नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुलाएको छ ।  नाइमाले यही वैशाख २२ देखि औपचारिक रूपमा स्टल बुकिङ खुला गराएको हो । इच्छुक व्यक्ति र कम्पनीहरूले आफूले चाहेको स्टल लिनका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जनाएको छ  । नाइमाका अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलप्रथाबाट गरिने छ । मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ । उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ । मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रा. लि. द्वारा गरिनेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा, नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन् । 'नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,' नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।  'हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई  एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं,' उनले थपिन् ।

ईभी संसारमा फरारीको उदय, २०२६ बाट ग्राहकको हातमा

काठमाडौं । विश्वप्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता फरारीले आफ्नो पहिलो पूर्ण रूपमा विद्युतीय मोडेलको डेलिभरी सन् २०२६ को अक्टोबरबाट सुरु गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेनेडेट्टो विग्नाले मंगलबार यस्तो जानकारी दिएका हुन् । कम्पनीले यो घोषणा पहिलो त्रैमासिकमा १५ प्रतिशत मुनाफा वृद्धिसँगै गरेको हो । फेब्रुअरीमा विग्नाले घोषणा गरेका थिए कि पेट्रोल इञ्जिनका लागि प्रसिद्ध फरारीको पहिलो इलेक्ट्रिक कार “क्यापिटल मार्केट डे“ का अवसरमा अक्टोबर ९ मा सार्वजनिक गरिनेछ ।  यद्यपि मंगलबार उनले भनेअनुसार अक्टोबरमा केवल उक्त कारको टेक्नोलोजिकल कोर मात्र देखाइनेछ । तीन चरणमा कारको सार्वजनिक गरिने बताइएको छ ।  'त्यसपछि केही महिनामै कारको डेलिभरी सुरु हुनेछ- अक्टोबर २०२६ बाट,' विग्नाले आम्दानी विवरण सार्वजनिक गरेपछि विश्लेषकहरूसँगको कुराकानीमा बताए ।  यो पहिलो पटक हो- जब फरारीले नयाँ कार ग्राहकहरूसम्म कहिले पुग्ने भन्ने समयावधि स्पष्ट गरेको हो । एक विश्लेषकले नाम नखुलाउने शर्तमा भने, 'यो भनेको फरारीको योजनामा केही ढिलाइ भएको संकेत हो, किनकि धेरैले कार यसै अक्टोबरमा पूर्ण रूपमा देखिने अपेक्षा गरेका थिए ।' तथापि फरारीले कार अनावरण गरेपछि लगभग तीन क्वार्टरपछि मात्र डेलिभरी गर्ने चलन छ । फरारीले भविष्यमा पनि पेट्रोल र हाइब्रिड कारहरू सँगै ईभी बेच्ने योजना बनाएको छ । कम्पनीले २०१९ देखि बेच्न सुरु गरेका हाइब्रिड मोडेलहरूले २०२४ मा कुल बिक्रीको ५१ प्रतिशत हिस्सा ओगटेका थिए ।  वार्षिक आर्थिक लक्ष्य कायमै फरारीले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले कम्पनीको सन् २०२५ को मुनाफा मार्जिनबाट ५० बेसिस पोइन्ट कटौती गर्न सक्ने चेतावनी दिएको छ । तर मर्सिडिज, फोर्ड र स्टेलान्टिसजस्ता अन्य कार निर्माता कम्पनीहरूले हालै आर्थिक पूर्वानुमान फिर्ता लिँदा पनि फरारीले आफ्नो वार्षिक आर्थिक लक्ष्य कायम राखेको छ । कम्पनीले सन् २०२५ सम्म कम्तीमा २.६८ अर्ब युरो (३.०४ अर्ब डलर) को ईबीआईटीडीए र कम्तीमा ३८.३ प्रतिशत मार्जिन कायम रहने विश्वास व्यक्त गरेको छ । 'फरारी आत्मविश्वासी देखिन्छ,' बर्नस्टीनका विश्लेषकहरूले भने । मिलानको स्टक एक्सचेञ्जमा फरारीको सेयर मूल्य १.६ प्रतिशतले बढेर बन्द भएको थियो । कम्पनीको पहिलो त्रैमासिकमा मूल आम्दानी ६९३ मिलियन युरो पुगेको छ, जुन रोयटर्सको सर्भेअनुसार अपेक्षित ६८९ मिलियन युरोसँग मिल्दोजुल्दो छ । फरारीले गत साता नयाँ २९६ स्पेसियल प्लग-इन हाइब्रिड मोडेल र त्यसको कन्भर्टिबल संस्करण सार्वजनिक गरेको थियो । कम्पनीले यस वर्षभित्र कुल ६ नयाँ मोडेल, जसमा पहिलो ईभी पनि समावेश छ सार्वजनिक गर्ने वाचा गरेको छ । बीवाईडीलगायत अन्यसँग प्रतिस्पर्धा  फरारीलाई बीवाईडीसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नु पर्दैन किनकि दुवैका ग्राहक फरक छन् । तर ईभी प्रविधिमा प्रभुत्व राख्नका लागि ईभी बजारमा बीवाईडीजस्ता कम्पनीहरूको गति र नवप्रवर्तनको सामना गर्नुपर्ने देखिन्छ । यदि भविष्यमा फरारीले मिड-रेञ्ज ईभी उत्पादन गर्‍यो भने त्यसले बीवाईडीसँग केही हदसम्म प्रतिस्पर्धा गर्नसक्ने देखिन्छ ।  

