एनआरएनले भने-सेयर बजारमा १० अर्ब लगानी गर्छाै
काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन) का पदाधिकारीहरुले सेयर बजारमा लगानी गर्ने व्यवस्था भएमा सुरुमै १० अर्ब लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग सेयर बजारमा एनआरएनको लगानीका बारेमा छलफल गर्न पुगेका पदाधिकारीहरुले सुरुमै १० अर्बको लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । भेटमा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पुँजी बजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको र सुरुमै १० अर्ब लगानी गर्ने मनसाय तयार पारेको बताएका हुन् । भेटमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुँजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि लगायतका सुधारका काम सम्पन्न गरेको बताएका थिए । उनले एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मकरुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि बढाईसकेको जानकारी पनि दिएका थिए । डा.कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको जानकारी पनि दिएका थिए ।
हिमालयन डिष्टिलरीको नगद लाभांस पारित
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रतिसेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । हालै सम्पन्न कम्पनीको १७औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसाव सहितको नगद प्रवाह विवरण पारित गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभंसमा लाग्ने कर सहित प्रतिसेयर २१.०५ रुपैयाँका दरले नगद लाभांस वितरण गर्न लागेकाे हाे । साथै, साभाले कम्पनीका संस्थापक समुहबाट रहिशा शाह श्रेष्ठ, अखिलेश्वरप्रसाद सिंह र नरेन्द्रकुमार वस्न्यात् निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समुहबाट शंकरराज पाण्डे र साण्टु श्रेष्ठ निर्विरोध सञ्चालकमा चयन भएका छन् ।
काबेली करिडोरमा ढिलाइले लगानीकर्ता मारमा , ५७ मेगावाट विद्युत् खेर जाने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारणलाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका ३ वटा आयोजनाकाे बिजुली खेर जाने भएकाे छ । कूल ५७ मेगावाट क्षमताका ३ आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारणलाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन् । झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु भएको हो । पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छ । आर्थिक वर्ष २०६२/६३ देखि शुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन सकेको छैन । जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइनको निर्माण अवरुद्ध छ । सो करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’ ए, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेका छन्र । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली ‘बी’ एकको लगानी र ४ अर्ब ३० करोड, तल्लो हेवाको लगानी ४ अर्ब तथा इवा खोलाको लगानी १अर्ब ६० करोड रूपैया छ । काबेली ‘बी’ एको करिब ९८ प्रतिशत काम सम्पन्न भएको छ । सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगे पनि प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने स्थिति निम्तिएको गुनासो गरे । प्राधिकरणले १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या भएको उनकाे भनाइ छ । करिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकतामा नराखेको निजी ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले प्राधिकरणले ठेकेदारलाई प्रभावकारीरुपमा काममा लगाउन नसकेकामा आपत्ति जनाएका छन् । काबेली ‘बी’ अरुण काबेली पावरले निर्माण गरेको आयोजना हो । सो आयोजनाका प्रमुख पोखरेलले प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा समस्या परेको बताए। पेनस्टक पाइप र मेशिन जडानको काम भइरहेको छ भने आयोजना निर्माण सम्पन्न हुन लागे पनि प्रसारण लाइनको अभावमा समस्या भएको छ । कूल २२ मेगावाट क्षमताको तल्लो हेवा खोला निर्माण सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी चैतको अन्तिमसम्म निर्माण सम्पन्न हुने आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए । स्थानीय थापाटारमा रहेको प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । निजी ऊर्जा उद्यमीले प्राधिकरणले प्रसारण लाइन निर्माणमा सधैँ समस्या मात्रै देखाउने र समस्या समाधानमा चासो नदेखाएको गुनासो गरेका छन् । यता प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या सहजीकरण गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यक निर्देशन दिइसकेकाे जानकारी दिए । प्राधिकरणले स्थानीय प्रशासनले काममा सहयोग नगरेको गुनासो गरेको छ । प्रसारण लाइनको ‘राइट अफ बे’मा पर्ने जग्गाको मुआब्जा वितरणमा स्थानीयवासीले चित्त बुझाएका छैनन् । जसका कारण २२ वटा टावर निर्माणमा समस्या पैदा भएको छ । प्राधिकरणले पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग जग्गाको मुआब्जाको विषयमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरिसकेको छ । तर काम किन शुरु हुन नसकेको हो सो बारेमा प्राधिकरणले स्पष्ट जानकारी दिन सकेको छैन । रासस
