विकासन्युज

मध्यपूर्व संकट : नेपालीको उद्दार तत्काल असम्भव, ट्रान्जिटमै गाँस-बासको प्रबन्ध

काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई सोही स्थानमै प्रबन्ध मिलाइएको जनाएको छ । ‘ट्रान्जिटमा रहेका कामदार र यात्रुहरूको सुविधाका लागि हरेक देशका राजदूतावासको सम्पर्कमा आएर उहाँहरूलाई गन्तव्यसम्म पुर्‍याउने वा जान नसक्नेहरूलाई सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्ने गरी समाधान भइसकेको छ,’ परराष्ट्रमन्त्री बालानन्द शर्माले बताए । ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन । अहिले जो जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने निर्णय गरेका छौं,’ उनले थपे  आइतबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाललाई परेको प्रभाव, त्यसबारे दिइने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको थियो । परराष्ट्रमन्त्री शर्माका अनुसार अधिकांश नेपालीको स्वास्थ्य, सुरक्षाबारे अहिलेसम्म कुनै हतहाती भएको छैन । त्यस्तै, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वी क्षेत्र जान लाग्दा अलपत्र परेका यात्रुहरूको पनि समस्या समाधान भइसकेको छ । यसका लागि श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरी समाधान गरेको उनले बताए ।  नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्दार गर्न नसकिने पनि परराष्ट्रमन्त्री शर्माले बताए। मध्यपूर्वको तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको उनले बताए । ‘यसबाट नेपालमा परेको प्रभाव, कसरी प्रतिक्रिया दिने र नेपाली नागरिकलाई परेको असर र समाधानबारे छलफल भएको छ,’ परराष्ट्रमन्त्री शर्माले भने ।

मध्यपूर्व : इजरायल लामो संघर्षका लागि तयार, ट्रम्पले साथ छाड्न सक्नेमा विशेषज्ञको चिन्ता

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायल भित्रैबाट एउटा गम्भीर चिन्ता सार्वजनिक भएको छ- कहीँ कतै डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा साथ छोड्ने हुन् कि ? इजरायली पत्रकार र रक्षा विश्लेषकहरूले चेतावनी दिएका छन् कि युद्ध लम्बिँदै गए अमेरिकाको धैर्य कमजोर पर्न सक्छ, जसले रणनीतिक साझेदारीमै दरार ल्याउन सक्छ । रक्षा विशेषज्ञ योआव लिमोरले दैनिक इसराइल हायोममा लेख्दै भनेका छन् कि इजरायलले लामो संघर्षका लागि तयारी गरिसकेको छ, तर वाशिंगटन त्यति धैर्यवान् रहने ग्यारेन्टी छैन ।  ‘हामीसँग दिनौं वा हप्तौं सम्भवतः अझ लामो समयसम्म युद्ध जारी राख्ने तयारी छ,’ उनले लेखेका छन्, ‘तर ट्रम्पसँग त्यति धैर्य छ कि छैन स्पष्ट छैन ।’ लिमोरका अनुसार छिट्टै अमेरिका–इजरायलबीच रणनीतिक मतभेद सतहमा आउन सक्छन् । वरिष्ठ पत्रकार नहूम बारनेआले येदिओथ अहरोनोथमा थप तीखो टिप्पणी गरेका छन् । ‘अमेरिकाका लागि यो युद्ध ‘चयन’ हुन सक्छ, तर इजरायलका लागि ‘आवश्यकता’ हो,’ उनले लेखेका छन् ।  उनका अनुसार हाल ट्रम्प प्रशासनले खुला समर्थन जनाए पनि अमेरिकी जनमत लामो युद्धका कारण फेरिन सक्छ, जसको प्रत्यक्ष असर सैन्य र कूटनीतिक सहयोगमा पर्न सक्छ । उता एन १२ का अनुसार इजरायली नेतृत्व र सुरक्षा अधिकारीहरूले ‘यो त सुरुआत मात्र हो, अपरेशन धेरै दिनसम्म चल्नेछ’ भन्ने सन्देश दिइरहेका छन् । यसले तेल अभिभ र वाशिंगटन एउटै लक्ष्यमा देखिए पनि युद्धको अवधि र धैर्यको सीमा फरक–फरक हुन सक्ने देखाउँछ । विश्लेषकहरूका अनुसार यदि अमेरिका–इजरायलबीच समन्वय कमजोर भयो भने त्यसको प्रभाव केवल युद्धमै सीमित रहने छैन, यसले मध्यपूर्वको शक्ति–सन्तुलन, इरानको रणनीति र विश्व तेल बजारसम्म असर पार्न सक्छ ।  अमेरिका र इजरायलको संयुक्त आक्रमणमा हालसम्म इरानमा कम्तीमा २०१ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भए तापनि कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृतकको संख्या एक हजार नाघेको अनुमान गरेका छन्। यो घटनामा सैन्य अधिकारीहरू मात्र नभई ठुलो संख्यामा सर्वसाधारण र बालबालिकाहरू पनि मारिएका छन् ।  विशेषगरी दक्षिणी इरानको मिनाबस्थित एउटा प्राथमिक विद्यालयमा भएको बमबारीमा १०८ जना बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन् र कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ। 

