कीर्तिपुरमा साथीको हत्या, आरोपित फरार
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ । बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।' प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
सुकुम्बासी बालबालिकालाई विद्यालय जोड्दै महानगर, ५२ जना आजदेखि स्कुल जाँदै
काठमाडौं । राधास्वामी सत्संग व्यास आश्रममा आश्रय लिइरहेका बालबालिकामध्ये ५२ जना आजदेखि विद्यालय जान थालेका छन् । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले अभिभावक र विद्यार्थीसँग परामर्श गरी उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि वडा नं. १४ स्थित जन विकास माध्यमिक विद्यालयमा भर्ना गराइएको हो । उक्त विद्यालय आश्रमबाट पैदल दूरीमै रहेको छ । नदी किनारमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारका घर टहरा हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगल लगायत क्षेत्रबाट स्थानान्तरण गरिएका ६६ परिवारका २०३ जना हाल आश्रममा बसिरहेका छन् । तीमध्ये ६२ पुरुष, ३ सुत्केरी र २ गर्भवती सहित ८० महिला, ३१ बालिका र ३० बालक रहेका छन् । विद्यालय उमेरका ५२ बालबालिकामध्ये ४ जनाले यस वर्ष एसईई दिएका छन् भने अन्यलाई नियमित अध्ययनमा जोडिएको छ । केही बालबालिकाले कम्प्युटर, सिलाइ-बुनाइ जस्ता सीपमूलक तालिममा पनि रुचि देखाएका छन् । महानगरपालिकाले यस्ता तालिमको व्यवस्था गर्ने तयारी गरेको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए । छात्रावासमा राखेर अध्ययन गराउने विषयमा अभिभावकहरूसँग समेत छलफल गरिएको छ । ३० जना अभिभावकले आफ्ना बालबालिकालाई छात्रावासमा राख्न इच्छा देखाएका छन् भने केहीले अनिच्छा व्यक्त गरेका छन् । शिक्षा विभागका अनुसार इच्छुक मध्ये ११ जना छात्रा र १९ जना छात्र छन् । विद्यार्थीका लागि आवश्यक पोशाक र शैक्षिक सामग्रीको विवरण पनि संकलन गरिएको छ । महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयसँग सहकार्य गरी आवाससहित निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रयास अघि बढाएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले प्याब्सन, एनप्याब्सन र हिसानका पदाधिकारीसँग छलफल गर्दै सहयोगको आग्रह गरेकी थिइन् । त्यसपछि सम्बन्धित संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सुकुम्बासी बालबालिकाको शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले योग्य र इच्छुक बालबालिकालाई छात्रावासमा राखी दीर्घकालीन रूपमा शिक्षा सुनिश्चित गर्ने योजना बनाएको जनाएको छ ।
७ दिनभित्र लालपुर्जासहित उपस्थित हुन काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र जग्गाको प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्रका जग्गाधनी तथा मोहीलाई आवश्यक कागजात लिएर ७ दिनभित्र उपस्थित हुन ताकेता गरेको हो । आयोजनाका अनुसार मनोहरा खोलाको बहाव २०२१ सालपछि परिवर्तन भएका कारण काठमाडौं महानगरपालिका-३२ मा दर्ता भएका केही जग्गा मनोहरा खोलाको पूर्वतर्फ पर्न गएका छन् । यससँग सम्बन्धित जग्गाधनी तथा मोहीहरूलाई आफ्नो जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कलसहित अन्य आवश्यक कागजात लिएर ७ दिनभित्र आयोजनाको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको हो । आयोजनाले आवश्यक कागजात समयमै बुझाउन र थप जानकारीका लागि कार्यालयमै सम्पर्क गर्न पनि आग्रह गरेको छ ।