इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ विजेतालाई सम्मान गर्यो
काठमाडौं । राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ । चालक साझेदारहरूको उत्साहजनक सहभागितासहित सञ्चालन गरिएको उक्त अभियान १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म तीन सातासम्म चलेको थियो । अभियानको उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्नु रहेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत साप्ताहिक चुनौती, प्रोत्साहन कार्यक्रम तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत उत्कृष्ट चालक साझेदारहरूको योगदानको कदर गरिएको थियो । ग्रान्ड पुरस्कारतर्फ टाटा एक्सप्रेस टी ईभी (क्याब चालक श्रेणी) तुमबहादुर थापा मगर र टीभीएस राइडर (बाइकर/मोटो राइडर श्रेणी) अशेष मगर विजेता बने । ग्रान्ड पुरस्कारबाहेक अभियानमा विभिन्न साप्ताहिक पुरस्कार पनि वितरण गरिएको थियो । जसअन्तर्गत १५ जनालाई रेडमी नोट १४ फाइभजी स्मार्टफोन, ३० जनालाई ब्लुटुथ इयरबड्स, ३० जनालाई स्मार्ट वाच तथा १,५०० जनालाई पेट्रोल भौचर प्रदान गरिएको कम्पनीले जनाएको छ । पुरस्कार प्राप्त गरेपछि विजेता तुमबहादुर थापा मगरले आफ्नो मेहनत र समर्पणको कदर भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिन प्रेरणा मिलेको प्रतिक्रिया दिए । त्यस्तै अर्का विजेता अशेष मगरले अभियानले सेवा स्तर सुधार गर्न प्रेरित गरेको उल्लेख गरे । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले चालक साझेदारहरू कम्पनीको सफलताको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत चालकहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले चालक साझेदारहरूलाई समुदायका महत्वपूर्ण सदस्यका रूपमा सम्मान गर्दै निष्पक्षता, पारदर्शिता तथा रोजाइमा आधारित सेवामार्फत दिगो विकासतर्फ अघि बढ्ने जनाएको छ ।
कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा सेनाको विमान दुर्घटना हँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । कोलम्बियाका अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले जानकारी दिएअनुसार विमानमा सेनाका ११४ जवान र ११ जना क्रू सदस्य सवार थिए । यो अमेरिका निर्मित सी- १३० हरक्युलिस विमान थियो, जसको प्रयोग सैनिकहरूको आवतजावतका लागि गरिन्छ । यो विमान पुटुमायो प्रान्तको पुएर्तो लेगुइजामो सहर नजिक दुर्घटनाग्रस्त भएको हो । घटनास्थलमा पठाइएका आपतकालीन उद्धारकर्मीहरूले विमानको भग्नावशेषमा जीवित बचेकाहरूको खोजी गरिरहेका छन् । कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले पेरू सीमाना नजिक भएको यस घटनालाई ‘देशका लागि अत्यन्त दुःखद’ भएको बताएका छन् । सान्चेजले पछि जानकारी दिँदै विमानमा आगलागी भएपछि त्यसभित्र रहेको गोलाबारुद विस्फोट भएको बताएका छन्। एक सैन्य स्रोतले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार दुर्घटनामा कुल ६६ जनाको मृत्यु भएको छ । यो घटना कोलम्बियाली वायु सेनाको हालैको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक हो । स्थानीय सञ्चारमाध्यमहरूले घाइते सैनिकहरूलाई स्थानीय बासिन्दाहरूले साना मोटरसाइकलमार्फत अस्पताल पुर्याइरहेको दृश्य पनि देखाएका छन् । राष्ट्रपति गुस्ताभो पेत्रोले एक्समा लेखेका छन्, ‘यो भयानक दुर्घटना हुनु हुँदैनथ्यो ।’ यद्यपि, उनले दुर्घटनाको कारण स्पष्ट गरेका छैनन् । सेनाले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत जनाएको छ, ‘पुएर्तो लेगुइजामोमा भएको हरक्युलिस विमान दुर्घटनापछि घाइतेहरूको सहयोगका लागि हाम्रा सैनिकहरू घटनास्थलमा पुगेका छन् ।’ सेनाले आफ्नो पोस्टमा विभिन्न तस्वीरहरू सार्वजनिक गर्दै घाइतेहरूलाई विशेष उपचारका लागि सारिँदै गरेको जानकारी दिएको छ । सेनाले भनेको छ, ‘हामी सम्पूर्ण कोलम्बियाली जनताको एकता र उद्धार, सुरक्षा तथा राहत कार्यमा सहयोग गर्ने संस्थाहरू प्रति कृतज्ञ छौं ।’ यसैबीच, समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ कि सोमबार कोलम्बियाली वायु सेनाको एउटा विमान, जसमा १२५ जना सवार थिए, देशको दक्षिणी अमेजन क्षेत्रमा उडान भरेलगत्तै दुर्घटनाग्रस्त भएको हो ।’
बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) द्वारा पोखरामा ‘नाडा प्रेजेन्ट्स वडा अटो शो २०२६’ आयोजना हुने भएको छ । आयोजकका अनुसार यही चैत ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा अटो शो सञ्चालन गरिनेछ । पहिलो संस्करणको सफलतापछि दोस्रो पटक आयोजना गर्न लागिएको उक्त अटो शोमा सवारी साधन क्षेत्रका नवीन प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ । गण्डकी प्रदेशकै ठूलो अटो प्रदर्शनीका रूपमा लिइएको कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका चारपांग्रे, दुईपांग्रे, लाइट कमर्सियल तथा अन्य सवारी साधनहरू प्रदर्शनमा राखिनेछन् । साथै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अटो एक्सेसरिज तथा वित्तीय संस्थाका स्टलहरू समेत रहने आयोजकले जनाएको छ। प्रदर्शनीमार्फत सवारी साधन खरिद–बिक्री प्रवर्द्धन गर्नुका साथै अटो व्यवसायको विस्तार, क्षेत्रीय बजार सुदृढीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा नयाँ प्रविधि तथा नवप्रवर्तनबारे जानकारी गराउने उद्देश्यले विशेष ‘भिन्टेज कार शो’ र रोबोट प्रदर्शन समेत गरिनेछ। अटो शोमा ह्युन्डाई, किआ, टाटा, सुजुकी, निसान, एमजी, रोयल इन्फिल्ड, टीभीएस, यामाहा लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन सहभागी हुनेछन् । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ४५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रदर्शनीले अटो व्यवसायी, उपभोक्ता तथा उद्योगबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्दै आधुनिक यातायात प्रविधिबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
