विकासन्युज

कालोसूचीमा रहेका रास्वपाका दुई सांसद विरुद्धको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका तर बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका उम्मेदवारविरुद्ध दायर मुद्दा सोमबार (आज) सर्वाच्च अदालतको संवैधानिक इजलासमा पेशीमा राखिएको छ । उदयपुर, पर्सा, सिन्धुलीलगायत विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूमाथि कालोसूचीमा रहेको तथ्य लुकाएर उम्मेदवारी दिएको आरोपसहित रिट दायर गरिएको हो ।  रिट निवेदकहरूको तर्फबाट उम्मेदवारी दर्ता गर्दा अनिवार्य रूपमा खुलाउनुपर्ने विवरण उम्मेदवारहरूले ढाँटेको भन्दै उनीहरूको उम्मेदवारी नै बदर गर्न माग गरिएको छ । यसअघि धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले मतदान हुन दुई दिनअघि नै खारेज गरेको थियो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि आयोगले उक्त निर्णय लिएको थियो । यस्तै, उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद सूर्यबहादुर तामाङ र सिन्धुली क्षेत्र नम्बर १ का धनेन्द्र कार्कीसमेत कालोसूचीमा रहेको तथ्य लुकाएर उम्मेदवार बनेको आरोपमा मुछिएका छन् । उनीहरू दुवै जना निर्वाचनमा विजयी भइसकेकाले निवेदकले उम्मेदवारीसँगै सांसद पद पनि खारेज गर्न माग गरेका छन् ।

होटल पौवाले ‘स्वाद उत्सव’ आयोजना गर्दै

काठमाडाै‌। स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार आगामी चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष परिकार, नेपाली रैथाने स्वाद तथा विविध आतिथ्य कार्यक्रममार्फत ग्राहकहरूलाई विशिष्ट अनुभव प्रदान गरिनेछ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद ज्ञवालीले छोटो अवधिमै नेपाली हस्पिटालिटी क्षेत्रमा पौवाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । “पहिलो दशकलाई हामीले संस्थागत बाल्यकालका रूपमा लिएका छौं। यस अवधिले हामीलाई अनुभव, आत्मविश्वास र स्पष्ट दिशा दिएको छ,” उनले भने । उनका अनुसार आगामी दशकमा देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा शाखा विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने योजना कम्पनीले अघि सारेको छ । होटल पौवाका उपाध्यक्ष धुव्रराज न्यौपानेका अनुसार व्यवसायिक दृष्टिले १० वर्ष छोटो समय भए पनि होटल पौवाले यस अवधिमा हासिल गरेको विस्तार र संस्थागत विकास उल्लेखनीय बनेको छ । “सात कोठाबाट सुरु भएको यात्रा आज पाँचतारे होटल तथा रिसोर्ट अवधारणातर्फ अघि बढिरहेको छ,” उनले भने, “सामूहिक लगानीको मोडेलमार्फत विकसित हुँदै गएको पौवा नेपाली चेन होटलको सम्भावना प्रमाणित गर्ने उदाहरण बनेको छ ।” रुपन्देहीको सालझण्डीस्थित सात कोठे सानो घरबाट सुरु भएको होटल पौवाले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्चालन गरिरहेको छ । “जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नारासहित अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ । वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा भैरहवा शाखामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ । उक्त सम्मेलन कम्पनीको दीर्घकालीन विस्तार रणनीति “मिसन १००” लाई सफल बनाउन केन्द्रित रहने उपाध्यक्ष न्यौपानेले जानकारी दिए । कम्पनीका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार “मिसन १००” केवल संख्यात्मक विस्तारको लक्ष्य मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको दीर्घकालीन रणनीति हो । हाल होटल पौवा सञ्जालमा झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ता रहेको कम्पनीले जनाएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्दै नेपाली आतिथ्यलाई संस्थागत रूपमा सुदृढ बनाउने लक्ष्यसहित पौवा आफ्नो विस्तार यात्रालाई निरन्तर अघि बढाइरहेको छ ।  

गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर राजबहादुरले किने, प्रिमियम मूल्यमा कारोबार

काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर उद्योगी राजबहादुर शाहले खरिद गरेका छन् । गोर्खा ब्रुअरी र जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका सञ्चालक शाहबीच १५ प्रतिशत सेयर खरिद बिक्रीको सहमति भएको हो ।  गोर्खा ब्रुअरीमा हाल करिव एक अर्ब ३० करोड रुपैयाँ सेयर पुँजी रहेको छ । त्यसको शाहले १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सहमति भएको हो । सो सेयर प्रिमियम मूल्यमा खरिदबिक्री गर्ने सहमति भएको उच्च स्रोतले बतायो । तर कति प्रिमियम मूल्य थपेको भन्ने विषय स्रोतले खुलाएन ।  बहुराष्ट्रिय कम्पनी काल्सवर्ग समूहको हाल सतप्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीमा अब नेपाली व्यवसायी शाह पनि संलग्न भएका छन् । ‘गोर्खा ब्रुअरी आफैमा ब्राण्डेड छ । नेपाली उद्योगमा स्थापित जावलाखेल ग्रुप पनि त्यसमा आवद्ध भएपछि अब एकअर्काको परिपूरकका हिसाबले कम्पनी अगाडि बढ्नेछ,’ स्रोतले भन्यो । गोर्खा ब्रुअरीले बियर मात्र उत्पादन गर्दछ । यसका उत्पादन काल्सवर्ग र टुर्बाेग नेपालमा सर्वाधिक रूचाइने वियर हुन् । जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका विस्की, भोड्कासहित विभिन्न ब्राण्ड नेपाली बजारमा अग्रणी स्थानमा छन् ।  राजबहादुर शाह परिवारको लगानीमा सञ्चालित जाउलाखेल ग्रुप अफ डिस्ट्रिलरी अन्तर्गत हाल विभिन्न २१ ब्राण्डमा मदिरा उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ । व्यक्तिगत तर्फबाट सबैभन्दा बढी आय कर तिरेका जनाउँदै  उनी र उनको बुबा विजय बहादुर शाहलाई नेपाल सरकारले पटक पटक उच्च करदाता सम्मान दिएको छ । गोर्खा ब्रुअरीको स्थापना काल्सवर्ग र खेतान समूहको संयुक्त लगानीमा भएको थियो ।  सुरुमा यस कम्पनीको व्यस्थापन खेतान समूहकै नेतृत्वमा थियो । पछि खेतान समूहले यसको सेयर बेचेर घटाउँदै लगेको थियो । २०८१ साउनमा खेतान ग्रुपको स्वामित्वमा बाँकी रहेको ९.९४ प्रतिशत सेयर पनि कार्लसबर्ग ग्रुपले खरिद गरेको थियो । खेतान समूहले सो सेयर काल्सवर्गलाई नै बिक्री गरेपछि सतप्रतिशत स्वामित्व काल्सवर्गको रहेको थियो । 