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । प्रवक्ता अर्यालका अनुसार समसामयिक राजनीतिक तथा पछिल्लो इरान तनावका विषयमा छलफल गर्न बैठक बसेको हो । अर्यालका अनुसार पछिल्लो समय विकसित घटनाक्रम, सरकारका प्राथमिकता प्राप्त कार्यक्रमहरू तथा केही नीतिगत निर्णयबारे परामर्श आवश्यक देखिएकाले आकस्मिक बैठक बसेको हो । बैठकमा मुलुकको वर्तमान परिस्थिति, प्रशासनिक समन्वय, सुरक्षा अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ ।

एकीकृत सुरक्षा योजनाअनुसार मैदानमा उत्रिने नेपाली सेनाको प्रतिबद्धता

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले आफ्नो पूर्ण प्रतिबद्धता जाहेर गरेको छ ।  सरकारको एकीकृत सुरक्षा योजना अनुसार अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्दै निर्वाचन सम्पन्न गराउन सेनाले सक्रियता बढाएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार सेनाले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४’ र ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ बमोजिम आफ्नो जिम्मेवारी सम्हालिरहेको छ । सेनाले मतदान सम्पन्न भएपश्चात् नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत र राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पु‍र्याउनेछ । निर्वाचनको समयमा सेना ‘तेस्रो घेरा’ मा रहेर सुरक्षा प्रदान गर्ने जनाइएको छ । विसं २०४८ सालदेखिको अभ्यासलाई निरन्तरता दिँदै मतपत्र छपाइस्थलको सुरक्षा र काठमाडौंबाट ७७ वटै जिल्लासम्म मतपत्र ढुवानीको जिम्मा पनि सेनाले लिएको छ । सेनाले विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि स्थापित प्रोटोकल अनुसार नै काम गर्ने स्पष्ट पारेको छ ।  ‘विगतका निर्वाचनहरूमा झैं यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भएपश्चात् एकीकृत टोलीले मतपेटिका ढुवानी गर्ने कार्य गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ। निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले हवाई र स्थल दुवै मार्गबाट आवश्यक सुरक्षा सहयोग र ढुवानीको प्रबन्ध मिलाएको जनाएको छ ।

पर्यटन बोर्डले फागुन २१ गते निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म शटल बस सेवा उपलब्ध गराइने भएको हो ।  उक्त सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ । निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । शटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछ ।  पहिलो मार्गअन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्‍याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ । यस मार्गको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा १ प १३७८ नम्बरको जसमार्फत सेवा उपलब्ध हुनेछ । दोस्रो मार्ग महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुनेछ । यस मार्गका सम्पर्क व्यक्ति पवन गिरी रहेका छन् र बा १ प १३२० नम्बरको बस परिचालन गरिनेछ । तेस्रो मार्ग कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म सञ्चालन गरिनेछ । यस मार्गको समन्वय सुरज खड्गुले गर्नेछन् भने बा १ प १०८१ नम्बरको बस परिचालन हुने बोर्डले जनाएको छ। बोर्डका निमित्त निर्देशक सुनील शर्माले निर्वाचनका दिन यात्रुहरूलाई समयमै विमानस्थल पुग्न तथा गन्तव्यसम्म सुरक्षित रूपमा आवतजावत गर्न उक्त सेवाको उपयोग गर्न आग्रह गरेका छन् ।

हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

काठमाडौं ।  नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक हुने भएको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकास गरिएको यो एप आगामी मार्च १, २०२६ (फागुन १७) गतेदेखि सञ्चालनमा आउने घोषणा गरिएको हो ।  'नेपालीका लागि, नेपालीद्वारा निर्मित' भन्ने नारासहित ल्याइएको एपले एउटै प्लेटफर्मबाट बहुआयामिक सेवा उपलब्ध गराउने दाबी गरिएको छ ।  एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार ‘ठीकठाक’ मा प्रयोगकर्ताले राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ ।  महिनाकै उत्कृष्ट क्रिएटरले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको जनाइएको छ । यस व्यवस्थाले डिजिटल सामग्री निर्माणमा युवाहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । हजुर एआईले सामाजिक सञ्जालसँगै अन्य विभिन्न सुविधा पनि समेटेको छ । ‘हजुर एआई च्याट’ नामक फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट उपलब्ध हुनेछ, जसले अध्ययन, जानकारी तथा सामान्य परामर्शमा सहयोग गर्ने बताइएको छ । त्यस्तै, भाषा सिकाइ सम्बन्धी फिचरमा कथामार्फत विभिन्न भाषा सिक्न सकिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फ ‘प्राणायाम’ फिचर समावेश गरिएको छ, जसले नेपाली भाषामै ध्यान तथा श्वासप्रश्वास सम्बन्धी अभ्यास सिकाउनेछ ।   मनोरञ्जनका लागि समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ । यसरी सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई सहज डिजिटल अनुभव दिने लक्ष्य राखिएको छ । लन्च अफरअन्तर्गत जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ । 

