खाडीको द्वन्द्वले नेपालको अर्थतन्त्रमा असर पुग्ने राष्ट्र बैंकको बुझाइ, 'तत्काल पेट्रोलको अभाव हुँदैन'
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भू-राजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरानको द्वन्द्वले फेरी अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको छ ।’ उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अर्थतन्त्रलाई लयमा आउने बाटोमा थियो । बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएको अवस्थामा नै मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ । ‘मध्यपूर्वका १७ वटा देशमध्ये १५ वटा देशबाट नेपालमा रेमिट्यान्स भित्रिने गरेको छ । यसमा पनि ४ वटा देशहरूले जम्मा रेमिट्यान्सको ३५ प्रतिशत हिस्सा ओगटेको छ,’ खरेलले भने, ‘छोटो समयमा इरानको द्वन्द्व समाधान नभएमा करिब ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने देखिन्छ ।’ उनले समग्र देशमा तत्काल यसको समस्या नदेखिएपनि रेमिट्यान्स पठाउनेहरूको घरमा भने तत्काल समस्या देखिने बताए । ६ महिनाको अवधिमा ६ लाख पर्यटक आउँदा मध्यपूर्वबाट आउने पर्यटक कम भए पनि सोही बाटो हुँदै आउने पर्यटक बढी रहेकाले यसको असर पर्यटन क्षेत्रमा समेत देखिने उनको भनाइ छ । मध्यपूर्वको द्वन्द्वको कारणले इन्धनको मूल्य बढ्ने र त्यसको असर उत्पादन मूल्यमा पनि गएर जोडिने उनको तर्क छ । सुनचाँदीको माग बढ्ने र विदेशी विनिमय सञ्चितिमा पनि यस द्वन्द्वले प्रभाव पार्ने उनले बताए । व्यवसायी भन्छन्- तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । ‘समय समयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ,’ घिमिरेले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’ अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति श्रृंखलामा पनि समस्या पैदा गर्ने भएपनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ । केही दिन अगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ । ‘अन्य इन्धनको तुलनामा ग्यास आपूर्ति श्रृंखला भने फरक किसिमको छ । हाम्रोमा ग्यासको बुलेट भारतको मात्रै प्रयोग हुने गर्दछ भने यसको ढुवानीकर्ता भारत मात्रै हो,’ उनले भने, ‘यही कारण बुलेटको अभाव हुनु र भारतीय आयातकर्ताले पनि सुरक्षित र बढी नाफा खोज्दै भारतमा नै बढी ढुवानी गरिदिने गर्छन् । यसले नेपालमा समस्या पैदा गरेको छ ।’ यही कारण बेलाबेला ग्यासको सवालमा समस्या आउने भएपनि हाल भने बुलेट अभावको समस्या समाधान भइसकेकाले ग्यासको अभाव नहुने उनको भनाइ छ । ग्यासका सवालमा अन्य समस्या समाधान भएको र जाडोका कारण बढी हुने खपतको मात्रा पनि घटेर जाने भएकाले अभावको त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए । अहिले पश्चिम एसियामा भएको युद्धका कारण इन्धन अभावको त्रासले सामान्य समयमा भन्दा बढी खपत भइरहेको उनले उल्लेख गरे । यसले गर्दा ग्यास अभावको समस्या केही मात्रामा देखिएको भएपनि यो समस्या समाधानतर्फ गइसकेको उनले बताए । अर्कोतर्फ, द्वन्द्वका कारण उडान रद्द हुँदा हवाई इन्धनको खपत घटेको र नेपालको सन्दर्भमा भण्डारण पनि पर्याप्त भएकाले त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए । यस्तै, वाणिज्यविद् रवि शंकर सैंजुले मध्य पूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । ‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’ द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए । ‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमी आउने देखिएको छ ।’ उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन् ।
