तामाकोशीमा एक महिनाभित्रै बिजुली उत्पादन हुन्छ, वार्षिक ९ अर्ब कमाउँछौं: विज्ञान श्रेष्ठ
नेपालको इञ्जिनियरिङ क्षेत्रमा परिचित नाम हो विज्ञानप्रसाद श्रेष्ठ । स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) को नेतृत्व गरिरहेका श्रेष्ठको कार्यकौशलता र व्यवस्थापकिय क्षमताकै कारण उनलाई सो परियोजनाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुम्पियो । विगत डेढ दशकदेखि अपर तामाकोशीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न श्रेष्ठले ७ वर्ष अगाडि मात्रै सो कम्पनीको सीईओका रुपमा प्रवेश गरे । तर, २०७३ मै निर्माण सम्पन्न भइसक्ने भनिएको अपर तामाकोशीको निर्माण कहिले सकिन्छ यकिन गर्न सक्ने अवस्था भने देखिँदैन । सो परियोजनाको काम कहिले सम्पन्न हुन्छ ? निर्माण ढिलाईको कारण के हो ? र कम्पनीका सेयरधनीले कहिलेदेखि लाभांश पाउँछन् लगायतका विषयमा कुराकानी गरेका छौं । अपर तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण हुने भयो भनेर धेरै उत्साहित थिए, तर अहिले यसको निर्माण गति देखेर सबैमा निरशा छ । नेपालका ठूला आयोजनाहरु बन्न विदेशी लगानीकर्ता नै चाहिने रहेछ ? यसमा म अलि डिबेट गर्छु । परियोजनाको फाइनान्स बुझ्नेले मात्र यसको प्राविधिक कुराहरु बुझ्छ । दुई तीन दशक अगाडि यस्ता ठूला आयोजनाहरु सरकारले मात्रै गर्छ भन्ने मानसिकता हामी सबैमा थियो । सरकारले नगरे त्यसमा विदेशी साहयता चाहिन्छ भन्ने थियो । तर, २० मेगावाटको चिलिमे आएपछि त्यसले प्रोजेक्ट फाइनान्स कसरी गर्ने भन्ने गाइडलाइन दिएको छ । हामी उत्साहित थियौं । सन् २००० पछि उर्जा क्षेत्रमा लगानी कम गर्ने भन्ने विषय पनि उठ्यो । सरकारले ठूला परियोजनामा लगानी नगरेपछि कसले गर्ने भन्ने विषय पनि उठ्यो । तामाकोशी आउने भएपछि धेरै मानिस उत्साहित थिए । अहिले पनि उत्साहित नै छन् । तर यसको केही प्राविधिक र प्राकृतिक विपदहरुले नै यसको निर्माण कार्यमा असर पुगेको हो । अपर तामाकोशीले केहिलेदेखि बिजुली उत्पादन गर्छ ? यसको ठ्याक्कै डेडलाइन भन्न सकिने अवस्था छैन । हामी प्रक्रियामा नै छौं । कोरोना भाइरसको कारणले पनि धेरै काम प्रभवित भए । अर्को कन्ट्याक्टरको कारणले पनि काम रोकियो । केही हप्तापछि हामी यसको काम सिध्याउँछौं । चैत भित्रै हामी पानी भर्छौं । कन्ट्याक्टरबाट आउनु पर्ने सामानहरु पनि आइरहेका छैनन् । २०७७ सालभित्रै अपर तामाकोसीको बिजुली उपभोक्ताहरुले उपभोग गर्न पाउँछन् ? ०७७ साल भित्रै त म भन्न सक्दैन । जसरी मेलम्चीले आफ्नो प्रक्रिया अनुसार काम गरिरहेको छ । त्यसरी नै हामीले काम गर्नु पर्ने हुन्छ । मेलम्चीलाई फुल फेजमा काम गर्न २/३ महिना लाग्छ । त्यस्तै हामी पनि टेस्टिङ फेजमा छौं । हाइड्रोपावरको गाह्रो काम भनेको वाटर-वे हो । त्यो सफल भयो भने नर्मल रुपमा ६ महिनाभित्र काम सकिन्छ । तर, त्यसलाई हामीले ३ महिनामा झार्दैछौं । आशावादी कुरा गरौं । परीक्षणकाल पनि त्यति लामो हुन्छ ? हुन्छ नी । हाइड्रो पावरको सबैभन्दा क्रिटिकल पार्ट भनेको सिभिल स्ट्रक्चर हो । त्यो सफल भयो भने रिक्स कम हुन्छ । हामी चैतभित्र टेस्ट सुरु गर्छाैं । फुल फेजको बिजुली उत्पादन गर्न असारसम्म समय लाग्न सक्छ । अपर तामाकोशी बन्यो भनेर खुशीमा लड्डु खुवाउने कहिले हो ? जुन दिनमा टनेलमा पानी भरेर कुनै पनि समस्या देखिएन र बत्ती बल्यो भने हामी लड्डु खुवाउँछौं । त्यो समय भनेको चैत मसान्त वा बैशाखको पहिलो हप्ता हो । कुनै समस्या नआयो भने त्यो समयमा नागरिकले अपर तामोकोसीको उपहार अवश्य नै पाउँछन् । यति लामो समय लगाएर काम गर्नु भएको छ । तर पनि काम सफल हुन्छ कि हुँदैन भन्ने दुविधा र शंका किन ? परियोजना सफल छ भनेर थाहा छ भने त परीक्षण किन चाहियो ? यो एउटा प्रक्रिया हो । शतप्रतिशत सफल भनेर वा शतप्रतिशत कन्फिडेन्ट भन्ने त कहिँ पनि हुँदैनन नी । ब्लण्डर समस्या त नआउला तर सानोतिनो त हुन्छ नी । यो परियाजनाको सुरक्षित ल्याण्डिङ गर्दै गर्दा अर्थात यति लामो समय लगाएर परियोजना निर्माण गरिरहँदा तपाईंका अनुभुति र अनुभवहरु के कस्ता रहे ? यो त एउटा विश्वविद्यालय नै छ । हनुमानसँग शक्ति हुन्छ रे तर शक्ति कहाँ छ भन्न सक्दैन भने जस्तै हो यो । सुरुवातीमा काम गर्न धेरै गाह्रो थियो । तामाकोसी आएको १८ वर्षभन्दा पनि बढी भइसकेको जस्तो मलाई लाग्छ । मैले यो परियोजनामा पहिले आउट सोर्सिङ भएर पनि काम गरेँ । म आफैलाई १०/११ वर्ष भइसकेको छ । म यसको नेतृत्वदायी भूमिकामा रहेर आएको ७ वर्षभन्दा बढी भयो । ३/४ वर्ष सेकेण्ड म्यान भएर पनि काम गरेँ । यो बिचमा धेरै अनुभुति र अनुभवहरु रहे । जो म अहिले भन्न सक्ने अवस्थामै छैन । नेपालको अन्य परियोजनाभन्दा अपर तामाकोशीमा नेतृत्व स्थिर छ, यो स्थिरताको फाइदा के हो ? यसलाई तुलानात्मक रुपमा हेर्नु पर्ने हुन्छ । धेरैले लागत बढ्यो, समयावधि बढ्यो भन्छन् । तर, धेरै समस्याहरु स्थिर नेतृत्व भएकै कारण समाधान भएका छन् । यस्सो हेर्दा परियोजना ढिलाई त भइरहेको छ । परियोजना सफल पार्नको लागि नेतृत्वको आफ्नै ईफोर्ट हुन्छ । हामीले पहिलो चुनौती सामना गर्नु परेको समय हो भूकम्प । भूकम्पको समयमा धेरै चुनौतीहरु सामाना गर्नु पर्यो । एक वर्ष हामीले काम गर्न नै सकेनौं । भूकम्पको समयमा हामीले परियोजना स्थलमा बस्ने मानिसहरुको मनोबल उच्च राख्नु पर्ने अवस्था थियो । कन्ट्याक्टरलाई भाग्न नदिन पनि भूमिका खेल्नु पर्ने अवस्था थियो । ती दुवै काम गर्न म सफल भएँ । त्यो समस्या समाधान हुने बित्तिकै फेरि नाकाबन्दीको समस्या भोग्नु पर्यो । भूकम्पको समयभन्दा पनि बढी चुनौती हामीले नाकाबन्दीमा भोग्नु पर्यो । फेरि अहिले कोरोनाको समय आयो । यी विभिन्न समयमा आएका चुनौतीहरुलाई सहज रुपमा पार गर्न वा विगतका