खाडी मुलुकका उडान रोकिँदा हजारौँ नेपाली यात्रु अन्योलमा

काठमाडौं । बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएनन् । विमानस्थलमा आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो ।      उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए । कुराकानीमा आफूले बर्दियाबाट आउँदा काठमाडौंसम्म आउनका लागि भाडा र खानाका लागि मात्रै पैसा बोकेको सुनाए । उनीसँग अहिले होटलमा बस्न र खानाका लागि पैसा छैन । 'हिजो विमानस्थलमै सुतेर राति बिताएँ, अब कहिले उडान हुन्छ थाहा छैन', उनले भने ।      पुनको जस्तै अवस्था कैलालीकी सरला विकको पनि छ । रोजगारीका लागि साउदी अरब जान शनिबार विमानस्थल पुगेकी उनी आइतबारसम्म यही छिन् । हवाई उडान कहिले हुन्छ भन्दै बेलाबेलामा निगमका कर्मचारीलाई सोध्छिन् । तर जवाफ चित्तबुझ्दो आउँदैन । निगमका कर्मचारी केही सोध्नुपरे एयरलाइन्सको कार्यालय न्युरोड जान सुझाव दिन्छन् । विक दोस्रो पटक साउदी अरब जाँदै छिन् । दुई महिनाअघि बिदामा घर आएकी उनी अब काठमाडौंबाट कैलाली फर्कने हो भने फेरि साउदी अरब जान नपाइएला भन्ने चिन्ता पनि छ ।  पुन र विकजस्ता हजारौँ नेपाली यतिबेला विमानस्थलको चक्कर काटिरहेका छन् । उनीहरु जाने मुलुकमा नेपालबाट हवाइजहाजले उडान भरेको छैन । अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो । खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन् ।      अमेरिका र इजराइलले इरानमा गरेको आक्रमणका कारण युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । जसकारण विदेश उड्न भनेर आएका नेपाली यात्र अलपत्रमा परेका हुन् ।      अलपत्र पर्नेमा मोरङका दिलीपप्रसाद राजवंशी पनि रहेका छन् । दुबईको आबुधावीमा श्रमिकका रुपमा कार्यरत उनी तीन महिनाको बिदा मनाएर आइतबार दुबई फर्कने तालिका थियो । दुबईस्थित कम्पनीको मालिकको फोन गर्दा आइतबार बिदाको दिन परेकाले उठेन । कम्पनीले दुबहीबाट नै टिकट काटिदिएको थियो । यसबारेमा अब के हुन्छ भन्ने कुनै आधिकारिक जानकारी प्राप्त गरेका छैनन् । 'दुबईको विमानस्थल बन्द छ, मात्रै भन्छन्, तर अब के गर्ने ? टिकट कसरी रिफण्ड  हुन्छ ? र सस्तोमा पाएको टिकट त्यही मूल्यमा पाइन्छ कि पाइँदैन ? कतै महङ्गोमा पर्ने पो हो कि ?', उनले भने । उनले आफूलगायत खाडीमुलुक जाने नेपाली यात्रु सही र आधिकारिक सूचना नपाउँदा अलमलमा पर्नुपरेको बताए ।       दुबई जान विमानस्थल आएका गणेश मिश्रले पनि जहाँ टिकट काटेको त्यही जानु भनेर सोधपुछ कक्षका कर्मचारीले जवाफ दिएको बताए । आफू अलपत्र र बेवारिसे जस्तै भएको उनले बताए ।      धनुषाका एमडी रोजेन्दावले आफू कतार जान विमानस्थलमा दुई दिनअघिदेखि नै आइरहेको बताए । 'घर फर्किन पनि सकेको छैन, होटलमा बस्न खर्च पनि छैन, हवाई उडान कहिले खुल्छ भन्ने पनि निश्चित छैन', उनले भने ।  नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले इरान–अमेरिका तनाव बढेपछि विभिन्न मुलुकका विमान सञ्चालनमा रोक लगाइएकाले उक्त अवस्था समान्य नहुँदासम्म उडान नहुने बताए । यद्यपि यात्रुहरुले टिकट रिफन्ड गर्नुपर्ने अवस्था आएमा कार्यालयमै सम्पर्क गर्न आग्रहसमेत गरे ।      'विमानस्थलमा सबै काम गर्न सम्भव नहुने भएकाले कार्यालयमै सम्पर्क गर्न भनेका हौँ', उनले भने, 'यात्रुहरुको सहजताका लागि निगमको काम विमानस्थलमै गर्न भने त्यति सम्भव छैन ।'      नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले केही देशका विमानस्थल अनिश्चित रुपमा बन्द भएकाले यात्रुलाई निश्चित सूचना दिन नसकिएको बताए । यद्यपि विमान कम्पनीहरुले यात्रुलाई उडान खुल्नु तीनदेखि चार घण्टाअघि फोन गरेर सूचना दिनुपर्ने भनी सूचना प्रकाशित गरिएको उनले जानकारी दिए । रासस

बालुवाटारमा आकस्मिक हलचल, प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले केहीबेरअघि सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरूलाई तत्काल उपस्थित हुन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।  प्रवक्ता अर्यालका अनुसार समसामयिक राजनीतिक तथा पछिल्लो इरान तनावका विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठक अहिले साढे पाँच बजेका लागि बोलाइएको हो । अर्यालका अनुसार पछिल्लो समय विकसित घटनाक्रम, सरकारका प्राथमिकता प्राप्त कार्यक्रमहरू तथा केही नीतिगत निर्णयबारे परामर्श आवश्यक देखिएकाले आकस्मिक बैठक बोलाइएको हो ।  बैठकमा मुलुकको वर्तमान परिस्थिति, प्रशासनिक समन्वय, सुरक्षा अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ । सरकारी निवास बालुवाटारमा मन्त्रीहरूको आगमन सुरु भइसकेको छ ।