विकासन्युज

नेपाल औषधी उद्योगले माघदेखि सिटामोल उत्पादन गर्ने,१ ट्यावलेटको १ रुपैयाँ

काठमाडौं । नेपाल औषधी उद्योग लिमिटेडले आउदो माघदेखि सिटामोल उत्पादन थाल्ने भएका छ । सिटामोल उत्पादनको काम सुरु गर्न ९० प्रतिशत काम सकिएको महाप्रवन्धक डा. रोमशकुसुम सुवेदीले बताए । उद्योगले पहिलो चरणमा गत वैशाखदेखि जीवनजल उत्पादन थालेको थियो । उनले सिटामोल प्रतिट्यावलेट १ रुपैयाँ पर्ने जानकारी दिए । गत वैशाखदेखि सञ्चालनमा आएको उद्योगले आउदो ६ महिनापछि विश्व स्वास्थ्य संगठनको असल उत्पादन प्रणाली (जीएमपी) को प्रमाणपत्र पाउने भएको छ । निजी कम्पनीसंग प्रधिस्पर्धा गर्न नसकेको र व्यवस्थापकीय कमजोरीका कारण बन्द रहेको नेपाल औषधी तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीको प्रयासमा सञ्चालनमा आएको हो । यसअघि उद्योगले सिटामोल, जीवनजललगायत विभिन्न ब्राण्डका औषधी उत्पादन गरेको थियो । सरकारले १४ करोड रुपैयाँ अनुदान दिएपछि नयाँ उपकरण खरिद गरी उद्योग सञ्चालनमा आएको हो ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित

परासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवा रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ आंै महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उक्त महाधिवेशनमा रामग्राम जेसीजको वर्ष २००९ का अध्यक्ष एवं नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बस्याल र ईटहरी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष महेश पौडेलबीच प्रतिस्पर्धा रहेको थियो । बस्यालले ६ सय ४८ मत प्राप्त गर्दै ९ मतान्तरले आफनो निकटतम प्रतिद्धन्द्धी पौडेललाई पराजित गरेका हुन् । करिब १ हजार ६ सय मतदाता रहेको महाधिवेशनमा सोमबार १० गते राती भएको मतदानमा १ हजार २ सय ७८ मत खसेको थियो । ईलेक्ट्रोनिक मेचिनद्धारा गराइएको मतदान नेपाल भरिका १ सय ३६ जेसीज शाखाका मतदाताहरुले मतदान गरेका थिए । भैरहवाको महेन्द्र सभागृहमा पुस ८ गते महाधिवेशनको उद्दघाट शत्र शुरु भई मंगलबार ११ गते विहान मात्र निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै अध्यक्ष बस्यालको नेतृत्वमा चयन भएको कार्यसमितिमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रेश्मी सिल्पकार, पदम बहादुर सिंह, अशोक शंकर, विकास मानन्धर गरि ४ जना निर्वाचति भएका छन् भने राष्ट्रिय उपाध्यक्ष पदमा बिजय घिमिरे, बिजय गुरुङ्ग, श्यामसुन्दर पौडेल, टेकराज रेग्मी, रन्जना चापागाई, गोविन्द देवकोटा, रश्मी निरौला, अमित ढकाल, जनकराज घिमिरे, सुमित शर्मा, राजेन्द्र घिमिरे, रबिन पोख्रेल गरि १२ जना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त समितिले निर्वाचन पश्चात नव निर्वाचति अध्यक्ष र विभिन्न पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।

हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको पुस २१ सम्म बुक क्लोज

काठमाडौं । चुक्तापुँजी बढाउनका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको सेयर रजिष्टार (बुक क्लोज) हुने भएको छ । बैंकको सञ्चालक समिति बैठकले २१ गतेसम्म बुक क्लोज हुने निर्णय गरेको बैंकले जनाएको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

स्मार्ट टेलिकमको स्मार्ट सेन्टर ललितपुरमा, काठमाडौं र भक्तपुरमा पनि विस्तार गरिने

काठमाडौं । स्मार्ट टेलिकमले ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रवाह गर्न प्रदान गर्न यो सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमसँग सम्बन्धित सबै सेवा र सुविधा उपलब्ध गराउने संरचनामा यो केन्द्र स्थापना गरिएको कम्पनीले जनाएको छ । स्मार्ट सेन्टरको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष सर्वेश जोशीले ग्राहकले आफ्ना सबै जिज्ञासा र समस्याको समाधान यस सेन्टरबाट पाउन सक्ने बताए । यस्तो सेन्टर काठमाडौं र भक्तपुरमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

४ कम्पनीको सेयर मूल्य समायोजन, हेर्नुस कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ४ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले जनता बैंक, हिमालयन बैंक, किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र साइन रेसुङा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । जनताले १४.४ प्रतिशत बोनस सेयर दिने भएपछि सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ कायम भएको छ । यसैगरी साइन रेसुङलाले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको पनि सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ३१३ रुपैयाँ कायम भएका छ । हिमालयनले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको सेयर मूल्य ६७१ र किसानको प्रतिकित्ता १ हजार ९२१ रुपैयाँ काम भएको छ ।

सेयर कर्जाको ब्याज १५ प्रतिशत पुग्यो, सेयर ब्रोकर भन्छन – ७ प्रतिशत घाटामा कसले लगानी गर्छ ?