घटनाक्रमहरुलाई पाठको रुपमा बुझेर आउने समस्या समाधान गर्नको लागि स्थीर नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । तपाईंको नजर र बुझाईमा अपर तामाकोशी जलविद्युत आयोजना सफल कि असफल ? म दुबै भन्न सक्दैन । किनभने मानिसको यो परियोजनाप्रति जति अपेक्षा थियो त्यो नभएको अवश्य नै हो । त्यसैले यसलाई सफल पनि भन्न सकिने अवस्था छैन । हामी सम्पन्न देश भएको भए चाँडै सकिन्थ्यो । हाम्रो देश अनुसार यो काम ठीकै हो । यो परियोजनालाई सकारात्मक ढंगले अगाडि बढाउनको लागि कसको भूमिका के रह्यो ? यसमा धेरैको महत्वपूर्ण भूमिका छ । एक दुई जनाको नाम लिँदा अन्याय हुन्छ । विद्युत प्राधिकरणका हालसम्मका कार्यकारी निर्देशकहरुको महत्वपूर्ण भूमिका छ । सुरुवाती चरणमा हरिशचन्द्र शाहदेखि हालसम्मका एमडीहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ । यो परियोजनामा विदेशी लगानी ल्याउनको लागि धेरै खेल भइहरेको थियो । तर, स्वदेशीले नै बनाउनु पर्छ भन्ने आवाज आएपछि स्वदेशी लगानीमै शुरु गरिएको हो । यसमा सबैको भूमिका महत्वपूर्ण नै छ । अहिले अपर तामाकोसी निर्माणको अन्तिम चरणमा छ, अपर तामाकोशीको अनुमानित लागत कति पुग्यो ? यसमा विभिन्न किसिमको बजेट हुन्छ । व्याज सहित काउन्ट गर्ने कि व्याज बिना काउन्ट गर्ने भन्ने कुरा पनि आउँछ । यसको फाइनान्सिङ डिजाइन अलि कमै थियो । यसमा धेरै रिक्सहरु नआओस् भनेर पनि कम बजेट अनुमान गरिएको हो । त्यतिखेर ३५ अर्ब रुपैयाँ मात्रै अनुमान गरिएको थियो । त्यो व्याज बिनाकै लगानी हो । अहिले समय बढ्यो । व्याज बढ्यो । व्याजबाहेक ५२ अर्ब र व्याजसहित जोड्दा अहिले ८६ अर्ब रुपैयाँ पुगिसकेको छ । भन्न सजिलो छ तर यसको चोट कति छ भन्ने कुरा हामीलाई थाहा छ । १३ अर्ब सरकारको सब्सिटी छ । यस्तो हुँदा हुँदै पनि व्याज धेरै बढी छ । अहिले १० प्रतिशतभन्दा कम छ । तर, एक समयमा १२ प्रतिशतभन्दा बढी पनि भएको थियो । यो परियोजनाको व्याज पनि खर्च हो । विद्युत प्राधिकरणले पनि रिक्स प्रिमियम राखेर दिन्छ । म प्राधिकरणकै कर्मचारी भएको भएपनि यो अन्याय नै हो । यसरी पनि यसको लागत बढिरहेको छ । परियोजना सस्तो र महँगो गर्ने भनेको व्याजले नै हो । यो परियोजनाको लागत बढ्ने मूख्य कारण नै व्याज हो । यो परियोजना निर्माण सुरु हुने समयमा सबैले रोल मोडेल परियोजनाका रुपमा लिएका थिए । के यसले रोल मोडेलकै भूमिका खेल्न सक्छ ? यो परियोजनाले डिस्टिङसन पाउन सक्दैन । केही कमी कमजोरी छन् । परियोजनालाई पासमार्क दिन सकिन्छ । परियोजना फेलर होइन । यो परियोजना एकदमै समस्याका बाबजुद शुरु गरिएको हो । शुरुमा ३५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको परियोजनाका लागि अहिले ८६ अर्ब पुगिसकेको छ । सरकारकै स्वामित्व रहेको यस्तो गौरवको आयोजनाकाे लगानीमा यति ठूलो भिन्नता किन ? परियोजनाले कहाँ फेल खायो ? फेल खायो भन्दा पनि यो इन्टरप्रेटेसनको विषय हो । पहिले व्याजसहित पनि ५० अर्ब हाराहारी मै थियो । त्यसमा डलर एक्सेञ्ज छोडिएको थियो । यो परियोजना रिक्स कम गर्नको लागि केही फिगरहरु हामीले कममा नै राख्यौं । त्यसमा विदेशी मुद्रा राखेको भए त ७/८ अर्ब रुपैयाँ अवश्य नै आउँथ्यो । यो परियोजनाको लागत बढ्नुको मुख्य कारण भनेकै समय र व्याज हो । देश यही हो, मानिस यिनै हुन्, स्रोत साधन यही हो । तर कुनै परियोजना तोकेको समयभन्दा अगाडि नै सम्पन्न हुने भने कुनै धेरै समय लगाउनु पर्ने, तपाईंको बुझाईमा यस्तो अवस्था किन आउँछ ? हामीले प्राकतिक विपद्हरु पनि बुझ्नु पर्यो । हामीले यो बिचमा धेरै समस्याहरु भोग्यौं, भूकम्प, नाकाबन्दी र कोरोना भाइरसको कारण हाम्रो काम धेरै प्रभावित भयो । यो परियोजना किन ढिलाई भयो भन्न सकिने अवस्था पनि छैन । यसमा निश्चित समूहको स्वार्थ लुकेको छ । त्यस कारणले पनि यसको काम प्रभावित भइरहेको छ । नाकाबन्दीको कारणले पनि हामीले एक वर्ष काम गर्न सकेनौं । मैले अहिले नै यसले समस्या गर्यो भन्यो भने सहयोग गरिरहेको मानिस पनि बाहिरिन्छ । यो परियोजना नपाएकाहरुले यसलाई असहयोग गर्न खोजिरहेका छन् । जसले आफ्नो व्यक्तिगत स्वार्थको लागि यति ठूलो गौरवको आयोजना प्रभावित पारिरहेको छ, त्यसलाई खुलस्त पार्न तपाईंको कन्जुस्याईँ किन ? अहिले नै धेरै कुराहरु भन्न उचित पनि हुँदैन । मैले व्यवस्थापकीय कोणबाट हेर्नुपर्छ । मैले मेरो मुखबाट यसलाई प्रत्यक्ष रुपमा भन्न सक्दिन । अहिलेको लागि यो अनसिन हो । कतिपय अवस्थामा डिप्लोमेटिक हुनुपर्दो रहेछ । अपर तामाकोशीलाई सरकार, लगानीकर्ता र सबै तह तप्काको पूर्ण सहयोग र साथ छ तर पनि समयमै बन्न सकेन । यो परियोजनाको मुख्य समस्याको जड के हो ? अहिले मुख्य देखिने समस्या भनेको कन्ट्याक्र नै हो । कन्ट्याक्टरको कारणले पनि काम रोकिने रहेछ भन्ने पाठ अपर तामाकोशीले सिकाएको छ । धेरै राम्रो व्यवस्थापन गर्दा पनि कन्ट्याक्टरको कारण यति ठूलो समस्या आउने रहेछ भन्ने हामीले बुझ्यौं । तपाईंको भनाई अनुसार कन्ट्याक्टर छनोट गर्दा हामीले गल्ती गर्यौं ? हो, पक्कै हो । यहाँ मुख्य समस्याको कारण त्यही हो । गल्ती गर्नेलाई कारबाही गर्ने बारेमा सोच्नु भएन ? कारबाही गर्ने त उसको कन्ट्याक्ट अमाउन्टसम्म न हो । त्यो सफर गर्ने काम त हामी गरिरहेका छौं । हामीलाई एक प्रकारको बाउण्ड्री छ । म निजी उद्यमी भएको भए यसलाई हटाएर अर्कोलाई ल्याउन सक्थेँ । त्यो किसिमको रिक्स लिन सकिन्छ । तर, हामी पब्लिक उद्यमी भएकोले प्रक्रिया पुर्याएर काम गर्नुपर्ने हुन्छ । हाम्रो बाध्यता फरक खालको छ । हामी बाँधिएका छौं । यो परियोजनाकाे निर्माण सम्पन्न हुने भनिएको पनि ५ वर्ष भइसक्यो अझै बनेको छैन । टू दी पोइन्ट अपर तामाकोशीलाई कसले ठग्यो ? सुरुमा प्राकृतिक विपद्ले ठग्यो । त्यसपछि यो