वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता वादी
काठमाडौं । सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी सीता वादी समुदायबाट पहिलो मन्त्री बनेकी हुन् । दलित समुदायभित्र पनि सामाजिक, आर्थिक रूपमा निकै पछाडि रहेको वादी समुदायले पहिलो पटक मन्त्री पाएको हो । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरको नयाँगाउँमा २०५२ साल भदौ १३ गते जन्मिएकी हुन् । सीताको बाल्यकाल आफ्ना बुवाआमासँगै भेरी नदीको किनारमा बालुवा चल्नमै बित्यो । अन्य वादी समूहजस्तै सीताको परिवार पनि भूमिहीन छ । गरिब परिवारमा जन्मेर पनि सीताले विद्यालयलाई भने निरन्तरता दिएकी थिइन् । घन्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता थियो । उनी १३ वर्ष हुँदा एउटा संस्थाको सहयोगमा उनी पढ्न काठमाडौं आउने अवसर जुर्यो । काठमाडौं आएपछि उनको जीवनले नयाँ मोड लियो । उनले काठमाडौंमा शिक्षामात्र पाइनन्, आत्मसम्मान र अधिकारको बारेमा पनि जान्ने बुझ्ने मौका पाइन् । उनी पढ्दै त्यहीँ संस्थामा काम गर्न थालिन् । पढ्दै दलित र गरिबका विरुद्ध आवाज उठाउँदै आएकी सीतालाई रास्वपाले समानुपातिक सांसदमात्र नबनाई मन्त्री नै बनाएकाे हाे ।
बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले उनलाई आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । बालेन मुलुकको ४० औं प्रधानमन्त्री हुन् ।
अमरेशले चाहेनन् मन्त्री बन्न
काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी अमरेशकुमार सिंहले आफू मन्त्री बन्न नचाहेको बताएका छन् । सिंहले आफू सुरुदेखि नै मन्त्री बन्न इच्छुक नभएको बताउँदै आएका थिए । निर्वाचनको समयमा पनि उनले आफूलाई मन्त्रीको चाहना नरहेको बताएका थिए । पछिल्लो बालेन्द्र शाह क्याबिनेटमा उनको नाम उद्योगमन्त्रीको रूपमा चर्चामा आएपछि उनले आफूलाई मन्त्री नबनाउन प्रधानमन्त्रीलाई जानकारी गराएको सिंह निकट स्रोतले बतायो ।