रानीपोखरी पुनःनिर्माण विवादबारे महानगरले पुरातत्व र प्राधिकरणसँग समन्वय गर्ने
काठमाडौँ । आपसी विवाद चर्किएपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कायम गर्दै पर्यटकीय आकर्षण कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि सम्बन्धित निकायसँग समन्वय गर्न लागिएको हो । निर्माणाधीन रानीपोखरीमा आज बिहान उपप्रमुख खड्गी अवलोकन गर्न गएको समयमा केही संस्कृतिकर्मीले पोखरीभित्र जाने मूल ढोकामा ताला लगाइएपछि निर्माण कार्यमा अवरोध पुगेको थियो । दिउँसो प्रमुख शाक्यसहित महानगरको टोली पुगी ताला तोडिएको थियो । प्रमुख र उपप्रमुख एकैसाथ अवलोकनमा जाने र समस्या समाधानबारे निकासमा पुग्ने तयारी भए पनि उहाँहरु अलगअलग पुग्दा थप समस्या देखिएको हो । पहिलेको भन्दा पोखरी सानो बन्न नहुने तथा त्यहाँस्थित बालगोपालेश्वर मन्दिर निर्माण कंक्रिट प्रयोग गर्न नहुने आवाज संस्कृतिकर्मीले उठाउँदै आएका छन् तर प्रमुख शाक्यले आफू पनि त्यही पक्षमा रहेको दाबी गरे । प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्र्देशन दिनुभएको छ भने उपप्रमुख खड्कीले निर्माणको काम नियमविरीत भएकाले स्थगन गर्न आग्रह गरे । “सम्पदा सबैको हो । यसको पुनःनिर्माण चाँडै सकाउन हामी लागिपरेका छौँ । आज उपप्रमुख पनि सँगै जान पाएको भए विवाद हुने थिएन, पछि मैले छलफलका लागि बोलाउँदा उहाँ आउनुभएन”–प्रमुख शाक्यले भने, “यस विषयलाई चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढिनेछ ।” विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ मा राष्ट्रपतिबाट पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो । सम्झौताअनुसार कुल करिब रु सात करोड लागतमा पहिलो चरणको लागि गत कात्तिक मसान्तसम्ममा सकाइक्नुपर्ने सो निर्माण कार्य महानगर र ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीबीच आन्तारिक विवादका कारण ढिलाइ भएको हो । विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन स्थापना गरिएको इतिहासमा उल्लेख छ । रासस
समुदायीक लघुवित्तले ३ करोडको आईपीओ निष्कासन गर्न पायो अनुमति
काठमाडौं । सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले मंगलबार सामुदायिकलाई ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । साउनयता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सर्पोट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, पञ्चकन्य हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । यस्तै बुटबल पावर कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल ग्रामीण विकास बैंकले थप निष्कासन (एफपीओ) बजारमा ल्याउन बोर्डबाट अनुमति पाएका छन् ।
एभरेष्ट इन्स्योरेन्सलाई प्रमोटर सेयर ५१ प्रतिशत पुर्याउन बीमा समितिको निर्देशन
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सेयर संरचना बदल्न बीमा समितिले निर्देशन दिएको छ । समितिले ‘बीमकको संस्थापक शेयर कारोवार (खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६’ अनुसार बीमा कम्पनीमा संस्थापकको सेयर स्वामित्व ५१ प्रतिशत हुनैपर्ने व्यवस्था कार्यान्वयन गर्न मौखिक निर्देशन दिएको हो । हाल एभरेष्ट इन्स्योरेन्समा साधारण सेयरधनी मात्रै छन् । साधारण सेयरधनीकै रुपमा राजिव सापकोटाले कम्पनीको अध्यक्षता गरिरहेका छन् । एभरेष्टका संस्थापक लगानीकर्ताले संस्थापक सेयर कारोबार गर्ने सम्बन्धी निर्देशन आउनुअघि नै आफ्नो सेयर बेचेर साधारण सेयरमा परिणत गरिसकेका थिए । निर्देशन आएको करिब ९ बर्षपछि मात्रै समितिले कम्पनीलाई संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत कायम गराउन भनेको हो । ‘संस्थापक सेयर धनीको हिस्सा ५१ प्रतिशत कायम गराउन निर्देशन दिईसकेका छौं’, बीमा समितिका कानुन विभाग प्रमुख साम्भराज लामिछानेले विकासन्युजसँग भने । हाल १२ करोड १५ लाख चुक्ता पुँजी भएको इभरेष्ट इन्स्योरेन्सलाई नयाँ व्यवस्था अनुसार १ अर्ब रूपैयाँ पुँजी पुर्याउँदा ५१ प्रतिशत स्वामित्व कायम गराउन भनिएको हो । ‘अब कम्पनीले ७५ साल असार