बिचमा केही प्राविधक समस्याहरु पनि आए । हाम्रो सुरुङको डिजाइन अर्थात संरचना पनि परिवर्तन गर्नुपर्ने थियो । त्यसमा पनि समय लाग्यो । त्यसैले लागत पनि बढ्यो । ठेकेदारबाट पनि असहयोग जस्तो देखियो । यी विविध कारणले परियोजनाको काम ढिलाई हुन पुग्यो । यो परियोजनाबाट हामीले धेरै पाठ सिकेका छौं । यो कम्पनीका सेयरधनीलाई तपाईं के सन्देश दिनुहुन्छ ? अपर तामाकोशीमा सयरकै कारणले पनि गिद्धेदृष्टि लागेको हो । यसको सेयर किनेर सिरानीमा राखेपछि चिलिमे जस्तै हुन्छ धेरैले ठानेका थिए । त्यो कारणले पनि कतिले धेरै सेयर पाए कतिले कम पाए । जसले पाए पनि नेपालीले पाए भन्ने मानसिकता राख्नु पर्छ भनेर हामीले वकालत राख्दै आएका छौं । यो गौरवको परियोजना हो । यसबाट धेरै पाठ सिक्न सकिन्छ । हामीले आशा गरेको भन्दा कम प्रगति छ । यो परियोजनाले सुरुमा लगानीकर्तालाई सोचे जस्तो लाभांश दिन सक्दैन तर निराशा बनाउँदैन । कम्पनीले लगानीकर्तालाई लाभांश कहिलेदेखि दिन्छ ? यो वर्ष दिन सक्दैनौं । जुन वर्षमा हामी फुल फेजमा विद्युत उत्पादन गर्छौं त्यही वर्षबाट लाभांश पनि दिन्छौं । हामीले धेरै थोरै भएपनि लाभांश दिन सक्ने अवस्था आउँछ । हाइड्रोपावरमा क्यास फ्लो कम हुन्छ । त्यस आधारमा हामी लाभांश दिन्छौं । यो सेन्सेटिभ विषय हो । धेरै निराशाजनक लाभांश पनि हुँदैन । हामी लाभांश दिन सक्छौं । हामीले वार्षिक ९ अर्ब आम्दानी गर्छौं । त्यसमा व्याज हुन्छ । पूर्ण रुपमा उत्पादन भइसकेपछि हामी नियमित रुपमा लाभांश दिन हुन्छाैं । अहिले अपर तामाकोशीको मार्केट रेट जुन छ त्यसलाई जष्टिफाई गर्छ वा के हुन्छ ? मैले यस्तो नै हुन्छ भनेर भन्नु हुँदैन । यसले बजारलाई इफेक्ट गर्छ । हामी पारदर्शी छौं । लगानीकर्ताहरुले आ-आफ्नो साइडबाट हेर्नुपर्ने हुन्छ । कम्पनीको फण्डामेन्टल्सहरु त हामी दिई नै रहेका हुन्छौं । हामी सेयरधनीलाई निराश पार्दैनौं ।
मेगा बैंकको ग्रोथ अरुको भन्दा डब्बल छः अनुपमा खुञ्जेलीसँगको अन्तर्वार्ता
काठमाडौं । मार्च ८, अन्तराष्ट्रिय नारी दिवस, महिलाहरुको विशेष दिन । यसदिन विश्वभर नै महिला शसक्तीकरणका विषयमा वहस केन्द्रीत हुन्छ । महिलालाई अवसर, महिलालाई आरक्षण, महिलाको सुरक्षा लगायत धेरै विषय उठाउँछन्, महिलाबादीहरु । तर, सफल महिलाहरुको अनुभव फरक छ । सफलताको लागि आरक्षणभन्दा क्षमता विकास, समान अवसर र निरन्तर मेहेनत जरुरी हुने बताउँछन् सफल महिलाहरु । त्यसमध्ये एक हुनहुन्छ अनुपमा खुञ्जेली । मिहेनत र उच्च कार्यसम्पादन नतिजाको आधारमा मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको खुञ्जेली सफल बैंकर्सको रुपमा स्थापित भईसक्नु भएको छ । बार्षिक एक करोड ७० लाख रुपैयाँभन्दा बढी तलब सुविधा लिने खुञ्जेलीले मेगा बैंकलाई बैंक अफ दी एयरबाट सम्मानित गराउनुको साथै आफै पनि बेष्ट वुमन म्यानेजर अवार्ड लिन सफल हुनुभएको छ । यो सफलता कसरी मिल्यो त ? प्रस्तुत छ खुञ्जेलीसँग गरिएको विकास वहस । पैसा, पद र प्रतिष्ठा सबै भएको वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हुनुहुन्छ, बार्षिक १ करोड ७० लाख ३२ हजार तलब लिँदा कस्तो अनुभव हुन्छ ? अहिले मैले पाउने तलव सुविधा धेरै भयो जस्तो मलाई लाग्दैन । २७ वटा वाणिज्य बैंकका सीईओमध्ये मैले पाउने तलवभन्दा बढी तलव अरु २४÷२५ जनाको छ । म त कम तलव पाउने सीईओमध्ये तेस्रो चौथोमा पर्छु । अन्तराष्ट्रिय बजारसँग पनि तुलना गरेर हेर्दा पनि नेपाली सीईओहरुले पाउने तलव सुविधा कम नै छ । अझै कम भयो तलव ? मैले त्यसो भन्न खोजेको होइन । तुलनात्मक रुपमा हेर्नुपर्छ भनेको मात्र हो । बैंकमा पहिलो पटक जागिर खाँदा मासिक ८ सय रुपैयाँ तलव थियो । त्यति बेला पनि यत्रो पैसा के गरौं जस्तो भएको थियो । अहिले मैले जति तलव पाएको छु, त्यो तुलनात्मक रुपमा अरुको भन्दा धेरै छैन । तलव भनेको मिहेनतको प्रतिफल पनि हो । कस्तो काम गर्छ, संस्था कसरी चलाएको छ ? बैंकको सीईओ छोडेर घरमा बसेको मान्छे जेलमा परेका छन् । मरेपछि पनि मुद्दा लाग्छ । उसको इन्ट्रिग्रीटी कस्तो छ ? जिम्मेवारी पनि हेर्नुपर्छ । कति जोखिम लिएको छ त्यो पनि हेनुपर्छ । १४ अर्ब ६५ करोड रुपैयाँ लगानी भएको बैंक, १३० अर्ब रुपैयाँ निक्षेप, १२४ अर्ब कर्जा लगानी भएको, १६४ अर्ब रुपैयाँ वासलात भएको, २ लाख सेयरधनी भएको, १८ सय भन्दा बढी कर्मचारी भएको बैंकलाई सुरक्षित ढंगले चलाउन पनि सजिलो छैन । विजनेश गर्नेलाई छोडेर हेर्दा तपाईको कमाई नेपाली महिलामध्ये सबैभन्दा बढी नै होला नि ? सही छ । त्यसैले त बैंकिङ क्षेत्रप्रति आकर्षण बढेको छ । नयाँ पुस्ता पनि बैंकमा जागिर खान निकै प्रतिस्पर्धा गरिरहेको छ । यहाँ मिहेनत गर्यो भने फल राम्रो पाइन्छ । बैंकिङ क्षेत्रमा महिलाहरुको लागि पनि राम्रो अवसर छ । यो त इस्टार्टिङ मात्र हो, भविष्य झनै राम्रो देख्छु म । आफूले आफ्नै बारेमा समीक्षा गर्दा तपाई सफल महिला हो ? सफलता भनेको एकपछि अर्को हुन्छ । मैले बैंकमा जुनियरदेखि सिनियर पदमा रहेर काम गरें । एउटा प्रमोशनपछि अर्को प्रमोशनको अपेक्षा सबैलाई हुन्छ । म सीईओ भए, तर अरुले भन्दा राम्रो काम कसरी गर्ने ? पद र पैसा मात्र सबै कुरा होइन । हामीले बैकिङ सेवा विस्तारमा धेरै काम गर्नुछ । मेगा बैंकमा अनुपमा खुञ्जेलीको योगदान के हो ? संस्था एउटा व्यक्तिले बनाउने होइन । सबै कर्मचारीको बराबर योगदान छ । लिडरले लिड गर्ने मात्र हो । नतिजा सबैको मिहेनतको परिणाम हो । यो बैंकमा स्थापनादेखि नै म कार्यरत छु । अहिले १८४० जना कर्मचारी छन् । प्रमोटर ३ हजार जनाभन्दा बढी छन् । २ लाखभन्दा बढी सेयरधनी छन् । ५८ जिल्लामा २०४ वटा शाखाबाट बैकिङ सेवा दिइरहेका छौं । ७७ जिल्लामा पुग्ने योजना छ । बैकिङ साक्षरता देशभर पुर्याउने भिजन छ । हलोदेखि हाइड्रोसम्म, सबै