यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले बेहोर्ने
काठमाडौं । यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च बेहोर्ने भएको छ । विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै अबुधावी क्षेत्रमा काबु बाहिरको परिस्थिति परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ । विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा स्पष्ट पारेको छ कि चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई, उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ । यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च अबुधाबी संस्कृति तथा पर्यटन विभाग स्वयंले बेहोर्ने भएको छ । होटलहरूलाई यस अवधिको बिल तथा इनभ्वाइसहरू विभागको तोकिएको इमेल ठेगानामा पठाउन सूचित गरिएको छ । यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ । अबुधाबी सरकारको यो निर्णयले अनपेक्षित यात्रा प्रतिबन्धका कारण आर्थिक तथा मानसिक तनावमा परेका पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
मुग्लिङ–पोखरा सडक : पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ । मुग्लिङ– पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ । सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकाल बताउँछन् । मुग्लिङ–पोखरा सडक खण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ । मुग्लिङ–पोखरा सडक खण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ । यस सडक खण्डमा ५६ वटा पहिलो रहेका छन्, यि मध्ये १८ वटा पहिरो विशेष प्रकारका रहेका र यिनीहरुको अध्ययन भइरहेको छ । पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो । मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।
दैनिक ५ हजार लाइसेन्सको माग, यसरी भइरहेको छ वितरण
काठमाडौं । दैनिक ५ हजार सवारी लाइसेन्सको माग हुने गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको छ । अहिले अत्यावश्यक भएकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए । उनका अनुसार विभागमा दैनिक करिब ६ सय जनाले इमरजेन्सी भन्दै लाइसेन्स लिन आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ । अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि लाइसेन्ससम्बन्धी डेटा सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ । त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था गरिएको विभागका महानिर्देशक पोखरेलले बताए । उनका अनुसार लाइसेन्सको समस्या समाधान गर्न विभागले विभिन्न उपाय अवलम्वन गरेको छ । नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले पनि सो डिजिटल लाइसेन्सलाई मान्यता दिने गरेको छ । ट्राफिक नियम उल्लंघन भएमा त्यही लाइसेन्सका आधारमा चिट काट्न र जरिवाना पनि अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको छ । यसले लाइसेन्स वा रसिद बोकिरहनुपर्ने बाध्यता हटेको विभागको भनाइ छ । जेनजी आन्दोलनका बेला विभागमा लागेको आगलागीका कारण करिव २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए । तर अहिले लाइसेन्स छपाइको काम जारी रहेको र केही सेवाग्राही भने तयार भइसकेको लाइसेन्स लिन नआएको अवस्था पनि रहेको महानिर्देशक पोखरेलले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनका बेला संसद भवन नजिक रहेको कारण आन्दोलनको केन्द्रबिन्दुमै रहेको विभागमा सबैभन्दा बढी क्षति पुगेको थियो । विभाग पूर्णरूपमा क्षतिग्रस्त भएपनि कर्मचारीको प्रयासबाट करिब ६० लाख ड्राइभिङ लाइसेन्सको डेटा पुनर्जीवित (रिभाइभ) गर्न सफल भएको महानिर्देशक पोखरेलले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनका बेला लाइसेन्स प्रिन्ट गर्ने मेसिन जलेर नष्ट भएको थियो । उक्त मेसिन सञ्चालनमा आउन नसकेपछि अहिले सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपासँग सम्झौता गरेर लाइसेन्स छपाइको काम अघि बढाइसकिएको छ । विभागले वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन आवश्यकताका लागि लाइसेन्स चाहिने व्यक्तिले विभागमा निवेदन दिएपछि प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइँदै आएको जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ र क्रमशः सबैले लाइसेन्स पाउने पोखरेलले बताए। डिजिटल लाइसेन्स प्रयोग बढेकाले अहिले लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो गम्भीर नरहेको उनको भनाइ छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा ज्योतिष अधिकारी पक्राउ
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । आइतबार अधिकारीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए । सामाजिक सञ्जाल तथा युट्युबमा निर्वाचन गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए । पक्राउ गरिएको दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले जानकारी दिए। फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
काठमाडौंबाट मतदानका लागि गाउँ फर्किँदै नागरिक
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ । नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेश जाने यात्रुहरूको संख्या उल्लेख्य रहेको छ । निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै मतदाताहरूले आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ जाने बाटो रोजेका छन् ।
इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु, ईभी कारदेखि स्मार्टफोनसम्म पुरस्कार
काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ । अघिल्लो संस्करणबाट प्राप्त उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यसपटक अभियानलाई अझ परिस्कृत बनाउँदै कम्पनीले ड्राइभर पार्टनर्सको परिश्रम, समर्पण र योगदानको सम्मानस्वरूप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । अभियानअन्तर्गत ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस–टी ईभी कार, याडिया भेलाक्स ईभी स्कूटर, सामसङ स्मार्टफोन तथा स्टेकेसन प्याकेज समावेश गरिएको छ । कम्पनीका अनुसार फेब्रुअरी २३, २०२६ (फागुन ११) देखि मार्च १, २०२६ (फागुन १७) सम्म चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न न्यूनतम ४५ वटा सवारी पूरा गर्नुपर्नेछ । त्यसपछि मार्च २ (फागुन १८) देखि मार्च २९ (चैत १५) सम्म साप्ताहिक चुनौतीहरू सञ्चालन गरिनेछन्, जहाँ प्लेटिनम स्ट्याटस कायम राख्ने चालकहरू साप्ताहिक पुरस्कारका साथै ग्रान्ड प्राइजका लागि पनि योग्य हुनेछन् । क्याब चालकका लागि टाटा एक्सप्रेस–टी ईभी कार र बाइक राइडरका लागि याडिया भेलाक्स ईभी स्कूटर ग्रान्ड प्राइजका रूपमा राखिएको छ । अभियान तीन चुनौतीपूर्ण हप्तामा सञ्चालन हुनेछ र विजेताहरूको घोषणा गर्दै अप्रिल २, २०२६ (चैत १९) मा कार्यक्रममार्फत ग्रान्ड विजेता सार्वजनिक गरिने कम्पनीले जनाएको छ। अभियानअन्तर्गत एक जनाले टाटा एक्सप्रेस–टी ईभी कार, दुई जनाले याडिया भेलाक्स ईभी स्कूटर, १६ जनाले सामसङ स्मार्टफोन तथा चार जनाले स्टेकेसन प्याकेज प्राप्त गर्नेछन् । ग्रान्ड प्राइजका लागि योग्य हुन चालकहरूले अभियानको चारै हप्तामा प्लेटिनम स्ट्याटस कायम राख्नुपर्नेछ भने साप्ताहिक पुरस्कार विजेताहरू प्रत्येक चुनौती हप्तामा प्लेटिनम स्ट्याटस हासिल गर्ने चालकहरूबाट छनोट गरिनेछन् । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर पार्टनर्स नै कम्पनीको सफलताको आधारस्तम्भ भएको बताउँदै उनीहरूको समर्पण, व्यावसायिकता र सेवाप्रतिको प्रतिबद्धताले निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलताको लक्ष्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । चालक साझेदारहरूलाई सशक्त, सुरक्षित र सक्षम बनाउँदा सम्पूर्ण इनड्राइभ इकोसिस्टम अझ बलियो र दिगो बन्ने विश्वासका साथ अभियान सञ्चालन गरिएको उनले बताइन् । कम्पनीले आगामी दिनमा पनि चालक साझेदारहरूको योगदानको सम्मान गर्दै यस्ता सहयोगमूलक तथा लाभदायक कार्यक्रमहरू निरन्तर ल्याइने जनाएको छ ।
१.५० अर्बमा ३ हजार टन क्षमताको पश्चिमाञ्चल चिनी उद्योग बन्दै, बैंकबाट लियो १.२५ अर्ब ऋण
काठमाडौं । बर्दियामा ३ हजार टन क्षमताको आधुनिक चिनी उद्योग निर्माण हुने भएको छ । बर्दियाको गुलरिया–१२ मा स्थापित हुने पश्चिमाञ्चल चिनी उद्योग प्रालि दैनिक ३ हजार टन उखु पेल्ने क्षमतासहितको कारखाना सञ्चालनमा ल्याउने योजना बनाएको हो । विसं २०८१ भदौ १७ गते दर्ता भएको कम्पनीले उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानबाट प्रत्यक्ष रूपमा उखु खरिद गर्ने योजना बनाएको छ । यसले बर्दिया र वरिपरिका जिल्लाका किसानलाई स्थायी बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ । उद्योगबाट चिनी उत्पादनका साथै सह-उत्पादनका रूपमा शिरा, खोइया र फिल्टर माटो उत्पादन हुनेछ। खोइया ऊर्जा उत्पादनका लागि, शीरा औद्योगिक प्रयोजन र इथानोल उत्पादनमा र फिल्टर माटो जैविक मलका रूपमा प्रयोग गर्न सकिने भएकाले उद्योगले बहु-आयामिक आर्थिक लाभ दिने विश्वास गरिएको छ । कम्पनीका अनुसार उद्योग स्थापनाले स्थानीय स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, कृषि उत्पादन वृद्धि गर्नेछ, पूर्वाधार विकासमा योगदान पुर्याउनेछ र समग्र क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउनेछ । उद्योग स्थापनाको कुल लागत करिब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यसलाई ५७:४३ को ऋण-इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गर्ने योजना बनाएको छ र प्रस्तावित ऋण पूर्ण रूपमा सुनिश्चित भइसकेको जनाएको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म परियोजनामा करिब ३३ प्रतिशत वित्तीय प्रगति हासिल भइसकेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड रुपैयाँ दीर्घकालीन र ४० करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब २५ करोड रुपैयाँ ऋण लिइसकेको छ । यद्यपि परियोजना निर्माण चरणमै रहेको हुँदा तोकिएको समय र लागतभित्र सम्पन्न हुने विषयमा केही कार्यान्वयन जोखिम विद्यमान रहेको कम्पनीले जनाएको छ। पश्चिमाञ्चल चिनी उद्योगका प्रवर्द्धक शिखर श्रेष्ठसँग चिनी उद्योगमा लामो अनुभव छ । यो अनुभव महाकाली सुगर इन्डस्ट्रिज प्रालि मार्फत हासिल भएको हो, जुन ३ हजार टन दैनिक उखु पेल्ने क्षमता भएको स्थापित उद्योग हो ।श्रेष्ठको नेतृत्वमा कम्पनीले उत्पादन तथा बजार व्यवस्थापनमा एक दशकभन्दा बढी अनुभव संकलन गरेको छ । यस अनुभवले पश्चिमाञ्चल चिनी उद्योगलाई क्रसिङ दक्षता, मिल सञ्चालन, मेसिनरी तथा स्पेयर पार्ट्स आपूर्ति व्यवस्थापन, प्रक्रिया रसायन आपूर्तिकर्तासँग स्थापित सम्बन्ध र उखु मूल्य निर्धारण तथा आयात नीतिसम्बन्धी नियामकीय ज्ञान जस्ता पक्षमा महत्त्वपूर्ण लाभ प्रदान गरेको छ ।