राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी फोनलोन’ सेवा सुरु, बिना धितो एक लाखसम्म कर्जा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मोबाइल एप ‘आरबीबी डिजिटल संसार’ मार्फत प्रयोग गर्न मिल्ने डिजिटल लेन्डिङ सेवा ‘आरबीबी फोनलोन’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूले बिना धितो, बिना कागजी प्रक्रिया तथा बैंकमा भौतिक रूपमा उपस्थित नभई हाललाई एक लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । यो सुविधा बैंकमा तलबी खाता भएका ग्राहकहरूले खाताको कारोबारका आधारमा प्राप्त गर्नेछन् । कर्जा लिन इच्छुक ग्राहकहरूले आफ्नो खातासँग दर्ता भएको मोबाइल बैंकिङ सेवा प्रयोग गरी ‘आरबीबी डिजिटल संसार’ एपमार्फत आवेदन दिनुपर्नेछ । आवेदनपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।
सञ्चयकर्ता प्रमाणीकरण अब राष्ट्रिय परिचय प्रणालीमार्फत
काठमाडौं । कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कोष र विभागबीच बिहीबार सम्झौता भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे र कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले बिहीबार काठमाडौंमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताबाट कोषमा आवद्ध हुने र आवद्ध भइसकेका सञ्चयकर्ताहरूलाई नयाँ परिचयपत्र जारी गर्दा पहिचानको प्रमाणीकरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत हुने सुनिश्चित भएको छ । यसबाट प्रमाणीकरण पहिचानका लागि सञ्चयकर्ताहरू कोषमा भौतिकरूपमा उपस्थित हुनुपर्ने झन्झट समेत अन्त्य भएको छ । यसैगरी, कोषको सेवा प्रणालीलाई पूर्णरूपमा डिजिटल माध्यममा रूपान्तरण गर्न र सञ्चयकर्ता प्रमाणीकरण सम्वन्धी सेवालाई थप छिटो, सहज, भरपर्दो तथा विश्वसनीय बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै, सञ्चयकर्तालाई सेवा प्राप्त गर्दा लाग्ने समयको बचत हुनुका साथै प्रमाणीकरण सेवा प्रक्रियालाई थप पारदर्शी तथा विश्वनीय बनाई सञ्चयकर्ताको कोषसँगको कारोबार थप सुरक्षित हुने विश्वास गरिएको छ । यसैगरी, सम्झौता बमोजिम सञ्चयकर्ताको जनसाङ्खिक विवरण सम्बन्धी डाटा एनआईडीएमआइएस प्रणालीसँग कोषको प्रणाली एकीकरण गरी प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ । सोको लागि एनआईडीएमआइएस सँग सुरक्षित र व्यवस्थितरूपमा डाटा आदान–प्रदान गर्न सक्ने प्राविधिक संरचना निर्माण गरिनेछ । यसले सेवाग्राहीको पहिचान प्रमाणीकरणलाई थप सहज, छिटो र विश्वसनीय बनाउनेछ । सम्झौता कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले कर्मचारी सञ्चय कोषसँगको सम्झौताबाट आधुनिक प्रविधिको उपयोग मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन, नागरिकमैत्री शासन प्रणाली निर्माणमा योगदान पुर्याउन र डिजिटल नेपाल अभियानमा टेवा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे । कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले सूचना प्रणालीको एकीकरणबाट सरकारी तथा सार्वजनिक क्षेत्रका निकायहरूबीच समन्वय तथा साझेदारी बढाउन, सेवा प्रवाहमा दोहोरोपना हटाउन र दीर्घकालीनरूपमा कोषको लागत घटाउन तथा कार्यक्षमता बढाउन सहयोग पुग्ने बताए । कर्मचारी सञ्चय कोष आधुनिक प्रविधि र पारदर्शी व्यवस्थापनको माध्यमबाट आगामी दिनमा आफ्ना सेवाग्राहीलाई अझ गुणस्तरीय र झन्झटमुक्त सेवा प्रदान गर्न प्रतिवद्ध रहँदै आएको छ ।
नवनिर्वाचित सांसदको सपथ {तस्बिरहरु}
काठमाडाैं । गत २१ फागुनमा भएको निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । तस्बिरहरुः
देशको विचार नै एमालेको विचार हो : ओली
काठमाडौं । नेकपा एमालेको सांसदसँग अध्यक्ष कार्यक्रम सुरु भएको छ । कार्यक्रममा एमालेका राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । सांसदहरूलाई संशोधन गर्दै अध्यक्ष ओलीले सांसदहरूले देशको विचार बोल्नुपर्ने बताएका छन् । देशका विचार जे हो त्यही नै पार्टीको विचार हुनुपर्ने उनको भनाइ छ । विचार आधारित अनुशासन र एकता एमालेका सांसदहरूले संसदमा देखाउनुपर्ने ओलीले बताए। एमालेभन्दा प्रगतिशील र अनुशासित अरू पार्टी नभएको ओलीको दावीसमेत छ ।
ठमेलबाट खैरो हेरोइनसहित यादव पक्राउ
काठमाडौं । ठमेलबाट खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । बुधबार ठमेलको नरसिंह चोकबाट एक होटलमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका ८ का २९ वर्षीय रक्कीकुमार यादवलाई नियन्त्रणमा लिएको हो । होटलको कोठा नं ४०४ मा बसेको अवस्थामा २० ग्राम तौल भएको लागऔषध खैरो हेरोइन, नगद सात हजार रुपैयाँ र मोबाइलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार यादवमाथि थप अनुसन्धान भइरहेको छ ।
आगामी महासंघ निर्वाचनबारे मोरङ उद्योग व्यापार संघमा छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको चुनाव प्रचार–प्रसार टोलीसँग मोरङ उद्योग व्यापार संघले भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ । चैत्र १२ गते बिहीबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका विभिन्न प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघका अध्यक्षहरू सहभागी रहेको टोलीलाई संघमा स्वागत गरिएको थियो । कार्यक्रम मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव संजय कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा अध्यक्ष राठीसहित निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायत संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले प्रचार टोलीलाई स्वागत गरेका थिए । भेटघाट तथा छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको महासंघमा उत्तरदायी, अनुभवी र क्षमतावान नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । साथै, यस्तो नेतृत्व चयनका लागि मोरङ उद्योग व्यापार संघले आवश्यक साथ, सहयोग तथा समर्थन निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको जानकारी दिइएको थियो ।
शपथपछि रास्वपामा बढ्यो सक्रियता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल बैठक
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक गतिविधि तीव्र बनेको छ । शपथ सकिएलगत्तै पार्टीले आजै अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसको ठीक एक घण्टापछि ५ बजे संसदीय दलको बैठक बस्ने तय गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । शपथ ग्रहणपछि रास्वपाका केन्द्रीय सदस्यहरू कार्यालय पुग्ने क्रम निरन्तर जारी रहेको छ, जसले पार्टीभित्रको सक्रियता र निर्णय प्रक्रियाको गतिलाई संकेत गरेको छ । प्रवक्ता मनिष झाका अनुसार आजका दुवै बैठक अत्यन्त महत्त्वपूर्ण रहनेछन् । विशेषगरी संसदीय दलको नेतृत्व चयन, संसदभित्रको रणनीति तथा समसामयिक राजनीतिक विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ । संसदमा रास्वपा १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ ।
५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १३ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २९५० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाइ प्यानलको ७१ करोड, नेसनल हाइड्रोको ४६ करोड, रिडि पावरको ४५ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फोरेस्ट, सोलु हाइड्रो र भुजुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।