विकासन्युज

प्रधानमन्त्री कप २०२६ को 'पावर्ड बाई' प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक 'पावर्ड बाई' प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ । युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो । एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघद्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो । यस प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट(म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ । नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आएको छ । काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको छ । पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको 'कान्दो' फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्दछ । मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ। साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ । यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, 'पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ । यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।'  एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, 'पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा हामी गर्व गर्दछौं । यो प्रतियोगिता खेल मार्फत विकास र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्ने सहि प्लेटफर्म हो ।' त्यसैगरी, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, 'यामाहा सधैं सपनाको शक्तीमा विश्वास गर्दछ । पीएम कप पनि एक यस्तो मञ्च हो जहाँ भविष्यका स्टारहरू जन्मिन्छन् । त्यसैले नेपाली जनतामा खुशी र गौरव जगाउने यस्तो प्रतियोगिताको हिस्सा बन्न पाउँदा हामी उत्साहित छौं ।' यामाहा देशभरका सबै क्रिकेटप्रेमीहरूलाई यस रोमान्चक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दछ, जुन यस अघिका संस्करणहरू भन्दा अझ भव्य, प्रतिष्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।   

सम्पत्ति शुद्धीकरण निवारणबारे बीमा क्षेत्रका लागि दुईदिने अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चैत २० र २१ गते बर्दिवासमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक एवं नियमन महाशाखा प्रमुख शम्भु राज लामिछानेले वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन AML/CFT को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले बीमा क्षेत्रले ग्राहक पहिचान (KYC), जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबारको समयमै पहिचान र प्रतिवेदनमार्फत वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गरे । त्यसैगरी, प्राधिकरणका उपनिर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सापकोटाले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न बीमा क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै मधेश प्रदेश कार्यालय प्रमुख आर्या रावलले यस्तो कार्यक्रमले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानुनी अनुपालनमा एकरूपता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा विद्यमान कानुन तथा नियम, जोखिम पहिचान, ग्राहकको उचित पहिचान (KYC), शंकास्पद कारोबार प्रतिवेदन (STR) पेश गर्ने प्रक्रिया लगायत विषयमा विस्तृत छलफल गरिएको थियो। साथै AML/CFT सम्बन्धी कानुनी दायित्व, संस्थागत उत्तरदायित्व तथा आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक सुस्मा थापा र महेश मण्डलले गरेका थिए । कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

ओली र लेखक पक्राउ प्रकरण : सर्वोच्चमा आज निर्णायक सुनुवाइ

काठमाडाै। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार (आज) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।  हिजो आइतवार निवेदकतर्फका कानुन व्यवसायीहरूले लामो बहस गर्दै पक्राउको कानूनी तथा संवैधानिक आधार नै नरहेको दाबी गरेका थिए । उनीहरूले दुवै नेताको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको कदमको संज्ञा दिएका छन् । इजलासले कार्यालय समय सकिएपछि निवेदक पक्षको बहस टुंग्याएको थियो । आज भने प्रतिवादीका तर्फबाट सरकारी वकिलहरूले आफ्नो पक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि निवेदक पक्षले जवाफी बहस गर्ने कार्यतालिका छ । कानुनका जानकारहरूले आजको बहसपछि आदेश आउने सम्भावना उच्च रहेको बताएका छन् । ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ ।  गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो ।  मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।  दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । 

तीन जना मिलेर पोखरामा जग्गा भाडामा लिएका थियौं, ठगीमा पर्यौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पोखरामा रहेको विवादित जग्गाको विषयमा स्पष्ट पारेका छन् । उनले पोखराको पर्यटन विकासमा टेवा पुर्याउन भन्दै ८/१० वर्ष अघि तीन जना साथीहरु मिलेर जग्गा भाडामा लिएर काम सुरु गरेको बताएका छन् । उनले भनेका छन्, ‘हामी तीन जना युवा साथीहरूले मिलेर पोखराको पर्यटन विकासका लागि,विशेष गरी गाउँको विकास गर्ने उद्देश्यले एकदमै विकट र विकास नपुगेको ठाउँ रोज्यौं । सो क्षेत्रलाई छनोट गर्नुको मुख्य कारण नै त्यहाँ पूर्वाधार र विकासको कमी हुनु थियो, र हामीले आफ्नो पहलले त्यहाँको समग्र विकासमा योगदान पु¥याउन सकिन्छ भन्ने विश्वास गरेका थियौं ।’  उक्त जग्गा आफ्नो नाममा नभई भाडामा लिएर काम अगाडि बढाएको उनले उल्लेख गरेका छन् । त्यसबेला उक्त जग्गा ६५ मिटर क्षेत्रमा नपर्ने भनी जानकारी दिइए पनि लालपुर्जा समेत देखाइए अनुसार लगानी गर्दै काम सुरु गरेको उनको भनाइ छ ।  तर पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर क्षेत्रमा पर्ने तथ्य थाहा पाएपछि लगानी जोखिममा परेको र यसले गर्दा निर्माण कार्य समेत रोक्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘हाम्रो लगानी र सपना दुवै डुब्यो र हामी ठगीमा परेको बल्ल हामीले महसुस गर्यौं । ठगीमा परे तापनि अरुलाई दुःख नदिने उद्देश्यले हामी चुप्प लागेरै बस्यौं । अवैध मानिएको जग्गामा यति ठूलो लगानी गरेर फेरि भाडा तिर्नु पर्ने अवस्था उपयुक्त देख्दैनौं,’ उनले भनेका छन् ।  त्यस समयमा युवावस्थाको आशा र विश्वासमाथि ठगी भएको महसुस गर्दै अब यस विषयमा कानुनी उपचारको बाटो रोज्ने निर्णयमा पुगेको उनको भनाइ छ । 

