अहिलेको प्रधान दायित्व स्थिति सम्हाल्नु हो, राजीनामाभन्दा व्यवस्थापन आवश्यक छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा सम्बन्धमा उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक परिस्थितिमा नैतिक जिम्मेवारीभन्दा पनि स्थितिको व्यवस्थापन प्रमुख दायित्व भएको बताएका छन् ।  शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिलेको समय आवेगमा निर्णय गर्नेभन्दा संस्थागत ढंगले समस्या समाधान गर्ने समय भएको स्पष्ट पारेका छन् । उनले आगामी बैठकमा प्रारम्भिक समीक्षा, राजीनामासम्बन्धी पत्रमाथि छलफल तथा त्यसलाई अस्वीकृत गर्ने प्रस्तावसमेत पेश हुने जानकारीसमेत दिए । शर्माका अनुसार पार्टीभित्र उत्पन्न परिस्थिति सम्हाल्न नेतृत्वले संयमता अपनाउन आवश्यक छ ।  ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर अहिलेको प्रधान विषय नैतिक दायित्व स्थिति सम्हाल्नु हो,’ उनले  लेखेका छन् । शर्माले परिस्थितिको मूल्यांकन नगरी व्यक्तिलाई दोषारोपण गर्नु उचित नहुने धारणा पनि राखेका छन् ।  ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीको दोष बोकाउनु न्यायसंगत हुँदैन’ भन्दै उनले नेतृत्वप्रति लक्षित आलोचनालाई संयमित बनाउन आग्रहसमेत गरेका छन् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सवोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महत्त्वपूर्ण आदेश जारी गरेको छ ।  अदालतले बिहीबार (आज)  उक्त पार्टीका सभापति लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयबारे फाइल झिकाउन आदेश दिएको हो । यो आदेश महान्याधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै दिइएको हो ।  न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयले सबै प्रतिवादीविरुद्धको मुद्दा फिर्ता लिने भनी २ फागुनमा गरेको निर्णय पेश नभएको भन्दै उक्त निर्णय अनिवार्य रूपमा पेश गर्न आदेश दिएको छ । साथै इजलासले आगामी सुनुवाइका लागि ९ चैतमा पेसी तोक्दै हेर्न नमिल्ने न्यायाधीशबाहेकको इजलासमा मुद्दा पेश गर्न निर्देशन दिएको छ । आइतबारदेखि सुरु भएको सुनुवाइ तीन दिनसम्म हेर्दाहेर्दैमा राखेर निरन्तर बहस भएको थियो । यस मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।  रिट निवेदकहरूले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।

राप्रपाको संसदीय दलको नेतामा शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ।  बिहीबार (आज) पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । शाही जुम्लाबाट निर्वाचित भएका हुन् भने ओली  समानुपातिक सांसद हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ । दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।