विकासन्युज

वर्षाका कारण ३० इँटा उद्योगमा साढे ७ करोड बढी क्षति

काठमाडौं । गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ । इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पुर्याएको हो । सुकाउनका लागि राखेका इँटा पानीले भिजाएर माटोमा परिणत भएपछि व्यवसायी मारमा परेका छन् । अध्यक्ष वलीले जिल्लाको तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा रहेका प्रायः सबै इँटा उद्योगले ठूलो क्षति पुगेको बताए । हाल जिल्लाभरको क्षति विवरण सङ्कलन भइरहेको छ । प्रारम्भिक तथ्याङ्कअनुसार तुलसीपुर र घोराही क्षेत्रका २२ वटा उद्योगबाट मात्रै एक करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको समितिका कोषाध्यक्ष केवल खत्रीले जानकारी दिए ।  देउखुरी क्षेत्रका ८ वटा इँटा उद्योगमा पनि क्षति भएको  प्रारम्भिक  विवरण प्राप्त भएको छ । हरेक इँटा उद्योगका पाँचदेखि ६ लाखसम्म कच्ची इँटा नष्ट भएको जनाइएको छ । काँचो इँटा सुकाउने सुरक्षित व्यवस्था र प्रविधि नहुँदा आफूहरूका करोडौं रुपैयाँ लगानी गरी सञ्चालन गरेका इँटा उद्योगको लगानी डुब्ने खतरा रहेको व्यवसायी बताउँछन् ।  हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभर साढे ७ करोड रुपैयाँभन्दा बढी क्षति भएको इँटा व्यवसायी समितिका कोषाध्यक्ष खत्रीले बताए । ती उद्योगमा ३ हजार मजदुर कार्यरत छन् । 

मध्यपूर्व क्षेत्रमा हवाई प्रतिबन्धका कारण ६ वटा उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।  सोमबार जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान रद्द भएका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।  ‘मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्,’ उनले भने, ‘विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ ।’  महाप्रबन्धक सिटौलाले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर थप जानकारी लिन सबैमा आग्रह गरे । 

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । डोटीको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बोलेरो चालक आदर्श-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए ।  उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१-००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ बजेको समयमा दुर्घटनामा परेको थियो ।  दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए । यस्तै, झापास्थित कचनकवल गाउँपालिका-४ मा सवारी साधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राति बनियानीबाट लोधाबारी गइरहेको बीआर-११सी-३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए ।  उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सुवा ग्रोसरी, प्रमिसा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवा ग्रोसरी, प्रमिसा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो । विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, ललितपुर महानगरपालिका-१८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्य स्टोरलाई १० हजार रुपैयाँ र सूर्यविनायक नगरपालिका-६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ । विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकाय समेतको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

पर्यटन पूर्वाधारका २७ आयोजना, २ करोड ३० लाख रुपैयाँ बजेट

काठमाडौं र मुस्ताङका पाँच पालिकामा चालु आव २०८२/८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा २ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि २४ वटा आयोजना कार्यान्वयन गर्न एकीकृत सेवा कार्यालयलाई बजेट सुनिश्चित गरिएको हो भने बाँकी ३ वटा आयोजना प्रदेश सरकारअन्तर्गत कार्यान्वयन गर्ने गरी बजेट सुनिश्चित गरेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए । उनका अनुसार कार्यालयलाई धार्मिक तथा पर्यटकीयस्थलको मर्मत, स्तरोन्तिका लागि १ करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारबाट अख्तियारी प्राप्त ३ वटा आयोजनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवका लागि लोमान्थाङ गाउँपालिकामा ५, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २, घरपझोङ गाउँपालिकामा ९ र थासाङ गाउँपालिकामा ७ वटा आयोजना परेका एकीकृत सेवा कार्यालयले जनाएको छ । यसैगरी, प्रदेश सरकारबाट अख्तियारी प्राप्त भई कार्यान्वयनको चरणमा रहेका ३ आयोजनामध्ये थासाङ, घरपझोङ र लोमान्थाङ गाउँपालिकामा १/१ वटा परेका प्रमुख दर्जीले जानकारी दिए । धार्मिक तथा पर्यटन पूर्वाधारसम्बन्धी ५ वटा आयोजनाका लागि २५ लाख रुपैयाँ बजेट परेको छ । सोमध्ये लोमान्थाङमा रहेका ऐतिहासिक तथा धार्मिक ४ वटा गुम्बाको मर्मत तथा स्तरोन्नति र १ पर्यटकीयस्थलको पूर्वाधार स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन भएको उनको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चराङ गुम्बा मर्मत तथा स्तरोन्नति गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको जनाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २ आयोजनाका लागि १० लाख रुपैयाँ बजेट परेको छ । यहाँ बारागुङ मुक्तिक्षेत्र–४ तिरीस्थित गुम्बा मर्मत तथा स्तरोन्नति र बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि लोघेकर दामोदरकुण्डको ताङ्ग्या जाने पर्यटकीय पदमार्ग स्तरोन्नति गर्न उक्त बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिकामा ९ वटा आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट परेको छ । घरपझोङस्थित एयरपोर्ट पुथाङ भिरमा पर्यटकीय पूर्वाधार, जोमसोम पर्यटक पार्क निर्माण, इको म्युजियममा आवश्यक पर्यटकीय पूर्वाधार, छैरो छहरामा पर्यटन पूर्वाधार, ठिनी पर्यटकीय पूर्वाधार, ढुम्बाताल संरक्षण तथा सौन्दर्यीकरण, नीलगिरि भ्यू पार्क र रिसुम गुम्बा जाने पदमार्ग निर्माण गर्न उक्त बजेट परेको हो । थासाङ गाउँपालिकामा ७ आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यहाँ गुरुसाङ्बो धार्मिक क्षेत्रमा जीर्ण अवस्थामा रहेको ध्यान गर्ने कोठा निर्माण, नाखेधारा झरना पर्यटन पूर्वाधार निर्माण र छाक्ताङदेखि खल्ह्यु गोरेटो पदमार्ग निर्माण गरिने एकीकृत सेवा कार्यालयले उल्लेख गरेको छ । थासाङमा थकाली सामुदायिक ऐतिहासिक कोतघरको तला थप्ने, नाङसुङ गुम्बा मर्मतसम्भार, कालोपानी स्याकुप्रा पर्यटन मार्ग निर्माण र कालोपानी धुलो डाँडा भ्यू टावर पर्यटन मार्ग विस्तारलगायत आयोजना छन् । गण्डकी प्रदेश सरकारमार्फत यहाँस्थित एकीकृत सेवा कार्यालयले कार्यान्वयन गर्ने थासाङ गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पर्यटकीय पदमार्ग तथा पर्यटकीय पूर्वाधार निर्माणमा ४० लाख रुपैयाँ, घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा रहेको ठूला चट्टानमा मूर्तिकला र शालिग्रामलगायत आकृति निर्माणमा २० लाख रुपैयाँ र लोमान्थाङ–१ छोसेरस्थित झोङ केपमा पर्यटकीय पार्क निर्माणमा २० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख दर्जीले जानकारी दिए । 