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका हुन् ।  ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना सदस्यले बिहीबार हनुमान जयन्तीको अवसर पारेर महासंघ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएका थिए । महासंघको एशोसिएट्सतर्फको कुल १९ सदस्यका लागि बाँकी ३ जना सदस्यले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले उम्मेदवारी दर्ता गराएका हुन् ।  यसैगरी उम्मेदवारीसँगै उपाध्यक्षका प्रत्यासी ज्योत्सना श्रेष्ठले आफ्नो समुह एकदमै शसक्त रहेको र सम्पूर्ण टीमकै जीत सुनिश्चित रहेको बताइन् । ‘हामीले सबै क्षेत्रका उद्योगी व्यवसायीलाई समावेश गरी टीम निर्माण गरेका छौं,’ उनले भनिन् ।   

हुलाक सेवामा ‘ब्रेकथ्रू’ : अब एक्सप्रेस वेबाट कुरिअर, बिदाको दिन पनि भन्सार खुल्ने

काठमाडौं । हुलाकमार्फत हुने कुरिअर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने व्यवस्था लागू भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरूसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयात–निर्यातका लागि थप सहज बनाएको हो । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरण बीचको समन्वयमा यो प्रणाली लागू गरिएको हो ।  यस व्यवस्थाबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।  हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो कार्यान्वयन भएको हो ।  अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरिअरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ ।  सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध हुने भएको छ ।  यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन ।  अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो ।  गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार दुई सय भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्ट लगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै, निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार सात सय हाराहारी छ । पछिल्लो समय हुलाकमार्फत हुने कुरिअर सेवाको माग बढ्दै गएको छ र द्रुतमार्ग तथा बिदाको दिन सेवा सञ्चालनले सेवा गुणस्तर, व्यवसाय विस्तार र राजस्व वृद्धि सबैमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