मसान्त भित्र १ अर्ब पुँजी पुर्याउँदा संस्थापकहरुको हिस्सा ५१ प्रतिशत बनाउनै पर्नेछ, र कम्पनीले त्यस्तो प्रतिवद्धता पनि व्यक्त गरिसकेको छ’, लामिछानले भने । एभरेष्टले चुक्तापुँजी बढाउन १ बराबर ६ अनुपातमा ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । एभरेष्टका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले संस्थापक सेयर संरचना कायम गराउनेबारे औपचारिक पत्र नआएपछि बीमा समितीसँग छलफल गरिएको बताए । ‘ समितिले सेयर स्वामित्वमा परिवर्तित व्यवस्था कसरी कायम गराउन सकिन्छ भनेर छलफल भएको छ’, गौतमले भने । उनले नियामक निकायले दिने विधिसम्वत निर्देशनहरु पालना गर्न कम्पनी तयार रहेको पनि स्पष्ट पारे ।
लक्ष्मी बैंकको सेवा अब भाइबरमा, के के छन् सुविधा
काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय भएको म्यासेजिङ्ग प्लाटफर्म–भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट”मा आबद्ध भए पछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिन्छ । विषेश गरी लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवाअन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्ट लगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु जस्तै बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँ कहाँ छन् भन्ने जानकारी, विदेशी मुद्राको विनिमयदर, जस्ता थुप्रै जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै यो सेवा बैंकको लक्ष्मी बैंक मोबाइल मनिको एक हिस्साका रुपमा उपलब्ध रहेको छ । लक्ष्मी बैंकको शाखा संजाल ७४, ३ हस्पिटल सेवा काउन्टर, ९५ ए टि एम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु छन् । सन् २००२ देखि लक्ष्मी बैंकले नविनतम् प्रविधिहरुको प्रयोग गर्दै आफ्नो बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ । यसै सिलसिलामा लक्ष्मी बैंकको डिजिटल बैंकिङ्ग सेवाअन्तर्गत भाइबर सेवाले ग्राहकहरुलाई सहज तरिकाबाट बैंकमा सुविधाहरु प्राप्त गर्ने विकल्प समेत प्रदान गरेको छ ।
विदेशमा गएर पुरस्कार लिन नेपाल राष्ट्र बैंकले लगायो अंकुश, विदेश भ्रमणको कार्यविधि बनाउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश गएर पुरस्कार लिन अंकुश लगाएको छ । केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गरी यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहायता, चन्दा वा कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सोको प्रतिफल स्वरुप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण गर्न नपाउने व्यवस्था गरेको छ । अबदेखि कुनै पनि विदेशी संस्थाबाट पुरस्कार लिनुपर्दा अनुमति लिनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । पुरस्कार दिने संस्थाको वैधानिक हैसियत तथा आधिकारिकताको पुष्टि हुने कागजात पेश गर्नुपर्ने छ । पुरस्कार लिन जादा हुने भ्रमण खर्चलाई मितव्यीतता बनाउनु पर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक सञ्चालक समिति अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को विदेश भ्रमणलाई थप व्यवस्थित बनाउन आउदो चैतभित्र कार्यविधि बनाई कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ । विदेश भ्रमणमा जादा भ्रमणको उपयोगितालगायतका विषयमा सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने, संस्थाका प्रमुख व्यक्ति विदेश जादा हुने खर्च र लाभ दुबैको विश्लेषण र खर्च मितव्यी हुनेपर्ने निर्देशनमा उल्लेख छ ।
टाटा मोटर्स्को नयाँ शोरुम जनकपुरमा, देशभर उत्कृष्ट शो रुम नेटवर्क बनाउने स्प्रदीको रणनीति
