झापा ५ मा बालेन ओलीभन्दा १० हजार बढी मतले अगाडि

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह १० हजारभन्दा बढी मतले अगाडि रहेका छन् ।  ताजा मतपरिणामअनुसार शाहले १३ हजार ६५४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसको उम्मेदवारले ४०३ र तारा चिन्हका उम्मेदवारले ३७० मत प्राप्त गरेका छन् ।

रुकुमपूर्वमा प्रचण्ड विजयी

काठमाडौं । रुकुम पूर्वमा पूर्वप्रधानमन्त्रीमध्ये नेकपा संयोजक पुष्पकमल दाहाल विजयी भएका छन् । दाहाल ११ हजार २ सय ८२ मतसहित विजयी भएका हुन् ।दाहाल लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । दाहालका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत पाए । त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार २ सय ८० मत पाउँदा रास्वपाका लखनकुमार थापाले ७९१ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २०१ मत ल्याए ।  पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित र काठमाडौं १० बाट पराजित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भए । पूर्वमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको आग्रहमा गोरखा २ मा गएर विजयी भएका थिए । तर विजय भएपछि दुई नेताबीच तिक्तता बढेको थियो । जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि २१ फागुन २०८२ को निर्वाचनका लागि उनी पूर्वी रुकुम पुगेका हुन् । 

काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी

काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । २४ हजार ५९२ मत ल्याएर भारी मतान्तरसहित श्रेष्ठ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा सुमन सायमीले ३ हजार २१७, कांग्रेसका सपना राजभण्डारी २ हजार ८३५, राप्रपाका नवीन शाहीले १ हजार ९०९, एमालेका राजेश शाक्यले १ हजार ३२८ मत ल्याएका छन् ।  यो क्षेत्रमा गएको निर्वाचनमा पनि श्रेष्ठ नै विजयी भएका थिए ।