विकासन्युज

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको कडा विरोध र निन्दा

काठमाडौं । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो हत्या इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घन हो, संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथि अतिक्रमण हो ।’ चीनले यसको कडा विरोध र निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीनले इरानमाथिको सैन्य कारबाही तत्काल रोकिनुपर्छ ।’ चिनियाँ सरकारी सञ्चारमाध्यमले बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएपछि चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनले इरानमा उच्च अधिकारीलाई लक्षित गरी भएको आक्रमणको विरोध गरेको हो । अमेरिका र इजरायलले ’सार्वभौम नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साएको’ कुरा चीनका लागि ‘अस्वीकार्य’ भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले रूसी नेता लाभरोभको पहलमा भएको संवादका क्रममा वाङले बताएको जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार वाङले लाभरोभसँग ‘मध्यपूर्वको अवस्थाले यस षेत्रको सुरक्षालाई खतरनाक मोडमा धकेल्न सक्ने भन्दै यसप्रति चीन निकै चिन्तित भएको बताए ।  वाङले भने, ‘अन्तर्राष्ट्रिय समुदायले ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरोध गर्दै स्पष्ट सन्देश पठाउनुपर्छ ।’ आक्रमणमा परी कम्तीमा एक जना चिनियाँ नागरिक घाइते भएको र केही अस्थायी यात्रु अलपत्र परेको बेइजिङको विदेश मन्त्रालयले आइतबार राति जनाएको छ । विज्ञप्तिमा यस क्षेत्रमा प्रभावित चिनियाँ नागरिकहरूको सङ्ख्या, भौतिक अवस्था र स्थानको बारेमा विस्तृत विवरण दिइएको छैन ।  बेइजिङले केही दिन अघि नै इरानमा रहेका आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ। चिनियाँ राहदानी धारकहरूले इरानबाट अजरबैजान, अर्मेनिया र टर्कीए जाने भिसामुक्त स्थलमार्गमा जान सक्ने विदेश मन्त्रालयले आइतबार उक्त आह्वान दोहोर्याउँदै जानकारी गराएको हो । 

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेकी छिन् ।  ‘युद्धग्रस्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु । साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाको लागि आवश्यक पहल तथा तयारी गर्न म ध्यानाकर्षण गराउँदछु,’ उनले भनिन् ।  उनले पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी सम्पूर्ण मतदाताले आफ्नो विवेक प्रयोग गर्दै मतदान प्रक्रियामा सक्रिय सहभागिता हुने विश्वास पनि व्यक्त गरिन् । नेपालमा राजनीतिक स्थिरता, दिगो शान्ति र लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरणका लागि आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन एउटा महत्वपूर्ण अवसर हुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ । रङ्ग, उत्साह र उल्लासले भरिएको यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावनालाई सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उनको विश्वास छ । उनले सत्य, न्याय र सदाचारको विजयको सन्देश बोकेको फागु पूर्णिमा पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति तथा नकारात्मक प्रवृत्तिहरूको अन्त्य गर्दै सभ्य, शान्त र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरित गरोस् भनी कामना पनि गरिन् । 

फागुपूर्णिमाले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागु पूर्णिमा (होली) ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरे ।  राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ । रङ्गहरूको पर्वका रुपमा प्रत्येक वर्ष फागु पूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ । राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरे । 

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागु पूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । फागु पूर्णिमा पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरे ।   उनले भने, ‘होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई-मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहार्दता र सहयोगी भावनाले रङ्गिन बनाउने उल्लेख गरे ।  परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोक भाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पुर्याउने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भने, ‘प्राकृतिक र वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो, होलीले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटावलाई बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।’

भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

काठमाडौं । भारत सरकारद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ । वीरगञ्ज स्थित भारतीय महावाणिज्यदूत दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन क्षमताका ट्रक तथा अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरिन् ।  नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका प्रजीअ दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री हस्तान्तरण गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । यसअघि, भारत सरकारले निर्वाचन सहयोग अन्तर्गत ५८० थान भन्दा बढी सवारी साधन तथा अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरूको दाखिला, भुक्तानीलगायतका बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।  

हिमाल र पहाडमा हर्षोल्लासका साथ मनाइँदै होली, रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौं । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विशेषगरी युवतीहरूलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको भक्तपुरको सूर्यविनायकबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आएकी रमा केसीले बताइन् । यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्‍टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मेलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ। त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्‍लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रह्‍लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलीका आफैँ भस्म भएकी तर भक्त प्रह्‍लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलीका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा तोयराज नेपालले बताए ।  राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवर्द्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउँछन् ।  फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराईका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएका छन् । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स-परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठा मीठा खानेकुरा खाई रमाइलो गरिन्छ । रङको पर्व कुन देशमा कसरी मनाइन्छ ? फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यानमार र थाइल्याण्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिएको पाइन्छ ।

७ लाख नेपाली यूएईमा मात्रै, अन्य मध्यपूर्वी देशमा कति ?

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका जनाएको छ । आइतबार (आज) मन्त्रालयले मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि पुगेका नेपालीको यकिन संख्या सार्वजनिक गरेको हो । मन्त्रालयले  पत्रकार सम्मेलनमार्फत नेपालीको यकिन संख्याबारे जानकारी दिएको हो।  इरान, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा गरी १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् । मन्त्रालयका अनुसार इरानमा ६, इजिप्टमा ५ सय, लेबनानमा १ हजार ५ सय, इजरायलमा ६ हजार ५ सय, साइप्रसमा १७ हजार, ओमनमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार, कुवेतमा १ लाख ७५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, साउदीमा ३ लाख ८४ हजार ८६५ र युएईमा ७ लाख नेपाली रहेका छन्। यो तथ्यांक मध्यपूर्वस्थित नेपाली राजदूतावासहरूबाट लिखित रूपमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।  मध्यपूर्वमा तनाव बढेपछि मन्त्रालयले मध्यपूर्वी देशमा रहेका नेपालीहरूको संख्या सार्वजनिक गरेको हो ।