महिला र बालिकामाथि साइबर बुलिङ, पाँच वर्षमा ३० हजार बढी पीडित

काठमाडौं । डिजिटल हिंसामा परेको भन्दै अमिशा पराजुली प्रहरीको साइबर ब्यूरो पुगेर उजुरी दिइन् । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा जाँदा आफूमाथि डिजिटल हिंसा भएको भन्दै उनी बुधबार (चैत १८ गते) ब्यूरो पुगेकी हुन् । पछिल्लो समय सामाजिक सञ्जालबाट महिला वा नाबालिकाले साइबर बुलिङमा परेको भन्दै वा चरित्रहत्या गरेको भन्दै उजुरी दिनेको संख्या बढ्न थालेको छ । दैनिकजसो विभिन्न माध्यमबाट नाबालिका तथा महिलाहरू सामाजिक सञ्जालबाट प्रताडित बन्दै गएका छन् । पाँच वर्षमा सामाजिक सञ्जालको विभिन्न माध्यमबाट मात्र ३० हजार ७८४ जना नाबालिका तथा महिला पीडित भएका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्क अनुसार २०७८÷०७९ मा  १४२ बालिका र २ हजार ३८९ महिला रहेका छन् । आब २०७९÷०८० मा १३० बालिका र ४ हजार ५९० महिला छन् । आव २०८०÷ ०८१ मा ३८२ बालिका र ८ हजार ७४५ महिला छन् । आव २०८१÷ ०८२ मा ४२१ बालिका र ७ हजार ९२१ महिला छन् । त्यसैगरी,  आर्थिक वर्ष २०८२÷०८३ बालिका २५० र ५ हजार ८१४ महिला छन् ।   ब्यूरोका अनुसार महिला तथा बालिका फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, इमो, ह्वाटसएप, भाइबर, वीच्याट, फेसबुक, टेलिग्राम,  टिकटक र इमेलबाट साइबर बुलिङ भएर वा चरित्रहत्या भएर पीडित हुने गरेका छन् । चिनेजानेका आफन्त तथा आफ्ना केटासाथीबाट बालिकाहरू पीडित हुने गरेको ब्यूरोका सूचना अधिकारी दिलिप गिरीले बताए । ‘बालिकाको केटा साथीले सम्बन्ध बिग्रेपछि केटी साथीलाई केटाले सामाजिक सञ्जालबाट बेइज्जत गर्छन,’ उनले भने,’ सम्बन्ध राम्रो भएसम्म राम्रो गर्ने र नराम्रो भएपछि केटाले नै आफ्नो पुरानो केटी साथीको बेइज्जत गर्ने गरेका छन् ।’ केटा साथीले केटीलाई सम्बन्ध हुँदा खिचेको फोटो तथा भिडियोहरू विभिन्न माध्यमबाट सार्वजनिक गर्ने गरेको र धम्की दिने गरेको गिरीले बताए । महिलाहरू फेसबुक, टिकटक र ह्वाटसएपमा पीडित हुने गरेको उनको भनाइ छ । चिनेजानेको र लेनदेनको विषयमा महिलाहरू सामाजिक सञ्जालबाट पीडित हुने गरेको गिरीले बताए ।  ब्यूरोका अनुसार फेसबुक र टिकटकबाट साथी बनेपछि महिलाहरू पीडित हुने गरेका छन् । साथी हुँदा नजिक भई खुला रुपमा कुरा गर्छन् र सामान्य रुपमा भिडियो तथा फोटो सेयर गर्छन् । भिडियो र फोटोलाई सामान्य ठानेर कुराकानी गर्दा महिलाहरू चिनेजानेका केटा साथीबाट पीडित हुने गरेको उनले सुनाए । ‘केटा साथीहरूले पैसा माग गर्ने तथा अनैतिक सम्बन्ध राख्न पुनः दबाब दिने गरेका छन्,’ गिरीले उजुरीका प्रकृति सुनाउँदै भने ।  विदेशमा भएका पीडकलाई कारबाहीको दायरामा ल्याउन नसकेको गिरीको भनाइ छ । फेसबुक र टिकटकको आइडीलाई सम्बन्धित निकायमा उजुरी गरेर आइडी बन्दसमेत गराएको गिरीले उल्लेख गरे । ‘विदेशमा हुने मानिसले थप नयाँ आइडी बनाएर महिलालाई सामाजिक सञ्जालमा आएर बेइज्जत गरेका छन्,’ गिरी भन्छन् । नेपालमै रहेर सामाजिक सञ्जालबाट महिला तथा बालिकालाई पीडित बनाउने पीडकलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए । पछिल्लो समय नेपालम साइबर बुलिङको घट्ना बढ्दै गएको छ । यस्तो साइबर बुलिङका घटनामा पर्नेहरू धेरैजसो महिलाहरू रहेका छन् । न्यून संख्यामा बालिका छन् । सामाजिक सञ्जालमा फरक विचार राख्दा अपरिचित व्यक्तिबाट सामाजिक सञ्जालबाट पीडित हुने गरेका छन् । महिला तथा बालिकाहरू फरक–फरक विचार व्यक्त गरेकै कारण महिलाहरू सामाजिक सञ्जालबाट पीडित हुन्छन् । सार्वजनिक स्थानमा विचार राखेकै कारण एकल महिलाहरू बढी पीडित हुने गरेका छन् । महिलाहरूले फरक सार्वजनिक स्थानमा धारणा राख्दा बढी पीडित हुने गरेको ब्यूरोका सूचना अधिकारी गिरीले बताए । ‘टिकटक र सार्वजनिक स्थानमा महिलाले बोलेका कुरालाई लिएर सामाजिक सञ्जालमा कमेन्ट गरेर महिलालाई हतोत्साहित तथा बुलिङ गरेर निराशा बनाउने गरेका छन्,’ उनले भने । के हुन्छ कारबाही हुन्छ ? विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद–९ मा उल्लेख गरिएका अपराधहरू साइवर अपराध अन्तर्गत पर्छन् । ऐनको दफा ४६ अनुसार कुनै संस्थालाई गलत तरिकाले हानी नोक्सानी पुर्याउनका लागि कम्प्युटरमा रहेको कुनै सूचनालाई नष्ट गरेमा, क्षति पु¥याए वा मेटाएमा र हानिकारक प्रभाव पारेमा कसुर गर्ने व्यक्तिलाई दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै हुन सक्छ ।  ऐनको दफा ४७ मा उल्लेख भएअनुसार सार्वजनिक रुपमा नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा कम्प्युटर वा इन्टरनेटको  प्रयोगबाट विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा अर्मयादित कार्य गरेमा र गर्न लगाएमा साइबर अपराध गरेको मानिने छ । यस्ता अपराध गर्ने व्यक्तिलाई १ लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद गरिने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

‘दिमाग घोच्ने मान्छे’ वृत्तचित्र अब डी गो प्लेटफर्ममा

नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' अब आधिकारिक रूपमा डी गो (DGO) OTT प्लेटफर्ममा हेर्न सकिने भएको छ । यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ । यस पहलले उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ । एक पुस्तालाई झक्झक्याउने कथा 'दिमाग घोच्ने मान्छे' ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो । प्रसारण तथा शुल्क विवरण नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गो (DG) को एप मार्फत यो वृत्तचित्र हेर्न सक्नेछन् । विभिन्न क्षेत्रका लागि शुल्क निम्नानुसार तय गरिएको छ : नेपाल : रु. १९९ अमेरिका र अष्ट्रेलिया : $४.९९ बाँकी विश्व : $२.९९ उज्वल थापा फाउन्डेसनका बारेमा यो फाउन्डेसन उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।