कुपण्डोलको दाउरा थकालीमा आगलागी
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । पुल्चोकको इञ्जिनिरियङ क्याम्पस अगाडि रहेको दाउरा थकालीमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दासम्म भवनको माथिल्लो तलामा रहेको उक्त भान्साघरमा आगलागी भइरहेको छ । प्रहरीले आफूहरू घटनास्थलमा पुगिसकेको र दमकल बोलाएर आगलागी नियन्त्रणम लिने प्रयास भइरहेको जनाएको छ ।
इन्धन अभाव हुने आशंकाले काठमाडौंमा पेट्रोल भर्न भीड बढ्यो
काठमाडौं । उपत्यकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरू गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो । आइतबार, सोमबार पम्पहरुमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरु लाइनमा बस्नुपरेको थियो । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । केही म्यादी प्रहरीहरुले व्यवस्थापन गरेका थिए । पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ । समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो की भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरुमा रहेको छ । नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर उपभोक्ताहरू भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् ।
निर्वाचनका लागि ७७ हजार बढी प्रहरी परिचालन, मतदानस्थलमा गोप्य क्यामेरा
काठमाडौं । नेपाल प्रहरीले देशभरकै प्रतिनिधि सभाको निर्वाचन लागि कुल ७७ हजार ६७७ हजार प्रहरी परिचालन गरेको छ । सुरक्षा दृष्टिकोणलाई ध्यानमा राखेर निर्वाचन प्रहरी र नेपाल प्रहरीका कर्मचारीसहित ७७ हजार ६७७ प्रहरी परिचालन गरिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेले सामान्य मतदानस्थलमा १४ हजार २२५, संवेदनशील मतदानस्थलमा २६ हजार ६५२ र अति संवेदनशील मतदानस्थलमा ३६ हजार ८०० प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नयाँ भर्ना गरिएका निर्वाचन प्रहरीसहित ७७ हजार बढी प्रहरी परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षालाई ध्यानमा राखेर ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको उनले बताए । त्यसैगरी, मतदान स्थलको सुरक्षा प्रयोजनका लागि प्रहरी निर्वाचन व्यवस्थापन जानकारी भनेर सफ्टवेयरसमेत जडान गरेको काफ्लेले बताए । ‘निर्वाचन सुरक्षामा कति प्रहरी सहभागी छन्, कति हातहतियारसहित प्रहरी पुगेका र कसरी व्यवस्थापन गरिएको छ त्यसको सम्पूर्ण विवरण ईएमआईमा सफ्टवेयरमा समावेश गराइन्छ,’ उनले भने, ‘मतदान स्थलमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर केही दुर्घटना भएमा पनि जीआईएस सफ्टवेयर समेत जडान गरेको छ । जहाँ हेलिकोप्टर सहजै अवतरण गर्न सक्छ वा सक्दैन त्यसको प्रत्यक्ष अवलोकन गर्न सक्छ । जसलाई भौगोलिक अवस्थाको सूचना दिने गर्छ ।’ मतदानस्थलको सुरक्षा गर्न प्रहरीले शरीरमा क्यामेरा राखेर निगरानी गर्ने काफ्लेको भनाइ छ । ‘मतदानस्थलमा अवाञ्छित गतिविधि नहोस भनेर प्रहरीले निगरानी गर्नेछ । बुथ क्याप्चर गर्न नदिने र झैझगडा हुन नदिने प्रहरीको उद्देश्य रहेको छ,’ उनले भने । मतदानस्थललाई सुरक्षित तथा भयरहित बनाउन सीसीटीभिबाट प्रहरीले प्रत्यक्ष रुपमा निगरानी गर्ने उनको भनाइ छ । सुरक्षा संवेदनशील मानिएको ठाउँमा ड्रोनबाट समेत हेरिने प्रहरीले तयारी गरेको काफ्लेले उल्लेख गरे ।