नेपालीको बैंक बन्ने, विश्वास जित्दै अघि बढ्दै भन्ने नारा अघि सारेका छौं । म सीईओ हुँदा मेगा बैंक २५औं नम्बरमा थियो २७ वटा वाणिज्य बैंकमा । अहिले हामी निक्षेपमा १४ औं नम्बरमा छौं । कर्जा लगानीमा १० औं नम्बरमा र नाफाको हिसावले ११ औं नम्बरमा छौं । तपाई भन्दै हुनुन्छ कि अनिल शाहले छोड्दा भन्दा अहिले बैंक धेरै राम्रो भयो ? उहाँले हालेको जगमा उभिएर हामी अगाडि बढेको हौं । जग बलियो थियो र त हामी अगाडि बढ्न सकेका छौं । शुरुवातमा गाह्रो हुन्छ । अब पनि अगाडि बढ्न झन् गाह्रो छ । किनकि टप टेनमा धेरै बलिया र पुराना बैंक छन् । अरुभन्दा फरक र बलियो बनाउन अझै प्रयास गर्छौ । फेरि तपाईको निजी विषयमा जाऔं । तपाई शिक्षित र राज्यमा पहुँच भएको परिवारमा जन्मेहुर्केको मान्छे । शिक्षा र प्रेरणा त्यहि ढंगले पाउनुभयो । तपाईको जस्तै परिवारमा जन्मेहुर्केका राणा शाहका धेरै छोरीहरु अहिले केवल गृहणी मात्र छन् । तपाई यो ठाउँमा हुनुहुन्छ । पद, पैसा र प्रख्याती पाइरहनु भएको छ । फरक केले पार्दोरहेछ ? सबैभन्दा ठूलो कुरा आफूले आफूलाई चिन्न सक्नुपर्छ । आफ्ना चाहना अनुसार काम गर्नुपर्छ । मेरो बुबाले मलाई छोरालाई जस्तै व्यवहार गर्नुभयो । विवाह गर्नुपूर्व नै जागिर खान पुगेँ । हामी सबै जना करिअर ओरेन्ट हुनैपर्छ । त्यहाँ मिहेनत गर्नैपर्छ । त्यहाँ सफलता, असफलता भोग्नै पर्छ । लड्दै, पढ्दै, भोग्दै अगाडि बढ्नुपर्छ । अवसरहरु पहिल्याउन सक्नुपर्छ । म स्ट्याण्डर्ड चार्टर्ड बैंक छोडेर नविलमा आए । नविल छोडेर जन्मदैको अवस्थामा मेगा बैंकमा आए । एउटा स्थापित बैंकका मान्छे, अर्को नयाँ बैंक चलाउन जाने कि नजाने ? शुन्यबाट काम थाल्ने जोखिम लिने कि नलिने ? यस्ता कुराहरु आउँछन् करिअर बनाउने बेलामा । अरु पेशाकर्मीहरु सानो संस्था वा ब्राण्ड छोडेर ठूलोमा जान्छन् । तपाई ठूलो छोडेर सानोमा जानुभयो । स्ट्याण्डर्ड चार्टर्ड नम्बरवान ब्राण्ड छोडेर नविल आउनुभयो । नविल नम्बर वान ब्राण्ड भएपछि फेरि मेगामा आउनुभयो । अरुको भन्दा उल्टो बाटो रोज्नुको कारण के थियो ? सुरक्षित क्षेत्र छोडेर जोखिमपूर्ण क्षेत्रमा काम थाल्नुपर्छ भनेर हामीले पढेका पनि हौं । अवसरको लागि जोखिम लिनै पर्छ । नम्बरवान ब्राण्ड नछोडि बसेको भए म आज सीईओ बन्ने पनि थिइनँ होला । फर्केर हेर्दा, मैले जे निर्णय लिएको थिए, त्यो सही थियो । तपाईले जुन बाटो रोज्नुभयो, अरुले पनि त्यसै गरे भने हुन्छ वा तपाईलाई भाग्यको साथ थियो ? ‘लक’ त चाहिन्छ । सफलताको लागि अवसर, कडा परिश्रम त चाहिन्छ नै, साथै ‘लक’ पनि चाहिन्छ । ‘लक फ्याक्टर अल्सो भेरी इम्पोर्टेन्ट’ । तपाई भाग्यले यो ठाउँमा आउनु भयो कि मिहेनतले ? भाग्य छ भन्दैमा डाेकोमा दुध दोहेर हुँदैन । महिनत गर्नैपर्छ । जतिबेला म असिस्टेन्ट लेवलमा थिए, त्यतिबेला मेरो सहकर्मीहरु धेरै थिए । हामी धेरै जना थियौं । सबैले समान मौका पाएका हौ । एउटै वातावरण थियो । अफिसर लेवलमा पनि त्यहि बातावरण थियो । काम गर्ने शैली त उस्तै हो । जो अरुभन्दा बढी मिहेनत गर्छ, सबैको विश्वास जितेर काम गर्छ, उसैले नयाँ अवसर पाउँछ । जे काम गर्नुहुन्छ, खुशीका साथ गर्नुहोस । मैले बैंकिङ जब गरेको ३० वर्ष भयो । विहान उठेर अफिस जाने भनेपछि अहिले पनि रमाईलो लाग्छ । प्रशन्न मुद्रामा अफिसमा आईपुग्छ । म जेमा रमाईरहेको छु, त्यसमा अरुलाई खुशी नमिल्न सक्छ । बैंकमा जागिर खाने मेरो सोच पनि थिएन । खाता खोल्न जादा भ्याकेन्सी खुलेको रहेछ । त्यसपछि बैंकमा जागिर खाइयो । जागिर खाँदै जाँदा मास्टर डिग्री गर्न गर्न सकिएन । त्यहाँ पनि ठेस खाइयो । प्रमोशन खान मास्टर डिग्री चाहिन्छ भनेपछि ४० वर्षको उमेरमा मास्टर डिग्री लिइयो । छोरीको एसएलसीसँगै मैले मास्टर डिग्री गरेको । महिला आरक्षणबाद, संरक्षणबादप्रति तपाईको धारणा के हो ? महिला र पुरुष भनेर छुट्याउनै मिल्दैन जस्तो लाग्छ मलाई । तर अन्तराष्ट्रिय रुपमा नै के भनिन्छ भने लैंगिक विभेद अन्त्य गर्न अझै १०८ वर्ष लाग्छ रे । मलाई वुमन सीईओभन्दा मन पर्दैन । मलाई सीईओ मात्रभन्दा खुशी लाग्छ । किनकि म प्रतिस्पर्धा गर्न सक्छु र अरुभन्दा म कमजोर छैन । म सानैदेखि दाइभाइसँग साइकल खेल्न जान्थे । डण्डिवियो खेल्न जान्थे । बन्दुक लिएर शिकार खेल्न जान्थे, खुशीका साथ । त्यो माहौलमा हुर्केकोले होला मलाई महिला र पुरुषमा विवेद जरुरी छैन । महिला अधिकार कर्मीले भन्छन्–‘नारी पुरुषबाट हेपिए, दविए, असर दिईएन ।’ के तपाईको जीवनमा यस्तो भोगाई भयो ? मेरो परिवारमा विभेद भएन । मैले काम गरेका संस्थामा पनि लैंकिग विभेद भएन । कामलाई रिवार्ड गरियो । तर, समाजमा विभेद त छ । नेपालका मात्र होइन, विदेशमा पनि छ । विभेदहरुको मुकाविला गर्दै अगाडि बढेको हुँ । सोचाईमा परिवर्तन जरुरी छ । तपाई सीईओ भएको बैंकमा पुरुषहरुले लैंगिक विभेदको महसुश गरेका छन् कि ? म कामलाई पुजा गर्छु । हामी कामलाई रिवार्ड गर्छौं । न मैले विगतमा विभेद सहेँ, न अहिले विभेद गर्छु । यो बैंकको टप १० पोष्टमा ५० प्रतिशत महिला छन् र ५० प्रतिशत पुरुष छन् । शुरुमा यो बैंकमा ६४ प्रतिशत महिला थिए । विभिन्न बैंकहरु मर्ज भएपछि महिला ४४ प्रतिशत भएका छन् । उच्च व्यवस्थापनमा ५० प्रतिशत महिला भएको सुन्दर पक्ष भन्नु र सुन्न त आनन्द आउला । अन्तिममा सेयरधनीले हेर्ने त नतिजा हो । कस्तो छ नतिजा ? बैंकको वार्षिक साधारणसभामा आएर सेयरधनीले बोल्नुहुन्छ । वर्षमा एक पटक बोल्नुहुन्छ । मेरो लागि त्यो धेरै महत्वपूर्ण छ । उहाँहरुले बैंकको प्रगतिको बारेमा बोलिरहनु भएको छ र अझ राम्रो कसरी गर्न सक्छ भनेर बोलिदिनु भएको छ । त्यो मेरो लागि महत्वपूर्ण कुरा हो । विगत ५ वर्षको ग्रोथलाई विश्लेषण गर्नुभयो भने मेगा बैंक एक नम्बरमा छ सिएजीआर (कम्पाउन्डेड एभरेज ग्रोथ रेट) मा, निक्षेप, कर्जा, नाफाको ग्रोथ बैकिङ क्षेत्रको औषतभन्दा दोब्बर बढी छ । डबल ग्रोथ थिएन भने २५ नम्बरबाट १० नम्बरमा आउन पनि सक्दैन थियो । मार्केट ग्रोथभन्दा डब्बल ग्रोथ मेगाको छ भने सेयरधनी बेखुशी हुने कुरै भएन । उहाँहरुलाई रिर्टन चाहिन्छ । हामीले १३.