बैतडीमा रास्वपाका हरिमोहन भण्डारी अग्रस्थानमा, दामोदर भण्डारी तेस्रो
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनाको प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता दिलाएको छ । सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी ३६८ मतसहित पहिलो स्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्द २५८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका दामोदर भण्डारी १८७ मतसहित तेस्रो स्थानमा रहेका छन् । यस्तै, नेकपाका परमानन्द भट्टले ११४ मत प्राप्त गरेका छन् । राप्रपाका भुपेन चन्दले १० मत प्राप्त ल्याएका छन् । यसैगरी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले २, श्रम संस्कृत पार्टीका गजेन्द्रराज पाण्डेयले १, नेकपा (माओवादी) का रामबहादुर कुँवरले ९, र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १ मत ल्याएका छन् । अहिलेसम्म ७५ मत बदर भएका छन् । मतगणना जारी रहेकाले परिणाममा फेरबदल हुन सक्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार सम्पन्न मतदानमा बैतडीमा कुल ७३ हजार १४८ मत खसेको थियो। प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रारम्भिक मतगणनाले जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको संकेत गरेको छ ।
धनुषा–३ मा रास्वपाका मनिष झा अग्रस्थानमा
जनकपुर । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झाले अग्रता कायमै गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४ मत ल्याएका छन् । त्यस्तै नेकपा (एमाले) का जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् ।
गोरखा-२ मा कबिन्द्र बुर्लाकोटी अग्र स्थानमा, चक्रे मिलन ४ मतसहित चौथोमा
काठमाडौं । गोरखा २ मा प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कबिन्द्र बुर्लाकोटीले ७३ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले १३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले १० मत ल्याएका छन् । यस्तै, नेकपा एमाले चक्रे मिलन गुरुङले ४ मत मात्र प्राप्त गरेका छन् ।