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९७  पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा रहेको छ  । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।  त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

एसपीजी अटोमोबाइल्सले भित्र्यायो जेको जे–सिक्स टी, नेपाली माटो सुहाउँदो शक्तिशाली इलेक्ट्रिक एसयूभी

काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) को लहर मात्र चलेको छैन, यसले एउटा नयाँ उचाइ पनि लिइरहेको छ । अहिले ग्राहकले रुचाएको उत्कृष्ट ब्राण्ड हो, ओमोडा एण्ड जेको । यसले छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको छ । विशेषगरी ओमोडा ई-५, जेको जे-फाइभ सिक्सलगायतले उपभोक्ताहरूको मन जितिरहेको छ । बजारमा यसको माग उच्च देखिएपछि शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले बजारमा एक पछि अर्को गर्दै नयाँ भेरियन्ट थप्दै गएको छ । सोमबार एसपीजी अटोमोबाइल्सले चेरीको प्रिमियम ब्राण्ड जेको जे-सिक्स टी आधिकारिक रूपमा लन्च गरेको छ । ओमोडा ई-५ र जेकोको सफलतापछि भित्रिएको यो नयाँ संस्करण आधुनिक र साहसी जीवनशैली चाहनेहरूका लागि एउटा बलियो विकल्प हो । कम्पनीले नेपालमा विद्युतीय गाडीको प्रयोग ७५ प्रतिशतसम्म पुगेको अनुमान गर्दै बदलिँदो परिवेश र नेपाली सडकका चुनौतीहरूलाई मध्यनजर उक्त नयाँ गाडी बजारमा लिएको जनाएको छ।  जेको जे सिक्सलाई पहिलो नजरमा हेर्दा यसको बलियो र स्पोर्टी बनावटले जो-कोहीलाई पनि आकर्षित गर्न सक्छ । यसमा जडान गरिएको डिजिटल स्मार्ट लाइटले १०९ मिटर टाढासम्मको बाटोलाई छर्लङ्ग देखाउँछ । गाडीको पछाडिको भागमा राखिएको २३.५ लिटरको युटिलिटी बक्सले यसलाई थप उपयोगी बनाएको छ । विशेषगरी २५ देखि ६० वर्ष उमेर समूहका जो नयाँ प्रविधि र साहसिक यात्रा रुचाउँछन्, उनीहरूका लागि यो गाडी एउटा उत्कृष्ट रोजाइ हो ।  नेपाली सडकका खाल्डाखुल्डी र कच्ची बाटोहरू धेरै गाडीका लागि चुनौती बन्ने गर्छन् । तर, जेको जे सिक्स यसैको लागि तयार पारिएको हो  । २२५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले सडकका अवरोधहरूलाई सजिलै पार गर्नसक्ने कम्पनीको दावी छ । १३५ किलोवाटको शक्तिशाली मोटर र ३१ डिग्रीको डिपार्चर एङ्गलले गर्दा यसलाई कठिन उकालो र अफ-रोडमा गुडाउन निकै सहज हुन्छ ।  यसमा १५.६ इन्चको विशाल नियन्त्रण स्क्रिन र १.२ वर्गमिटरको सनरुफले यात्रालाई थप रोमाञ्चक बनाउँछ । चालक र यात्रुहरूका लागि विद्युतीय माध्यमबाट मिलाउन मिल्ने सिटहरू छन् । जसमा  भेन्टिलेसन र  मेमोरी सुविधाहरूले लामो यात्रामा पनि आरामदायी वातावरण सिर्जना गर्छ । आफ्नो इच्छाअनुसार गाडी चलाउन यसमा इको, कम्फर्ट, स्पोर्ट्स र कस्टम गरी ४ वटा मोडहरू उपलब्ध छन् । सुरक्षा यस गाडीको सबैभन्दा बलियो पक्ष हो । यसमा रहेको अत्याधुनिक सुरक्षा प्रणालीले ब्लाइन्ड स्पट डिटेक्सन र आपतकालीन अवस्थामा आफै ब्रेक लगाउने जस्ता सुविधामार्फत दुर्घटनाको जोखिम कम गर्छ । यसमा ५४० डिग्रीको क्यामेरा छ, जसले गाडी बाहिर मात्र होइन, गाडीको मुनिको भाग समेत स्क्रिनमा देखाउँछ । विद्युतीय गाडीमा सबैभन्दा ठूलो चिन्ता ब्याट्रीकै हुन्छ । जेको जे सिक्समा विश्वविख्यात (सीएटीएल) ब्याट्री प्रयोग गरिएको छ । एक पटकको फुल चार्जमा ४३१ किलोमिटर सम्म यात्रा गर्न सकिने यो गाडीलाई हतारको समयमा १० मिनेट मात्र चार्ज गर्दा पनि १०० किलोमिटर गुड्नसक्ने कम्पनीकाे दावी छ ।  