सुदुरपश्चिममा रास्वपाको हालसम्म ५ क्षेत्रमा जित, को कहाँबाट ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदुरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ५ सिट जितेको छ । डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको गढ ढलेको छ । डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नैनसिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पछि पारे । त्यसैगरी, नेकपाका मानसिंह मालले ६ हजार ८३४ मत पाए भने एमालेका चक्र स्नेही ३ हजार २६ मतसहित चौथो स्थानमा रहे । कञ्चनपुरमा पनि रास्वपाले शानदार प्रदर्शन गर्यो । कञ्चनपुर-२ मा दीपक बोहरा ३३ हजार ९५२ मतसहित विजयी भए, कांग्रेसका नारायणप्रकाश साउँदले १० हजार ८२७ मत ल्याए भने एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरे । कञ्चनपुर-३ मा ज्ञानेन्द्र सिंह महताले २७ हजार ११८ मत ल्याएर कांग्रेसका हरि प्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले पराजित गरे । कैलालीमा पनि रास्वपाको प्रभुत्व देखियो । कैलाली-१ बाट कमोल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् । कैलाली-३ बाट जगतप्रसाद जोशी २० हजार ३५९ मतसहित फराकिलो अन्तरले जिते । कैलाली-५ बाट आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित निर्वाचित भए । यो जितसँगै रास्वपाले सुदुरपश्चिमका परम्परागत कम्युनिस्ट र कांग्रेसको गढमा आफ्नो प्रभुत्व स्थापित गरेको छ । अन्य क्षेत्रमा मतणना जारी छ ।
देशभरको मतपरिणाम अपेक्षा अनुसार छैन: नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इश्तियाक राईले जनताको विश्वासलाई कमजोर हुन नदिने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज नेपालगञ्जका आमजनतालाई सम्बोधन उनले देश र जनतालाई केन्द्रमा राखेर जनहित र समृद्ध मुलुक निर्माणमा सकारात्मक काम गर्ने प्रतिबद्धता जनाए । नवनिर्वाचिन सदस्य राईले भने, ‘मुलुकभरको पछिल्लो मतपरिणाम पार्टीले गरेको अपेक्षा अनुसार नभएको अवस्थामा बाँके-२ का जनताले आफूलाई जिताउनु भनेको यो क्षेत्रको समग्र विकासप्रति जनताको विश्वास हो, मैले यो विश्वासलाई कमजोर हुन दिनेछैन ।’ उनले जनता समक्ष गरेका सबै प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने बताउँदै विकासका बाँकी कामलाई पनि निरन्तरता दिने उल्लेख गरे । राईले २४ हजार ६२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेक कुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रवक्ता लालबहादुर कार्कीले जानकारी दिए ।
गोकुल बास्कोटा भन्छन्- हार-जित सामान्य हो, तर यहाँ हार्नेले होस नगुमाउन्
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले यसपालिको निर्वाचन परिणामलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले मत परिणामबारे हार्ने-जीत्ने दृष्टिकोणलाई सामान्य रूपमा लिनुपर्ने र निर्वाचनपछिको समीक्षालाई अत्यधिक महत्व नदिन सुझाव दिएका छन् । बास्कोटाले लेखेका छन्, ‘निर्वाचनपछिको समीक्षाको खास काम हुँदैन । तर भोलि के भन्ने प्रश्नको जवाफ खोज्न मद्दत भने गर्छ। मेरो विचारमा निर्वाचनपूर्वको समग्र तयारी मूल हो । निर्वाचन टोटल वार हो, व्यक्तिगत हार–जित सामान्य हुन् । एमालेले त्यो गुमायो । जितको भारीले जित्नेलाई नथिचोस्, हार्नेले होस नगुमाउन्, सबैको भलो होस् ।’ उनको सन्देशमा हार्ने-जीत्ने दुवै पक्षलाई संयम राख्न र लोकतान्त्रिक भलो सुनिश्चित गर्न जोड छ।