काठमाडौं । बैंकहरुले सेयर कर्जाको ब्याज दर बढाएर १५ प्रतिशतसम्म पुर्याएका छन् । पछिल्लो समयमा बजारमा लगानीयोग्य पुँजी कम हुदै गएपछि बैंकले सेयर कर्जा १५ प्रतिशतसम्म लिन थालेका छन् । बैंकले १२० दिनका लागि १२ प्रतिशत ब्याजमा मुद्धति निक्षेप उठाउन थालेपछि यसको असर कर्जामा परेको हो । अहिल अधिकाँश बैंकले ब्याजदर बढाइसकेका छन् । सबै बैंकले पुँजी पुर्याइसकेको, बैंकको ब्याजदर बढेको र राजनीतिक अस्थितरता पनि देखिदा यसले बजारमा असर गरेको लगानीकर्ताको भनाई छ । पछिल्लो २ सातायता सेयर बजार निरन्तर घट्दै गएको छ । बजार घटेर नेप्से परिसुचक साढे १४ सयको हारहारीमा आइसकेको छ । सानिमा बैंकले सेयर कर्जाको ब्याजदर बढाएर १५ प्रतिशत पुर्याएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । “१५ प्रतिशत ब्याज तोक्नु लगानीकर्तालाई सेयर कर्जा लिन नआउनु भनेको हो” उनले भने । सानिमाले ४० करोड रुपैयाँ हारहारीमा सेयरकर्जा लगानी गरेको उनले जानकारी दिए । यता सिभिल बैंकले १२ प्रतिशत ब्याज दरमा सेयरकर्जा लिन लगानीकर्तालाई बोलाएको छ । बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना ल्याएको हो । सेयर धितोमा राखेर सरल प्रक्रियाबाट आकर्षक ब्याज दरमा तत्काल कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले सजिलै कर्जा दिन्छु भनेर बिज्ञापन निकाले पनि ब्याज दरले महंगो लिने गरेको लगानीकर्ताको भनाई छ । सेयर बजार नबढ्नुमा बैंकको ब्याजदर बढी मुल कारण भएको एक स्टक ब्रोकरल बताए । “बैंकको ब्याजदर कम नभएसम्म बजार बढ्ने संभावना छैन” ती ब्रोकरले भने “अहिले त्यो संभव देखिएको पनि छैन् ।” अहिले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्दा ७ प्रतिशत भन्दा बढी नोक्सान हुने ती ब्रोकरको भनाई छ । बैंकको ब्याजदर बढेपछि मारवाडी समुदायले सेयरमा लगानी नगर्दा बजार नबढेको ब्रोकरको निश्कर्ष छ । ब्याज दर बढेपछि त्यो समुदायले सेयर बजारबाट हात झिकेको हो । चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । ४ महिनामा बैंक तथा वित्तीय संस्थाले २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयरमा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

आरएमडीसीको साधारणसभा पुस २८ मा, २० प्रतिशत लाभांश दिने

  काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड (आरएमडीसी) को १९ औं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । आरएमडीसीले गत १५ प्रतिशत अर्थात १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभाँश दिने  छ । यस्तै चुक्तापुँजीको ५ प्रतिशत अर्थात ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने छ ।

चीनले समुन्द्रमा बनायो ५५ किलोमिटर लामो पुल, नेपालका डाँडामाथी रेल कहिले ?

काठमाडौं । चीनले समुन्द्रमाथी ५५ किलोमिटर लामो समुन्द्री पुल तयार पारेको छ । सन २०११ बाट निर्माण आरम्भ गरिएको पुल सन २०१८ को पहिलो दिन उद्घाटन गर्न लागिएको हो । यो पुलले हङकङ–मकाउ–झुवाई प्रान्त जोड्नेछ । यो संसारकै लामो पुल हो र यसमा ४ लाख २० हजार मेट्रिकटन स्टिल प्रयोग गरिएको छ । यो पुलमा प्रयोग गरिएको स्टिलले ६० वटा आइफिल टावर बनाउन पुग्ने दावी चिनियाँहरुले गरेका छन् । सन २०१६ मै निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने भनिएको यो पुल केहि समय भ्रष्टाचार मुद्धामा परेपछि एक बर्ष लम्बिएको थियो । यो पुलको निर्माण चीन, हङकङ र मकाउले मिलेर गरेका हुन् । पुल सञ्चालनमा आएपछि हङकङ–मकाउ–झुवाई प्रान्तको यात्रा एक घण्टामै खुम्चिनेछ । सन २०१८ भित्रै ग्वाञ्जाओ–सेनजेन–हङकङ क्रसबोर्डर एक्सप्रेस रेलवे नेटवर्क पनि सम्पन्न हुने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । यो पुलले ८ म्याग्नीच्युटको भूकम्प थेग्न सक्छ भने ३ लाख टनको कार्गाे आवतजावत गर्न सक्छ । १८.८ माइल पानीमाथी निर्माण भएको छ भने ४.३ माइल पानी मुनी सुरुङमा निर्माण भएको छ । यो पुलको निर्माण लागत ११५.९ बिलियन युआन(चिनियाँ मुद्रा) लागेको प्रारम्भिक प्रक्षेपण गरिएको छ । चीनले समुन्द्रमा पुल बनाएसँगै नेपालका डाँडापाखामा पनि पुल बनाएर रेल गुडाउन सकिने सम्भावनालाई उजागर गरेको छ ।