सुरक्षाको हिसाबले पनि यो गाडी निकै भरपर्दो छ । यसले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । विश्वविख्यात चेरी अटोमोबाइल्सको प्रविधि र ज्यागुआर ल्याण्ड रोभरसँगको सहकार्यमा निर्माण भएकोले यसको गुणस्तरमा कुनै सम्झौता नगरिएको कम्पनीको दावी छ ।  कम्पनीका प्रबन्ध निर्देशक गौरव शारडाले २०२४ मा बजारमा आएको जेको जे सिक्सको सफलतापछि त्यसैको नयाँ भेरियन्ट नेपाली बजारमा ल्याएको जानकारी दिए । शाराडाले यो भेरिन्टलाई एक प्रिमियम लाइफस्टाइल उत्पादनको रूपमा चिनाए ।  गौरव शारडा । उनका अनुसार यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको भए तापनि सुरुवाती अफरअन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । जेको जे सिक्स टीका हाल देशभर रहेका १८ वटा डिलर नेटवर्कमार्फत खरिद गर्न सकिने शारडाको भनाइ छ । यस्तै, ग्राहकहरूको यात्रालाई झन्झटमुक्त बनाउन कम्पनीले देशभरका मुख्य राजमार्गहरूमा ३५ वटा आफ्नै चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए । यसैगरी, कम्पनीका भाइस प्रेसिडेन्ट रूपेश शर्मा भट्टका अनुसार नेपाली भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यसमा केही महत्त्वपूर्ण प्राविधिक सुधारहरू गरिएको छ ।  पहिले १८ इन्च रहेको टायरको साइजलाई बढाएर १९ इन्च पुर्‍याइएकाले सडकमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ । भट्टका अनुसार दुई वर्षको अवधिमा ओमोडा र जेकोका करिब २ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् । नेपाली उपभोक्ताको मन जित्दै नेपालको विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको कम्पनीको भनाइ छ । रूपेश शर्मा भट्ट । यसको आकर्षक डिजाइन, आधुनिक फिचर्स, बढ्दो चार्जिङ पूर्वाधार र रणनीतिक बजार प्रवर्द्धनले यसलाई नेपाली ईभी बजारमा अझै सशक्त बनाउने निश्चित छ । यो ब्राण्डलाई चीनको चेरी ब्राण्डले उत्पादन गर्ने गरेको छ । कम्पनीले ओमोडाबाहेक चेरी ब्राण्डकै आइकार भी टु थ्री र प्रिमियम तथा लग्जरी ईभी ब्राण्ड जीकरजस्ता अन्य विद्युतीय सवारी साधनहरू पनि नेपाली बजारमा बिक्री गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज बनाउन कम्पनीले चार्जिङ पूर्वाधारमा पनि लगानी गरिरहेको छ । हाल नेपालभरि ३५ भन्दा बढी स्थानमा ओमोडाका डिसी फास्ट चार्जरहरू सक्रिय छन् । यस आर्थिक वर्षभित्र शारडा ग्रुपको गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा १०० भन्दा बढी स्थानमा चार्जर स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।