त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत प्रस्थान
काठमाडौं । भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाद्वारा यही साउन ८ सुरु भई १७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टीमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टिम हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
महिला फुटसलमा इको प्यानल नेपालको सहयोग
काठमाडौं । क्रिजल फुटसल क्लबले काठमाडौंमा गर्न लागेको दोश्रो खुला महिला फुटसल प्रतियोगितामा सहभागी हुने ख्वप किङ्ग्स भक्तपुरलाई नेपाल इको प्यानलले साथ दिने भएको छ । इको प्यानलले खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान गरेर साथ दिने भएको हो । प्रतियोगिता साउन १२ गते शुक्रबार काठमाडौंको रोभ फुटसल सेन्टर मण्डिखाटारमा हुने छ । प्रतियोगितामा पहिलो हुने टिमले ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै ३० हजार नगद पुरस्कार पाउने छन् । दोश्रो हुनेले ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै २० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ ।
चेस वर्ल्ड कपमा सहभागि हुँदै राष्ट्रिय चेस खेलाडी जैसवाल
काठमाडौं । नेपालका राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कप २०२३मा सहभागी हुने भएका छन् । स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवद्र्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित एफआईठीई चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो । एफआईठीई चेस वल्र्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाईदेखि २४ अगस्टसम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्र्तराष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने अवसरको रुपमा लिएको छ । कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोष मार्फत एफआईठीइ चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्ने छ । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउन विश्वास लिएको छ ।