विकासन्युज

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप पुष्टि भएपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार आवश्यक प्रमाणका आधारमा साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पुष्टि भएपछि कानुनी व्यवस्थाअनुसार उम्मेदवारी अमान्य ठहर गरिएको आयोगले जनाएको छ । धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् ।  

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि  सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ । विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।  बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ। अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

निर्वाचन विरोधी गतिविधि गर्ने १४२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधि गर्ने १४२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले हालसम्म  १४२ जनालाई नियन्त्रण गरिएको जानकारी दिए। निर्वाचन आचारसंहिता लागू भएपछि झण्डै डेढ सय जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार प्रहरी हिरासतमा ७६ जना छन् भने ६६ जना रिहा भइसकेका छन् । सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट विरोध गर्ने सोमबार मात्र ९ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले बेहोर्ने

काठमाडौं । यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च बेहोर्ने भएको छ ।  विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै अबुधावी क्षेत्रमा काबु बाहिरको परिस्थिति परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ ।  विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा स्पष्ट पारेको छ कि चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई, उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।  यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च अबुधाबी संस्कृति तथा पर्यटन विभाग स्वयंले बेहोर्ने भएको छ । होटलहरूलाई यस अवधिको बिल तथा इनभ्वाइसहरू विभागको तोकिएको इमेल ठेगानामा पठाउन सूचित गरिएको छ ।  यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ ।  अबुधाबी सरकारको यो निर्णयले अनपेक्षित यात्रा प्रतिबन्धका कारण आर्थिक तथा मानसिक तनावमा परेका पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । 

मुग्लिङ–पोखरा सडक : पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ ।  पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ । मुग्लिङ– पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ ।  सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकाल बताउँछन् । मुग्लिङ–पोखरा सडक खण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ ।  मुग्लिङ–पोखरा सडक खण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ । यस सडक खण्डमा ५६ वटा पहिलो रहेका छन्, यि मध्ये १८ वटा पहिरो विशेष प्रकारका रहेका र यिनीहरुको अध्ययन भइरहेको छ । पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो । मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।   

दैनिक ५ हजार लाइसेन्सको माग, यसरी भइरहेको छ वितरण

काठमाडौं । दैनिक ५ हजार सवारी लाइसेन्सको माग हुने गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको छ ।  अहिले अत्यावश्यक भएकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।  उनका अनुसार विभागमा दैनिक करिब ६ सय जनाले इमरजेन्सी भन्दै लाइसेन्स लिन आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ ।  अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि लाइसेन्ससम्बन्धी डेटा सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ । त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था गरिएको विभागका महानिर्देशक पोखरेलले बताए ।  उनका अनुसार लाइसेन्सको समस्या समाधान गर्न विभागले विभिन्न उपाय अवलम्वन गरेको छ । नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरिएको छ ।  ट्राफिक प्रहरीले पनि सो डिजिटल लाइसेन्सलाई मान्यता दिने गरेको छ । ट्राफिक नियम उल्लंघन भएमा त्यही लाइसेन्सका आधारमा चिट काट्न र जरिवाना पनि अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको छ । यसले लाइसेन्स वा रसिद बोकिरहनुपर्ने बाध्यता हटेको विभागको भनाइ छ । जेनजी आन्दोलनका बेला विभागमा लागेको आगलागीका कारण करिव २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए । तर अहिले लाइसेन्स छपाइको काम जारी रहेको र केही सेवाग्राही भने तयार भइसकेको लाइसेन्स लिन नआएको अवस्था पनि रहेको महानिर्देशक पोखरेलले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनका बेला संसद भवन नजिक रहेको कारण आन्दोलनको केन्द्रबिन्दुमै रहेको विभागमा सबैभन्दा बढी क्षति पुगेको थियो । विभाग पूर्णरूपमा क्षतिग्रस्त भएपनि कर्मचारीको प्रयासबाट करिब ६० लाख ड्राइभिङ लाइसेन्सको डेटा पुनर्जीवित (रिभाइभ) गर्न सफल भएको महानिर्देशक पोखरेलले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनका बेला लाइसेन्स प्रिन्ट गर्ने मेसिन जलेर नष्ट भएको थियो । उक्त मेसिन सञ्चालनमा आउन नसकेपछि अहिले सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपासँग सम्झौता गरेर लाइसेन्स छपाइको काम अघि बढाइसकिएको छ ।  विभागले वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन आवश्यकताका लागि लाइसेन्स चाहिने व्यक्तिले विभागमा निवेदन दिएपछि प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइँदै आएको जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ र क्रमशः सबैले लाइसेन्स पाउने पोखरेलले बताए। डिजिटल लाइसेन्स प्रयोग बढेकाले अहिले लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो गम्भीर नरहेको उनको भनाइ छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।   केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।  

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा ज्योतिष अधिकारी पक्राउ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेका छन् ।  आइतबार अधिकारीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए । सामाजिक सञ्जाल तथा युट्युबमा निर्वाचन गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए ।  पक्राउ गरिएको दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले जानकारी दिए। फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।