पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय
काठमाडौं । पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । यसैगरी, सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । त्यस्तै, किरण पण्डितलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ ।
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेको हो । डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पाैडेल गभर्नरमा नियुक्त भएका थिए । भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काविल अर्थशास्त्रीका रूपमा परिचित छन् ।
उपराष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिपछि यादवलाई सोमबार (हिजो) राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यादवको स्वास्थ्य परीक्षणको रिपोर्ट नर्मल आएको र केही रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।