छ ।’ यही कारण बेलाबेला ग्यासको सवालमा समस्या आउने भएपनि हाल भने बुलेट अभावको समस्या समाधान भइसकेकाले ग्यासको अभाव नहुने उनको भनाइ छ । ग्यासका सवालमा अन्य समस्या समाधान भएको र जाडोका कारण बढी हुने खपतको मात्रा पनि घटेर जाने भएकाले अभावको त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए । अहिले पश्चिम एसियामा भएको युद्धका कारण इन्धन अभावको त्रासले सामान्य समयमा भन्दा बढी खपत भइरहेको उनले उल्लेख गरे । यसले गर्दा ग्यास अभावको समस्या केही मात्रामा देखिएको भएपनि यो समस्या समाधानतर्फ गइसकेको उनले बताए । अर्कोतर्फ, द्वन्द्वका कारण उडान रद्द हुँदा हवाई इन्धनको खपत घटेको र नेपालको सन्दर्भमा भण्डारण पनि पर्याप्त भएकाले त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए । यस्तै, वाणिज्यविद् रवि शंकर सैंजुले मध्य पूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । ‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’ द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए । ‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमी आउने देखिएको छ ।’  उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन् ।