सामसङ नेपालको ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक

काठमाडौं । सामसङ नेपालले नयाँ ए सिरिज अन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी मोबाइल सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीका अनुसार अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) अग्रिम बुकिङ गर्न सकिनेछ । नयाँ मोबाइलहरूमा आकर्षक बनावट, उन्नत क्यामेरा प्रणाली तथा ‘असम इन्टेलिजेन्स’ नामक कृत्रिम बुद्धिमत्ता सुविधा समावेश गरिएको छ । वन यूआई ८.५ मा आधारित यी उपकरणहरूले आवाजलाई लेखमा रूपान्तरण गर्ने सुविधा, पर्दामा देखिएका वस्तु सजिलै छान्ने सुविधा, फोटो सम्पादन गर्ने सजिलो उपकरणहरू उपलब्ध गराउँछन् । फोटो खिच्नका लागि दुवै मोबाइलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित तीन क्यामेराको व्यवस्था छ । कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडियो लिन सकिने प्रविधि राखिएको छ । ग्यालेक्सी ए५७ फाइभजीमा अझ उन्नत तस्बिर प्रशोधन र छिटो फोटो खिच्ने सुविधा उपलब्ध छ । डिजाइनतर्फ ग्यालेक्सी ए५७ फाइभजी निकै पातलो (६.९ मिलिमिटर) रहेको छ भने दुवै मोबाइलमा ५००० एमएएच ब्याट्री राखिएको छ, जसले दुई दिनसम्म चल्न सक्ने बताइएको छ । उत्कृष्ट दृश्य अनुभवका लागि उच्च गुणस्तरको पर्दा प्रयोग गरिएको छ । सुरक्षाका हिसाबले पानी र धुलोबाट जोगिने क्षमता, डाटा सुरक्षा प्रणाली, व्यक्तिगत सामग्री सुरक्षित राख्ने सुविधा लगायतका विशेषता समावेश छन् । साथै ६ वर्षसम्म सुरक्षा सुधार र प्रणाली अद्यावधिक उपलब्ध गराइनेछ । मूल्यतर्फ ग्यालेक्सी ए५७ फाइभजीको १२ जिबी/२५६ जिबी भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ र ८ जिबी/२५६ जिबीको ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी ए३७ फाइभजी भने ६४ हजार ९९९ रुपैयाँदेखि ७९ हजार ९९९ रुपैयाँसम्म उपलब्ध हुनेछ । अग्रिम बुकिङ अवधिमा ग्राहकहरूले अतिरिक्त मेमोरी सुविधा र २४ महिनासम्म किस्ताबन्दी सेवा पाउनेछन् । यसअनुसार मासिक १ हजार ७६४ रुपैयाँदेखि खरिद गर्न सकिनेछ । सामसङ नेपालका अनुसार नयाँ ए सिरिजले कृत्रिम बुद्धिमत्ता प्रविधिलाई सबै प्रयोगकर्तासम्म सहज रूपमा पुर्‍याउने लक्ष्य राखेको छ । 

‘नागरिकमाथि आक्रमण भए थप खतरनाक र व्यापक प्रतिकार गर्ने’ इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिका र इजरायलले सर्वसाधारण नागरिकलाई निशाना बनाए  त्यसको प्रतिक्रिया अझै धेरै खतरनाक हुने चेतावनी दिएको छ । यो जानकारी इरानको सरकारी सञ्चारमाध्यमले दिएको हो । खातम अल-अनबिया केन्द्रीय मुख्यालय (ईरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड एकाइ) का प्रवक्ताले भने, ‘यदि आम नागरिकमाथि आक्रमण दोहोरियो भने हाम्रो अर्को आक्रमण र प्रतिकारात्मक कारबाही पहिलेभन्दा अझ खतरनाक र व्यापक स्तरमा हुनेछ ।’ यो वक्तव्य इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङ (आईआरआईबी) मार्फत सार्वजनिक गरिएको हो । इरानले यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि दिएको हो ।  ट्रम्पले भनेका थिए कि यदि इरानले मंगलबारसम्म होर्मुज जलडमरू पुनः नखोलेमा अमेरिकाले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्नेछ । ट्रम्पको उक्त धम्कीबारे इरानले अन्तर्राष्ट्रिय समुदाय र सबै देशहरूलाई अपिल गर्दै भनेको छ कि यस्तो भयावह युद्ध अपराधलाई रोक्नु उनीहरूको कानुनी जिम्मेवारी हो ।