काठमाण्डौ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले आफ्ना उत्पादन विक्री वितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स्को नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रा.लिको जनकपुरका लागि आधिकारिक वितरक गिरिजा अटोमोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो । जनकपुरको मुजेलीयामा आज समुद्घाटित नयाँ शो रुम ३८०० वर्गफिट क्षेत्रफलमा फैलिएको छ जुनजनकपुरमै सबैभन्दा ठूलो हो । शो रुमको उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले भने–“नेपाल टाटा मोटर्सका लागि महत्वपूर्ण बजार रहेको छ र नयाँ शोरुमको सञ्चालन ग्राहकलाई किनाईको राम्रो अनुभूति दिलाउने दिशामा लिइएको प्रयत्न हो । टाटा मोटर्सले ग्राहकलाई केन्द्रि विन्दु मानेर सुविधा पुर्याउँदै आएको छ । नयाँ शो रुमको सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई उजागर गर्दछ । गिरिजा अटोमोवाइलर सिप्रदी टे«डिङको नेतृत्वमा यो शोरुमले यस क्षेत्रमा बिक्री, सेवा अनि ग्राहकको सन्तुष्टिमा नयाँ आयम कायम गर्ने विश्वास गरेका छौं । उद्घाटन समारोहमा बोल्दै सिप्रदी टे«डिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भने–“गिरिजा अटोमोवाईल र टाटा मोटर्ससँग सहकार्य नयाँ वितरक नियुक्ती हाम्रो देशभर सञ्जाल विस्तार गरी ग्राहकको नजीकपुग्ने प्रयत्नकै परिणाम हो । जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोर जस्ता उत्कृष्ट गाडीहरुको उपलब्धता सँगै उत्कृष्ट शो रुमको सञ्चालनले हाम्रा सवै ग्राहक राम्ररी लाभान्वित हुने विश्वास हामीले लिएका छौं ।’
हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, विदेशी कम्पनीहरुको उत्साहजनक सहभागिता हुँदै
काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामानउत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशीकम्पनीहरुको सहभागिता रहने छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने इपानको अध्यक्ष शैलेन्द्र गुरागाईले बताए । ‘दर्जनौं विदेशी तथा बहुरारष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुरयाउने हाम्रो विश्वास रहेको छ’ मगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गुरागाईले भने । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने आयोजक इपान नेतृत्वको दावी छ । एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन हुनेछन् । पहिलो दिन पुस २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुस २२ गते बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुस २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालन हुनेछन् । हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ । उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ र ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।
नेप्से २० अंकले घट्यो, लगानीकर्ता झुम्मिए नेपाल टेलिकम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा
काठमाडौं । मंगलबार नेप्से २० अंकले घटेको छ । दुई सातासम्म निरन्तर ओरालो लागेको नेप्से १५२० बाट ७३ अंक गिरेर मंगलबार १४४७ अंकमा झरेको छ । बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर ८५७ रुपैयाँ पुगेको छ । माहुली सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २४१ रुपैयाँले बढेर २६५५ रुपैयाँ पुगेको छ । नेप्से १.४१ प्रतिशतले घट्दा महुलीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । अन्य समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । बीमा समूहको परिसूचक १३८ अंकले घट्दा बैक समूहको परिसूचक १८ अंकले घटेको छ । बुधबार ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम र कारोबार भएको सेयर संख्या दुबैको आधारमा स्टयाण्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । टेलिकमको सेयर मूल्य ७ रुपैयाँँले बढेको छ भने स्टयाण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ६७ रुपैयाँले घटेको छ । मूल्य घटे पनि बढे पनि लगानीकर्ता यी दुई कम्पनीको सेयरमा झुम्मिएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस सेयर दिँदैछ भने नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ । सेयरको आपूर्तिमा वृद्धिका साथै व्याजदरमा आएको वृद्धिले सेयर बजार निरन्तर घटिरहेको देखिएको छ । वाम गठबन्धनले निर्वाचन जितेपछिको राजनीतिक तरङ्क र सरकार गठनमा भएको विवादले पनि बजारलाई नकारात्मक असर परेको लगानीकर्ताहरु बताउँछन् ।