४५ प्रतिशत दियौं । शुरुदेखि हामीले बोनसदर बढाउँदै लगेको छौं । अहिले त मार्केटको एभरेज रिर्टन नै १३ प्रतिशत मात्र छ । हामीले ५ वर्षको रणनीति बनाएको थियौं । चौथो वर्षमा छौं । सबै इन्डिकेटरहरु पूरा हुँदैछ । बैंकको अवको बाटो के हो ? फेरि ५ वर्षे रणनीति बनाउँदै छौं । त्यसको तयारीमा छौं । हामी फरक तरिकाले काम गर्दैछौं । अहिले डिजिटल बैंकिङमा जोड दिएका छौं । वर्क फर्म होम हामीले सिक्यौं । अब बैंकिङ फर्म होम गर्दैछौं । भिडियो मार्फत ग्राहकलाई घरबाटै बैंकिङ कारोबार सिकाउँदै छौं । टिक बैंकिङ ल्याएका छौं । च्याट बोर्ड चलाएका छौं । क्युआर कोडको प्रयोगमा जोड दिएका छौं । क्यासलेड बैंकिङ, डिजिटल वल्डतिर जान्छौं । हामीले मेगा क्यापिटल खोल्यौं । इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छौं । सब्सिडायरी कम्पनीहरु विस्तार गर्दैछौं ।
कोरोनाकालमा नागरिकलाई नगदमै राहत दिने काम बैंकले मात्र गरेः मनोज ज्ञवाली
चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंक लिमिटेडका नायव महाप्रवन्धक (डीजीएम) हुन् । विगत लामो समयदेखि विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा काम गरेर अनुभव हासिल गरिसकेका ज्ञवाली समसामयिक गतिविधि र घटनाक्रममाथि टिप्पणी गर्न पनि निकै रुचाउँछन् । विशेष गरेर बैंक तथा वित्तीय क्षेत्रमा राम्रो दख्खलता भएका उनीसँग वर्तमान नेपाली बैंक तथा वित्तीय क्षेत्र, पुँजी बजार लगायतका विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । कोरोना भाइरसले देशको अर्थतन्त्रलाई ठूलो असर गर्यो । अहिले त्यसको असर कम हुँदै जाँदा नेपालको बैंकिङ क्षेत्र कुन गतिमा अगाडि बढिरहेको छ ? कोरोना भाइरसले असर गरेको एक वर्ष पुगिसकेको छ । एउटा महत्वपूर्ण कुरा त के भने कोरोना भाइरसले अर्थतन्त्रलाई जुन किसिमको असर गर्छ भन्ने हाम्रो अनुमान थियो त्यति भने भएन । स्थिती बिग्रन्छ भनेर हामीले परिकल्पना गरेभन्दा कम असर देखिएको छ । जति त्रास हामीलाई थियो त्योभन्दा धेरै कम भयो । बैंकिङ क्षेत्रमा के असर छ भन्दा पहिले अर्थतन्त्रमा के असर छ भन्ने विषयतर्फ जाऔं । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको ऐना हो । वित्तीय क्षेत्र हाँस्यो भने अर्थतन्त्र हाँस्छ र रोयो भने रुन्छ । कोरोनाकाे सबैभन्दा बढी असर होटल तथा पर्यटनमा पर्यो । विदेशी ट्राभल एजेन्सी त बन्द नै भए । त्यसपछि व्यापार विजनेस र विद्यालयहरुलाई यसले असर गर्यो । त्यससँगै अन्य ट्रेडिङमा पनि कोरोनाले असर पारेको देखिन्छ । यो सँ-सँगै बैंकिङ क्षेत्रमा पनि हामीले अनुमान गरे जस्तो असर परेन । केही मात्रामा प्रोफिटमा हिट त भएको छ । त्यो हिट हुनुको मुख्य कारण भनेको राहत हो । कोरोनाको समयमा नागरिक अर्थात ग्राहकलाई राहत दिने क्षेत्र भनेकै बैंकिङ क्षेत्रले नै हो । हामी दावी गर्छौं कि कोरोना प्रभावितहरुलाई वित्तीय राहत दिने क्षेत्र भनेको बैंकहरु मात्रै हो । नेपाल राष्ट्र बैंकले छुट दिनु भने अनुसारको हामीले छुट दियौं र त्यसको प्रत्यक्ष असर बैंकहरुको मुनाफामा परेको छ । अहिले राष्ट्र बैंकले पुनर्कर्जा र पुनरतालिकीकरणमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने व्यवस्था गरेको छ । नविल बैंककै पनि २४/२५ करोड रुपैयाँ पुनरसंरचना र पुनरतालिकीकरणमा थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्यो । ॠणीहरुले समयमा व्याज पैसा चुक्ता गर्न सक्नु भएन । त्यसले पनि बैंकहरुको एनपीएल बढेको देखिन्छ । त्यो वाहेक ओभरअल विजनेस पनि त्यति बढी भएको देखिँदैन । अहिले विदेश जाने मानिसहरु पनि कम भएको देखिएको छ । विदेशी मुद्रा पनि कम हुन्छ सोचेका थियौं तर त्यति धेरै कम भएन ।रेमिट्यान्समा पनि त्यति धेरै असर परेको देखिँदैन । निक्षेप संकलन पनि राम्रै देखिएको छ । तर, कोरोनाको बिचमा कर्जाको माग त्यति नदेखिँदा तरलता धेरै देखियो । तरलता धेरै हुँदा व्याजदर तल झर्यो । गत वर्षसँग तुलना गर्ने हो भने बैंकहरुको कष्ट अफ फण्ड धेरै तल झरिसकेको छ । बैकहरुको ब्याजदर ३ प्रतिशतदेखि ४ प्रतिशतभन्दा तल झरेको छ। तरलता अत्याधिक हुँदा पनि व्याजदर तल आयो । यस्तै, बैंकहरुको व्यालेन्स सिटमा पनि त्यति धेरै परिवर्तन देखिएको छैन । व्यालेन्ससिटको ग्रोथ पनि रोकिएको छैन । यो आर्थिक वर्ष को छ महिनामा रेमिट्यान्स ११.१ प्रतिशतले बढेको छ । आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । अन्य थुप्रै इण्डिकेटरहरु पनि सकारात्मक देखिएको छन। समग्रमा स्थिती हेर्ने हो भने जति हामीले कोरोनाको कारणले असर हुन्छ भन्ने अनुमान गरेका थियौं त्यस्तो खालको असर हामीले भोग्नु परेन । कोरोना भाइरसकै कारण बैंकिङ क्षेत्रलाई कतिसम्म नोक्सान भयो होला, केही अनुमान गर्न सक्छौं ? बैंकिङ विजनेसमा ठ्याक्कै यति नै घाटा भयो भन्न सकिने अवस्था हुँदैन । बैंक बन्द भएपनि ब्याजको मिटर चलिरहन्छ । व्याजको मिटर बन्द हुँदैन । तर, ऋणीहरुले समयमै सावा व्याज भुक्तानी गर्न सकेनन् भने नन पर्फमिङ लोन (एनपीएल) बढ्छ । खराव कर्जा बढ्यो भने प्रोभिजिनिङ बढ्ने जसले गर्दा अलि गाह्रो हुन्छ कि भन्ने हुन्छ । हाम्रो अनुमान यस्तै अवस्था रह्यो भने सबै बैंकहरुको वितरणयोग्य नाफा नेगेटिभ हुन्छ कि भन्ने थियो । तर, त्यो अनुमान उल्टो भएर गयो । गत वर्षको तुलनामा केही बैंकहरुको नाफा घटेको त छ । कोरोनाको कारणले भन्दा पनि राष्ट्र बैंकले स्प्रेड ४.