इरान : शून्यमा सत्ता, संकटमा शासन
काठमाडौं । अमेरिका–इजरायलका संयुक्त आक्रमणहरूको पहिलो लहरमै अली खामेनेईको हत्या भएपछि इस्लामिक गणराज्य इरान सन् १९७९ पछि सबैभन्दा निर्णायक मोडमा पुगेको छ । यस अभियानमा इरानका वरिष्ठ सैन्य तथा राजनीतिक नेताहरूलाई निशाना बनाइएको थियो । अमेरिकाले दाबी गरेको छ कि यसले इरानको सत्ताको संरचनालाई कमजोर बनाएको छ । आक्रमणपछि अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीले आफ्ना सार्वजनिक वक्तव्यहरूमा अत्यन्त कडा भाषा प्रयोग गरेका छन् । डोनाल्ड ट्रम्पले इरानीहरूलाई यो अवसरको फाइदा उठाउँदै ‘आफ्नो सरकार फिर्ता लिन’ आह्वान गरेका छन् । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले पनि यही कुरा दोहोर्याउँदै इरानमा सत्ता परिवर्तन ‘केवल आवश्यक मात्र होइन, सम्भव पनि रहेको’ बताएका छन् । अमेरिकाले आफ्नो सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ । यसबारे अमेरिका स्पष्ट र दृढ देखिए पनि इरानी जनतालाई दिइएको राजनीतिक सन्देश भने धेरै अनिश्चित छ । आइतबार बिहान इरानी सरकारी टेलिभिजनले औपचारिक रूपमा अली खामेनेईको मृत्यु पुष्टि गर्दै कार्यकारी अधिकार सम्हाल्न तीन सदस्यीय अन्तरिम परिषद् गठन गरिएको घोषणा र्गयो । सरकारले तत्काल कदम चाल्दै देशमा स्थिरता कायम रहेको सन्देश दिन प्रयास गरेको छ । संवैधानिक प्रावधानहरूको उल्लेख गर्दै र अस्थायी शासन व्यवस्था सक्रिय गरेर अधिकारीहरूले सर्वोच्च पद खाली भए पनि प्रणाली कायम रहेको देखाउन खोजिरहेका छन् । अब सम्भावित उत्तराधिकारीबारे अड्कलबाजी तीव्र बनेको छ । इरानमा सम्भावित उम्मेदवारहरूलाई पहिले नै सार्वजनिक रूपमा प्रस्तुत गर्नु सामान्य अभ्यास होइन र यो प्रक्रिया प्रायः बन्द ढोकाभित्रै सञ्चालन हुने गर्छ । यद्यपि, सर्वोच्च नेता चयनका लागि गठित एसेम्ब्ली अफ एक्सपर्टले नामहरूको समीक्षा गरी उम्मेदवारहरूको छोटो सूची तयार गर्ने जिम्मेवारी वहन गर्ने बताइन्छ । यो समितिले छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएपछि सदनसमक्ष संक्षिप्त सूची पेश गर्न सक्छ । बैठकहरू बन्द ढोकाभित्र हुने र मतदान सार्वजनिक नहुने भएकाले बाहिरबाट यस प्रक्रियाको अनुगमन गर्ने सम्भावना अत्यन्त सीमित हुन्छ । हालका वर्षहरूमा खामेनेईका जेठा छोरा मोजतबा राष्ट्रपति पदका लागि अगाडि आउन सक्ने अड्कल गरिँदै आएको थियो । तर हालैका आक्रमणहरूमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उनका धेरै विश्वस्त कमाण्डरहरू मारिएको खबरपछि आन्तरिक शक्ति सन्तुलन बदलिन सक्ने सम्भावना देखिएको छ । अघिल्लो संसदीय इतिहासले पनि संकेत गर्छ कि स्वयं खामेनेई नेतृत्वमा आउँदा उनी व्यापक रूपमा मुख्य विकल्प मानिएका थिएनन् । यसले अन्तिम परिणाम अपेक्षाभन्दा फरक हुन सक्ने संकेत दिन्छ । छनोट प्रक्रिया तीव्र गतिमा अघि बढ्न सक्छ र सम्भवतः केही दिनमै सम्पन्न हुन सक्छ । सैन्य दृष्टिकोणले हेर्दा इरानले ठूलो धक्का बेहोरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उसका धेरै सैन्य अड्डाहरू अझै जोखिममा छन् र अमेरिका–इजरायलको हवाई अभियान जारी छ । जनतामा असुरक्षाको भावना बढेको छ । धेरै सैन्य अड्डाहरू क्षतिग्रस्त भएका छन् । सत्ताको शीर्ष तहमा रिक्तता देखिएको छ र निर्णय प्रक्रिया आपतकालीन अवस्थामा सीमित भएको छ । यद्यपि इरानले प्रतिआक्रमण गर्ने क्षमता प्रदर्शन गरेको छ । आक्रमणका पहिलो दुई दिनमा इरानी बलहरूले धेरै अरब देशहरूमा रहेका अमेरिकी अड्डाहरू र