गुरुका कारण ‘सुधन बने, अहिले ‘गृहमन्त्री’

काठमाडौं । ‘गुरुलाई ढोग्थें । सम्मान गर्ने बानी पहिलेदेखि नै थियो । गुरुको कारण बनेको सुधन हुँ,’ करिब तीन महिनाअघि सुधन गुरुङले एक टीभी अन्तर्वार्ताका क्रममा भनेका थिए । तिनै गुरुङ आज मुलुकको गृहमन्त्री बनेका छन् । गुरुले समाज र राष्ट्रको महत्त्व बुझाउने तिनै गुरुङले आजदेखि गृह प्रशासनको बागडोर सम्हाल्ने छन् । गुरुङ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा १ बाट २९ हजार ८९६ मत पाएर विजयी भएका थिए ।  गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन् । यहीँ आन्दोलनले उनको जीवनमा राजनीतिक परिवर्तन ल्याएको हो  गुरुङको सक्रियता आन्दोलनपछि पनि  उत्तिकै थियो । उनले सरकार सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बनाउन अहम भूमिका खेलेका थिए । कार्की प्रधानमन्त्री बनेपछि उनले राष्ट्रपति कार्यालयमा खुट्टासमेत ढोगेका थिए। कार्की नेतृत्वको सरकारमा उनको हस्तक्षेपकारी भूमिका थियो । गुरुङको जन्म गोरखाको दुर्गम चुमनुम्रीमा २०४४ सालमा सामान्य परिवारमा भएको थियो ।आमासँग सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत गए । तीनजना काकामध्ये कान्छा काकाले सुधनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका हुन् ।  पढाइमा भने सुधन सफल हुन सकेनन् । कक्षा १० मा असफल भएपछि उनले पढाइ छाडे । सुरुमा कल सेन्टरमा काम गरेर सुधनले गुजारा चलाए । पाँच–छ वर्षपछि उनी ठमेलका क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुधन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए ।  ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए ।  उनले ‘हामी नेपाल’ नामको गैरसरकारी संस्था स्थापना गरे । यो संस्थाले २०७२ को भूकम्प, कोभिड महामारीमा काम गरेको थियो । विशेषगरी यसले युवा सशक्तिकरणमा काम गर्छ ।  सुधनको सम्पर्क राजनीतिदेखि व्यवसायीसम्म, विदेशी पाहुनादेखि एनजीओसम्म थियो। २०७२ सालको विनाशकारी भूकम्पमा वीर अस्पताल र ट्रमा सेन्टरमा शव र घाइतेको भीड बढ्दा गुरुङ उद्धारमा सक्रिय थिए । उनले स्वयंसेवक परिचालन गरी अस्पताललाई सहज बनाए । त्यहीँबाट उनले ‘सामाजिक अभियन्ता’को परिचय बनाएका हुन् । गुरुङ आफूलाई सामाजिक सेवामा आफ्नै खर्च गर्ने र पारदर्शितामा जोड दिन चाहन्छन् ।

निजामती प्रशासनभित्रका संयन्त्रहरूसँग पार्टीको संलग्नता नरहेको रास्वपाको प्रष्टोक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्र सक्रिय विभिन्न समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता कुनै पनि संरचनासँग पार्टीको आबद्धता, समर्थन वा संलग्नता नरहेको बताएका हुन् । विज्ञप्तिमा पार्टीको नाम र नेतृत्व जोडेर केही व्यक्तिहरूले स्वार्थ सिद्ध गर्न खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न आम कर्मचारी तथा सरोकारवालाहरूलाई बुर्लाकोटीले आग्रह गरेका छन्। ‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हार्दिक अपिल गर्दछौं।’ रास्वपाले पछिल्लो समय निजामती प्रशासनभित्र पार्टीको नाम जोडेर गतिविधि भइरहेको भन्ने सूचनाप्रति गम्भीर चासो व्यक्त गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

यस्तो बन्यो बालेन क्याबिनेट

बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् । उनी लोकतन्त्र पछिकै कान्छो प्रधानमन्त्री हुन् । उनीसँगै १४ जना मन्त्रीले पनि सपथ लिएर पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।  बालेको मन्त्रिमण्डलमा डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुदन गुरुङ गृहमन्त्री बनेका छन् । यस्तै, शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन् भने सोविता गौतम कानुन मन्त्री बनेकी छन् । यस्तै, शिक्षा मन्त्री सस्मित पोखरेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारण प्रतिभा रावल र सिता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् ।  यस्तै, विराज भक्त श्रेष्ठ उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, गनेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना मन्त्री बनेका छन् ।  दीपक शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गिता चौधरीले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । रक्षा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय बालेन आफैले सम्हाल्ने छन् ।