पश्चिमदेखि पूर्वसम्म फोटोनको ‘ईभी टोटल केयर क्याम्प’ सुरु हुने

काठमाडौंं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर-सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा 'फोटोन ईभी टोटल केयर क्याम्प' सञ्चालन गर्न लागेको छ । यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो ।  यस अभियान अन्तर्गत फोटोनले सबै विद्यमान ईभी ग्राहकहरूलाई विशेष लाभ तथा निःशुल्क सेवाहरू प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको छ । फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानहरूमा सञ्चालन हुनेछ । पहिलो चरण २०८२, चैत २२ देखि २०८३, वैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुनेछ । दोस्रो चरण २०८३, वैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना गरिनेछ । यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकहरूले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्नेछन् । क्याम्पमा सहभागी ग्राहकहरूले विभिन्न विशेष सुविधाहरू पाउनेछन् । यस अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर-टु-बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजीङ सेवा उपलब्ध हुनेछ । यी सेवाहरूले सवारीसाधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्याउनेछन् । फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको विस्तार मार्फत आफ्टर-सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ । एमएडब्लू वृद्धीको सहकार्यमा विकसित यस नेटवर्कले ग्राहकलाई सधैंभरी विश्वसनीय र गुणस्तरीय सेवा नजिकबाट उपलब्ध गराउने सुनिश्चितता दिन्छ । साथै, नेपालभर १६६ भन्दा बढी सीसीएसटू टाइप डीसी फास्ट चार्जिङ पोइन्टहरू विस्तार गर्दै फोटोनले ईभीको प्रयोगमा ग्राहकको विश्वास बढाउँदै लगिरहेको छ । फोटोनको विश्वव्यापी 'टोटल केयर' अवधारणा अनुसार प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रिया मार्फत उच्चस्तरीय सेवा प्रदान गरिनेछ । नेपालमा एमएडब्लू वृद्धीले यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै प्रत्येक फोटोन ग्राहकका लागि विद्युतीय सवारीलाई अझ सहज र निश्चिन्त बनाइरहेको छ । ग्राहकहरूले सेवा बुकिङका लागि ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गर्न वा नजिकको फोटोन शोरूम वा सर्भिस सेन्टरमा जान सक्नेछन् ।  

ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ

काठमाडौं । पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार (आज) सिंहदरबारमा भेटघाट सम्पन्न भएको छ । बैठकमा अर्थमन्त्री डा. वाग्लले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा लागिरहेको बताए । त्यसका लागि सुशासन प्रवर्द्धन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले जनमत पनि यही दिशामा रहेको बताए । उनले केही अनुसन्धान पुराना भए पनि अहिले अन्तिम चरणमा पुगेको स्पष्ट पार्दै अपराध गर्ने कसैलाई उन्मुक्ति नदिइने तर छानीछानी प्रतिशोध पनि नलिइने बताए । साथै, सरकार निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै आफ्नो पहिलो निर्णयबाटै त्यो स्पष्ट भएको दाबी गरे । ‘हामी अर्थतन्त्रलाई रूपान्तरण गर्ने दिशामा अघि बढेका छौँ,’ उनले भने, ‘आगामी बजेट २०४८ साल यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ ।’ उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रह गरे । अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरे ।  महासचिव भक्तिराम घिमिरेले बजारमा केही समूहले जानाजानी गलत हल्ला फैलाइरहेको बताए । बजारमा सेयर बेचेर बाहिरिएका तथा पुनः सेयर उठाउन खोजिरहेका व्यक्तिहरूले भ्रम फैलाएको उनको भनाइ छ । ‘यस्ता गतिविधिले साना लगानीकर्तामा त्रास सिर्जना गरेको छ । साथै, संस्थागत लगानीकर्ताका लागि बजारमा सहज वातावरण बनाउनुपर्नेछ,’ उनले भने ।  उनले निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि त्यसलाई गोप्य रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्दै हाल त्यसो हुन नसकेको गुनासो गरे ।  धितोपत्र दलाल व्यवसायीहरूले अर्थमन्त्रीसँग पुँजी बजारका समस्या समाधानका लागि विभिन्न माग समेत राखेका छन् । ७६ लाख लगानीकर्ता र ९२ ब्रोकरहरू सक्रिय  रहेकाे पुँजी बजारमा नयाँ सरकार र अर्थमन्त्रीको नेतृत्वपछि बजारमा नयाँ आशा र अपेक्षा रहेको घिमिरेको भनाइ छ। धितोपत्र दलाल व्यवसायीहरूले हालसम्म अनेकौं समस्या भोग्दै आएको भए पनि दोस्रो बजारमा आफ्नो कर्तव्य र दायित्व पूरा गर्दै आएकाे घिमिरेले बताए । ब्राेकरहरूले औंल्याएका मुख्य चुनौतीहरू समाधान भएमा पुँजीबजारको समग्र सुधार हुने र लगानीकर्ताहरूको मनोबल पनि बढ्ने उनकाे भनाइ छ । पुँजी बजार सुधार कार्यदलले दिएका कार्यान्वयन हुन बाँकी सुझावहरू अविलम्ब कार्यान्वयन गर्न ब्रोकर व्यवसायीहरूले माग गरेका छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रूपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था लागू गर्नुपर्ने, गैर-आवासीय नेपाली नागरिकलाई पनि दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्ने व्यवस्था लागू गर्नुपर्ने माग उनीहरूको रहेको छ। आगामी बजेटमार्फत पूँजीगत लाभकर अन्तिम कर हो भनि स्पष्ट पार्नुपर्ने, बजारमा हाल साना लगानीकर्ताहरूको मनोबल बढाउन सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषको रकमलाई दोस्रो बजारमा सहज रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्ने माग पनि उनीहरूले गरेका छन् । यस्तै, बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको कारण बिक्री गरी हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्तामा असर पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केट यथाशीघ्र सुरु गर्नुपर्ने, साथै सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको भए पनि लामो समयदेखि कार्यान्वयनमा नआएको कारण नियामक निकायलाई आवश्यक निर्देशन दिन माग गरिएको महासचिव घिमिरेले बताए ।