इजरायलका लक्ष्यहरूमा हमला गरेका छन् । पहिलोपटक क्षेप्यास्त्रहरू दुबईका नागरिक संरचनाहरू र कुवेतको एक नागरिक विमानस्थलमा खस्यो । यी सबै घटनाले आफ्ना नेताहरू गुमाए पनि इरानसँग अझै सैन्य शक्ति र त्यसको प्रयोग गर्ने इच्छाशक्ति दुवै रहेको देखाउँछ । अब क्षेत्रीय स्तरमा द्वन्द्व थप चर्किन सक्ने आशंकासमेत व्यक्त गरिएको छ । इरानी नेतृत्वको दृष्टिकोणबाट हेर्दा यदि युद्धको दायरा फैलिन्छ र मध्यपूर्वमा उसका सहयोगी मिलिसिया (अर्धसैनिक वा स्वेच्छिक लडाकु) समूहहरू पनि लडाइँमा संलग्न हुन्छन् भने इरानले युद्धविरामका लागि दबाब सिर्जना गर्न वा कम्तीमा पनि अमेरिका र इजरायलले राखेका सर्तहरूमा पूर्ण आत्मसमर्पणबाट जोगिन केही छुट पाउन सक्छ, किनकि अमेरिका पनि यो संघर्ष लामो समयसम्म तान्न इच्छुक नहुन सक्छ । अर्कोतर्फ निरन्तर सैन्य दबाब र सत्ताविरुद्ध व्यापक विरोध प्रदर्शन फेरि चर्किएमा यसले इस्लामिक गणराज्यलाई पतनतर्फ धकेल्न सक्छ । यदि सुरक्षा तथा सैन्य बलका केही हिस्सामा मतभेद उत्पन्न भए वा उनीहरूले नेतृत्वका आदेश पालना गर्न अस्वीकार गरे भने इरानको वर्तमान शासन थप संकटमा पर्न सक्छ । आगामी दिनहरूले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स तथा देशका अन्य सुरक्षा र सैन्य संस्थाहरू लामो समयसम्म रहेका आफ्ना नेताको अनुपस्थितिमा एकजुट रहन सक्छन् कि सक्दैनन् भन्ने देखाउनेछन् । हालका लागि सबै प्रकारका सम्भावनाहरू खुला छन् । यी आक्रमणपछि इस्लामिक गणराज्य अघिल्लो तुलनामा कमजोर अवस्थामा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तथापि उसँग संस्थागत संरचना, सशस्त्र बल तथा प्रतिकार क्षमता अझै कायम छ, जसले कुनै पनि सरल सत्ता परिवर्तनको मार्गलाई जटिल बनाउँछ । अली खामेनेईको हत्याले इरानलाई अस्थिर र अनिश्चित चरणमा प्रवेश गराएको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित ) खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत ! इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
२५४ कम्पनीको सेयर मूल्य बढ्यो, ६ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७१२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २५४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावर कम्पनीको २७ करोड, एसवाई प्यानलको २४ करोड, मन्जुश्री फाइनान्सको २२ करोड र न्यादी गुप्रको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशत बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । आज साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
काठमाडौं । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोक्दिएपछि युरोपेली ग्यासको मूल्यमा सोमबारदेखि वृद्धि भएको छ । युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्याँस सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरो भन्दा बढीमा पुगेको छ । इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यासको आपूर्ति कटौती हुने डरले ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो ।
धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप पुष्टि भएपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार आवश्यक प्रमाणका आधारमा साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पुष्टि भएपछि कानुनी व्यवस्थाअनुसार उम्मेदवारी अमान्य ठहर गरिएको आयोगले जनाएको छ । धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् ।