रास्वपाको हालसम्म ४० जिल्ला ‘क्लिन स्वीप’, दुईतिहाइ बहुमतनजिक
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै देशको राजनीतिमा नयाँ इतिहास रचेको छ । ७७ मध्ये ४० जिल्लाका सबै निर्वाचन क्षेत्र जित्दै रास्वपाले क्लिन स्वीप गरेको छ भने देशव्यापी रूपमा दुईतिहाइ बहुमतनजिक पुगेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये मतगणना लगभग टुंगिन लाग्दा रास्वपाले १२२ सिट जितिसकेको छ । प्रत्यक्षमा दुईतिहाइका लागि आवश्यक ११० सिटभन्दा धेरै जित हासिल गर्दै रास्वपाले परम्परागत दलहरूको वर्चस्व तोडेको छ । यसअघि २०७९ को निर्वाचनमा रास्वपा २१ सिटसहित चौथो शक्ति बनेको थियो। त्यतिबेला प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ सिट जितेको थियो । तर छोटो समयमै पार्टीले देशव्यापी विस्तार गर्दै अहिले ठूलो राजनीतिक शक्ति बनेको छ । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को संयुक्त नेतृत्वमा चुनाव लडेको रास्वपाले यसपटक देशभर लहर नै सिर्जना गरेको विश्लेषण गरिएको छ । निर्वाचनअघि नै बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पार्टी चुनावी मैदानमा उत्रिएको थियो । रास्वपाको लहरका कारण परम्परागत दलहरू कमजोर बनेका छन् । नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ सिट जितेको छ र केही क्षेत्रमा अग्रता लिएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ७ सिट जितेको छ । नयाँ शक्ति श्रम संस्कृति पार्टीले पनि ३ सिट जितेर चासो बढाएको छ । यो पार्टीका नेता हर्क साम्पाङ को नेतृत्वमा केही समयअघि मात्रै गठन भएको थियो । स्वतन्त्रतर्फबाट महावीर पुन पनि निर्वाचित भएका छन् । देशका सातै प्रदेशमा रास्वपाको प्रभाव देखिएको छ। कोशी प्रदेशमा झापा, मोरङ, उदयपुर र ओखलढुंगासहित ४ जिल्ला क्लिन स्वीप भएका छन् । मधेश प्रदेशमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सासहित ६ जिल्ला क्लिन स्वीप भएका छन्। धनुषामा भने उम्मेदवारी खारेजको कारण विवादित अवस्था बनेको छ । बागमती प्रदेशमा काठमाडौंका १० वटै क्षेत्र, ललितपुर, नुवाकोट, चितवन, भक्तपुर, काभ्रे, मकवानपुरलगायत ११ जिल्ला क्लिन स्वीप भएका छन् । गण्डकी प्रदेशमा कास्की, तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत र लमजुङ गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । मनाङ र मुस्ताङ मात्रै कांग्रेसले जितेको छ । लुम्बिनी प्रदेशमा रुपन्देही, कैलाली, दाङ, गुल्मी, बर्दिया, नवलपरासी, अर्घाखाँची र प्युठान गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । सुदूरपश्चिममा कञ्चनपुर, बैतडी र डडेल्धुरामा ३ जिल्ला क्लिन स्वीप भएका छन् । कर्णालीमा भने कमजोर देशभर बलियो लहर देखिए पनि कर्णाली प्रदेशमा भने रास्वपा अपेक्षाकृत कमजोर देखिएको छ । १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत-२ मा मात्रै रास्वपाका रमेश सापकोटा विजयी भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ । प्रत्यक्षमा १२५ सिट नजिक पुगेको रास्वपाले समानुपातिकमा करिब ५९ सिट जिते स्पष्ट दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ । नेपालको इतिहासमा २०१५ सालको चुनावपछि मात्रै दुईतिहाइ बहुमत आएको थियो, जब नेपाली कांग्रेस ले १०९ मध्ये ७४ सिट जितेको थियो । अहिले भने दशकौं पुरानो राजनीतिक समीकरणलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले नयाँ राजनीतिक युग सुरु गरेको चर्चा हुन थालेको छ ।
कैलाली र कञ्चनपुरमा रास्वपाको क्लिन स्वीप, डडेल्धुरा र बैतडीमा पनि जित
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै कैलाली र कञ्चनपुरका सबै आठ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका ५ र कञ्चनपुरका ३ वटै क्षेत्रमा रास्वपा उम्मेदवारहरूले भारी मतान्तरसहित जित निकाल्दै पुराना दलहरूको प्रभावलाई लगभग समाप्त पारिदिएका छन् । यस्तै, पहाडी जिल्ला डडेल्धुरा र बैतडी मा पनि रास्वपा उम्मेदवार विजयी हुँदै सुदूरपश्चिममा पार्टीको प्रभाव थप बलियो बनेको छ । कैलाली-१ मा रास्वपाकी कोमल ज्ञवाली, कैलाली-२ मा केपी खनाल, कैलाली-३ मा जगतप्रसाद जोशी, कैलाली-४ मा रास्वपाका खेमराज कोइराला तथा कैलाली-५ मा कांग्रेसको परम्परागत गढ मानिने क्षेत्रमा रास्वपाका आनन्दबहादुर चन्द विजयी भएका छन् । यसैगरी, कञ्चनपुर-१ मा जनकसिंह धामी, कञ्चनपुर-२ मा पूर्वपत्रकार दीपक बोहरा तथा कञ्चनपुर-३ मा अर्का पूर्वपत्रकार ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् ।
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा निर्वाचित
काठमाडौं । सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजीव कोइरालालाई हराउँदै थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ५७ हजार ३४८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कोइरालाले १६ हजार ७१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका सुजन लामाले ८३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ मत पाए । सुनसरी-२ मा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।