४ मा ल्याएर आयो । त्यसले एक किसिमको प्रतिस्पर्धाको वातावरण सिर्जना गर्यो । त्यस कारणले पनि बैंकहरुको खुद व्याज आम्दानीमा पनि कमि आयो । बैंकहरुले लिने विभिन्न शुल्कहरु पनि लिन पाएनन् । यसले केही समस्या त भयो तर कोरोनाकै कारणले भने बैंकहरुलाई खासै असर परिसकेको देखिएन। असर नै नभएको त होइन तर अनुमान गरेको जति भएन । त्यो असर राष्ट्र बैंकले प्रकाशित सुचकांकमा देखियन र बैंकहरुको वित्तीय विवरणमा समेत देखिएन। कोरोना भाइरसभन्दा पनि राष्ट्र बैंकको नीतिका कारण बैंकहरुको नाफामा असर पुग्यो भन्न खोज्नु भएको ? हो, बढी त्यसको असर छ । तरलताको कारणले मार्केटमा प्रतिस्पर्धा भएर गयो । बैंकहरुले राष्ट्र बैंकले तोकेको ४.४ को स्प्रेड पनि मेन्टेन गर्न सकेको अवस्था छैन । अलिकति ब्राञ्च तथा नेटवर्किङ बढेको कारणले पनि बैंकहरुको सञ्चालन खर्च बढेको देखिन्छ । फि र कमिसन आय घटेको छ । कोरोना भाइरसपछि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नेटवर्क तथा शाखा विस्तारमा कत्तिको चाँसो देखाए ? कोरोना भाइरसपछि कुनै पनि बैंकहरुले शाखा विस्तारमा ध्यान दिने अवस्था रहेन। अहिले भएको शाखालाई पनि व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा बढि ध्यान दिनुपर्ने अवस्था रह्ये । राष्ट्र बैंकबाट अनुमति लिइसकेका शाखाहरुका लागि हामीले काम गर्यौं तर नयाँ शाखाका लागि त्यति खासै चाँसो कुनै पनि बैंकले राखिएन। सम्पूर्ण स्थानीय तहमा शाखा जानु पर्ने कारणले पनि कतिपय ठाउँमा खोलेका छन् । अब तीन वटा गाउँपालिका वाहेक सबै गाउँपाालिकामा समेत बैंकका शाखा पुगिसकेका छन् । त्यस कारणले शाखा विस्तारमा विगत ४ वर्षमा बैंकहरु जति आक्रामक भए यो एक वर्षमा त्यस्तो देखिएन । अहिले बैंकहरु भएका शाखा व्यवस्थापन गर्नमै व्यस्त छन् । कोरोनापछि बैंकहरुले शाखा विस्तारमा ध्यान दिनएन भन्नुभयो, विकट र दुर्गम ठाउँमा प्रविधिको पनि खासै प्रयोग हुँदैन, भनेपछि दुरदराजका नागरिक त बैंकिङ पहुँचभन्दा बाहिर हुने भएनी ? त्यस्तो होइन । विगत ४ वर्षमा शाखा विस्तार अत्याधिक भयो । बैंकहरु शाखा विस्तारमा एकदमै आक्रामक भए । सबै वाणिज्य बैंकहरुले आफ्ना शाखा विभिन्न ठाउँमा विस्तार गरिसकेका छन् । अहिले सबै विकास बैंकहरुका पनि डेढ सयभन्दा बढी शाखा विस्तार गरिसकेका छन् । अब गाउँमा मानिसहरुले बैंकिङ पहुँच पाएनन् भन्ने त ठाउँ नै छैन । अब तीन वटा गाउँपालिकामा मात्रै बैंक पुग्न बाँकी छ । त्यहाँ पनि भौतिक पूर्वाधारको कमिले रोकिएको हो । बैंक पनि व्यापार हेर्छन् । अलिकति बढी विजनेस भएको ठाउँमा त बैंकहरु अवश्य नै जान्छन् । जहाँ व्यापार हुन्छ त्यहाँ बैंक पनि जान्छन् । शाखा भएको कतिपय ठाउँहरुमा व्यापार भएको पनि छैन । त्यस कारण विजनेसले बैंकलाई आकर्षण गर्ने हो । त्यो आवश्यकता निडवेस्ड हुन्छ । त्यति हुँदा हुँदै पनि बैंक नभएपनि त्यहाँ अन्य माइक्रोफाइनान्स र सहकारीहरु पनि छन् । पहिलेको जस्तो वित्तीय पहुँच नागरिकहरुमा पुगेन भन्ने अवस्था अहिले छैन । बैंकिङ क्षेत्रका लागि कोरोना भाइरसले सिकाएको पाठ के हो ? बैंकिङ क्षेत्र मात्र होइन सबै क्षेत्रका लागि कोरोनाले सिकाएको पाठ भनेको हामीले कष्टमा इफिसियन्ट हुनु पर्यो भन्ने हो । डिजिटलाइजेसनमा जानु पर्यो । पहिले ४० जना कर्मचारीलाई तालिम दिनु पर्यो भने पुरै टिम त्यो ठाउँ गएर धेरै खर्च गर्नु पर्थ्याे । तर अहिले भर्चुअल माध्यममार्फत जति जनालाई पनि तालिम दिन सकिने अवस्था छ । त्यो पनि न्यूनतम खर्चमै । समयको पनि बचत भयो । कोरोनाले डिजिटलाइजेसनलाई बढायो । काम पनि छिटो गर्न मद्दत गर्यो । कष्ट इफिसिएन्सीमा पनि बैंकहरुले सोच्यो । सबैभन्दा ठूलो कूरा कोरोनाले डिजिटलाइजेसनलाई बढायो । कोरोनाकालले डिजिटल बैंकिङलाई बढाउनको लागि कत्तिको सहयोग गर्यो ? डिजिटल बैंकिङमा म सन्तुष्ट छैन । हामीसँग जति प्रडक्ट छ त्यसँग कतिपय अवस्थामा बैंकरहरु नै जानकार छैनन् । डिजिटल माध्यमलाई प्रवद्र्धन गर्नको लागि राष्ट्र बैंकले नै प्राथमिकताका साथ काम गरिरहेको छ । डिजिटल माध्यमको प्रयोगले खर्च घटाउँछ, समयको बचत गर्छ भन्ने कुरामा हामी सबैको एक मत रह्याे । तर, त्यसमा अभ्यस्तता कस्तो छ भन्ने कुरा महत्वपूर्ण रह्यो । यसलाई कति मानिसले सदुपयोग र प्रयोग गरिरहेका छन् भन्ने कुरा महत्वपूर्णका साथ सोच्नु पर्ने अवस्था पनि हो । बैंकले अघिल्लो दिन क्यूआर कोड सुभारम्भ गर्ने, तर पछिल्लो दिन त्यहाँ क्यूआर कोड नहुने, पहिलेको जस्तै नगद कारोबार हुने अवस्था धेरै ठाउँहरुमा देखिएको छ, यस्तो अवस्था किन आयो ? त्यसको नियमन तथा अनुगमन कत्तिको देख्नु भएको छ ? अघिल्लो दिन सञ्चालन गर्ने पछिल्लो दिन क्यूआर कोड नहुने त हुन्न । तर, सञ्चालनमा भने कमै आएको मान्न सकिन्छ । यसको बारेमा आम नागरिकमा सचेतना र त्यस सम्बन्धि जानकारी कस्तो छ भन्ने कूरा मुख्य हो । जस्तो हाम्रो प्रडक्ट, स्ट्रक्चर , परिकल्पना र लागत छ त्यो अनुसारको ग्राहकले प्रयोग र कारोबार गरिरहेका छन् कि छैनन् भन्ने विषय मुख्य हो । सञ्चालनमा ल्याइसकेपछि त्यसपछि हामीले गर्नु पर्ने काम कारवाही भने आवश्यक छ । त्यसमा हामी सबैले ध्यान दिन आवश्यक छ । यसको बारेमा नागरिकलाई जानकारी दिनु पर्ने, सचेतनाका कूराहरु दियो भने यसको प्रयोग झन बढाउन सकिन्छ र नागरिकलाई डिजिटल रुपमा अभ्यस्त बनाउन सकिन्छ । हामी सबैले डिजिटललाई प्रयोग गर्नु पर्छ भन्छौं तर हामी आफै बैंकमा काम गर्ने, बैंकका सीईओ, ब्रान्च म्यानेजरले समेत त्यो प्रयोग गरेका छन् कि छैनन् भन्ने बुझ्न जरुरी छ । हामी आफै क्यूआर कोड प्रयोग गर्दैनौं, हामी आफै खल्तिमा पैसा बोकेर सामान खरिद गर्न हिड्छौं भनेपछि सर्वसाधारण नागरिकले कसरी प्रयोग गर्छ ? डिजिटल प्रविधिको प्रयोग कसरी बढ्छ ? हामीसँग प्रडक्ट छ, स्रोत साधन