उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

मनोज अधिकारी इलाम । माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् । एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ । गत वर्ष रु ३० लाख आम्दानी भएको थियो । यस वर्ष ७० लाख आम्दानी लिने लक्ष्य छ ।  कृषक निश्चल राईका अनुसार यसरी गाउँलेले सामूहिक खेती गरेको ६ वर्ष भयो । तर, समूह वा संस्था गठन गरिएको छैन । 'मलेसिया तीन वर्ष बसेर गाउँ फर्केपछि खेतीमा जाँगर चलेको हो ।' निश्चलले भने, 'हामी सबै युवा एकपटक विदेश गएर फर्किएकाहरू छौँ । खाडीमुलुकको रेमिट्यान्सले घर चलाउनुपथ्र्यो । अहिले गाउँमै आम्दानी छ । जीवनस्तर फेरिएको छ ।' छ वर्षअघि आठ हजार बिरुवा लगाएर सामूहिक खेती सुरु गरिएको थियो । अहिले गोलभेँडा ४५ हजार, अकबरे १५ हजार, भेडे खुर्सानी ७००, काँक्रा ५०० को हाराहारीमा लगाइएको निश्चलको भनाइ छ । समूह गठन नभए पनि आपसी समझदारीले अहिलेसम्म कुनै विवाद भएको छैन । 'सबै भेला भएर बैठक बस्छौँ । काम गर्ने तालिका बनाउँछौँ', कृषक सन्देश देवानले भने, 'सबै बिरुवा एकैपटक लगाउँदैनौँ । चरणबद्ध खेती लगाउँछौँ । पुससम्म सिजन–सिजनमा हुनेगरी खेती गरिन्छ । सबै काम सामूहिक हुन्छ । यसपटक ७० लाखभन्दा बढी आम्दानीको लक्ष्य छ ।'  उत्पादन भएका कृषिउपज बिक्री गर्न झापा लगिन्छ । तर, सरकारले कृषिजन्यउपजको दररेर नतोकेका कारण किसानले पाउने मूल्यको टुङ्गो हुँदैन । 'उत्पादन धेरै हुने भएकाले साना गाडीले उठाउँदैनन् । झापाका व्यापारीले मालवहाक गाडी पठाउँछन् । हामी सामान लिएर जान्छौँ । तर, मूल्य कति पाइने हो थाहा हुन्न', निश्चलले भने, 'कहिलेकाहीँ रु १० किलोले दिएर आउनुपर्छ । टमाटार कम्तीमा ४० र अकबरे न्यूनतम २५० भन्दा कम मूल्यमा बेच्नुपर्यो भने किसानलाई घाटा लाग्छ । उत्पादन लागत नै उठ्दैन । सरकारले दररेट कायम गरिदिए किसानलाई काम गर्न सञ्च हुन्थ्यो ।' नामसालिङ कृषि उत्पादनको उर्वर भूमि हो । यो ठाउँको इतिहास मलिलो ठाउँका रूपमा परिचित छ । यहाँका मानिसहरू अधिकांश पढेलेखेका पनि छन् । तर, सरकारले माटो परीक्षणसम्म गरेको छैन । 'कृषि ज्ञान केन्द्रले अब एक पटक यहाँको माटो परीक्षण गरिदिएर कुन माटोमा कुन कृषिउपज फस्टाउँछ भन्ने छुट्याइदिए हुन्थ्यो,' निश्चल भन्छन् । गाउँपालिकाले खाद्यान्नमा आत्मनिर्भर बन्न एक वडा एक उत्पादन कार्यक्रम गरिरहेको छ । छवटै वडामा विभिन्न खेती छनोट गरेर व्यावसायिक कृषक, कृषि फर्म, समूह वा सहकारीलाई अनुदान वितरण गरिरहेको छ । पालिकाले यस वडामा अकबरेखेती छनोट गरेको छ । गत वर्ष अकबरे किसानले अनुदान पनि पाए । किसानहरू स्थानीय सरकारको थोरै बजेटले अनुदान पर्याप्त नहुने बताउँछन् । प्रदेश र सङ्घीय सरकारले कृषिमा अनुदान बढाउनुपर्ने उनीहरूको माग छ । 'स्थानीय सरकारको बजेट कम हुन्छ । पुगेसम्म त दिएकै छ । तर, उपल्लो दुई वटा सरकारले कृषिमा अनुदान दिए हुन्थ्यो,' कृषक मङ्गेस देवानले भने । गाउँपालिकाका किसान सामूहिक खेती गरेर आर्थिक उपार्जन गर्न कम्मर कसेर लागेका छन् । गाउँपालिकाले सबै वडाका किसानलाई कृषि उत्पादनमा प्रोत्साहन थप्न अनुदान पनि दिइरहेको छ । यता माईजोगमाई–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामूहिक बचत तथा कृषि समूह छ । समूहले सामूहिक रूपमा बेसारखेती गर्छ । दुई वर्षअघि एक मन९४० केजी० बेसार रोपेर गत वर्ष २५ मन बीउ उत्पादन गरिएको थियो । यस वर्ष १२० मन उत्पादन हुने अनुमान छ ।  गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत गत वर्ष रु दुई लाख अनुदान दियो । यसपटक हिउँदे अधिवेशनबाट ड्राएर मेसिन र पिस्ने मेसिनका लागि रु दुई लाख ५० हजार अनुदान थप गरेपछि किसान उत्साहित भएका छन् । समूहले आफैँ उद्योग खोल्ने तयारी थालेको छ । अब, काँचो बेसारलाई गाउँमै प्रशोधन गरेर अन्तरराष्ट्रिय बजारमा पठाइनेछ । 'सामूहिक खेती गरेर आर्थिक उपार्जन गर्न ०८० सालमा २४ परिवारले समूह खोल्यौँ । दुई वर्षमा ३६ घर पुगियो,' समूहका सचिव सुमन बेगाले भने, 'रोङ गाउँपालिकाले उत्पादन गरेको कपुरकोट दुई जातको एक मन बेसार प्रतिकेजी रु ७० ले ल्याएर रोपेका थियौँ । खन्ने बेला हुन लाग्यो । एक सय २० मनसम्म फल्छ भन्ने अन्दाज छ ।'  बेसार दश रोपनी क्षेत्रफलमा रोपिएको छ । 'बेसार कटिङ मेसिन ल्याएका छौँ । मेसिनको क्षमता प्रतिघण्टा १०० देखि ३०० केजी छ । काँचो बेसार एक पटकमा ६० केजीसम्म सुकाउन सकिन्छ । पिस्नेले ३० केजी प्रतिघण्टा पिस्छ', सचिव बेगाले भने, 'जमिन लिजमा लिइएका छौँ । उद्योग स्थापना गर्ने तयारी छ । अब बेसार प्रशोधन गरेर प्याकेजिङ गरेपछि विदेशमा बिक्री गर्ने तयारी हो । स्थानीय बजार, काठमाडौँ र विदेशमा हङकङ मुख्य बजार हुन्छ ।' समूहले यसपटक च्याउखेती पनि सुरु गरेको छ । 'चार सय केजी उत्पादन भयो । दुई सय प्रतिकेजीले बिक्री गर्यौँ । अर्को साल बढाउँछौँ,' अध्यक्ष जयबहादुर लिम्बूले भने । गत वर्षदेखि गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । एउटा वडामा एक उत्पादन बढाउने र गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर सुरु गरिएको अभियानअन्तर्गत वडा नं ५ लाई बेसारखेती छनोट गरिएको थियो ।  गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेका अनुसार स्थानीयस्तरमा उत्पादन हुन सक्ने कृषिउपजको उत्पादन वृद्धि गरी खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको हो । 'व्यावसायिक उत्पादन गर्ने कृषक तथा फर्महरूलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ', अध्यक्ष थेबेले भने, 'वडा नं १ मा रुख टमाटर, २ नं मा जडीबुटी, ३ नं मा कुखुरापालन, ४ र ६ नं मा खुर्सानी (अकबरे) र ५ नं मा बेसारखेतीमा अनुदान दिइएका छौँ ।' अध्यक्ष थेबेका अनुसार गत वर्ष छ वटा वडाका कृषक, कृषि फर्म, समूह तथा सहकारीमा गरी ६७ जना उद्यमीलाई रु १५ लाख अनुदान वितरण गरिएको थियो । पहिले कार्यक्रमको सूचना आह्वान हुन्छ । प्रस्तावना मागेर स्थलगत अवलोकन गरेपछि आर्थिक समितिले निर्णय गर्छ । प्राथमिकताका आधारमा अनुदान वितरण हुन्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पनि यो कार्यक्रम महत्त्वपूर्ण छ । गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत गाउँमै उत्पादन बढाएर आत्मनिर्भर बन्ने र विदेश जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने कार्यक्रम गरिरहेको छ । गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । यसका लागि दुग्ध तथा घ्यू प्रशोधन, कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो । गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा बिस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम रु तीन लाखसम्म अनुदान दिएको थियो । गाउँपालिकाका उपाध्यक्ष प्रवीना राईले भनिन्, 'व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो ।' पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिइएर उत्कृष्ट छ व्यवसायलाई प्रोत्साहित गर्न नगद अनुदान दिइएको थियो । वडा नं १ की पार्वती भट्टराईले सञ्चालन गर्नुभएको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ । त्यसैगरी वडा नं ३ का रुद्रकुमार सञ्जेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गरेको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो । यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिएका छन् । अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिइने उपाध्यक्ष राईले बताइन् । बिस्कुट उत्पादनमा रु दुई लाख अनुदान पाएकी पार्वती भट्टराई थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताउँछन् । यो गाउँपालिकामा पशुपालन धेरै छ । प्रतिदिन ३० हजार लिटर दुग्ध उत्पादन हुने गरेको अध्यक्ष थेबेको भनाइ छ । गाउँपालिकाले पशुमा खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइरहेको छ । गाउँपालिकामा आलु, अदुवा, अलैँची, अकबरे, ओलन, अम्रिसो, दुग्ध उत्पादन बढी हुने गरेका छन् । रासस 

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं । काठमाडौं महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।  शुक्रबार वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरिएको हो ।  हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा न २३ वडाध्यक्ष मचाराजा महर्जन, सदस्यहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरुले बाजागाजासहित उत्सव गरेका थिए ।  त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले मूर्तिहरुको सुन्दरता बस्ती र चोकहरुमा हुने बताए । “नेपाल मण्डलभित्रका मूर्तिहरु केवल आकृति मात्र होइनन् । यी हरेक मूर्तिमा प्राण हुन्छ । हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ । यी मूर्तिको संरक्षणका लागि स्थानीयहरु सचेत रहेका छन् । महानगरपालिकाका तर्फबाट हामीले गर्नुपर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्नेछौँ”, उनले भने ।      मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठूलो योगदान पुगेको अध्यक्ष महर्जनले उल्लेख गरे । राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गरे । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए ।      चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यसअघि कुमारी घरको तोरण र गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी/पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ ।      यसरी मूर्ति फिर्ता गराउन काठमाडौं महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरुसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ ।        सयुक्त अधिराज्य बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण २०८२ मंसिर ५ गते पुनःस्थापित गरिएको थियो ।       त्यस्तै २०८३ वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको थियो । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।       चोरी भएको मूर्ति बेलायत पुर्याइएको थियो । त्यहाँबाट २०५२ सालमा फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीको जुद्धजातीय कलाशालामा राखिएको थियो । त्यहाँबाट काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले मूर्ति बुझेर फिर्ता ल्याएका थिए ।  सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएकी थिइन् । 

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं । काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा शनिबार कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ ।      कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । 'स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ', उनले भने ।      सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।       वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ ।