देशको विचार नै एमालेको विचार हो : ओली
काठमाडौं । नेकपा एमालेको सांसदसँग अध्यक्ष कार्यक्रम सुरु भएको छ । कार्यक्रममा एमालेका राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । सांसदहरूलाई संशोधन गर्दै अध्यक्ष ओलीले सांसदहरूले देशको विचार बोल्नुपर्ने बताएका छन् । देशका विचार जे हो त्यही नै पार्टीको विचार हुनुपर्ने उनको भनाइ छ । विचार आधारित अनुशासन र एकता एमालेका सांसदहरूले संसदमा देखाउनुपर्ने ओलीले बताए। एमालेभन्दा प्रगतिशील र अनुशासित अरू पार्टी नभएको ओलीको दावीसमेत छ ।
ठमेलबाट खैरो हेरोइनसहित यादव पक्राउ
काठमाडौं । ठमेलबाट खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । बुधबार ठमेलको नरसिंह चोकबाट एक होटलमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका ८ का २९ वर्षीय रक्कीकुमार यादवलाई नियन्त्रणमा लिएको हो । होटलको कोठा नं ४०४ मा बसेको अवस्थामा २० ग्राम तौल भएको लागऔषध खैरो हेरोइन, नगद सात हजार रुपैयाँ र मोबाइलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार यादवमाथि थप अनुसन्धान भइरहेको छ ।
आगामी महासंघ निर्वाचनबारे मोरङ उद्योग व्यापार संघमा छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको चुनाव प्रचार–प्रसार टोलीसँग मोरङ उद्योग व्यापार संघले भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ । चैत्र १२ गते बिहीबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका विभिन्न प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघका अध्यक्षहरू सहभागी रहेको टोलीलाई संघमा स्वागत गरिएको थियो । कार्यक्रम मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव संजय कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा अध्यक्ष राठीसहित निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायत संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले प्रचार टोलीलाई स्वागत गरेका थिए । भेटघाट तथा छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको महासंघमा उत्तरदायी, अनुभवी र क्षमतावान नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । साथै, यस्तो नेतृत्व चयनका लागि मोरङ उद्योग व्यापार संघले आवश्यक साथ, सहयोग तथा समर्थन निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको जानकारी दिइएको थियो ।
शपथपछि रास्वपामा बढ्यो सक्रियता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल बैठक
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक गतिविधि तीव्र बनेको छ । शपथ सकिएलगत्तै पार्टीले आजै अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसको ठीक एक घण्टापछि ५ बजे संसदीय दलको बैठक बस्ने तय गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । शपथ ग्रहणपछि रास्वपाका केन्द्रीय सदस्यहरू कार्यालय पुग्ने क्रम निरन्तर जारी रहेको छ, जसले पार्टीभित्रको सक्रियता र निर्णय प्रक्रियाको गतिलाई संकेत गरेको छ । प्रवक्ता मनिष झाका अनुसार आजका दुवै बैठक अत्यन्त महत्त्वपूर्ण रहनेछन् । विशेषगरी संसदीय दलको नेतृत्व चयन, संसदभित्रको रणनीति तथा समसामयिक राजनीतिक विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ । संसदमा रास्वपा १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ ।
५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १३ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २९५० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाइ प्यानलको ७१ करोड, नेसनल हाइड्रोको ४६ करोड, रिडि पावरको ४५ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फोरेस्ट, सोलु हाइड्रो र भुजुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
विद्युत ट्रिपिङ र अवरोधको समस्यामा उल्लेखनीय सुधार, तथ्याङ्कले देखायो उत्साहजनक नतिजा
काठमाडौं । छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र विद्युत रोकावट हुने समस्यामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ को तुलनामा आव २०८२÷८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने (ट्रिपिङ)को सङ्ख्या र रोकावटको समय उल्लेख्य मात्रामा घटेको देखिएको हो । प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारका कारण ट्रिपिङको सङ्ख्या घटेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनले विद्युत् ट्रिपिङको सङ्ख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रसस्त राहत दिएको विश्वास व्यक्त गरे । ‘एक वर्षअघि जति ट्रिपिङ हुन्थ्यो त्यसमा यो वर्ष उल्लेख्य सुधार भएको छ भन्ने तथ्याङ्कले पुष्टि गरेको छ,’ शाक्ले भने, ‘प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटिएर गरेको व्यवस्थापनसहितको कामको परिणाम हो यो । उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काममा प्राधिकरण निरन्तर खटिरहेको जानकारी दिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा १२९ पटक ट्रिपिङ भएको थियो । उक्त महिना ट्रिपिङका कारण ५९ घण्टा विद्युत् अवरोध भएको थियो । आव २०८२/८३ को सोही महिनामा ११५ पटक ट्रिपिङ हुँदा ४४ घण्टा विद्युत् अवरोध भएको थियो । आव २०८१/८२ को भदौमा १२८ पटक ट्रिपिङ हुँदा ६४ घण्टा विद्युत् अवरोध भएको थियो । त्यस्तै, आव २०८२/८३ को भदौमा ११५ पटक ट्रिपिङ हुँदा ४१ घण्टा विद्युत अवरोध भएको तथ्याङ्कले देखाउँछ । आव २०८१/८२ को असोजमा ११२ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८२/८३ को असोजमा ९८ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८१/८२ को कात्तिकमा ७१ पटक ट्रिपिङ हुँदा ३८ घण्टा, आव २०८२/८३ को सोही महिनामा ५९ पटक ट्रिपिङ हुँदा ३१ घण्टा विद्युत अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । आव २०८१/८२ को मङ्सिरमा ६८ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२/८३ को सोही अवधिमा ३२ पटक ट्रिपिङ हुँदा १४ घण्टा मात्रै विद्युत् अवरोध भएको तियो । आव २०८१/८२ को पुसमा ५९ पटक ट्रिपिङ हुँदा २८ घण्टा, चालु आवको सोही अवधिमा ५० पटक ट्रिपिङ हुँदा १३ घण्टा विद्युत् अवरोध भएको शाक्यले उल्लेख गरे। आव २०८१/८२ को माघमा ५४ पटक ट्रिपिङ हुँदा २७ घण्टा, आव २०८२/८३ को माघमा ४४ पट ट्रिपिङ हुँदा १२ घण्टा, आव २०८१/८२ को फागुनमा ६६ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२/८३ को सोही अवधिमा ४७ पटक ट्रिपिङ हुँदा १२ घण्टा मात्रै विद्युत् अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । साउनदेखि फागुनसम्मको अवधिलाई हेर्दा २०८१/८२ को तुलनामा चालु आवमा ट्रिपिङ उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । सात वटै प्रदेशको तथ्याङ्कलाई हेर्दा पनि यही अवस्था देखिन्छ । चैत, वैशाख, जेठ र असारमा भने ट्रिपिङको समस्या अन्य महिनाको तुलनामा बढी हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवका ती महिनामा पनि ट्रिपिङ घट्नेमा पूर्ण आशावादी रहेको जनाएको छ । आव २०८१/८२ को चैतमा ८६, वैशाखमा १०९, जेठमा १५० र असारमा १५३ पटक ट्रिपिङ हुँदा क्रमशः ४२, ५७, ८४ र ६५ घण्टा अवरोध भएको थियो । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन चालिएका सकारात्मक कदमका कारण यो सम्भव भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङको समस्या बढेको भन्दै यो वर्ष पनि त्यही कारणले बढ्न सक्ने भए पनि यी महिनामा अघिल्लो वर्षको तुलनामा कम गर्ने तयारीमा प्राधिकरण जुटेको उनले जानकारी दिए ।
इभी अपग्रेड अवसरसहित एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल सुरु
काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल बिहीबारबाट औपचारिक रुपमा सुरु भएको छ । ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ । बिहीबारदेखि शनिबारसम्म काठमाडौंको सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौंबाहिर दिपल र नामीका आआफ्ना सोरुमा चल्ने मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोन, निःशुल्क बिमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्टेन्डेड वारेन्टी जस्ता लाभ प्राप्त गर्न सक्नेछन् । कार्निभलको पहिलो दिनमै उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको छ जसले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचीलाई प्रतिबिम्बित गर्दछ । नेपाल दिगो यातायाततर्फ तीव्र रुपमा अघि बढिरहेको बेला एमएडब्लु वृद्धि नवीन र ग्राहककेन्द्रित पहलमार्फत विद्युतीय सवारी स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेन्ज सुविधाहरुका कारण यो कार्निभलमा ग्राहकहरु आकर्षित भइरहेका हुन् । उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कानिर्भलमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरु समेत राखिएका छन् जसले सबै उमेर समूहका आगन्तुलाई रमाइलो र अन्तरक्रियात्म अनुभव प्रदान गरिरहेको छ ।
नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ गराएका हुन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा उनीहरूले शपथ लिएका हुन् । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । यसैबीच, दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेस ३८ सिटमा सीमित भएको छ भने नेकपा एमाले २५ सदस्यसहित तेस्रो स्थानमा झरेको छ । यस्तै, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४ सांसद प्रतिनिधि सभामा रहेका छन्। संसदमा एक जना स्वतन्त्र सदस्यसमेत छन् ।