विकासन्युज

मादक पदार्थ बिक्रीमा प्रतिबन्ध, यी कागजात देखाएर मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन निर्देश गरिएको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्नेछन् । यस्तै, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन पनि सहज सञ्चालन हुनेछ । सार्वजनिक तथा निजी सवारीसाधन भने यही फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय भएको आयोगले जनाएको छ । यस्तै, मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालनको व्यवस्था मिलाइनेछ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म ल्याउन सहज व्यवस्था गरिएको छ । यस्तै, घर बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिनेगरी आवश्यक व्यवस्था मिलाइने आयोगले उल्लेख गरेको छ । यी कागजात देखाएर मतदान गर्न पाइन्छ प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार  मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र  देखाएर मतदान गर्न सक्नेछन् । यस्तै, राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सो बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् । यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ । मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट दुई जना कर्मचारीलाई तोकिनेछ ।

आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपाका शक्तिबहादुर र स्वतन्त्र उम्मेदवार निकोलसलाई २५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवारलाई कारवाही गर्ने निर्णय गरेको छ ।  केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो ।  त्यसैगरी, श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको छ ।  केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको जानकारी दिए । आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाहीस्वरूप २५ हजार रुपैया जरिवाना तिराउने निर्णय गरेको हो ।  आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टिकरण सोधिएको जानकारी दिए ।  तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टिकरण सोधिएको पनि जबराले जानकारी दिए ।  निर्वाचन आचारसंहिताविपरीत एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ । आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता  उल्लङ्घनमा कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।  आयुक्त जबराले केही दिन भित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारवाही आयोग आफै पनि सक्रिय हुनसक्ने चेतावनीसमेत दिए ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।  प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी  अन्तिम चरणमा छ ।  आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा पुगेको छ ।  केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ ।  स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ । मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ ।  निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् ।  यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको छ ।

किम जोंग उनले उत्तर कोरियाको परमाणु शक्तिबारे अमेरिकासँग के भने ?

काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो देशको परमाणु हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने इशारा व्यक्त गरेका छन् । एक सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको परमाणु शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन् । अमेरिकाले उत्तर कोरियाका परमाणु हतियारहरू कायम रहने तथ्य स्वीकार गरे उत्तर कोरिया र अमेरिका आपसी सम्बन्ध सुधार गर्न सकिने किमको भनाइ छ ।  यो अभिव्यक्ति राजधानी प्योङयाङमा आयोजित वर्कर्स पार्टी अफ कोरियाको पाँच वर्षमा हुने सम्मेलनमा आएको हो । यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिलमा चीन भ्रमणअघि सम्भावित वार्ताको संकेतका रूपमा हेरिएको छ । यद्यपि किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै पनि आशा अस्वीकार गर्दै त्यसलाई उत्तर कोरियाको ‘सबैभन्दा दुश्मन देश’ बताएका छन् । उनले अमेरिकासँगको सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको रवैयामा निर्भर रहने पनि बताएका छन् ।

किम जोंग उनले उत्तर कोरियाको परमाणु शक्तिबारे अमेरिकासँग के भने ?

काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो देशको परमाणु हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने इशारा व्यक्त गरेका छन् । एक सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको परमाणु शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन् । अमेरिकाले उत्तर कोरियाका परमाणु हतियारहरू कायम रहने तथ्य स्वीकार गरे उत्तर कोरिया र अमेरिका आपसी सम्बन्ध सुधार गर्न सकिने किमको भनाइ छ ।  यो अभिव्यक्ति राजधानी प्योङयाङमा आयोजित वर्कर्स पार्टी अफ कोरियाको पाँच वर्षमा हुने सम्मेलनमा आएको हो । यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिलमा चीन भ्रमणअघि सम्भावित वार्ताको संकेतका रूपमा हेरिएको छ । यद्यपि किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै पनि आशा अस्वीकार गर्दै त्यसलाई उत्तर कोरियाको ‘सबैभन्दा दुश्मन देश’ बताएका छन् । उनले अमेरिकासँगको सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको रवैयामा निर्भर रहने पनि बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ राहदानीसहित महिला पक्राउ

काठमाडौं । ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी रहेकी छन् । उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा कार्यालयले विमानस्थल परिसरबाटै नियन्त्रणमा लिएको हो । चौधरी भुटान एयरलायन्सको बी३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी थिइन् । उनको झोलाबाट विभिन्न व्यक्तिका ४८ थान राहदानी बरामद भएपछि नियन्त्रणमा लिइएको हो । थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीले जनाएकाे छ।

जापानमा जन्मदर लगातार घट्दै, जनसङ्ख्या संकट गहिरिँदै

काठमाडौं । जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ । प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख पाँच हजार ८०९ शिशु जन्मिएका छन् । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो ।      यस तथ्याङ्कमा जापानभित्र जापानी नागरिकबाट जन्मिएका शिशु, विदेशी नागरिकका सन्तान र विदेशमा जन्मिएका जापानी शिशुहरू सबै समेटिएका छन् । विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा विश्वकै न्यूनतम जन्मदरमध्ये एक रहेको छ र कुल जनसङ्ख्या निरन्तर घटिरहेको छ ।      घट्दो जन्मदरका कारण श्रम अभाव, सामाजिक सुरक्षा खर्चमा वृद्धि र कर तिर्ने कामदारको सङ्ख्या घट्ने समस्या तीव्र बन्दै गएको छ । यसले जापानको सार्वजनिक ऋणलाई थप दबाब दिएको छ, जुन प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपातमा रहेको बताइन्छ ।      देशकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसहित अघिल्ला नेताहरूले जन्मदर बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्, तर ठोस उपलब्धि सीमित रहेको देखिएको छ । गत हप्ता संसद्मा बोल्दै ताकाइचीले घट्दो जन्मदर र सङ्कुचित जनसङ्ख्यालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै यसले देशको जीवनशक्तिलाई बिस्तारै कमजोर पार्ने बताएका थिए ।      फेब्रुअरी ८ मा सम्पन्न चुनावमा ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले दुई तिहाइ बहुमत हासिल गरेको छ । यद्यपि जनसङ्ख्या सङ्कट समाधानका लागि आप्रवासन विस्तार उपयोगी हुन सक्ने विश्लेषण भइरहे पनि ‘जापानी पहिलो’ नारा अघि सारेको सान्सितो पार्टीको दबाबका कारण सरकारले आप्रवासनमा कडा नीति अपनाउने सङ्केत दिएको छ । रासस    

एमाले महासचिव पोखरेलले गरे पाँच संकल्प सार्वजनिक

काठमाडौं । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँचवर्ष भित्र गर्ने पाँच संकल्प सार्वजनिक गरेका छन् । उनले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकको संकल्प आज यहाँ सार्वजनिक गर्नुभयो । उक्त संकल्पमा रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गरेका छन् । गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उनको संकल्पमा उल्लेख छ । स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्पमा भनिएको छ । पोखरेलले आफ्ना संकल्प सार्वजनिक गर्दै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  उनले अब दाङ जिल्लाको जनप्रतिनिधिका रूपमा राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न चाहेको बताए ।