१ प्रतिशत ब्याजदरमै बाइक र स्कुटर

काठमाडौं । गत चैतसम्मको तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.०२ प्रतिशत छ । यदि बैंकले ०.२५ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा प्रवाह गर्याे भने ऋणको लागत ५.२७ प्रतिशत हुन आउँछ । अझै बैंकले लचकता अपनाएर आधार दरमै ऋण प्रवाह गर्याे भने पनि सो कर्जाको लागत ५.०२ प्रतिशत हुन आउँछ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम रहेकाले यहाँ उदाहरण मात्रै दिन खोजिएको हो ।  तर, होण्डा नेपालले १ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । कम आधार दर रहेको राष्ट्रिय वाणिज्य बैंकको कर्जाको लागत ५ प्रतिशतभन्दा माथि रहेका बेला होण्डाले कसरी १ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउँछ भनेर चासोका साथ हेरिएको छ । होण्डा कम्पनीका अनुसार नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूलाई १ प्रतिशत ब्याजदरमा मोटरसाइकल (बाइक) र स्कुटर उपलब्ध गर्ने गरी फाइनान्सको अफर ल्याएको हो । जेठ १७ गतेसम्मका लागि १ प्रतिशत ब्याजदरमा होण्डाका जुनसुकै मोडलका बाइक र स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । तर, फाइनान्सको सुविधा भने ४० प्रतिशत मात्रै रहेको कम्पनीको भनाइ छ ।  ‘जेठ १७ गतेसम्मका लागि १ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा ल्याएको हो । डाउनपेमेन्ट ६० प्रतिशत गर्नुपर्ने हुन्छ । बाँकी रहेको ४० प्रतिशत कर्जाका लागि ब्याजदर १ प्रतिशत हुन्छ,’ कम्पनीको कस्टमर केयर सेन्टरले भन्यो, ‘यो चाहिँ नयाँ वर्षको विशेष अफर हो ।’  उक्त सुविधाका लागि कम्पनीले सकार हायर पर्चेज कम्पनीसँग सम्झौता गरेको छ । जुन होण्डाको आफ्नै फाइनान्स कम्पनी हो । ४० प्रतिशत फाइनान्सको सुविधा १२ महिनाभित्र तिरिसक्नु पर्ने कम्पनीले जनाएको छ । ‘होण्डा कम्पनीका १८० सीसीसम्मका जुनसुकै बाइक र स्कुर खरिद गर्दा यो सुविधा उपलब्ध हुनेछ । सबै मोडलमा पाइनेछ । योभन्दा माथिका लागि नर्मल फाइनान्सअन्तर्गत उपलब्ध हुनेछ,’ कम्पनीको विभागले भन्यो, ‘उपत्यकाबाहिरका सबै सोरुममा यो सुविधा उपलब्ध छैन । सीमित सोरुममा मात्रै यो अफर उपलब्ध छ ।’