दिपल एस०५ : सेलिब्रिटीदेखि प्रभावशाली व्यापारीसम्मको रोजाइ

काठमाडौं । नेपाली अटोमोबाइल बजारले धेरै गाडीहरुको आगमन देखेको छ तर दिपल एस०५ को जस्तो आगमन विरलै हुन्छ । दिपल एस०५ ले गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा धमाकेदार इन्ट्री गरेको थियो । त्यो एउटा कार लन्च मात्र थिएन, एउटा त्यस्तो पल थियो जुन नेपाली अटोमोबाइल क्षेत्रले कहिल्यै बिर्सन सक्दैन । नेपाली अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही सम्मिश्रण भएको कारण खोजिरहेको थियो र एस०५ ले यी सबै पक्षमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । र यो छोटो समयमै नेपाली बजारको प्रतिक्रियाले उद्योगलाई नै चकित पारेको छ ।  सार्वजनिक भएको दिनदेखि आजका दिनसम्म नेपाल भित्रिएको एस०५ का हरेक युनिटले गर्वित घर पाइसकेको छ र यसको माग कम दिने कुनै संकेत देखिएको छैन । एस०७ को सफलतापछि दिपल एस०५ ले नेपालका विवेकशिल ग्राहकलाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको छ ।  दिपल एस०५ नेपालका चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यक्तिहरुको रोजाइमा परेको छ जसले यो इभीलाई सम्झौता गर्न तयार नभएकाहरुको लागि बनेको हो भन्ने प्रमाणित गरेको छ ।  सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५ विजेता एस०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन, विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फस्ट फ्रमेलेस डोर तथा फ्लस ह्यान्डल रहेको छ । साथै यसमा नेपालमा उपलब्ध एसयुभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सिडी ड्रयाग कोफिसेन्ट रहेको छ जसले सुन्दरता मात्र होइन प्रदर्शनलाई पनि बेजोड बनाएको छ । साथै, यसमा इन्डस्ट्रिी फस्ट क्विन कोपाइलट सिट, एम्बायन्ट सराउन्ड लाइटिंग र १२६० वाटको १४ स्पिकर स्काइ सराउन्ड साउन्ड सिस्टमले हरेक यात्रामा लक्जरीको अनुभव गराउँछ । ग्राहकहरु यसमा प्रयोग भएको प्रविधिबाट पनि खुशी छन् । यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किंग फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र इन्डस्ट्रिमै सबैभन्दा ठूलो १६० लिटरको फ्रंक प्रयोग भएको छ । साथै, नेपालकै सबैभन्दा एड्भान्स्ड् सिएटिएलको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको छ जसको चर्जिंग साइकल ५००० रहेको छ । यो ब्याट्री मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ । दिपल एस०५ को लोभलाग्दो सफलता र लामो वेटिंग लिस्टले यसलाई नेपाली अटोमोटिभ जगतको ‘नयाँ सनसनी’ बनाएको छ ।