केयर नेपाल रेटिङको कारोबार सुरु, स्वदेशी लघुवित्तको रेटिङ गर्दै
काठमाडौं । नेपाली तथा भारतको संयुक्त लगानीमा स्थापना भएको केयर रेटिङ्गस् नेपालले लिमिटेडले बिहीबारदेखि रेटिङको कारोबार सुरु गरेको छ । कारोबारको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले शुभारम्भ गरेको छ । केयरले पहिलो व्यवसायको रुपमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङको काम पाएको छ । केयर सञ्चालनमा आएकालो अब इक्रा नेपालको रेटिङमा एकाधिकार तोडिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष कार्कीले नेपालको बजार सम्भाव्यताका आधारमा तथा वित्त बजारमा बढी पारदर्शीता ल्याउने केयरलाई अनुमति दिएको जानकारी दिए । नेपालमा पुँजीबजारको आकार बढ्दै गएकाले १ भन्दा बढी रेटिङ एजेन्सीको आवश्यकता भएको बताए । केयर रेटिङ्गस् लिमिटेडको संयुक्त लगानीमा स्थापित केयर रेटिङ्गस् नेपालले गत कार्तिक ३० गते बोर्डबाट नेपालमा रेटिङ्ग व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको थियो । केयर नेपालले साधारण सेयर (आइपिओ) र हकप्रद सेयरको स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानी कोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निधार निर्धारण गर्ने भएको छ । २ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना भएको कम्पनीमा केयर रेटिगं भारतको ५१, विशाल ग्रुपको १९, इमर्जिगं नेपालको १० बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट हाउसको ९ प्रतिशत लगानी छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा नियुक्त भएका छन् । गत मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अरोरालाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । अरोराले नियुक्त भएको दिन देखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।
पुर्णिमा विकास बैंकको साधारणसभा पुस २८ मा, ८ करोड ४५ लाखको बोनस सेयर बाँड्ने
काठमाडौं । पुर्णिमा विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस २८ गते रुपन्देहीमा बस्ने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाबाट पारित हुने कार्यक्रम छ । बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी बढाउन प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । बैंकलाई गाभ्ने वा प्राप्ति गर्ने विषयमा सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव सभाले पारित गर्ने छ ।
कञ्चन डेभलपमेन्ट बैंकले ५ करोड ५५ लाखको बोनस सेयर बाँड्ने
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा पुस २९ गते कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई चुक्तपुँजीको १२.३३ प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ५९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।
सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ पुनरागमन, विगतकाे द्वन्द्व विर्सेर सहकार्य गर्ने प्रतिवद्धता
काठमाडाैं । सिभिल बैंक लिमिटेडका अध्यक्ष ई. इच्छाराज तामाङ्गले पदभार समालेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसँग बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरेका हुन् । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तामाङ्गलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तामाङ्ग सो बैंकका संस्थापक अध्यक्ष हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) ले प्रतिनिधिसभा सदस्य बैंकको अध्यक्ष बन्न नपाउने व्यवस्था गरेपछि केही महिना अघि मात्र तामाङ्गले पदबाट राजीनामा दिएका थिए । वाफिया बनाउने क्रममा सभासद्हरु बैंकको सञ्चालक बन्न पाउने कि नपाउने भन्ने विषयमा गभर्नर नेपाल र सभासद् इच्छाराज तामाङबीच नीतिगत विवाद भएको थियो । अन्तत उक्त विवादमा गभर्नर नेपाललाई सफलता मिलेको थियो । उक्त विवादलाई विर्सदै सपथग्रहण कार्यक्रममा आपसमा सहयोग गर्ने भनाई दुबैले व्यक्त गरेका राष्ट बैंक स्राेतले बतायाे । सभासद्को कार्यकाल सकिएपछि तामाङ्गलाई बैंक अध्यक्ष बन्न बाटो खुला भएको थियो । मंसिर २२ गतेदेखि शेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद शेयरको निस्कासन गरेको यस बैंकले हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजी कोषमा रहेको रकम र गत आ.व.को नाफाबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रूपैयाँ पुर्याउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।