कपिलवस्तुमा निषेधाज्ञा हट्यो
काठमाडौं । कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नागरिकको जीवन सहज बनाउनुपर्ने भएकाले मंगलबार ९ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ । गत शनिबार २ बजेदेखि र सोमबार १ बजेदेखि जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा तोकिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार महाराजगंज नगरपालिका २ बर्गदामा भएको घटनालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा लाग्ने गरेर के भएको थियो ? शनिबार बिहान महाराजगञ्ज नगरपालिकाको बर्गदामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर विवाद हुँदा स्थिति उग्र बनेको थियो । मस्जिदमा नमाज पढिरहेको समयमा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाएको भन्दै दुई पक्षबीच झडप भएको थियो । स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । नमाज पढिरहेका समूहले मन्दिरमा गएर तार चुँडाएका र मुर्ति तोडफोड गरेका थिए । मन्दिर तोडफोड गरेपछि दुवै समुदायहरू दोहोरो झडपमा उत्रिएका थिए ।
विश्व क्षयरोग दिवस आज, ३ हप्ताभन्दा बढी खोकी लागे परीक्षण गराउन आग्रह
काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्यताका साथ मनाउन लागिएको हो । यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका साथ मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औषधि प्रतिरोधी उपचारका लागि ३१ वटा केन्द्र र ९८ वटा उपकेन्द्र सञ्चालनमा छन् । त्यस्तै, १४९ स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान विस्तार गरी सक्रिय बनाइएको छ । क्षयरोग प्राचीन कालदेखि मानव समुदायमा विभिन्न रोग र सङ्क्रमणका रूपमा लिने गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक बर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । तीन हप्ता वा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, बढी पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यचौकी गएर परिक्षण गराउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगको सङ्क्रमण सहजै हुन सक्दछ । जानकारहरूका अनुसार कमजोर रोगप्रतिरोध क्षमता भएका तथा धुमपान, मध्यपान वा लागुऔषध सेवन गर्नेमा यो रोगको सक्रमण हुन सक्छ । त्यस्तै, क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरेमा पनि सङ्क्रमण पुनः देखिन सक्छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुन्छ । यो रोग लाग्नुभन्दा लाग्न नदिन विशेष सचेतना अपनाउनुपर्छ । उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी क्षयरोग नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी भव्यताका साथ दिवस मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ । रासस
नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकको वित्तीय अभियान
काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा बैंकले चैत २ देखि चैत ८ गतेसम्म सातै प्रदेशका विभिन्न शाखामार्फत विद्यालय तथा क्याम्पसहरूमा वित्तीय सचेतनामूलक कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्राप्त गरेका थिए । कार्यक्रमअन्तर्गत केही विद्यार्थीलाई बैंक शाखा अवलोकन गराई बैंकिङ सेवा तथा सञ्चालन प्रक्रियाबारे व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति विकास, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको बैंकले जनाएको छ । एभरेष्ट बैंकका हाल करिब १४ लाख ग्राहक रहेका छन् । बैंकले देशभर १३३ शाखा, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा १६३ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सेवासहित बैंकले ३३ राजस्व सङ्कलन केन्द्रमार्फत सरकारी राजस्व सङ्कलन सेवा पनि सञ्चालन गर्दै आएको जनाएको छ । साथै भारतको नयाँ दिल्लीसहित विभिन्न मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गर्दै आएको बैंकले जानकारी दिएको छ ।
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
काठमाडौं । नबिल बैंक लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरुलाई अभिमुखीकरण गराएको हो । बैंकले विभिन्न शाखा कार्यालयमार्फत साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत कोशी प्रदेशका दुई हजार ६४, मधेश प्रदेशका एक हजार ३८१, बागमती प्रदेशका दुई हजार ६०८, गण्डकी प्रदेशका एक हजार २७८, लुम्बिनी प्रदेशका एक हजार ३३८, कर्णाली प्रदेशका एक हजार ५०४ र सुदूरपश्चिम प्रदेशका ९१४ विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ। वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ ।
लोकल मूला किलोको २० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १८०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ११०, परवर (तराई) प्रतिकिलो रु १३०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु १००, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ७०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु २४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २१०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, रुखकटहर प्रतिकिलो रु १२०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ३००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३५०, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ९०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।