कांग्रेसको प्रारम्भिक समीक्षा : पराजयको जिम्मा सामूहिक, सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन ०८२ मा दोस्रो दलमा खुम्चिएको नेपाली कांग्रेसले पराजयको प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै हारको जिम्मेवारी समग्र पार्टीले लिनुपर्ने निष्कर्ष निकालेको छ । उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक गरेको प्रतिवेदनले परिणामलाई ‘उच्च लोकतान्त्रिक संस्कृतिअनुरूप आत्मसात’ गर्ने उल्लेख गर्दै सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको जनाएको छ । प्रतिवेदनमा फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयभन्दा बढी कांग्रेसको पराजय प्रमुख तथ्य भएको उल्लेख गर्दै पार्टी समयमै रूपान्तरण गर्न असफल भएको स्वीकार गरिएको छ । ‘हामीले आफूलाई समयमै सम्हाल्न, बदल्न र मतदातामा सन्देश पुर्याउन सकेनौं,’ प्रतिवेदनमा भनिएको छ । कांग्रेसले विगतका निर्वाचन परिणामहरूको प्रवृत्ति औंल्याउँदै ०४६ पछिका आठ आमनिर्वाचनमा लगातार पहिलो र दोस्रो स्थानमा आलोपालो हुँदै आएको उल्लेख गरेको छ । यसलाई संयोग नभई गहिरो संरचनात्मक समस्या भएको ठहर गर्दै विस्तृत समीक्षा आवश्यक रहेको निष्कर्ष निकालिएको छ । यसैगरी, प्रतिवेदनले देशमा दीर्घकालीन राजनीतिक अस्थिरता, नेतृत्वमा दोहोरिने अनुहार र नीति–थितिको कमजोर कार्यान्वयनलाई पराजयका प्रमुख कारण मानेको छ । पछिल्लो ३४ वर्षमा २५ सरकार परिवर्तन भएको तथ्य प्रस्तुत गर्दै मतदातामा ‘स्थिर सरकारको खोजी’ बढेको उल्लेख गरिएको छ । सरकार फेरिए पनि प्रधानमन्त्रीमा उही अनुहार दोहोरिनु, गठबन्धन राजनीतिले सिर्जना गरेको वितृष्णा र प्रतिपक्षी भूमिका कमजोर बनाउनु कांग्रेसका रणनीतिक त्रुटिका रूपमा औंल्याइएको छ । विशेषगरी सत्ता–प्रतिपक्षबीचको अस्थिर भूमिकाले संसद बाहिर असन्तुष्टि बढ्न पुगेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा निर्वाचन परिणामलाई ‘लोकप्रियतावादको लहर’सँग जोड्दै मतदातामा असन्तुष्टि, निराशा र आवेगलाई आधार बनाएर मत उत्पादन भएको विश्लेषण गरिएको छ । सामाजिक सञ्जाल र ‘एल्गोरिदम’ को प्रभावले मतदाताको निर्णय प्रक्रियामा गहिरो असर पारेको उल्लेख गर्दै त्यसलाई समयमै सम्बोधन गर्न नसक्नु कमजोरी ठहर गरिएको छ । कांग्रेसले भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न नसक्नु, सार्वजनिक सेवामा ढिलासुस्ती र ुकर्म गर्ने तर प्रचार गर्न नसक्नेु पुरानो छवि परिवर्तन गर्न असफल हुनु पनि पराजयका कारणका रूपमा स्वीकार गरेको छ। त्यसैगरी, अत्यधिक राजनीतिकरण, गुटबन्दी, र ‘मेरिटोक्रेसी’ कमजोर हुनुका कारण नागरिकमा वितृष्णा बढेको निष्कर्ष निकालिएको छ । प्रतिवेदनले पुरानो संगठनात्मक संरचनाले नयाँ चुनौती सामना गर्न नसकेको उल्लेख गर्दै पार्टी पुनर्संरचना आवश्यक भएको जनाएको छ । उम्मेदवार चयनपछि केही नेताबाट भएको ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ ले पनि परिणाममा असर पारेको आरोप लगाइएको छ । त्यस्तै, प्रतिवेदनले ०७९ को स्थानीय निर्वाचन, संघीय निर्वाचन र तथाकथित ‘जेनजी विद्रोह’ लाई नागरिक असन्तुष्टिको क्रमिक अभिव्यक्ति मानेको छ । स्वतन्त्र उम्मेदवारहरूको उदय र नयाँ दलको प्रवेशलाई परम्परागत दलप्रति बढ्दो अविश्वासको संकेतका रूपमा विश्लेषण गरिएको छ । सभापति गगन थापाले नैतिक जिम्मेवारीस्वरूप दिएको राजीनामालाई ‘अवधि छोटो भएको’ र ‘परिस्थिति सम्हाल्ने दायित्व प्राथमिक भएको’ भन्दै केन्द्रीय समितिले अस्वीकृत गरेको छ । प्रतिवेदनमा नेतृत्व परिवर्तनभन्दा अहिले संगठन सुदृढीकरण र परिस्थितिको व्यवस्थापन महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । कांग्रेसले प्रतिनिधिसभामा दोस्रो दल भए पनि जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । ‘राम्रा काममा साथ र खराबीमा खरो विमति’ गर्ने नीति लिने उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा योगदान दिने बताइएको छ । प्रतिवेदनले पराजयलाई ‘विगत’ भन्दै अब नयाँ रणनीति, नयाँ सन्देश र संगठनात्मक सुधारमार्फत आगामी दिनमा विश्वास पुनःस्थापित गर्ने संकल्पसमेत व्यक्त गरेको छ ।
गगन थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरूको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नैतिकताका आधारमा दिएको राजीनामालाई पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने सदस्यहरूले पार्टीको वर्तमान परिस्थितिलाई सम्हाल्दै अघि बढ्न थापाकै नेतृत्व आवश्यक रहेको बताएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा विधिवत रूपमा बैठकमा पेस भएको र त्यसमाथि छलफल जारी रहेको जानकारी दिए । ‘सभापतिज्यूले नैतिकताको कुरा उठाएर राजीनामा दिनुभएको हो, तर बैठकमा धारणा राख्ने बहुसंख्यक साथीहरूले अहिलेको परिस्थितिमा राजीनामा स्वीकृत गर्न नहुने बताइरहनुभएको छ,’ उनले भने । ‘पार्टीलाई पुनर्निर्माण गर्ने र थप जिम्मेवारी लिएर अघि बढ्ने समय भएकाले उहाँको निरन्तरता आवश्यक रहेको साथीहरूको तर्क छ,’ उनले थपे । प्रवक्ता चालिसेले हालै सम्पन्न निर्वाचनको परिणामलाई सभापति थापाको व्यक्तिगत कमजोरीसँग जोड्न नहुने दाबी गरे । निर्वाचनको नतिजा लामो समयदेखिका विभिन्न परिस्थितिको उपज भएको उनको तर्क छ । ‘निर्वाचनको परिणाम कुनै एक व्यक्तिसँग मात्र जोडिएको विषय होइन,’ चालिसेले भने । ‘सभापतिले नेतृत्व सम्हालेको मात्र ५० दिन भएको थियो । ५० दिनको छोटो समयमा गरिएको मेहनत मात्र पर्याप्त नभएकाले यस्तो नतिजा आएको हो,’ उनले थपे । जारी केन्द्रीय समिति बैठकमा बाँकी सदस्यहरूले धारणा राख्ने क्रम अझै बाँकी रहेको र बैठक केही दिनसम्म चल्ने कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री कार्कीका दुई सल्लाहकारले दिए राजीनामा
काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा नदिँदै उनका दुई सल्लाहकारले भने पदबाट राजीनामा दिएका छन् । अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका हुन्। गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराएसँगै दुवैले राजीनामा दिएका हुन् । दुवैले फरकफरक मितिमा राजीनामा दिएका हुन् । खनाल पत्रकार हुन् भने तिमिल्सिना विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । जनसम्पर्क सल्लाहकार तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीप्रति आभार प्रकटसमेत गरेका छन् । उनले लेखेका छन्, ‘अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँले मलाई सिक्ने ठूलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रीको विद्यार्थी बन्न पाएँ, अत्यन्तै खुसी छु, किनकी त्यो विरलै अनुभव थियो ।’