कैलालीमा रास्वपाको क्लिनस्विप, २६ वर्षीय केपीको पनि जित
काठमाडौं । कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार केपी खनाल विजयी भएका छन् । २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे। खनालले चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन् । यसैगरी नेकपा (एमाले) का सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरेका छन् । कैलालीमा यसपटक रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ । यसअघि कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली-३ बाट जगतप्रसाद जोशी, कैलाली-४ बाट खेमराज कोइराला र कैलाली-५ बाट आनन्दबहादुर चन्द विजयी भइसकेका छन् । यससँगै कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ ।
अभियन्तादेखि मेयर हुँदै संसदीय यात्रा तय गरेका हर्क साम्पाङ
काठमाडौं । सुनसरी- १ मा श्रम संस्कृतिका उम्मेदवार हर्क साम्पाङ राई निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शरिन तामाङले २७ हजार २४९ सय मत पाएकी छन् । नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत र नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङले ३ हजार ९९० मत पाए । गत स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ राई २० हजार ८२१ मतसहित धरान उपमहानगरपालिकामा मेयर निर्वाचित भएका थिए । संघीय सांसद बन्न राईले मेयरबाट गत माघ ४ गते राजीनामा दिएका थिए । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका हर्क राई त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि साम्पाङ अफगानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनी स्वदेश फर्किएर सामाजिक अभियन्ता बनेका थिए । साम्पाङले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाईको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट अभियन्ताको रूपमा परिचय बनाएका थिए । । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको ख्याति फैलिँदै गएको थियो । सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्यूँ का त्यूँ रह्यो । साम्पाङले नै आयोजनाप्रति प्रश्न गरेका थिए । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रे । उनले श्रमदान गरेरै भए पनि पानी खुवाउन सफल भए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथितिविरुद्ध साम्पाङले आवाज बुलन्द पार्दै गए । अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि उनी निरन्तर खबरदारीमा लागि रह्यो । नागरिकका सानातिना समस्यामा उनले आवाज उठाइरहँदा अरूको साथ नपाए पनि धरानका स्थानीयको भने पूर्णसाथ पाए । साम्पाङको सर्दु जलाधार क्षेत्र संरक्षण अभियानमा पनि योगदान रहेको छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए । साम्पाङ २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । उनले ४२२ मत पाएका थिए । एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर भेटिइरहने साम्पाङले संसदीय यात्रासमेत सुरु गरेका छन् ।
रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल विजयी भएका छन् । पटेलले २७ हजार ३१८ मत प्राप्त गरेको निर्वाचन अधिकृत अबधेशप्रसाद कुशवाहले जानकारी दिए । सो क्षेत्रमा जनता समाजबादी पार्टीका गोबिन्द चौधरीले ११ हजार ९५४ प्राप्त गरे । साथै नेकपा (एमाले)का कुन्दन कुशवाहले छ हजार ६०५, नेपाली कांग्रेसका रामकृपाल यादबले छ हजार ४२० मत प्राप्त गरे । यस क्षेत्रमा कूल एक लाख ८ हजार ६९९ मतमध्ये ७६ हजार ६६९ मत खसेको थियो ।