देशभरको मतगणनामा रास्वपाको लहर: २० सिट जित्यो, ९९ निर्वाचन क्षेत्रमा अग्रता
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा बलियो प्रदर्शन गर्दै दुई तिहाइ बहुमततर्फ अग्रसर देखिएको छ । शनिवार बिहान ८ बजेसम्म रास्वपाले प्रत्यक्षतर्फ २० सिट जितिसकेको छ भने ९९ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ। अधिकांश क्षेत्रमा फराकिलो अग्रता भएकाले तीमध्ये धेरै सिट रास्वपाले जित्ने सम्भावना देखिएको छ । अहिलेसम्मको रुझान हेर्दा रास्वपा प्रत्यक्षतर्फ मात्र करिब १३० सिट नाघ्ने अवस्थामा देखिन्छ । यही अनुपातमा समानुपातिक मत प्राप्त भएमा उसले संसदमा दुई तिहाइ बहुमत हासिल गर्न सक्ने आँकलन गरिएको छ । मतपरिणामअनुसार विभिन्न प्रदेशका धेरै महत्वपूर्ण क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । विशेषगरी काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा पार्टीले क्लिन स्विपजस्तै नतिजा निकाल्दै बलियो उपस्थिति देखाएको छ । यी हुन् रास्वपाबाट हालसम्म विजयी उम्मेदवारहरू कोशी प्रदेशबाट मोरङ-४ सन्तोष राजवंशी मोरङ ६ रुबिना आचार्य मधेस प्रदेश धनुषा-३ मनीष झा महोत्तरी-१ प्रमोदकुमार महतो बागमती प्रदेश काठमाडौं-१ रन्जु न्यौपाने काठमाडौं-३ राजु नाथ पाण्डे काठमाडौं-४ पुकार बम काठमाडौं-५ सस्मित पोखरेल काठमाडौं-६ शिशिर खनाल काठमाडौं-७ गणेश पराजुली काठमाडौं-८ विराज भक्त श्रेष्ठ काठमाडौं-९ डोल प्रसाद अर्याल काठमाडौं-१० प्रदिप विष्ट चितवन-२ रवि लामिछाने गण्डकी प्रदेश स्याङ्जा-१ धनन्जय रेग्मी कास्की-२ उत्तम प्रसाद पौडेल कास्की-३ बिना गुरुङ लुम्बिनी प्रदेश रुपन्देही-४ कन्हैया बनिया बाँके-१ सुरेश कुमार चौधरी बाँके-३ खगेन्द्र सुनार
चितवन-२ मा रवि लामिछानेको ऐतिहासिक जीत, ५४ हजार ४०२ मतसहित आफ्नै पुराना रेकर्ड तोडे
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक भारी मतसहित निर्वाचित भएका छन् । उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् । लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् । कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्। तीन वर्षअघि भएका निर्वाचन पनि रवि लामिछानेले ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए ।
मोरङ–६ मा शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
मोरङ । मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए । उनले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९० मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी रहेका छन् ।