छ, सबै छ । तर, यो प्रयाप्त छत भन्दा छैन । शहरमा पनि डिजिटाइजेसनको प्रयोग जति मात्रामा हुनु पर्ने हो त्यो अवस्था अहिले छैन । अहिले बजारमा तरलता धेरै घटेको छ, बैंकहरु फेरि कर्जा लगानीमा आक्रामक भएका हुन् ? हो, अहिले कर्जाको विस्तार बढी नै भइरहेको छ । यो बिचमा कर्जाको विस्तार व्यापारको थप आवश्यकताले भएन । पहिलो क्वाटरसम्म कसैसँग पैसा थियो भने उ न व्यापार गर्न गयो नत बैंकमा डिपोजिट गर्न । लगानी गरौं भनेपनि कोरोनाले के गर्छ भन्ने त्रास थियो । धेरैले भएको पैसा स्टक मार्केटमा लगानी गरे । त्यो सबै पैसा सेयर बजारमा गयो । जसको कारणले त्यो समयमा सेयर बजार उकालो लाग्यो । बिचमा राष्ट्र बैंकले पनि लोयल्टी फाइनान्सिङको विषय लिएर आयो । त्यसले पनि केही फाइनान्सिङ बढेर गयो । त्यससँगै अन्य वित्तीय क्षेत्र पनि सुधार हुँदै गयो । सेयर बजार बढेपछि कर्जाको माग पनि बढ्यो । कर्जाको ग्रोथ पनि मार्जिङ लेण्डिङतर्फको बढेको छ । पछिल्लो ६ महिनामा मार्जिङलेण्डिङमा ६० प्रतिशत कर्जा बढेको छ । त्यो सबैभन्दा बढी ग्रोथ हो । सेयरबजार बढेपछि सबैको आकर्षण त्यतैतिर भयो । त्यससँगै होम लोन रिटेल लोनतर्फ पनि कर्जा बढेको छ । तर पर्यटनतर्फ भने ग्रोथ भएन । जता इकोनोमीको ग्रोथ भयो त्यतैतिर मार्केट ग्रोथ दौडिरहेको छ । समग्रमा गत वर्षको ६ महिनाको तुलना गर्ने हो भने यो वर्षको ग्रोथ राम्रो देखिन्छ । निक्षेप संकलन, कर्जा प्रवाह लगायत परिसुचकमा गत वर्षको ६ महिनाभन्दा यो वर्षको ६ महिनामा ग्रोथ राम्रो देखिएको छ । रेमिट्यान्स पनि आइरह्यो । जसको कारणले बैंकिङ क्षेत्रले धेरै असर भोग्नु परेन ।कोरोको कारण समस्या परेको भन्दै अझै पनि धेरै उद्योगी व्ययवसायीहरू राहतको माग गरिरहेका छन्, राष्ट्र बैंकले पनि उनीहरुका लागि केही राहत ल्यायो र बैकहरुले अनुपालना गरे । राष्ट्र बैंकले बैंकहरुलाई राहत दिनु भनेर निर्देशन समेत दियो । तर, पछिल्लो समय विभिन्न बैंकहरुले ती व्यवसायी तथा ऋणीको धित्तो धमाधम लिलाम गर्न सुरु गरे, सूचना निकाल्न थाले । यो प्रक्रियालाई तपाइँले कसरी बुझ्नुभएको छ ? हामीले आधारभुत कुरा बझ्न आवश्यक छ । कोरोना सुरु भएको अहिले एक वर्ष भयो । गत वर्ष पुसमा तिर्नु पर्ने पैसा जसले तिरेको छैन । त्यो त ठिकै हो । तर, विगत तीन वर्षदेखि नतिरेकाहरुलाई पनि छुट हो त ? अनि बैंकहरुको विजनेस होइन त ? बैकहरुले चलाउने सर्वसाधारणहरुको पैसा होइन र ? हामीले चलाउने पैसा नागरिकको नै हो । ऋणीले कर्जाको पैसा तिरेन भने बैंक डुब्ने होइन, जनता नै डुब्छन् । उनीहरुले जम्मा गरेको पैसा डुब्छ । नागरिकले हामीलाई विश्वास गरेर पैसा जम्मा गरेका छन् । राष्ट्र बैंकले गत एक वर्षदेखि कोरोनाको कारण समस्यामा परेकाहरुलाई सहयोग गर भनेको हो । विगत ३/४ वर्षदेखि सावा व्याज, किस्ता नतिर्नेहरुलाई सहयोग गर भनेको होइन । हामी डिफल्टरलाई दुई प्रकारले हेर्छौं । एउटा ‘विल फिल डिफल्टर’ अर्को ‘नन विलफुुल डिफल्टर’ । नन विलफुल डिफलटर भनेको जसको नतिर्ने नियत थिएन तर परिस्थितिजन्य कारणले त्यो डिफल्टर भयो । तर विलफुुल डिफल्टरहरु एक प्रयोजनका लागि पैसा लिने तर अर्कै काममा पैसा प्रयोग गर्ने । समयमै सावा, व्याज नतिर्ने, बदमासी गर्ने । हामीले जनताको पैसा लिएर बसेका छौं, हामीप्रति जनताको विश्वास छ । क्यापिटल त ५ खर्ब पनि छैन । अरु बाँकी पैसा त नागरिको नै हो । बैंकले डुबाउँदैन भनेर नै मानिसले बैंकमा पैसा राख्छन् । जनतालाई नबुडाउनको लागि त हामीले खराव ऋणीलाई कारवाही गर्नु परेन ? त्यसैले म हाम्रो बुझाईलाई परिवर्तन गर्नु पर्यो भन्छु । बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याजदर कम गरेसँगै निक्षेपकर्तालाई पनि निकै पेले भन्ने विषय पनि छनि यसलाई कसरी लिनुहुन्छ ? होइन, निक्षेपकर्तालाई पेल्नु किन पर्यो ? यो हाम्रो बुझाईको कुरा हो । निक्षेपकतालाई पेल्यो, उनीहरुलाई कम व्याज दियो भन्दै गर्दा जब बैंकसँग डिपोजिट नै छैन भने ऋण कहाँबाट दिन्छन् ? बैंकहरुको लागि कर्जा र निक्षेपका दुवै समान ग्राहक हुन् । यो सबै डिमाण्ड र सप्लाईको खेल हो । हिजो अस्ती प्रतिकेजी ८० रुपैयाँ पाइने सुन्तलाको मुल्य आजभोलि २ सय रुपैयाँभन्दा बढी छ । वस्तु कम हुँदै गएपछि मूल्य अवश्य पनि बढ्छ । यसै गरि बैंकमा पनि तरलता अत्याधिक भयो । कर्जा गएन । निक्षेप जम्मा भइरह्यो । रेमिट्यान्स पनि आइरह्यो । तर, कर्जा डिमाण्ड बढेन र बैंकसँग अत्याधिक रुपमा तरलता भयो । बढी तरलता भएपछि बैंकहरुले तरलता घटाउन खोज्यो । तरलता घटाउनु भनेको निक्षेपको लागत घटाउँदै लैजानु हो । भोलि कर्जाको डिमाण्ड बढी भयो भने निक्षेपको व्याजदर त बढी नै हाल्छ । त्यसैले यो एउटा सिम्पल गेम हो । हिजो निक्षेपकर्ताले फिक्स डिपोजिटमा १४ प्रतिशत पनि त पाएकै हुन् नी । यो एउटा चक्र हो । यसलाई सामान्य अर्थशास्त्र को सिद्धान्त लागू भएको मान्नुपर्दछ । नेपाली बैंकिङ क्षेत्रलाई सही ट्रयाकमा अगाडि बढाउनको लागि नियामक निकायको नीति सही छ ? अहिलेको अवस्थामा अर्थात कोरोना भाइरसपछि राष्ट्र बैंकले ल्याएको नीतिमा प्रश्न गर्नु पर्ने ठाउँ नै छैन । हामी हाम्रो हिसावबाट हेर्दा राष्ट्र बैंकले स्प्रेडमा कडा गर्यो । अन्य शुल्क लिन दिएन । जसले गर्दा बैंकहरुको नाफामा घाटा लाग्यो भन्छौं । तर, ग्राहकहरुले राष्ट्र बैंकमाथि प्रश्न गर्नु पर्ने ठाउँ नै दिएको छैन । पहिले व्याज छुट दिने विषय, त्यसपछिको समायावधि थप्ने विषय, पुनर्तालिकीकरण, पुनर्कर्जा, सहुलियतपूर्ण कर्जाको व्यवस्था लगायत यी विभिन्न व्यवस्थाहरु ग्राहकहरुकै लागि छन् । राष्ट्र बैंकले कोरोना महामारीमा गरेका व्यवस्थालाई हेर्ने हो भने धेरै राम्रो काम गरेको छ । यसले पनि ग्राहकलाई मर्का परेन । कोरोनाको समयमा नागरिकलाई नगद मै राहत