पालिका त्यागे, संघीय चुनाव हारे
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक दर्जनभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिए । पाँच वर्षका लागि निर्वाचित भए पनि कार्यकाल पूरा नहुँदै संघीय संसद्मा प्रवेश गर्ने लक्ष्यसहित पालिकाको जिम्मेवारी त्यागेर उम्मेदवारी दिएका ती जनप्रतिनिधिमध्ये अधिकांशले पराजय बेहोरेका छन् । पालिकाको प्रमुख पदबाट राजीनामा दिएका उम्मेदवारमध्ये काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ मात्र विजयी भएका छन् । भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका शाहले झापा क्षेत्र नम्बर ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावमा होमिएका थिए । उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पछि पार्दै जीत हासिल गरे । शाहले ६८ हजार ३६८ मत प्राप्त गरी विजयी हुँदा ओलीले १८ हजार ७२४ मत मात्र प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङले आफ्नै दल गठन गरी संघीय राजनीतिमा प्रवेश गरेका थिए । श्रम संस्कृति पार्टीबाट सुनसरी–१ मा उम्मेदवार बनेका हर्क विजयी भइसकेका छन् । साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरी जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शरिन तामाङले २७ हजार २४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । रेणुको अनपेक्षित पराजय झन्डै ३० वर्षे राजनीतिक जीवन बिताइसकेकी र चितवन महानगरमा ९ वर्ष विकास, समृद्धि र सुशासनका लागि समर्पित रेणु दाहालले प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिइन् । दुई कार्यकालसम्म मेयरमा विजयी भएकी दाहाल यसपटक पनि जनताको समर्थन पाउने आशामा थिइन् । तर चितवनबासीले नयाँ पुस्तालाई रोजे । चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेकी दाहाल २० हजार ६१५ मतसहित दोस्रो भएकी छन् । उनका प्रतिस्पर्धी रास्वपाकी सोविता गौतमले ५९ हजार २७७ मत प्राप्त गरी विजयी भएकी छन् । हारपछि दाहालले सामाजिक सञ्जालमा गौतमलाई बधाई दिँदै लेखेकी छन्, ‘मैले कामद्वारा तपाईंहरूको मन त जितें तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ उनले जनताको साथमा निरन्तर रहने वचन दिँदै भनिन्, ‘चितवनबासीको हक, हित, विकास र समृद्धिका लागि म निरन्तर साथमा हुनेछु ।’ अन्य उम्मेदवारहरू पनि पराजित पालिकाको जिम्मेवारी त्यागेर प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका रेणु दाहाल मात्र नभई अन्य जनप्रतिनिधिहरू पनि हार बेहोर्न बाध्य भएका छन् । दुई पटक स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष बनेका खिमबहादुर थापाले पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिए । उनी एमालेबाट स्याङ्जा–२ क्षेत्रबाट चुनाव लडेका थिए । ०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका थापा यसपटक तेस्रो स्थानमा सीमित भए । उक्त क्षेत्रमा रास्वपाका झविलाल डुम्रे २५ हजार २५४ मत ल्याएर विजयी भए भने थापाले १४ हजार १०८ मत प्राप्त गरेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले पदबाट राजीनामा दिएर उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालबाट बाँके–२ मा उम्मेदवारी दिएका थिए । तर उनले जीत हासिल गर्न सकेनन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार मोहम्मत इश्तियाक राई विजयी भए । उनले २४ हजार ६२८ मत ल्याएर विजयी भएका छन् । कमरुद्दिनले ९०८ मत ल्याएर छैटौंमा सीमित भए। कैलालीको टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारू पदबाट राजीनामा दिएर नेकपाबाट कैलाली–१ को उम्मेदवार बनेका थिए । ०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख निर्वाचित डगौराले यस पटक दल फेर्दै प्रतिनिधिसभा रोजेका हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका कोमल ज्ञवालीले १७ हजार ८२६ मत ल्याएर विजयी भए । डगौरा ८ हजार ३९२ मत ल्याएर तेस्रोमा सीमित भए । मोरङको रंगेली नगरपालिका प्रमुख दिलीपकुमार अग्रवालले नेकपा एमालेले मोरङ–२ बाट उम्मेदवार बनाएको थियो । दुई कार्यकाल नगर प्रमुख भइसकेका अग्रवाल एमाले केन्द्रीय सदस्यसमेत हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उनले १५ हजार ६२४ मत ल्याएर दोस्रोमा सीमित भए । उक्त निर्वाचन क्षेत्रमा कृष्ण कुमार कार्कीले ४० हजार ९२४ मत ल्याएर विजयी भएका छन् । इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट इलाम क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा जित हासिल गरेका थिए । यो चुनावमा उनले पनि जीत हासिल गर्न सकेनन् । २२ सय ९८ मत ल्याएर उनी पाँचौं स्थानमा सीमित छन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका काजी मान कागतेले ७ हजार ३१ मत ल्याएर विजयी भएका छन् । लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी एमाले केन्द्रीय सदस्य अस्मिता थापाले ओखलढुंगाबाट चुनावमा उठे पनि चौंथो स्थानमा सीमित भइन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका विश्वराज पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी भएका छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका थिए । उनले पनि जीतको खाता खोल्न सकेनन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत ल्याएर जीत हासिल गरेका छन् । राईले भने ९ हजार ४१४ मत ल्याएर दोस्रोमा सीमित भए ।
कैलालीमा रास्वपाको क्लिनस्विप, २६ वर्षीय केपीको पनि जित
काठमाडौं । कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार केपी खनाल विजयी भएका छन् । २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे। खनालले चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन् । यसैगरी नेकपा (एमाले) का सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरेका छन् । कैलालीमा यसपटक रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ । यसअघि कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली-३ बाट जगतप्रसाद जोशी, कैलाली-४ बाट खेमराज कोइराला र कैलाली-५ बाट आनन्दबहादुर चन्द विजयी भइसकेका छन् । यससँगै कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ ।
अभियन्तादेखि मेयर हुँदै संसदीय यात्रा तय गरेका हर्क साम्पाङ
काठमाडौं । सुनसरी- १ मा श्रम संस्कृतिका उम्मेदवार हर्क साम्पाङ राई निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शरिन तामाङले २७ हजार २४९ सय मत पाएकी छन् । नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत र नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङले ३ हजार ९९० मत पाए । गत स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ राई २० हजार ८२१ मतसहित धरान उपमहानगरपालिकामा मेयर निर्वाचित भएका थिए । संघीय सांसद बन्न राईले मेयरबाट गत माघ ४ गते राजीनामा दिएका थिए । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका हर्क राई त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि साम्पाङ अफगानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनी स्वदेश फर्किएर सामाजिक अभियन्ता बनेका थिए । साम्पाङले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाईको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट अभियन्ताको रूपमा परिचय बनाएका थिए । । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको ख्याति फैलिँदै गएको थियो । सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्यूँ का त्यूँ रह्यो । साम्पाङले नै आयोजनाप्रति प्रश्न गरेका थिए । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रे । उनले श्रमदान गरेरै भए पनि पानी खुवाउन सफल भए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथितिविरुद्ध साम्पाङले आवाज बुलन्द पार्दै गए । अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि उनी निरन्तर खबरदारीमा लागि रह्यो । नागरिकका सानातिना समस्यामा उनले आवाज उठाइरहँदा अरूको साथ नपाए पनि धरानका स्थानीयको भने पूर्णसाथ पाए । साम्पाङको सर्दु जलाधार क्षेत्र संरक्षण अभियानमा पनि योगदान रहेको छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए । साम्पाङ २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । उनले ४२२ मत पाएका थिए । एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर भेटिइरहने साम्पाङले संसदीय यात्रासमेत सुरु गरेका छन् ।