कानुनमन्त्री सोविता गौतमको सम्पत्ति : १५ तोला सुन, बैंकमा १० लाख मौज्दात र दुईवटा गाडी
काठमाडौं । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री गौतमसँग सुन, चाँदी, नगद मौज्दात र सवारी साधन रहेको छ । गौतमले बैंक ब्यालेन्स स्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् । त्यस्तै, उनले दुईवटा बैंकबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । जस अनुसार, गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख गरेकी छिन् । एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले आफ्नो सम्पत्ति विवरणमा सवारी साधन खरिद गरेको विषय पनि उल्लेख गरेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख ऋण लिएर बा ०१-०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन् । उक्त सम्पत्ति प्राप्तिको स्रोत ऋण र तलब भएको सम्पत्ति विवरणमा उल्लेख छ । श्रीमान गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ । उक्त गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरेर खरिद गरिएको विवरणमा उल्लेख छ ।
अर्थमन्त्री वाग्लेको सम्पत्ति : ४ वटा घर, ४५ तोला सुन र साढे ३ करोड बढी ऋण
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणमा अर्थमन्त्री वाग्लेले पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन रहेको खुलाएका हुन् । त्यस्तै, उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् । उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् । वाग्लेको ४ जिल्लामा घरघडेरी र ४ जिल्लामा जग्गा रहेको छ । उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि बताएका छन् । त्यस्तै, उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बालेनसँग डेढ करोड बैंक ब्यालेन्स
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन् । उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । धानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।