बैंक बाहेक कसैले पनि दिएन । राष्ट्र बैंकले ल्याएका नीतिको कार्यान्वयन भने कत्तिको भएको छ त्यो मूख्य विषय हो । त्यसतर्फ हामी सबैले ध्यान दिनु पर्छ । कोरोना भाइरसको असर व्यवस्थापनमा राष्ट्र बैंक सफल भएको छ भनेर म दावी नै गर्छु । तपाइँले बैंकहरु बाहेक अरु कसैले पनि राहत दिएनन् भन्नुभयो । यसको मतलब बैंकहरुले आफ्नो खल्तिबाटै नागरिकलाई राहत दिएका हुन् ? खल्तिबाटै दिएको त हो नी । बैंकहरुले खुरुखुरु व्याज पाइरहेका थिए । तर, लिनुस् तपाइँलाई २ प्रतिशत छुट भनेर दिए । त्यो २ प्रतिशत नदिएको भए त बैंकको नाफा बढ्थ्यो । जस्तै, मैले तपाइँलाई १ करोड रुपैयाँ १२ प्रतिशत व्याजमा ऋण दिएको छु । तपाइँले १२ लाख रुपैयाँ व्याज दिनु पर्ने थियो । तर तपाइँलाई समस्या भयो । ल तपाइँलाई २ प्रतिशत छुट भन्दा १० लाख मात्रै दिनु भनेपछि त २ लाख त मेरो खल्तिबाट दिएँ नी । हो, बैंकहरुले पनि आफ्नो नाफा कटौती गरेर आफ्ना ग्राहकहरुलाई छुट दिएका हुन् । अलि फरक प्रसंग र प्रश्न गरेँ, नागरिकलाई सहज रुपमा सेवा दिने नाममा वित्तीय क्षेत्रमा पनि धेरै लेयरहरु छन्, यो होलसेल बैंकिङ कहिलेसम्म रहने ? यसले त नागरिकलाई झन ठूलो आर्थिक भार परेन र ? हरेक चिजलाई हेर्ने कोण फरक किसिमको हुन्छ । नजर र बुझाई पनि फरक हुन्छ । हिजोको दिनमा नेरु ( नेपाली रुपैयाँ) मा ऋण लिएर भारु भारतीय रुपैयाँ दिनु पर्थ्यो ब्य्याज मानेेर। तर, अहिले त्यस्तो अवस्था छैन । यदि ती माइक्रोफाइनान्स ती सहकारीहरु ती ग्रामिण ठाउँमा नभइदिएको भए ६० प्रतिशत व्याजमा पैसा लिनु पर्थयो । हिजो यस्तै अवस्था थियो । कतिको त घरखेत गएका छन् । त्योबाट अहिले १७/१८ प्रतिशतमा आउँदा के फरक पर्यो ? हरेकको आ–आफ्नै स्पेसिअलाइजेेेसन हुन्छ । एउटा ठूलो विजनेस गर्ने बैंक सानो २०/३० हजारको व्यवसाय गर्नेमा फोकस हुन्छ त ? हुँदै हुँदैन । त्यसमा फोकस त्यही माइक्रो फाइनान्सको हुन्छ । हामीमा ‘फाइनान्सियल लिट्रेसी’को समस्या छ । जनताहरु वाणिज्य बैंकमा पनि त आउन सक्छन् । किन आउँदैनन् ? राष्ट्र बैंकले विभिन्न सेवा सुविधा र सहुलियत दिएको छ । किन आउँदैनन् ? आफुले केही नबुझने तर बिचमा बिचौलिया आए ।चर्को व्याज लियो भनेर हुन्छ त? त्यसकारणले माइक्रोफाइनान्सहरु त्यो ठाउँमा पुगेर हिजोका साहुबाहरुले लिने ६० प्रतिशत व्याजलाई अन्त्य गरेर १६/१७ प्रतिशत व्याज दिइरहेका छन् र ठगेका छैनन् । हिजो कयौंका घर खेत जान्थे । तर, आज त्यस्तो अवस्था छैन । मेरो भनाई त १६/१७ प्रतिशतबाट अझै पनि सस्तो भए त हुन्थ्यो नी तर सबै हिसाबले बुझ्नुपर्छ । फरकै प्रशंग, तपाइँले समसामयिक घटनाक्रमलाई पनि नजिकबाट नियाल्नु हुन्छ, अहिले नेपाली सेयरबजार उथलपुथल छ, अप–डाउनको सिलसिला बढेको छ । यसलाई कसरी नियाल्नु भएको छ ? मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसुचक उच्च विन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसुचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ । नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस ९प्रतिसेयर आम्दानी० लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ । यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घटबढ हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसुचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १०, ११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेन्स’ र ुविकासु भने सन्तोषजनक छ भन्नुपर्छ, सकारात्मक कुुुराहरु पनी हाईलाईट गन्र्नुपर्छ । अन्तिममा, सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताले के कस्ता विषयमा ध्यान दिन आवश्यक छ ? सेयर बजारमा लगानी गर्न चाहने व्यक्ति वा लगानीकर्ताले मुख्य ध्यान दिनु पर्ने विषय भनेको मैले कति समयमा लागि लगानी गर्दैछु भनेर बुझ्नु पर्छ । समय फिक्स गर्नु पर्छ । छोटै समयमा लगानी गरेर नाफा कमाउने हो वा लामो समयसम्म लगानी गरेर नाफा गर्ने हो । यी दुई कुरामा लगानीकर्ताले आफुलाई फिक्स गर्नुपर्छ । लामो समयका लगानी गर्ने हो भने कम्पनीको प्रोफाइल राम्रो भएको, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) र डिभिडेन्ट पर सेयर (डीपीएस) राम्रो दिन सक्ने कम्पनी, कम्पनीको म्यानेज्मेन्ट राम्रो भएको र कम्पनीको प्रोस्पेक्टस राम्रो भएको लगायतका आधारभुत विषयहरु अध्ययन गरेर लगानी गर्नु पर्छ । यस्तो कुराहरु अध्ययन गरेर लगानी गर्यो भने कुनै न कुनै समयमा यस्ता कम्पनीले राम्रो प्रतिफल दिन्छन् । अब तत्कालिन रुपमा अर्थात सर्टटर्ममै नाफा चाहिएको हो भने मार्केटको इन्फरमेसन अनुसार नै चल्नु पर्ने हुन्छ । ट्रेड पनि त्यही अनुसारको गर्नु पर्छ । अर्को महत्वपूर्ण कुरा भनेको लगानीकर्ताले रियलाइजेसनको लिमिट राख्न आवश्यक छ । बजारमा ठूला लगानीकर्ता र म्युच्युअल फण्डहरुको पनि भूमिका रहन्छ । उनीहरुले बजार तल माथि गयो भने अलि होल्ड गर्ने भन्दा पनि उनीहरु बजार घट्न थाल्यो भने साना लगानीकर्ता भन्दा पनि पहिला आँतिन्छन् । म्युच्युअल फण्डको पनि बजारमा धेरै भूमिका र योगदान गर्न सक्छन् । तर, यहाँ सबैलाई नाफा नै चाहिएको छ । त्यस कारणले यी विविध विषयहरुमा सुधार हुन आवश्यक छ । कम्पनीको सम्पूर्ण विषयवस्तु अध्ययन गरेर गरेको लगानीले कुनै पनि समयमा राम्रो प्रतिफल त पक्कै दिन्छ । हल्लाहल्लैको भरमा लगानी गरेको हो भने त सेयरबजार जुवाघर जस्तै हुन्छ । बुझेर गरेको लगानी हो भने हाम्रो जस्तो क्यापिटल मार्केटमा लगानीकर्ता पछुताउनु पर्ने अवस्था आउँदैन । बजार तल माथि भइरहन्छ नी हरेक दिन लगानीको मार्क टु मार्कट गर्दै कहिले उफ्रिने त अर्को दिन हतासिने लगानीकर्ताले बजारमा गुमाउछन अनि बजारलाई झन तलमाथि हुन मद्दत गर्छन । विश्ववास आफ्नो लगानीमा हुनुपर्छ ।