संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक
काठमाडौं । अटो व्यवसायीका लागि दशैं पर्व मानिने नाडा अटो शोमा यसपटक भने संकटमा परेको छ । नाडा अटो शो-२०२५ मा तीन ठूला कम्पनीले मात्र स्टल बुकिङ गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) संस्था खडा भएपछि नाडा अटो शो संकटमा पुगेको हो । नाडाभित्र चरम राजनीति भएको, निषेधको परिपाटी र आयातकर्ताको विषय सुनुवाइ नै नभएको भन्दै रातारात नयाँ संस्था ‘नाइमा’ खोलिएको हो । नाडा र नाइमा दुवै संस्थाले यसअघि नै फरकफरक मितिमा अटो शो गर्ने घोषणा गरिसकेका छन् । नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो तथा नाइमाले साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी शो गर्ने घोषणा गरिसकेका छन् । यसैगरी, नाडाले स्टल बुकिङका लागि गत फागुन २७ गतेदेखि चैत ४ गतेसम्म दर्ता खुला गरेको थियो । जसमा चारपाङ्ग्रे गाडीहरुमा तीनवटा ठूला कम्पनीले मात्रै स्टल बुकिङ गराएका छन् भने दुई पाङ्ग्रेतर्फ दुईवटा कम्पनीले बुकिङ गराएका छन् । नाडाका एक सदस्यले भर्खरै पोखरामा वाडा शो सम्पन्न गरेको बताउँदै वाडा शोले राम्रै संकेत गरेको दाबी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा शो खोल्यौँ । राम्रै भएको छ । धेरैले बुकिङ पनि गराएका छन् ।’ नाडा अटो शोका लागि तयारीमा जुटिरहेको उनको भनाइ छ । उनले भने, ‘तीन ठुला कम्पनीबाहेक अरू कसैले नाडा अटो शोका लागि हालसम्म बुकिङ गराएका छैनन् । गाह्रो छ, हेरौं के के हुन्छ । अहिले यो विषयमा दुवै संस्थाबीच छलफल चलिरहेको छ । बाँकी छलफलमा के-के निर्णय हुन्छ ।’ वाडा अटो शोमा नेपालका धेरै ब्राण्डहरू गएकाले नाडा अटो शोमा पनि ती ब्राण्ड देखिनेमा उनी विश्वस्त छन् । यसपटक नाडा अटो शो नहुने संकेत नाडाको कुरा नाइमासँग मिलेन भने यसपालिको नाडा अटो नहुन सक्ने व्यवसायीहरू बताउँछन् । नाइमाका एक सदस्यका अनुसार यो नाडा सकिन लागेको संकेत हो । उनले हरेक वर्ष साउनमा खुलाउनुपर्ने बुकिङ फागुनमै खुलाएको आरोप लगाए । उनले, ‘स्टल बुकिङ खुलाउन धेरै हतार गर्यो । अब नाडाको ब्याण्ड बज्छ । उनीहरूसँग बजेट नै कम छ । स्टल बुकिङ खोलियो तर त्यसमा तीनवटा कम्पनी मात्रै सहभागी छन् । त्यसमा पनि धेरै ब्राण्ड छैनन् ।’ नाइमाले स्टल बुकिङ वैशाखतिर खुलाउने तयारी भइरहेको जानकारी दिएको छ । आफूहरूले कुनै हतार नगरेको र व्यवस्थित तरिकाले अघि बढिरहेको ती सदस्यको दाबी छ । नाइमाको मोबिलिटी शोमा ओमोडा एण्ड जेको, टोयोटा, किया, निसान, एमजी, सिट्रोन, हुन्डाई, फोर्ड, प्युजो, पा्रोटोन, जीडब्लुएम, बजाज,ट्राइफ, एथर, सुजुकी बाइक, हिरो, होण्डा, महेन्द्रालगायतका विभिन्न ब्राण्ड रहने जनाइएको छ । ती सदस्यले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिने जानकारी दिए । साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी शो प्रदर्शनीकर्ता र अवलोकनकर्ता धेरै हुने नाइमाको भनाइ छ । गाडीको मूल्य सस्तो हुने भ्रम नाडा र नाइमाको प्रतिस्पर्धामा गाडीको मूल्य सस्तो हुने बजारमा हल्ला चलिरहेको छ । तर यो हल्लामात्र रहेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । ‘गाडीको मूल्य सस्तो हुने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन। दुवै संस्थाले अटो शो गर्दा गाडीको मूल्य घट्ने भन्ने हुँदैन,’ एक व्यवसायीले भने । उनले अन्तिम अवस्थामा नाइमा र नाडाबीच सहमति हुनसक्ने पनि संकेत गरे । सानो देशमा दुइटा अटो शोको आवश्यक नरहेको उनको बुझाइ छ । चौधरी र वैद्यबीच प्रतिष्ठाको लडाइँ हाल नाडाका अध्यक्ष रहेका करणकुमार चौधरी र नाइमाको तदर्थ समिति संयोजक रितुसिंह वैद्य नेतृत्वको दुवै संस्थाले आफ्नो प्रतिष्ठाको लडाइँ गरिरहेको बुझिन्छ । सवारीसाधन आयातकर्ताको हक र हितमा काम गर्न विसं २०३२ सालमा छाता संगठनको रूपमा नाडाको स्थापना भएको थियो । संस्थाले सवारीसाधनको बिक्री-वितरणलाई सहज बनाउने उद्देश्य अनुरूप २०५५ बाट नै नाडा अटो सो आयोजना गर्ने निर्णय गरेको थियो ।
बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शाेरुममा नै खेल्न पाउनेछन् । यो इन-स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको 'खुसीको मिटर' रोकेर १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरुमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।
राष्ट्र बैंकले ईभीलाई निरुत्साहित गरेको नाडाको धारणा, अर्थमन्त्रीले भने : राजनीति नगरौं
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आउँदै गरेको बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ । मंगलबार ललितपुरमा ‘नाडा अटो डायलग’ को आयोजना गर्दै नाडाले वर्तमान नीतिले व्यवसायमा चुनौती थपिएको भन्दै सरकारसँग सुधारको माग माग गरेको हो । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले सवारी साधन जनताको आवश्यकता भएको बताउँदै अटो क्षेत्रलाई सरकारले ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् विद्युतीय गाडीमा फाइनान्सिङको सीमा घटाएको प्रति पनि चिन्ता प्रकट गरे । उनले भने, ‘नाडा अटो क्षेत्रलाई सुधार गर्न सरकारले नीतिगत व्यवस्था गरिदिनुपर्छ, प्रत्येक नागरिकले सवारीसाधन खरिद गर्दा ८० प्रतिशत ऋणको व्यवस्था गरिनुपर्यो ।’ कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले अटो क्षेत्रका समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । ‘समस्या समाधानका लागि सबैको सहकार्य आवश्यक छ, सोही ढंगले नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न सकिन्छ, ऋणको सीमाको विषयमा व्यवसायी आत्तिनु हुँदैन, यसलाई राजनीतिकरण पनि गर्नु हुँदैन,’ उनले भने । सरकार निजी क्षेत्रको मनोबल बढाउने प्रयासमा लागेको र आवश्यक कानूनी र संरचनात्मक सुधार गर्दै अगाडि बढ्ने बताए । उनले अटो क्षेत्र केबल आयातमा मात्रै सीमित नभएको बताउँदै सवारी साधन उत्पादनतर्फ पनि अघि बढिरहेकोले यसमा थप जोड दिनुपर्ने बताए । अर्थसचिव घनश्याम उपाध्यायले आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी आवश्यक भएको बताए । उनले इनोभेटिभ मोबिलिटीले निजी क्षेत्रलाई छोटो समयमै नाफा दिने उल्लेख गरे । उनले भने, ‘मोबिलिटीले आर्थिक पाटोमा धेरै सहयोग गर्नेछ । यातायात बिना विकास सम्भव छैन । यसमा सरकारले मात्रै लागेर हुदैन्, सबै पक्षले सहकार्य गर्नुपर्यो ।’ यस्तै कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव तथा पूर्वअर्थसचिव रामप्रसाद घिमिरले अटो क्षेत्रले देशको अर्थतन्त्र र पुर्वाधारमा महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले पनि अटो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले अटो क्षेत्रको सुधारका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) का सिनियर अफिसर हेमन्त तिवारीले मोबिलिटी र पर्यावरण दुवैलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । उनले यो योजना काठमाडौं उपत्यका, पोखरा, चितवन, बुटवललगायका सहरहरुमा लागू गर्ने तयारी भइरहेको पनि जानकारी गराए । उनले भने, ‘यसअघि पनि हामीले २०१० मा सबैभन्दा पहिले फरक योजना सुरु गरेका थियौं । तर सफल हुन सकेन । हाल ललितपुर महानगरले ५ वटा स्थानमा काम सुरु गरेको छ । बाँकी कुनै पनि ठाउँमा लागु हुन सकेको छैन् । अब ठूलो बसहरूमा मात्रै यो लागु गरिनेछ ।’